हिमालको जराबाट आएको पानीमा हुर्किएका माछा इन्द्रेनी रङका हुने भएकाले ‘रेन्बो ट्राउट' भनिएको। तर, ट्राउट हाइवेका माछा कालाकाला देखिन्छन्। खोल्साखोल्सीको पानीमा हुर्किएका माछाको रङ इन्द्रेनीजस्तो हुँदैन। मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीमा पालिएका माछा भने रेन्बो कलरकै हुन्छन्। त्यहाँ हिमालबाट आएको पानीमा पालिएको छ।
काठमाडौंबाट नुवाकोट हुँदै रसुवालाई ‘पासाङ ल्हामु राजमार्ग'ले जोडेको छ। ट्राउट रेस्टुँरा थपिँदै जाँदा जनबोलीमा ‘ट्राउट हाइवे' भन्न थालियो। त्यसैले राजमार्ग ओहोरदोहोर गर्नेमात्रै होइन, काठमाडौंमा बस्नेहरू पनि माछा खान त्यता लाग्छन्।
रेस्टुँरा हातामा पोखरी छन्। ग्राहककै आँखासामुन्ने जालमा पारिन्छ। जोखिन्छ। पकाइन्छ। ग्राहकले जाल थाप्न सक्छन्। खोलामा थापेजस्तो मेहनेत गर्नु पर्दैन। पोखरीका माछा भएकाले जाल थाप्नेबित्तिकै पर्छन्।
माछा फ्राई, ग्रेभी, सेकुवा र रोस्ट बनाइन्छ। रेस्टुँरा हेरी जिउँदो माछा किलोको हजारदेखि १२ सय रुपैयाँसम्म पर्छ। पकाएको थप दुई सयदेखि तीन सय रुपैयाँ।
ट्राउटमा मसिना काँडा हुँदैन। खान सजिलो हुन्छ। हरियाली वातावरणमा ताजा माछाको स्वाद चाख्न पाउँदा सबै दंग। माछा स्वास्थ्यवर्द्धक खाना। विज्ञका अनुसार माछामा ओमेगा ३ फयाटी तत्त्व हुन्छ, जुन मुटुका लागि राम्रो मानिन्छ। डिप फ्राई नगरी खाँदा उत्तम।
रेस्टुँरामा माछाका साथै लोकल कुखुरा, गुन्द्रुक ढिँडो र लोकल रक्सी पनि पाइन्छ। कतिपयले बास बस्ने कोठा व्यवस्था गरेका छन्। राजमार्गमाथि सिस्नेरी दोभानमा ‘फल एन्ड ट्राउट' रेस्टुँरा चलाएर बसेका दमन लामा भन्छन्, ‘बिदाका दिनमा नेपालीको भीड लाग्छ।'
उनको फार्ममा मात्र वर्षको ३५ हजार भुरा हुर्किन्छन्। त्यतिले पुग्दैन, बाहिरबाट माछा ल्याएर पनि बेच्छन्। डेढ सयदेखि दुई सय ग्रामका माछा पकाउन राम्रो मानिन्छ। दुई सय ग्राम बनाउन वर्ष दिन पाल्नुपर्छ।
लामो छैन, ट्राउट रेस्टुँराको इतिहास। दोभानमा पहिलोपटक ०५७ सालमा गोपाल र कान्छीमाया लामाले रेस्टुँरा खोलेका थिए। उनीहरू नै हुन् नेपालमा पहिलोपटक ट्राउट पालन गर्ने किसान। ०५६ सालमा मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीले दिएको चार सय भुराबाट ट्राउट पाले। वर्ष दिनपछि रेस्टुँरा खोले।
उनीहरूको सिको गर्दै गाउँलेले माछा पाले। माछासँगै रेस्टुँरा पनि। कस्तो मज्जा! बजार खोज्नै परेन, घरमै माछा किन्न र खान मान्छे धुइरिन थाले। हुन त काठमाडौंका रेस्टुँरामा पनि ट्राउट पाइन्छ। माछा तिनै हुन्, काठमाडौंमा खानुभन्दा किसानकै बारीमा पुगेर खाँदा झन् मिठो अनुभूति हुन्छ।
काठमाडौंबाट एक घन्टा ड्राइभमा रानीपौवा पुगेर धेरैजसो त्यही साँझ फर्किन्छन्। थोरैले मात्र रात बिताउँछन्। जबकि ट्राउट हाइवे हुँदै हिल स्टेसन ककनी र नुवाकोट दरबार जान सकिन्छ। ती ठाउँ पुग्दा मन चंगा बन्छ।
