मुस्ताङको लोमान्थाङबाट अवैध रूपमा चीनबाट ल्याइएको करिब २ करोड २४ लाख ५९ हजार ३२० रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार सोमबार लोमान्थाङ गाउँपालिका–४ नेचुङबाट सशस्त्र प्रहरी, मुस्ताङ भन्सार कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा लोड गरिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित चालकलाई पक्राउ गरेको हो।
नियन्त्रणमा परेका व्यक्ति सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–५ का अन्दाजी ३२ वर्षीय पेमा लामा हुन्। उनी उक्त कन्टेनरका चालक थिए।
उक्त इलेक्ट्रिक चुरोट ३–४ दिनअघि चीनबाट अवैध रूपमा ल्याएर नेपाल–चीन सीमानास्थित कोरला नाका अगाडि गाडीमा लोड गरी राखिएको अवस्थामा फेला परेको थियो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङबाट सशस्त्र प्रहरी नायब निरीक्षक उदय बहादुर कुमालको कमान्डमा खटिएको टोलीले यो कारबाही गरेको हो।
बरामद गरिएको सम्पूर्ण इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने पक्राउ परेका पेमा लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा पठाइएको छ।
कन्टेनर बिग्रिएकोले त्यसमा रहेको टिस्यु पेपर र ट्वाइलेट पेपरलाई भने सोही स्थानमा भन्सार कार्यालयले सिल गरी राखेको छ।
प्रकाशित: २९ पुस २०८२ १०:३३ मंगलबार





