अधिकारकर्मीहरूलाई स्पष्ट पार्दै नेपालले भने, ‘म यसको विरोधी होइन, तर संवेदनशील विषय भएकाले ध्यान दिन जरुरी छ।' सजिलै नागरिकता दिँदा नेपालमा धेरै खालका समस्या आएको उनले स्पष्ट पारे। ‘वा'को सवालमा उनले केही विकल्प अगाडि सारेका छन्।यदि आमाको नाममा नागरिकता दिने हो भने,
– जन्म हुँदा आमा वा बाबु नेपाली हुनुपर्ने
– नेपालमै स्थायी बसोबास गरिरहेको र भविष्यमा पनि बस्ने सम्भावना हुनुपर्ने
– आमा वा बाबुको नामबाट अन्य देशबाट नागरिकता नलिएको हुनुपर्ने
– दोहोरो नागरिकता लिनेका लागि दण्ड, सजाय कडा बनाउनुपर्ने।
भारतमा ५० वर्ष बसे पनि नेपालीले नागरिकता पाउँदैनन्। तर, नेपालमा जन्मँदैमा नागरिकता दिँदा खतरा हुने उनले स्पष्ट पारे। कुनै पनि व्यक्तिको अत्यावश्यक दर्ता (व्यक्तिगत विवरण खुल्ने तथ्यांक जस्तैः जन्म, मृत्यु, विवाह, डिभोर्स) लाई व्यवस्थित गर्नुपर्ने बताए।
अधिकारकर्मी तुलसालता अमात्यले नेपाल बस्ने सर्तमा ३१ वर्षअघि डच नागरिकसँग विवाह गरिन्। उनीबाट जन्मेका छोराछोरी यहीँ पढे, हुर्के तर नागरिकता पाएनन्। नागरिकता नभएकै कारण तीन छोराछोरी बाबुको देश नेदरल्यान्ड पुगेका छन्।
उनी भन्छिन्, ‘नागरिकताकै लागि धेरै ठाउँ चहारेँ। अहिले परिवार विस्थापित, विखन्डित भएर बस्नुपरेको छ। परिवार सँगै हुन नसक्नुको व्यथा मैलेमात्र बुझ्न सक्छु।' बुढानीलकण्ठ स्कुल पढेका छोराछोरी नेदरल्यान्ड पुग्न बाध्य भएको उनी बताउँछिन्। उनका श्रीमान् पनि ३५ वर्षदेखि नेपालमै बसेका छन्। भन्छिन्, ‘आगामी दिनमा मैलेजस्तो समस्या अन्य नारीले भोग्नुनपरोस्। श्रीमान्को देशमा बस्न सकिनँ, आफ्नै देशमा परिवारको भिसा लिएर कति दिन बस्ने!'
अमात्यले आफ्नो नामबाट सन्तानलाई अंगीकृत नागरिकता दिलाउन सकिनन्। तर, विदेशी विवाह गर्ने पुरुषकी श्रीमतीले भने तुरुन्तै नेपालको वैवाहिक अंगीकृत नागरिकता पाउँछन्। यो एउटा प्रतिनिधिमूलक समस्या नेपाली महिला र विदेशी पुरुषबाट जन्मेका छोराछोरीको हकमा देखिन्छ। अर्को बाबुआमा दुवै नेपाली भए पनि बाबुले छोडेका छोराछोरीले आमाको नामबाट नागरिकता लिन नसकेको समस्या छ। यहीँ पुरुषका नाममा सजिलै नागरिकता पाउने र महिलाका नाममा नपाउने विभेदलाई लिएर नेपालका महिला अधिकारकर्मी यति बेला नागरिकता बहसमा छन्।
पहिलो संविधानसभा मौलिक हक तथा निर्देशक सिद्धान्त समितिले ‘अन्तरिम संविधान–२०६३' मा रहेको नागरिकता विषयमा केही शब्द परिवर्तन गरेको थियो। सहमतिपछि नागरिकताका विषयमा विवाद जन्मिएको हो। संविधानको मस्यौदा जारी गर्ने समय नजिकिँदै गर्दा ‘बाबु र आमा', ‘बाबु वा आमा' शब्दमा निकै बहस भएको छ।
