१८ मंसिर २०८२ बिहीबार
image/svg+xml १९:२९ अपराह्न
अन्य

झुमाको मुन्धुम संगीत

आधारभूत रुपमा नेपाली गीत–संगीत रैथाने लोक संगीत (एथ्नोम्यूजिक) नै हो । परम्परामा 'आधुनिक' वा 'सुगम संगीत' थिएन । मन्दिरमा 'भजन' (भारतको सा, रे, ग, म, प, ध, नी, सा मा आधारित) गायन थियो जुन हार्मोनियम र तबलामा गाइन्थ्यो । गुम्बाहरूमा वौद्ध 'भजन' गायन (चीनको शाङ, चे, गोङ, फान, लिऊ, वू, यी, शाङ मा आधारित) संगीत र वाद्यवादन पनि प्रचलनमा थिए।


राणा शासन विरोधी आन्दोलनका बेला बिराटनगरमा 'प्रजातन्त्र नेपाल रेडियो (१९५०)' खुल्यो पछि काठमाडौं स¥यो भने खार्साङमा अल इन्डिया रेडियो (१९६२) खुल्यो । दार्जिलिङ र काठमाडौंका मन्दिरका (हिन्दी, सँस्कृत) 'भजन गायक'हरूले लोकलय मिसाएर 'संगीत भरेर' गाउन थाले । रेडियो नेपालमा सिधै बजाउने र गाउने गर्थे । रेकर्ड हुन्नथ्यो । संगीतको नयाँ बजार खुल्यो । बिस्तारै 'लोक–आधुनिक', 'आधुनिक', 'सुगम संगीत' आउन थाले । केही मानिसले गीत–संगीतको रोजगारी पाउन थाले ।

सन् ६० को दशकमा हिप्पीहरू गाँजा र शान्ति खोज्दै आउँदा अंग्रेजी गीत (डो, रे, मी, फा, सो, ला, टी, डो मा आधारित) संगीत पनि नेपालमा ल्याए । गाँजा तान्दै झोँछेका रेष्टुरेण्टहरूमा गिटार, ड्रमसेट, क्लारोनेट बजाउँदै साँझमा डान्स पार्टीहरूले विशेष आकर्षण दिन थाले । नेपाली युवाले गिटार र अंग्रेजी गीत बजाउन–गाउन सिके । गोरी ठिटीका ब्वाइफ्रेण्ड बने । कपाल पालेर ब्याण्ड खोल्दै गए । भारत र पाश्चात्य संगीतमा आधारित गीत–संगीतको 'ट्रेण्ड' बाढीझैँ पसेर लोक संगीतलाई पुरै छायामा पा¥यो । साम्राज्यवाद र विस्तारवाद भनेको आर्थिक, सैनिक र राजनैतिक कुरा मात्र होइन रहेछ । यसले रैथाने सँस्कृती पनि ध्वस्त पार्दो रहेछ भन्ने देखियो ।

धर्मराज थापा, कुमार बस्नेत, हीरादेवी वाइबाले लोकगीतलाई ईम्प्रुभाइज (बिगारेको भनिएको) गरेर गाउन थालेपछि पनि खाँट्टी एथ्नो म्युजिक अपहेलित नै रह्यो । रामशरण दर्नालले लोक गीत–संगीत र बाजामा धेरै अध्ययन गरे । 'नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान'ले कर्णाली लोक सँस्कृतीको अध्ययन (सत्यमोहन जोशीको नेतृत्वमा) गरायो । त्रिभुवन विश्वविद्यालयले लोक साहित्यका रुपमा लोकगीत पढाउन र अनुसन्धान गर्न–गराउन थाल्यो । नेपाली सिनेमामा पनि गीत र नाच राख्न थालियो । रेडियो, टलिभिजन र महोत्सवले नेपाली गीत–संगीतको बजार ठूलो भयो । केही मानिसको गुजारा यसबाटै चल्न थाल्यो । कर्ण शाक्यले पहिलो पटक भिजिट नेपाल १९९८ कार्यक्रम सञ्चालन गरेपछि महोत्सवहरूको बाढी चल्यो । धेरै मानिस तान्ने र व्यापार बढाउने औजारका रुपमा गायक–गायिका, नृत्य कलाकारसँगै लोक दोहोरी अभिन्न अंग बन्यो । जताततै माग बढ्यो । गाउँ गाउँबाट खोजेर नयाँ नयाँ लोक गीत आपुर्ति गर्न भ्याएनन् । कोठैमा लोकदोहोरी उत्पादन गर्ने कारखाना खुले ।

