बीरगन्ज–बीरगन्ज नयाँ बसपार्कबाट ९५ हजार नक्कली भारतीय रुपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। नारायणी अञ्चल प्रहरी कार्यालय बीरगन्जले एक हजार दरको ९५ थान नक्कली भारतीय नोटसहित भारत, उतरप्रदेशको इटाह जिल्ला दतपुर, कुन्जपुरका २२ बर्षे धिरेन्द्र यादवलाई बुधबार बिहान ११ बजे पक्राउ गरेको हो।
नायब प्रहरी निरीक्षक अरुण कुशवाहा नेतृत्वको टोलीले यादवलाई बीरगन्जबाट सिमावर्ती भारतीय बजार रक्सोल जाँदै गर्दा ट्याम्पुबाट पक्राउ गरेको थियो। आफूले नेपाल कै सर्वेन्द्रकुमार शाक्यको लागि नककली नोट ओसार्ने काम गर्ने गरेको यादवको बयान दिएका छन्। यसअघि दुई पटक बीरगन्जबाट रक्सोल नक्कली नोट पुर्याएको र तेस्रो पटकमा पक्राउ परेको उनले प्रहरी समक्ष बताएका छन्।प्रति एकलाख रुपैयाँ ओसारेबापत १० हजार रुपैयाँ कमिसनमा काम गरेको यादवको भनाइ छ। 'रक्सोल रेल्वेस्टेशन नजिकको होटेलमा मेरो बस्ने व्यवस्था उनीहरुले नै मिलाई दिएका थिए,' यादवले भने, 'बीरगन्जको बसपार्कबाट मैले नोट शाक्यबाट लिने गरेको थिएँ।'
शाक्यको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादवउपर मुद्दा चलाउन अञ्चल प्रहरीले जिल्ला प्रहरी पर्सालाई बुझाइने जानकारी गराएको छ।
प्रकाशित: २३ पुस २०७१ ०४:४० बुधबार