अधिकारकर्मी महिलाहरुले उठाएको आवाज सम्बोधन गर्दै गृहमन्त्री वामदेव गौतमले भनेका थिए, ‘कति जना महिला छोराछोरीलाई नागरिकता दिन सक्नुभएको छैन। संख्या लिएर आउनुस्। म नागरिकताका लागि पहल गर्छु।' महिलाहरू भने संविधानमै उल्लेख गरिनुपर्नेमा जोड दिइरहेका छन्।
अन्तरिम संविधानले विदेशीलाई वंशजको आधारमा नागरिकता दिन नहुने स्पष्ट गरेको छ। महिला अधिकारकर्मीहरू खोज्दै छन्, ‘नेपाली आमाले विदेशीसँग विवाह गरे पनि वंशजको आधारमा नागरिकता पाउनुपर्छ।'
अधिवक्ता तथा अधिकारकर्मी सपना मल्ल प्रधान भन्छिन्, ‘हामीले भेटेपछि राजनीतिक दलका प्रमुख नेताले प्रतिबद्धता देखाएका छन्। संसदमा प्रस्ताव लैजाँदा फेरि विवाद भएको छ।'
‘अन्तरिम संविधान २०६३ मा वा हुँदा कति जना नेपाली आमाका छोराछोरीले वंशजको आधारमा नागरिकता पाए त?' यस विषयमा गृह मन्त्रालय, जिल्ला प्रशासन कानुन, संविधानभन्दा माथि देखिएको उनी टिप्पणी गर्छिन्। स्पष्ट कानुनी व्यवस्था नहुँदा यो समस्या उत्पन्न भएको उनको भनाइ छ।
प्रधान भन्छिन्, ‘विदेशीसँग नेपाली पुरुषले पनि विवाह गरेका छन्। तर, उनीहरूलाई नागरिकता पाउन कुनै समस्या छैन। महिलाले विदेशीसँग विवाह गर्नासाथ फरक तरिकाले हेर्नु गलत हो।'
‘विदेशीसँग विवाह गरे पनि नेपालमै स्थायी बसोबास भएकालाई वंशजको आधारमा नागरिकता खोजेका हौं,' उनी भन्छिन्, ‘अंगीकृत हुनासाथ राज्यबाट सबै अधिकार पाउँदैनन्। त्यसैले वंशजकै आधारमा नागरिकताको माग गरेका हौं। मेरो छोराछोरीले अंगीकृत होइन, वंशजको आधारमा नागरिकता दिनुपर्छ। महिला र पुरुषबीच असमानता दिने खालको व्यवस्था संविधानमा लेखिनु हुँदैन।'
आफूहरूले पहिचानको अधिकार खोजेको उनको दाबी छ। ‘विदेशीसँग विवाह गरे पनि नेपालमा बस्न चाहनेलाई मेरो सन्तान भनेर प्रमाणित गर्न पाउनुपर्छ,' नेपालमा स्थायी बसोबास गर्न चाहेकाले अंगीकृत नागरिकतासम्म नपाएको उनको भनाइ छ, ‘कतिपय ठाउँमा जन्म दर्ताका लागि बाबु नै खोजिन्छ। नेपाली महिला जोसुकै, जुनसुकै परिस्थितिमा जन्मेका छोराछोरीलाई नागरिकता दिलाउन पाउनुपर्छ।'
उनका अनुसार एमाओवादी लगायत ३० दल पूर्ण रूपमा ‘बाबु वा आमा'का पक्षमा छन्। कांग्रेस र एमालेको सहमति हुनासाथ सम्भव भएको उनी बताउँछिन्। दोहोरो नागरिकता नपाउने, नेपालमै स्थायी बसोबास हुनुपर्ने, दोहोरो नागरिकता लिनेलाई कारबाहीलगायतका सर्त मान्न उनी तयार छिन्।
सभासद् मीना पुनका विचारमा नागरिकता बाबुआमाले दिने चिज होइन। राज्यको दायित्व हो। यहाँ त बाबुआमाले नागरिकता बाँड्नेजस्तो गरी विवाद गरिँदै छ। नेपाली सबैले वंशजको आधारमा नागरिकता पाउनुपर्नेमा उनको जोड छ।