झूमा लिम्बुको आगमनः भारतीय र पाश्चात्य गीत–संगीतको आक्रामक पेलान र कोठे 'लोक गीत' उत्पादन फ्याक्ट्रीहरूले मच्चाइरहेको भाइब्रेण्ट बजारमा झूमा लिम्बु पनि आइन्– ताप्लेजुङबाट । मीठो स्वरको पुँजी मात्र झुमासँग थियो । रेडियोबाट 'नारायण गोपाल', 'अरुणा लामा' र 'लता मंगेस्कर'का नेपाली र हिन्दी फिल्मी गीत सुनेर गाउने 'टेकनिक' सिक्नु बाहेक संगीत सिकाउने गुरु झूमाको कोही थिएन ढुंगेसाँघुमा । यी तीन महान गायकहरू र लिम्बु गीत–संगीत परम्परालाई गुरू थापेर गीत गाउँदै, स्कुलमा पढाइभन्दा ज्यादा केटासँग फुटबल खेल्दै, कान्छी छोरी भएकाले बाबुको सुरक्षित काखमा बसेर दाइ–दिदीलाई गोद्दै, ओल्लो–पल्लो गाउँकासँग 'ग्याङ फाइट' खेल्दै कान्छीको बाल्यकाल बित्यो ।

'दिदीले धरानमा बोलाएर जबरजस्ती पढ्न जोड नगरेको भए एसएलसी पनि दिन्नथेँ होला', मसँग झूमाले भनेको यही हो । अनि ? 'एसएलसीको तयारीका बेला पनि आफ्नो त ध्यानै गीत मात्र । एउटा राईले संगीत सिकाउँछ रे भनेर सिक्न थालेको, गुरु चाहीँ अलिकति सिकाई राखेर चिया खान जाने । हामी विद्यार्थी ग्याङ फाइटमा तबला र भएभरका बाजाहरूले हानाहान गर्ने । एत्राको संगीत?'

अनि ? 'गाउने मान्छे छान्न काठमाडुबाट आएका छन् रे' भन्ने सुनियो । भाग लिन गएँ । नयाँ अनुभव भयो । अनेक गरेर एक्लो बेखर्ची केटी काठमाडु छिरियो । महासागरमा हराइयो । तर गुरु खोजेर संगीत सिक्न यहाँ पनि थालियो । चित्त बुझ्दो गुरु नै पाइन जस्तो लाग्न थाल्यो । कसो कसो गरेर पहिलो एलबम निकालेर दंग परियो । एलबमको बिमोचनमा एकजना बूढाले मन्तब्य बोले । उनका कुरा गहिरा लागे । को रैछ यो बूढो? 'निकै राम्रा कुरा भन्यो' भन्ठानेँ, नाम सोधिन ।'

अनि, मैले सोधें । 'राजावादीले राजदरबारमा गीत गाउन महिनाको १५ हजार तलब प्रस्ताब ल्याए । म त दंग परेँ । हतार हतार नवीन (सुब्बा) दाईलाई सुनाएँ । दाइले त,तँलाई दालभात खान पुगेन? आइज मेरोमा, म खुवाउँछु । तर खवर्दार पस्लास् दरबारमा ! भनेर झसंग्गै हुने गरि झाँटे', झुमाले भनिन्, 'दाइले यसो भनेपछि दरबारमा गाउन जाने कुरै भएन । दाईले अभिभावक भएर सम्हालेकोमा धन्यवाद दिएँ !'

