२ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

साया, आई लभ यु

२००७ सम्म आइपुग्दा जेसन बाकाले विज्ञापन मोडलका रुपमा काम गरिसकेको १० वर्ष बितिसकेको थियो । टेलिभिजन विज्ञापनमा कहिलेकाहीँ आफैंलाई झुल्किएको देख्दा हुने सनसनी गुमिसकेको थियो।जेसन केही नयाँ खोजिरहेका थिए । एक साँझ उनी आफैंलाई ऊर्जामय बनाउन कुनै 'सेल्फहेल्प' पुस्तकको खोजीमा अमेरिकाको न्युयोर्कस्थित बन्र्स एन्ड नोबलको सो रुममा पुगेका थिए ।

'नयाँ जीवन कसरी जिउने', 'ऊर्जामय जीवन कसरी बाँच्ने', 'बोरिङपनालाई कसरी जित्ने' यस्तै केही शीर्षकको पुस्तक उठाउन निस्केका जेसन पुस्तकको लहरमा लहरिँदै जाँदा एउटा पुस्तकको आवरण देखेर ४४० भोल्टको करेन्टले हानेजस्तो सन्न भए । उनले अनायासै पुस्तक उठाए, जसमा एउटा पुरुष थियो । पुरुषमा आत्मविश्वास देखिन्थ्यो र लगभग देव पुरुष झल्किरहेको थियो । त्यो अरु कोही नभई उनी आफैं थिए ।

पुस्तकको 'कभर ब्वाई' बनुँला भन्ने उनले सोचेका पनि थिएनन् तर त्यस दिन कभरमा आफू सुहाएजस्तो लाग्यो र बोरिङपनाले थिचिएका जेसनले निर्णय गरे, म देशकै सबैभन्दा बढी पुस्तकको कभर ब्वाई भई नाउँ लेखाउन चाहन्छु । बरु त्यसका लागि के गर्न सकिन्छ उनी त्यसको ध्याउन्नमा लागे । उनले सोधीखोजी पनि गरे, अहिले संसारमा सबैभन्दा बढी उपन्यासको कभर ब्वाईका रुपमा देखिने व्यक्ति को हो ? त्यसपछि उनको जीवनको बोरिङपना हट्यो । उनले उद्देश्य फेला पारे ।

सोच्नेबित्तिकै त कीर्तिमानी कसरी भइएला र ? त्यसैले उनले जिमखानाको सदस्यता पुनः नवीकरण गरे । पाखुरा खाइलाग्दो बनाए, जिउ लोभलाग्दो पारे । कपालको शैलीलाई पनि आधुनिकीकरण गरे । महिनामा एक चोटी स्थानीय स्पामा गएर अनुहारका दागधब्बा मेटाए ।

आफैँप्रति सन्तुष्ट भएपछि किताबका लेखक सम्पर्क गर्ने माध्यमको खोजीमा लागे । उनी त्यसका लागि हरेक दिन एक घण्टा नजिकैको पुस्तक पसलमा छिर्थे र बढीभन्दा बढी लेखकका नाउँ टिप्थे । घर फर्केपछि ती लेखकका इमेल ठेगाना पाइएला कि भनी गुगल गर्थे । गुगलमा कुनै लेखकको इमेल भेटिए, आफू तिनको उपन्यासको आवरणमा मोडल हुन चाहेको भनी लेख्थे । यसरी उनले सयभन्दा बढी लेखकहरुलाई इमेल पठाए ।

सय जनामध्ये कसैले पनि उनलाई जवाफ फर्काउने कष्ट गरेनन् तर सबै जना उस्तै हुँदैनन् । लेखिका लिजा रिनी जोन्सले जवाफ फर्काइन् र फोटो देखाउन भनिन् । जेसनले आना राम्राराम्रा तस्बिर उनलाई इमेल गरिदिए । तस्बिर हेरेपछि लिजाले भनिन्, 'तिमी मेरो अर्को उपन्यासको नायकजस्तै देखिदारहेछौ । बाँकी कुराका लागि मेरो प्रकाशक र ग्राफिक डिजाइनसँग कुरा गर ।'

लिजाले दिएको सम्पर्क सूत्र पछ्याउँदै जेसन ग्राफिक कलाकार एलेटा राटनकहाँ पुगे । एलेटाले केही क्षण जेसनलाई हेरिसकेपछि भनिन्, 'तिमी दाह्री नकाटी एक सातापछि यहीँ आऊ ।'

एक हप्ते दाह्रीसहित एलेटाले जेसनको फोटो खिचिन् ।

बन्र्स एन्ड नोबल छिर्दा देखेको पुस्तकको कभर त्यही तस्बिर थियो । उनले पुस्तक किने र घर फर्किए । उनले पहिलो पटक कुनै पुस्तकको आवरण घण्टौं हेरेका हुँदा हुन् ! अथवा आफ्नै तस्बिर यति लामो समय कहिल्यै हेरेका थिएनन् होला!