महिलाका समस्या एकातिर छन् तर विदेशीलाई पनि वंशजको आधारमा नागरिकताको आवाज उठाइँदै छ। उनी प्रश्न गर्छिन्, ‘विदेशीलाई वंशजको आधारमा नागरिकता दिने भए अंगीकृत नागरिकताको अवधारणा किन चाहियो?' विदेशीलाई वंशजको आधारमा नागरिकता दिने भए नेपालीको पहिचान खोइ त?' थोरै व्यक्तिको समस्यालाई लिएर ठूलो विवाद गरिरहेको उनको तर्क छ।
राज्य संयन्त्रमा पुरुष मानसिकताका कारण यो विवाद बढेको पुन बताउँछिन्। विदेशीसँग विवाह गरेपछि वंशजको आधारमा नागरिकता दिन नहुने उनको तर्क छ।
पहिलो संविधानसभाको मौलिक हक तथा निर्देशक सिद्धान्त समितिकी अध्यक्ष रहेकी विन्दा पाण्डे भन्छिन्, ‘समितिमा हुँदा आमाको नामबाट दिने भन्दा विवाद भएको थियो। आमाको नामबाट हुँदैन भने बाउको नामबाट पनि हुँदैन भन्ने निष्कर्षमा पुगिएकाले ‘बाबु र आमा'का पक्षमा समितिको बहुमतले निर्णय गरेको हो। तर मैले विरोध जनाएकी थिएँ।' ‘बाबु वा आमा' शब्द राख्दा प्रतिवेदन पास हुन नसक्दा यसलाई विवादास्पद विषय बनाइएको उनले बताइन्।
एमालेकी केन्द्रीय सदस्य रहेकी उनले ‘आमा वा बाबुको नामबाट नागरिकता दिने एमालेको धारणा रहेको बताइन्। तर, अहिले एमालेभित्र आएको फरक धारणालाई उनी ‘व्यक्तिगत विचार' भएको तर्क गर्छिन्। आफू संविधानसभा सदस्य रहँदा करिब हजार जनाले अंगीकृत नागरिकता पाऊँ भनी निवेदन पेस गरेको बताइन्।
२०१९ सालको संविधानमा तत्कालीन राजा महेन्द्रले ‘आमा वा बाबु'को नामबाट नागरिकता पाउनुपर्ने व्यवस्था गरेका थिए। पाण्डे भन्छिन्, ‘महेन्द्रको पालामा जत्तिको पनि महिलालाई अधिकार छैन। अहिलेको माग, अन्तरिम संविधानमा रहेको उपधारा– ७ हटाइनुपर्छ।'
उपधारा ७ मा लेखिएको छ, ‘यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निजको नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले प्रचलित कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ।'
अधिवक्ता मीरा ढुंगाना भन्छिन्, ‘आमा र बाबु' प्रावधानले महिला पुरुष दुवैलाई सन्तानप्रतिको अधिकार कटौती हुन्छ।' कुनै विदेशीसँग विवाह गर्नु नेपाली महिलाको अधिकार पनि भएको उनी बताउँछिन्। ‘आफ्नो जीवन तिलाञ्जली दिएर जन्म दिने आमाको अधिकार खोस्न पाइँदैन,' उनी भन्छिन्। ‘मेरा दाजुभाइले जो सुकैसँग विवाह गरे पनि तुरुन्त नागरिकता पाउँछन्। मैले किन नपाउने?' उनी भन्छिन्, ‘महिला–पुरुषबीचको विभेद अन्त्यको आन्दोलन हो यो।' बाबु देखाउने/नदेखाउने पूर्ण अधिकार आमामा हुनुपर्ने उनको तर्क छ। ‘बाबु नचिनाउने आमाका नाममा छोराछोरीको नागरिकता हुनुपर्छ। बाबु वा आमा शब्द हुँदा कम्तीमा अदालत जाँदा त नागरिकता पाएका छन्,' उनले भनिन्। २०६८ को जनगणना अनुसार करिब साढे ८ लाख बालबालिका आमासँग बस्छन्।
