५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

एक्लो विश्वनाथ

विश्व–संसार। नाथ– मालिक। विश्वनाथ– संसारको मालिक। तर संसार उसको होइन; न कहिल्यै हुन्छ; न कहिल्यै भयो। जहाँ टेक्छ उही उसको संसार। जहाँ फूल फुल्छन् उहीं उसको मुस्कान। संसारको मालिक विश्वनाथ एक्लो जिउँछ, एक्लो बाँच्छ। विश्वनाथ कसैसित दयाको हात पल्टाउँदैन। शायद संसारका मालिक विश्वनाथलाई कसैसित केही थाप्नु नै छैन। ऊ आफूभित्रै जिउँछ, बाँच्छ आफूभित्रै ऊ। उसको संसार उसकै जीवन। उसको माया उसकै मुटु–मन। उसको विवेक आफ्नै काम। एउटा खुला मैदान, मैदान माथि बनिएका बगैंचा उसको जीवन–धाम।

बाह्रै महिना, बाह्रै काल। साँझ बिहान, दिन र गोधुलि आठै पहर, बाह्रै घडी विश्वनाथ फूलका विरुवा रोप्छ, गोड्छ, मलजल गर्छ। बसन्त आउँँछन्, जान्छन्। कति बसन्तले बगैंचामा ओहरदोहर गरे उसलाई पत्तो छैन। कति बसन्तले अझै ओहरदोहर गर्नेछन्, उसलाई थाहा छैन। मानौं थाहा नपाउनु नै उसको जीवन। मानौं निश्चिन्त रहनु नै उसको जोवन। बसन्तले उसको जीवनलाई कहिल्यै बासन्ती बनाउन सकेनछ। बसन्तदेखि पराजित विश्वनाथ आफूलाई ठान्दैन। मानौं ऊबाट बसन्त नै पराजित भएका हुन्छन्।

गृष्मको उखरमाउलो घाम र खडेरी। विश्वनाथको तन्मयताको घडी। तरतर पसिना काढ्दै फूलका विरुवा सिँच्नु उसको विवेकको पर्याय। साँझ पर्छ, विश्वनाथको निधारमा पसिना सुक्छ। पसिना चुहुन्जेल उसलाई थकाइले छोएको हुन्न क्यार! विश्वनाथ पसिना चुहाउनै रमाएको देखिन्छ। पसिना जब सुक्छ, उसको जिउ पनि सुकेको हुन्छ। यतिन्जेल बगैंचाका बोट विरुवा आकाशका तारासित जिस्किँदै, मस्किँदै मुसुमुसु हाँस्न थालेका हुन्छन्। उसकै प्रयासमा फुलेका फूलहरु पनि अब विश्वनाथको जीवनप्रति अट्टहास लगाई रहेका हुन्छन्।

मानिस आउँछन्, जान्छन्। मन्दिर, तीर्थ–धाम धाउँछन्। विश्वनाथ आयो; तर जान सक्दैन र गएन पनि। मानौं उसको तीर्थ–धाम उसकै बोट–विरुवा हुन्। तिनकै सेरोफेरो परिक्रमा लाउँछ ऊ। उसको जीवन, उसको संसार, उसको नित्य र सार उही घेरा, उही परिधि, एकै चक्ला, एकै घुम्ती उसले धाएपाएको ईश्वरीय वरदान।

ऊ संसारको मालिक हो कि यो मालिकको संसार? आश्चर्य लाग्छ! उसलाई थाहा छैन। चाह पनि छैन! संसारको मालिक विश्वनाथको संसारमा कोही छैनन्। ऊ विश्वनाथ मात्र नामको। ऊ आफै हाँस्न सक्दैन, आफै आँसु चुहाउन सक्दैन। उसको निमित्त फूलहरु हाँसी दिनुपर्छ। फूलहरुले आफ्नो हाँसोमा उसलाई अवतरित गरी दिनुपर्छ। ऊ आफै आँसु चुहाउन सक्दैन मात्र होइन। उसको लागि आँसु चुहाउने नै कोही छैनन्। भएका सब उसका नभए तुल्य छन्। विश्वनाथको लागि बाहै्र महिना बाह्रै काल तराईको शीतले मात्र आँसु चुहाउँछन्। ऊ आफै मुख बाउन सक्दैन। उसको पछि बोल्ने कोही छैन। ढुंगा पनि मुख बाउन्न उसका लागि।

साँझ बिहानको जीवन – विश्वनाथ। उसको साँझ–बिहान सधैं भरि धप्प रहन्छ। उसको भोरमा प्रभात कहिल्यै उघ्रेन। उसको प्रभातसित घाम कहिल्यै झुल्केन। विश्वनाथको मध्यान्ह कहिल्यै लालीदार भएन। किन्तु, उघि्रनु जीवन रे। झल्किनु जीवन रे। लालीदार जीवन रे! उसको जीवनमा सधैंभरि साँझ परिरहन्छ। कस्तो विडम्बना! कत्रो अभिशाप! तर पनि विश्वनाथ मानिसको जात रे, आमाको छोरो रे! बाँच्न यसरी जन्मनु नै पर्योम किन उसलाई? जन्माउने रहर नै किन उठ्यो उसका मातापितालाई? लाग्छ मात्र विश्वनाथ बुढाबुढीको तृष्णा–तृप्ति!