अनि ? झूमा – 'दाइले भनेर, पवित्रा सुब्बाले संगीत सिक्न कतै लगे । पुग्दा त त्यही विमोचनको बूढो रहेछ । नाम अम्बर गुरुङ भनेर सुनेँ । गुरुङले संगीत सिकाउने भए । भोलि आउ ! पर्सि आउ !! भन्थे । अलि अलि सिकाउँथे । कहिले 'आज मुड छैन' भन्थे । 'म जस्तै यो बूढो पनि मूडी रहेछ' भन्ने लाग्यो । धाएर जान्थेँ । कहिले गफ मात्र गरेर फर्काउँथे । ५–६ महिना पछि त दिक्क लागेर रोएँ । मनमनै भनेँ – सिकाउँछु संगीत भन्छ, झुलाउँछ मात्रै । छोडिदिउँ जस्तो पनि हुन्थ्यो । तर किन किन उनबाट मात्र सिक्न सक्छु जस्तो लाग्थ्यो । एक पटक जाँदा मुस्किलले एउटा सानो सुत्र बाताउने र छोडिदिने । यसरी किन दुःख दिएको होला? भनेर बेस्सरी रिस उठ्थ्यो । उनका अरु चेला पनि भेट हुन थाले र गीत–संगीतमा लागेकाहरू चिनियो । पछि थाहा पाएँ – संगीतमा कमिटेड छ कि छैन भनेर जाँच्न पो झुलाएको अरे । गुरुहरूले यसरी जाँच गर्दा रहेछन् । अर्थात, गीत–संगीत भनेको गंभीर कमिटमेन्ट नभएकाले गर्ने ठट्टाको विषय होइन रहेछ' भन्ने कुरा बुझेँ । त्यसपछि जीङगल गाउन पनि छोडेँ । संगीत पढ्नै भनेर काठमाडौं विश्वविद्यालयको संगीत स्कुल पनि भर्ना भइयो । के के गन्जागोल भएर हापियो ।'

गुरुको अर्थ थाहा छ ? झूमा – 'थाहा छैन ।' गुरू भनेको देख्दा अलि डर लाग्ने, भेट्न नगई नसकिने आकर्षक शक्ती भएको, आफ्ना हरेक प्रश्नको जवाफ दिने, एक पैसा नमागी विद्या लगायत बाँच्न–मर्न समेत सिकाउने मानिस हो । पढाएर सर्टिफिकेट दिने मानिस त तिमीले पैसा तिरेको रसिद–भर्पाई बाँड्न बसेको मात्र हो । गुरू होइन । झूमा – ???। म – सरी, मैले कडा कुरा गरेँ ? झूमा – 'होईन । गुरुको परिभाषा सारै घत प¥यो ।' म – कसरी ? झूमा – 'एकपटक तेरथुम बजार पुगियो । रातभरी धान नाचियो । स्वर भासियो । अर्को दिन साँस्कृतिक कार्यक्रममा गाउनु पर्ने थियो । म नर्भस भएँ । के गर्ने ? भनेर अम्बर सरलाई फोन गरेर सोधेँ । उहाँले एउटा औषधी बताइदिनु भयो । त्यो खाएर दिनभर सुत्नु 'ठीक हुन्छ' भन्नु भयो । साँच्चै ठीक भयो र मलाई लाग्यो गुरु भनेको यसरी अप्ठ्यारोमा पनि बाटो देखाउने हुनुपर्नेरहेछ ।'

