२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

ल्हारक्याल बुद्ध जयन्ती आयोजक समितिबाट बर्खास्त

काठमाडौं— सरकारले गठन गरेको २५२६ औं बुद्ध जयन्ती तथा अन्तरार्ष्ट्रिय बौद्ध सम्मेलन आयोजक समितिबाट ठगी आरोपमा पक्राउ परेका ल्हारक्याल लामालाई बर्खास्त गरिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई आयोजक समितिमा राखेको थियो। लामा भिक्षुको पहिरन लगाएर बुद्धको मार्गविरुद्ध विवादस्पद कार्यमा संलग्न भएको भन्दै मन्त्रालयले उनलाई हटाएको स्रोतले बतायो। 'बौद्ध सम्मेलन आयोजक समितिमा उनको नाम थियो। गैरकानुनी कार्यमा संलग्न भएको पाइएपछि हटाइएको छ', स्रोतले भन्यो।

स्रोतकाअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले उनलाई हटाउन निर्देशन दिएका थिए। मन्त्री पोखरेलकै निर्देशनमा ल्हारक्याललाई बर्खास्त गरिएको हो।

आगामी जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय रूपमा बौद्ध सम्मेलन काठमाडौंमा गर्ने र जेठ ८ गते बुद्धजयन्ती लुम्बिनीमा मनाउने सरकारको तयारी छ।

बुद्ध जन्मस्थल लुम्बिनी नै भएको अन्तर्राष्ट्रिय रूपमा जानकारी गराउने, बुद्ध धर्म तथा विद्याको अध्ययन, अनुसन्धान एवम अन्वेषणको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा नेपाललाई विकास गर्ने उद्देश्य सहित यो वर्ष मन्त्रालयले बुद्धजयन्ती तथा सम्मेलनको तयारी गरिरहेको छ।

वैदेशिक रोजगार विभागले लियो बयान

बैंक लकरमा गोली भेटिएको आरोपमा रिहा भए लगत्तै ठगी मुद्दामा पक्राउ परेका एमाओवादी सांसद ल्हारक्यालसँग बुधबार वैदेशिक रोजगार विभागले बयान लिएको छ। मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि विभागले लामालाई पक्राउ गरी बुझाउन प्रहरीलाई दुई वर्षअघि नै पत्र पठाएको थियो।

अपरच्युनिटी म्यानपावर सर्भिसेजका अध्यक्ष केशबहादुर गुरुङले उनीसहित फुर्बा लामा र छिरिङडोल्मा लामाविरुद्ध २०७० भदौमा ठगीको उजुरी दिएका थिए।

गुरुङले निवेदनमा 'ल्हारक्यालकी भान्जी भन्ने खिनाले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको ३ सय २० जनाको कोटा ल्याइदिने भन्दै पटकपटक गरी २ करोड १९ लाख रुपैयाँ ठगी गरेको' दाबी गरेका छन्। कोटा ल्याएबापत कमिसनस्वरुप उनीहरुले सो रकम लिएर आफूलाई ठगेको उनको निवेदनमा छ। मकाउबाट कामदारको मागपत्र ल्याएर सोहीअनुसार कामदार छनोटका लागि अन्तर्वार्ता लिएर भिसाका लागि भन्दै आफूसँग पटकपटक उक्त रकम लिई ठगी गरेको गुरुङको दाबी छ।

प्रकाशित: १० चैत्र २०७२ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App