हुन सक्छ – त्यसैले विश्वनाथ एक्लो रह्यो। हुन सक्छ – विश्वनाथले अनि दुक्लो जीवन कहिल्यै चाख्न नपाएको। एक्लो मुटु के मुटु? एक्लो जीवन के जीवन? एक्लो विश्वनाथ के विश्वनाथ? तैपनि ऊ सुस्काइ रहेकै छ। लुखुर लुखुर चलेकै छ। गोडिरहेकै हुन्छ विश्वनाथ – फूलका विरुवा। विचरा विश्वनाथ!

संसारको त्यो विश्वनाथ हो, या विश्वनाथको यो संसार? ठम्याउन सजिलो हुन्छ कहाँ? संसारभित्र विश्वनाथ बाँचेको छ, वा विश्वनाथ भित्र विश्व प्रतिबिम्बित हुन्छ? देख्न यो गाह्रो छ। किन्तु, जीवन प्रतिबिम्ब होइन। प्रतिबिम्ब त जीवनकै मात्र हुन्छ। हेरिरहेकै हुन्छ विश्वलाई। मानौं आफूलाई नाङ्गै उतारेर अनेक आवरणमा लेपिटएको विश्व देख्नु नै विश्वनाथको आँखा हो।

विश्वनाथ एउटा धाम हो पवित्र। विश्वनाथ आफैमा एउटा नाम हो – स्वनाम धन्य। विश्वनाथ स्वयम् एउटा याम हो, कहिल्यै परिवर्तन हुनु नपर्ने। विश्वनाथ आफै काम हो कहिल्यै नटुङ्गिने। विश्वनाथलाई धर्म धाम धाउनु छैन; पाप उसले गरेकै हुन्न। विश्वनाथलाई नाम कमाउनु छैन; ऊ आफै स्वनाम धन्य छ। विश्वनाथलाई परिवर्तन चाहिएको हुन्न; ऊ आफै एक याम हो। विश्वनाथ एउटा काम मात्र हो – साँझ बिहानको फूलबारी भरिको। ऊ फूल फुलाउँछ तर फूल उसको होइन। बारी भरि फूल मुसुक्क मुस्काई रहेका हुन्छन्; विश्वनाथ फूलसित पनि हाँसिरहेको हुन्न। मानौं फूलहरुको मुस्कान विश्वनाथ सितको अभिसार हो या अभिशाप; फूल बोल्न सक्दैन।

तपतप चुहिन्छ पसिना। पसिना जो चुहिन्छन् विश्वनाथको जिउभर उही नै उसको जीवन। लाग्छ फूलहरु विश्वनाथकै पसिना हुन्। लाग्छ पराग विश्वनाथकै महक हुन्। लाग्छ केशराका धूलहरु विश्वनाथकै जीवन कण हुन्। तैपनि विश्वनाथ सुकिलो छैन। तैपनि विश्वनाथ हँसिलो छैन। तैपनि विश्वनाथ सुवासिलो छैन।

एउटा बुढो गन्ध विश्वनाथ ऊ कहिल्यै तरुणो भएन। सिंगै फूलेका कपाल विश्वनाथ कहिल्यै फूल बनेन। विश्वनाथ एउटा शूल आफैभित्र कहालिने। विश्वनाथ एउटा भूल श्रृष्टिको। विश्वनाथ एउटा दोष दृष्टिको। विश्वनाथ एउटा मूल जीवनव्यथाको। विश्वनाथ एउटा कूल असंख्य अपहेलनाको।

मक्किएको गंजी एउटा विश्वनाथ। धुजारिएको कट्टु एउटा विश्वनाथ। चुँडिएको जनै एउटा विश्वनाथ। छिनिएको टेप एउटा विश्वनाथ। रित्तिएको भाँडो एउटा विश्वनाथ। कोरिएको रेकर्ड एउटा विश्वनाथ। सकिएको ब्याट्री–सैल एउटा विश्वनाथ। रद्दी कागजको टोकरी एउटा विश्वनाथ। स्याँ फ्याँ सुस्केरा एउटा विश्वनाथ। अस्ताचलको क्षितिज एउटा विश्वनाथ। मात्र नामैमा विश्वको मालिक विश्वनाथ।

प्रकाशित: १२ चैत्र २०७२ २३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App