'म यो 'थ्रिल' (सनसनाहट) सधैं कायम राखिरहन चाहन्छु,' उनले मनमनै संकल्प गरे । यसपछि उनी कैयौं पुस्तकका आवरण बनिसकेका छन् । उनको अनुहार देखिने र कहिलेकाहीं पछाडिबाट खिचिएका तस्बिरको आवरण बनेका समेत गरी लगभग साढे चार सय पुस्तक भइसकेका छन् । अबका केही वर्षभित्र सबैथोक ठिक तरिकाले अघि बढे पाँच सय पुस्तकको आवरणमा देखापरेको भनी गिनिज बुकमा उनले नाउँ लेखाउन भ्याउने छन् ।

जेसन बाकाको यो वास्तविक कथा पढिसकेपछि मलाई मेरी 'साया' याद आयो । सुविन भट्टराईको पहिलो पुस्तक 'कथाकी पात्र' पढिसकेपछि म उनको प्रशंसक भएको थिएँ । 'उपन्यास कस्तो भयो कुन्नी,' भन्दै सुविनले मलाई 'समरलभ'को पाण्डुलिपि दिँदा म ज्यादै उत्साहित भएर पढ्न बसेको थिएँ । पछि त्यो उत्साह क्रमशः बिलायो । मेरो अतिअपेक्षाको सिकार 'समरलभ' बनेको थियो । शायद मेरो चिसो प्रतिक्रिया सुनेर सुविनलाई खल्लो अनुभूत भएको हुँदो हो तर उनले मलाई कहिल्यै त्यो खल्लोपना देखाएनन् ।

जसै उपन्यास छापिएर बजारमा आयो, आवरणमा एउटी युवतीलाई देखेर म खासै उत्साहित भइनँ । उपन्यासको आवरणमा त्यसरी युवतीलाई उभ्याउनु सस्तो साहित्यको झल्को दिनु हो भन्ने कुरामा अन्य धेरै विद्वानजस्तै मलाई पनि भ्रम थियो । त्यसैले लामो समयसम्म मैले उपहारमा पाएको उपन्यास पढ्ने जाँगर चलाइनँ । 'कथा थाहा छँदैछ,' भन्ने लागेको हुँदो हो ! बरु त्यो उपन्यास भान्जा अनुजको हात हुँदै कैयौं भान्जाहरुको लोकप्रिय बन्यो । फेरि पनि म ढिठ भएर प्रकाशक–लेखकको प्रयासको प्रशंसक बनिनँ ।

आवरणमा गरिएको मिहिनेत, सुन्दर सायाको उपस्थिति र प्रेमिल कथाले 'समर लभ' आधुनिक क्लासिकको वर्गमा पर्ने 'जोखिम' बढ्दै जान थालेको छ । समर लभकी 'साया' आवरणमा देखिएपछि कैयौं युवाहरुले उपन्यास पढ्दै भावुक हुँदै सायालाई गाली गर्ने वा सायाकै प्रेममा परेको मनमनै कल्पना गर्नेको संख्या ह्वात्तै बढ्यो । 'समर लभ'कै सफलताका कारण अन्य कथा तथा उपन्यासका आवरणमा पनि 'साया'हरु छाउन थाले ।

'जुकरबर्ग क्याफे'की रिया कार्की, 'कथाकी पात्र'की बेबिका राणा, 'साया'की ज्योत्सना योगी, 'समर लभ'की प्रिन्सा श्रेष्ठ, 'खेलौना'की स्मिता थापा उपन्यास वा कथा संग्रहको आवरणमा देखापर्नु भनेको पाठक बढाउनु हो । उनीहरु आवरणमा देखिएका कारण ती उपन्यास वा कथाको मूल्य घटेको छैन, बरु बढेको छ । कतिपयले त आवरण मन परेका कारण किताब किनेका छन्, भलै किताब के हो भनी पछि थाहा पाएका होऊन् । यसले आवरण कलामाथि गर्नुपर्ने मिहिनेत, त्यसले बढाउने पाठक र बढेका पाठकका कारण लेखकले पाउने आम्दानी एकअर्कासँग गाँसिएका मात्र होइन, संलग्न सबै पक्षलाई अझ गम्भीर हुनसमेत सन्देश दिएको छ।

यी कुरासँगै के थाहा कुनै दिन पुस्तक उद्योगले जेसनजस्तै पुस्तकको कभर ब्वाई वा कभर गर्ल हुन्छु भनी सपना देख्ने र त्यो सपना पूरा गर्ने युवा जन्माउला कि !

प्रकाशित: २८ फाल्गुन २०७२ १९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App