अम्बर गुरुङबाट के के सिकेजस्तो लाग्छ ? झूमा – 'सिकेका कुरा १– संगीतले मनोरन्जन त दिन्छ नै तर आत्मरन्जन पनि दिने गीत–संगीत मात्र सदाबहार हुन्छ । यो सिकेर म कर्मसियल गीत–संगीततिर पस्नबाट रोकिएँ २– संगीत भनेको हल्काफुल्का काम होइन, यसले मानिसका मनको घाउहरूमा मल्हम लगाएर निको पार्न सक्नु पर्छ । नत्र संगीत पनि बेकारको हल्ला मात्र हुन्छ । ३– हरेक दिन 'संगीत साधना' गर्न नसके संगीतको तपस्या–मैदानबाट पत्तैबिना कसैले आफुलाई आउट गरिसक्छ । ४– नेपालको अत्यन्तै सम्पन्नशाली गीत–संगीत भनेको लोकसंगीत हो । यसलाई हाम्रो सम्पदाका रुपमा सम्हाल्नु पर्छ यो हाम्रो अमुल्य पुँजी हो । ५– गायक वा संगीतकार हुनु सजिलो छ तर आइलाग्ने दुःखमा पनि टिक्न सक्नेले मात्र केही गर्न सक्छ । नत्र बाढी आएर हराएर गएजस्तो हुन्छ । ६– गायक र संगीतकारमा हुनुपर्ने गुण नैतिकता पनि हो । किनभने चरित्रहिन गायकको गीतले मानिसको हृदय जित्दैन । ७– गीत–संगीतले टीममा मिलेर काम गर्न सिकाउँछ । किनभने एउटा गीत बन्न गीतकार, संगीतकार, वाद्यवादक, रेकर्डिष्ट, एरेन्जर, गायक लगायत फरकफरक स्वभावका मानिससँग मिलेर काम गरिन्छ । ८– गीत–संगीतमा लागेपछि आर्थिक रुपले दुःखी भइन्छ होला तर मनमा अपार खुशि हुन्छ आदि ।

अनि अरु ? झूमा – 'थुप्रै छन् । पछि मेरो किताबमा सबै कुरा लेख्छु ।'

भेटघाटमा झूमासँग यस्तै कुरा हुन्थे । धेरै दिनपछि झूमा भेट्न आइन् र भनिन् – 'अम्बर सरको कम्पोजिशनका गीतहरू रेकर्डिङ गर्ने भनेको गाउँदा 'लिम्बु टोन आयो' भन्नु भयो । के गर्ने होला ?' आईपीए (इन्टरनेशनल फोनेटिक एशोसियसन)को चार्ट अनुसार नेपाली भाषाका स्वर तथा व्यन्जन ध्वनीहरूको उच्चारण कुन कुन अबयब कसरी चलाएर उत्पादन हुन्छ भन्ने बारे म सघाउन सक्छु भनें मैले ।

झूमा – 'त्यो भनेको के हो?' कुनै पनि भाषामा निहित स्वर र व्यजन ध्वनीहरू फोक्सोबाट आएको हावालाई हाम्रो ओठसम्मका कुन कुन अबयहहरूले के कसरी 'नरोकी तर साँघुरो भएर' वा 'रोकेर फुत्त छोडेर' वा 'घर्षण गराएर' वा सास बाहिर फुकि–फालेर वा हावा भित्रै निलेर उच्चारण गर्छन् भन्ने विज्ञान हो । संसारभरिका भाषा वैज्ञानिकले तयार गरेको तालिका ।

झूमा – 'लु, यो त जान्नै पर्ने भयो ।'

त्यसपछि हरेक गीतका ध्वनीहरूको ठीक उच्चारण गर्नेबारे २ महिना काम ग¥यौं । संगम स्टुडियोमा अम्बर गुरुङ दाई र म पनि सिसाको झ्याल बाहिर बसेर रेकर्डिङ गर्ने काममा संलग्न भयौं । रेकर्डिङ सिद्दिएर यलमाया केन्द्र, पाटनमा, 'अम्बर संगीत' एलबम (कमलमणी दिक्षितको अध्यक्ष्यतामा) बिमोचन भयो । झूमाले एलबमबाट २ गीत गाइन् । मैले संचालकको काम गरेँ । पत्रकार वक्ता पिटर जे कार्थकले भनेका थिए – 'अम्बर दाजु संगीतै पढेका संगीतकार र गायक भएकाले हामी दार्जि्लिङमा त्यसै डोमिनेटेड हुन्थ्यौँ । त्यसमाथि उहाँ 'दादा' टाइपको मानिस् । उहाँ बोलेपछि हामी थर्कमान । अम्बर दाजुले नै दार्जिलिङ्मा आधुनिक नेपाली गीत–संगीतको आन्दोलन ल्याएको हो । उहाँले सिकाएका मानिस वरिष्ठ संगीतकार भैसकेका छन् । दाजुको गीतको लय परैबाट छुट्टि हाल्छ । अम्बर दाजुले भारतको २ र नेपालको २ गरेर ४ वटा राष्ट्रिय गान गाउनुभयो । जस्मा नेपालको पछिल्लो राष्ट्रगानको संगीतै भर्नुभो । यसको संगीत चीनमा भएको ओलम्पीकमा बजेका राष्ट्रगानको धूनमा टप १० मा समेत छानियो । अम्बर गुरुङ जत्तिको ठूलो संगीतकार नेपाली समाजमा अहिलेसम्म जन्मेको छैन । यस्ता महान संगीतकारको चेली झूमाले दाजुकै संगीतमा गाउन पाउनु सौभाग्य हो ।'