‘आमा वा बाबु'का नाममा नागरिकता दिँदा देशको अस्तित्वमा असर पर्ने वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने बताउँछन्। नागरिकताको सवालमा कतिपय देशले कठोर नीति पनि अपनाउनुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘नागरिकताका खुल्ला, कठोर दुवै नीति अपनाउने देश छन्। अमेरिकामा नागरिक कम भएका कारण डिभीमार्फत, जन्मनासाथ नागरिक बनाउँछ। यो उसको आवश्यकता हो।'
नेपाललाई लोटा र छिमेकीलाई समुद्रको पानीको उदाहरण दिन्छन् उनी। ‘समानताको कुराले समुद्रको पानी लोटामा राख्दा लोटाकै अस्तित्व समाप्त हुन सक्छ। हाम्राछेउमा दुई ठूला छिमेकी छन्। त्यस देशको एक प्रतिशत जनसंख्या आउँदा हाम्रोमा दोब्बर हुन्छ,' उनले भने।
विदेशी बुहारी र ज्वाइँको जनसंख्याले देशको अस्तित्व सिध्याउने उनको दाबी छ। फिजीको उदाहरण दिँदै उनी भन्छन्, ‘अर्का देशका मान्छे उखु खेती गर्ने निहुँमा त्यहाँ पुगे। नागरिकताको नीति उदार भयो। उखु खेती गर्ने बहुमतमा, फिजीवासी अल्पमतमा पुगे। कुनै व्यक्तिको अधिकारका लागि राज्य समाप्त हुनु हुँदैन।'
न्यौपाने भन्छन्, ‘एक व्यक्तिको कुरामा ढोका खोल्नु हुँदैन। भिसाका रूपमा आएर नेपाली बिहे गर्छन्। अलपत्र पारेर जान्छन्। यसले सामाजिक सन्तुलन पनि बिग्रन्छ। तराईतिर नेपालका महिला भारततिर विवाह गरेर जान्छन्। विदेशीले श्रीमती बनाएर बच्चा जन्माउँछन् र अलपत्र छाडेर भाग्छन्।'
आएका मुद्दा विशेषलाई प्रशासनिक निर्णय गरेर समस्या समाधान गर्न सकिने उनको तर्क छ। उनी भन्छन्, ‘समानता निरपेक्ष हुँदैन। देश, काल, परिस्थिति, सामाजिक संरचना हेरेर कानुन बनेको हुन्छ।' उनको सुझाव छ, ‘विेदशी बुहारीलाई पनि नागरिकता नपाउने सिद्धान्त अपनाऔं। घरमा क्षमता हेरेर पाहुना राख्नुपर्छ।'
छोराछोरी दुवैले विदेशीसँग बिहे गरेपछिको परिणाम हेर्नुपर्ने उनी बताउँछन्। ‘कुनै देशमा ज्वाइँ ल्याउने पद्धति पनि छ। कि त हामी पनि छोरी घरमै बस्ने, ज्वाइँ ल्याउने सिद्धान्तमा जानुपर्योँ,' राज्यले छोराछोरीलाई विदेशीसँग बिहे नगर्न प्रोत्साहन गर्नुपर्ने सुझाउँदै उनी भन्छन्, ‘होइन भने नागरिकता नपाउने परिणाम भोग्नुपर्ने हुन्छ।'
बक्स
नेपालमा अहिलेसम्म अंगीकृत नागरिकता लिनेको संख्या : ८ हजार ३ सय जना (नेपालमा १५ वर्षसम्म स्थायी बसोबास गरी विभिन्न क्षेत्रमा योगदान पुर्यााएका, नेपाली आमा विदेशी बाबुबाट जन्मेका सन्तान)
अंगीकृत नागरिकताका लागि परेका निवेदन : १ सय ८१ ज्ना
झुठो विवरण पेस गरेर नेपाली नागरिकता पाएका, छानबीनमार्फत खोसिएको : ३ सय ५ जना
स्रोतः गृह मन्त्रालय, नागरिकता शाखा
प्रकाशित: २ माघ २०७१ २३:१९ शुक्रबार