ट्राउट हाइवेमा यतिबेला स्ट्राबेरी पाइन्छ। सडक किनारमा स्ट्राबेरी बेच्न बसेका हुन्छन्। काउलेबजारबाट तीन किलोमिटर दाहिने लागे ककनी। ककनी (२,०७३ मिटर) शीतल छ। जाडोमा वनभोज खानेको भीड लाग्छ। त्यहाँबाट अन्नपूर्ण, माछापुच्छे्र, लमजुङ, बुद्ध, मनास्लु, हिमचुली, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, सगरमाथा र ल्होत्सेलगायत हिमाल देखिन्छ। सूर्यास्त र सूर्योदय पनि।
घर तथा होटलमा बौद्धमन्त्र लेखिएका लुङदार र ध्वजापताका फर्फराइरहन्छन्। ककनीमा पार्क छ। सन् १९९२ मा थाई एयर दुर्घटनामा बितेकाको सम्झनामा बनाइएको। त्यहाँ नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतारोही स्मृति उद्यान बनाएको छ। जहाँ फ्रेन्च नागरिक हेनरी सिगारेले १२ मिटर अग्लो रक क्लाइम्बिङ वाल बनाइदिएका छन्।
ककनीबाट बुढानीलकण्ठसम्म साइक्लिङ वा पदयात्रा गर्न सकिन्छ। त्यहाँ तीनतले वसन्ती दरबार छ। कलात्मक झ्याल। तर जीर्ण। ‘सरकारले दरबार संरक्षण गरेन,' ककनी पर्यटन विकास समाजका अध्यक्ष शिवकुमार लामा भन्छन्, ‘यसमा दुःख लागेको छ।'
ट्राउट, ककनी र नुवाकोट दरबारक्षेत्र जोडेर दुईराते प्याकेज बनाउन सकिन्छ। काठमाडौंबाट गएको पहिलो रात नुवाकोट र दोस्रो रात ककनीमा। आफ्नै हिसाबले जता मन लाग्छ त्यतै बस्न सकिन्छ। घुम्न निस्केपछि किन हतारमा फर्किने?
सकिन्छ नुवाकोट दरबार पुगौं। सकिँदैन ककनीमै बसौं। नुवाकोट दरबार क्षेत्र पनि रमणीय छ। त्यहाँ होमस्टे सुविधा छ। डाँडाको आकर्षण साततले दरबार। पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरेपछि १८१९ सालमा बनाएको। पहिलो तलामा भाइभारदार र गार्ड, दोस्रोमा बैठक, पूजा र शृंगारकक्ष, तेस्रोमा धाई–सुसारे र राजारानी बस्ने कोठा, चौथो धार्मिक कक्ष, पाँचौ सुरक्षाकर्मी कक्ष, छैटौं कालकोठरी र सातौं तलामा बुर्जा।
दरबारक्षेत्रमा तलेजु मन्दिर, शीतलपाटी, भैरवी मन्दिर, कोतघर, गारदघर, नारायण मन्दिर, विष्णु मन्दिर र बौद्ध विहारलगायत सम्पदा। कतिपय जीर्ण भइसके। संरक्षण गर्न अबेला भइसक्यो।
पर्यटन बजारमा मात्रै होइन राजनीतिको केन्द्रमा पनि धेरै नुवाकोटे छन्। तिनले न नुवाकोटका सम्पदा संरक्षणमा पहल गरे न पर्यटनको मार्केटिङ नै। त्यसैले त ट्राउट हाइवे धाउने ठूलो जमात ककनी र नुवाकोट पुग्दैन। नयाँ प्रोडक्ट ट्राउट स्थापित भइसक्दा ककनी र नुवाकोट दरबारचाहिँ पछि परेका छन्। माछाको विज्ञापन आफैं भयो। ककनी र दरबारको संरक्षण र मार्केटिङ कहिले होला?
कसरी पुग्ने
काठमाडौंबाट ककनी २३ किमि। रानीपौवा २७ किमि। नुवाकोट दरबार ७६ किमि। पक्की सडक। बालाजुको माछापोखरी हुँदै पाइपासबाट ककनी, नुवाकोट जाने बस छुट्छन्। मोटरबाइकमा सरर जान सकिन्छ।
प्रकाशित: ९ जेष्ठ २०७१ २३:३१ शुक्रबार