बक्ताका रुपमा प्रोफेसर अभि सुवेदी, वरिष्ट गीतकार रत्न सम्शेर थापा, वरिष्ठ गीतकार तथा जनकवि दुर्गालाल 'खोबिलो' समेतले गुरुङको योगदान चर्चा गर्दै अम्मर संगीतको उत्तराधिकारी हुन थालेकामा झूमालाई बधाई दिए । कार्यक्रमको अन्तमा कमलमणी दिक्षितले म अम्बर गुरुङको लोभलाग्दो उचाइसामु नतमस्तक स्यालुट गर्छु । आज जगदम्बा पुरस्कारले मैले सम्मानित गर्न पाएका दुर्गालाल, रत्न सम्शेर र अम्बर गुरुङ मेरै यो यलमाला केन्द्रमा उपस्थिति हुँदा र झूमाजस्ती गायिकाको मधुर स्वर गुन्जायमान हुँदा यो धर्ती पनि पवित्र बनेकोछ 'भनेर सभा विसर्जन गरे । अन्तमा तिखेदेवलका सुनिता वनेम लगायत हाम्रा भदैनीहरूले याङबेनसँग पकाएको पोर्कको सितन र तीनपाने सङलो सगुन पान गराएर मैझारु गरिएको बरिष्ठ गायक दीप श्रेष्ठले औधी मनपरेको कुरा गरेका थिए ।

खासाम – एक दिन झुमाले भनिन् – 'म ४–५ वर्षदेखि लिम्बु गीत–संगीतमा काम गरिरहेछु । रेकर्डिङ पनि भइरहेकोछ । यसबारे अलि छलफल गर्नु प¥यो । किन गरेको यस्तो काम ? झूमा – 'म जतिको संगीतमै लागेको र भाषा पनि बुझ्नेले नगरे, कसले मात्र दस्तावेजीकरण गरिदेला ? कसैले नगरे नेपालको यो हाम्रो सम्पदा नै नासिएर वा मरेर जाला भनेर गरेको ।'

हामी बस्यौँ । सबै गीत सुनेँ । सुनिसकेपछि हाक्पाराको मन्धुम अलि कमजोर देखियो । 'रेकर्डिङ भइसक्यो । के गर्ने अब', झुमाले भनिन् । छलफलबाटै – 'फेरि एकपटक इलाम, पाँचथर र ताप्लेजुङ हाक्पाराको मुन्धुमलाई भेलिडेट गर्ने र रि–राइटिङ तथा रि–रेकर्डिङ गर्ने' निर्णय भयो । फिल्डमा खोज्नु–बुझ्नु पर्ने चेकलिष्ट तयार भयो । झूमा फिल्ड हिँडिन् । फिल्डको काममा कवि प्रकाश थाम्सुहाङले पनि सघाए ।

फेरि हाक्पाराको मुन्धुम लेखन कार्य गरेर पूर्णता दिने र पुनः रेकर्डिङ गर्ने काम भयो । यसको अंग्रेजी अनुवादमा कवि तथा अंग्रेजीका शिक्षक मनप्रसाद सुब्बा, समालोचक तथा अंग्रेजीका प्रा. गोबिन्द भट्टराई र वकिल तथा अंग्रेजीका प्रा. मोतीकला सुब्बा देवानले सघाए भने सिरिजंगा लिपीमा ट्रान्स्क्राइब गर्न कवि स्वप्नील स्मृतीले सघाए । 'खासाम' एलबममाथी छलफल कार्यक्रम पनि भयो । प्रा. अभि सुवेदी र मैले छलफल कार्यक्रम (यलमाया केन्द्रमा) सन्चालन ग¥यौं ।

झूमाको योगदानः सबैले संगीत सिक्छन् । संघर्ष गर्छन । गाउँछन् । चिनिन्छन् । एलबम निकाल्छन् । कमाउँछन् । बिहे गर्छन । घर बनाउँछन् । परन्तुमा केही 'नयाँ काम' गर्नेको इतिहासमा नाम लेखिन्छ । 'बिजिनेश एयाज युजुवल' मात्र गर्नेलाई इतिहासले गन्ती गर्दैन । झूमाका मुल्यांकन गर्ने बेला त भइसकेको छैन, अझै सकृय काम गरिरहेकी छिन् । तथापी, आजको मिती सम्ममा झूमाले नेपाली संगीतमा के नयाँ काम गरिन त ? भनेर छलफल गर्न सकिन्छ । समयावधीको किल्ला ठोकेर कसैबारे समालोचना वा मुल्यांकन गर्ने स्थापित प्राज्ञिक विधी पनि हो ।

झूमाका अहिलेसम्मका सांगितिक पौरखका रुपमा तीन एलबम, ए साइँला, अमर संगीत र खासाम छन् । पहिलो एलबम त संगीत भनेको के हो थाहै नपाई रहरमा निकालेको हो भनेर झूमा आफै भनेकाले यसमा नयाँ कुरा खोज्ने र योगदान खुट्याउनेतिर म लागिन । त्यसो त, जीवनको पहिलो एलबमले संगीतमै केही गर्ने हौसला बढाएको र संभावित गायिकाको रुपमा झूमालाई उभ्याएको हुनुपर्छ । कर्मयोगीलाई यस किसिमका उर्जाले नै थप उचाइतिर बढ्दै जान सघाउँछ ।

'अम्बर संगीत' एलबममा अम्बर गुरुङले रचेका (एउटा गीत रत्न शम्सेरको) र गुरुङले नै संगीत भरेका गीत छन् । एउटा गीत ज्याज संगीत–तालमा गाइएको छ भने अरु भारतीय शास्त्रीय संगीतमा नेपाली लोक लय र अम्बर संगीत फ्युजन गरिएका छन् । वाद्यवादनमा पनि भारतीय तथा पाश्चात्य र थोरै नेपाली बाजा प्रयोग भएका छन् । मानवीय संवेदना, देश प्रेमका भावना र मायाजालका आवेगहरू गीतका विषयवस्तु बनेका छन् । तर, यसमा ठूला गीतकारहरूले रचेका र ठूलै संगीतकारले संगीत भरेका गीत, संगीतको राम्रो ज्ञान हासिल गरेर प्राविधिक दृष्टिले उचित तरिकामा गुरुको निर्देशनमा झूमाले गाएकि छिन् भन्ने मात्र भयो । नयाँपन भन्दा पनि गुरु–चेलीको आपसी आदर–स्नेहको प्रतीक भएकोछ यो एलबम । गायनमा परिस्कार आएकोछ । यो एलबमको काम गरेपछि झूमाभित्र 'म्युजिकल बब्बल' थपिएको र कन्फिडेन्स बढेको त छ तर सबैतरि बिछट्टै 'नयाँ कुरा' खोज्ने कुरा पनि भएन ।

झूमाको तेस्रो एलबम 'खासाम' (लिम्बु भाषाः सभ्यता) मात्र यस्तो एलबम हो जुन नेपालमा कसैले नगरेको र 'एथ्नो म्युजिक' भन्न सकिने पहिलो 'मानक' एलबम तथा नेपालको अमूर्त साँस्कृतिक सम्पदाका रुपमा यूनेस्कोले अर्काईभ गरेर राख्नै पर्ने साँस्कृतिक अभिलेख बनेकोछ ।

'मुन्धुम संगीत' अध्ययन गर्दा नयाँ कुरा पत्तो लाग्ने र तिनलाई सैद्धान्तिकिकरण गरेर नयाँ सिद्धान्त प्रतिपादन हुन्छ । झूमाले खासामको काम गर्ने शिलसिलामै 'मुन्धुम संगीत' भन्ने नयाँ शब्द पनि क्वाईन गरिन् । 'मुन्धुम संगीत' एउटा छुट्टै संगीत हो भनेर क्लेम गर्ने आँट कसैले गरेका थिएनन् । लिम्बु समाजको साँस्कृतिक निधिका रुपमा रहेको गीत, संगीत र गायन कलाको विछट्ट र आफ्नैपन छ यसलाई मुन्धुम संगीत भन्नु पर्छ भन्ने झूमाले खासामको अनुसन्धान सिलसिलामा स्थापना गरेको नयाँ 'हाइपोथेशिस' हो । यसैलाई 'सब्स्टानशियेट' गर्न खासामका गीत तथ्यांकका रुपमा दस्तावेजीकरण पनि उनैले गरिन् । कुनै पनि सृजनामा 'सृजनात्मक क्षमता' पनि हुन्छ । झूमाको यो नयाँ 'हाइपोथेशिस'ले 'घाटु संगीत', 'सोरठी संगीत', 'मारुनी संगीत', 'चुड्का संगीत', 'झाम्रे संगीत', 'सेलो संगीत' आदि नेपाली माटोको सुगन्ध भरिएका साँस्कृतिकगत संगीतका 'जेनेयर'लाई छुट्टाछुट्टै तर नेपालकै विशिष्ट सम्पदाका रुपमा विकास गरिनु पर्छ भन्ने बहसमा सृजनात्मक उर्जा थप्नेछ भन्ने म ठान्छु ।

हाक्पारा– मुन्धुम संगीतका अनेक रुप आजसम्मै लिम्बु समाजमा जिवित रहेका परम्परागत अदृश्य साँस्कृतिक सम्पदा हुन् । खासाम समाबिष्ट पहिलो 'हाक्पारा'ले सिँगै ब्रह्मान्ड, यो दुनिया–जगत तथा बनस्पती र प्राणीको सृष्टीजस्ता गंभीर 'मुन्धुम'लाई बिशिष्ट किसिमको शैलीमा लय हालेर कहन्छ । हाक्पारालाई मन्धुम संगीतको शास्त्र पनि भनिन्छ । हाक्पारा गायनमा पारंगत भएको गायकले जस्तोसुकै गीत गाउन सक्ने महारथ हासिल गर्छ भनि दावा गरिन्छ । खासाम माथिको छलफल कार्यक्रमका दिन सँस्कृतीविद सत्यमोहन जोशीले यही हाक्पारा गायनमा आधारित भएर मुन्धुम संगीत सम्पूर्ण कोस्मोस(खगोल), धर्ती र दुनियाको सृष्टीको गीत रहेछ । लिम्बु समाजको हाक्पारा यति शसक्त छ भनेर यही एलबम सुनेर थाहा पाइयो भनेर यस्तो संगीतको गंभिरतालाई गाएकोमा झूमालाई बधाई दिनु भयो र नेपालको यो अदृश्य साँस्कृतिक सम्पदालाई यूनेस्को र नेपाल सरकारले तुरन्तै अर्काइभ गर्नु पर्ने विचार पनि राख्नु भयो । जोशीका कुरामा सहमत हुँदै तत्कालिन नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति तथा वरिष्ठ कवि र याकथुङ मुन्धुमविद वैरागी काइँलाले भन्नु भयो, 'लिम्बुहरूको मुन्धुम परम्परा सामजिक संविधान र नियम कानुन वा कष्टोमरी ल हो । नेपालको संबिधान र कानुनबिना पनि लिम्बुहरू बाँच्न सक्छन् होला तर मुन्धुमका नियम बिधान बिना लिम्बु समाज चल्न सक्दैन । मुन्धुमले नै लिम्बु समाजलाई बाह्रै महिना के कसरी समाज सन्चालन र व्यवस्थापन गर्नु पर्छ भनेर निर्दे्शित गर्छ । के कस्तो मुल्य मान्यतामा आधारित अनुशासनमा बस्नु पर्छ, बोल्नु पर्छ, व्यवहार गर्नु पर्छ भनि सिकाउँछ ।' उहाँले मुन्धुमजस्तो गंभीर विषयलाई स्वरमा लिपिवद्ध गरी अभिलेखिकरण गरेकामा झूमालाई स्याबासी दिए ।

सोघा नाप्मा मुन्धुम– सोघा नासप्मा मुन्धुम पनि अकाल मृत्यूका कारण अतृप्त बनेको आत्माको कुशल व्यवस्थानको विधीविधान गरेर मनोवैज्ञानिक समस्याको मैझारु गर्ने मन्त्रजस्तो मुन्धुम गाइएकोछ ।

सि? मेरिङ मुन्दुम–ः सि?मेरिङ मुन्धुमले आफ्नो बच्चाको मृत्यले गर्दा शोक संतप्त तथा विछिप्त मानसिक अवस्था व्यवस्थापन गर्ने मनोवैज्ञानिक चरणगत विधी प्रस्तुत गरेकोछ ।

ख्याली– ख्यालीमा युवा युवती (हाट बजार मेला–उत्सबतिर) भेटघाट हुँदा उच्च सिष्टाचारका साथ 'कवितात्मक वार्तालाप' गरेर सभ्य किसिमले चिनजान गर्ने, साइनो केलाउने र साइनो लागे सोही अनुसार संबोधन(ढोग–भेट गर्ने । साइनो नलागे कुल–कुटुम्बले गर्ने मुल्य र मान्यताका आधारमा 'धान नाच्न' प्रस्ताब गर्ने गरिन्छ । यो एक किसिमले प्रथा जनित कानुनका रुपमा रहेको समाज व्यवस्थापन विधी हो जसले लिम्बु सँस्कृतीका रुपमा सँस्थागत भएर समाज सञ्चालनमा मद्धत गरिरहेको छ ।

पालामहरू–खासाममा समेटिएका पालाम(हरू) लिम्बु गीत–संगीतका फरकफरक भौगोलिक वैशिष्टताका (फेदाप्पे, चारखोले र तम्मरखोले) नमुना हुन् । यिनमा आ–आफ्नो रस्ती–बस्ती मान–परम्परा–इज्जत र मानवीय मायाप्रिति तथा अधिकारका गाथा गाइएका छन् । आफु जन्मेको जमिन या थातथलोको माया र मानव बीचको मायाप्रिीतलाई गीतका रुपमा गाउँदा नै कुनै पनि मानिसमा देशभत्तिको भावना हुर्कने हुन्छ । पालामहरूले आफ्नो जमीनको झरना, सुख–दुःख, जीवन–जगत, इष्टमित्रका गाथा गाउन र त्यसमा गौरब गर्न सिकाउँछन् । यिनै जीवनका अत्यन्तै गंभीर तर मुटुका धडकनमा बसेका विषयवस्तु समेट्ने पालाम लिम्बु समाजको र प्रकारान्तरले सिंगो नेपालकै सम्पदाका रुपमा खासाममा दस्ताबेजिकृत भएका छन् जसलाई 'मुन्धुम संगीत' कै अंश मानिएको छ । झूमाले ठाउँ ठाउँमा सांगितिक कार्यक्रममा 'मुन्धुम संगीत' शब्द प्रयोग गरिरहेकिछिन् र यसले विस्तारै सबै विद्वत वर्ग, अध्येता, संचारकर्मीका जिब्रोमा जरा हाल्न थालेकोछ ।

खासाममा छलफल गर्न सँस्कृतिविद् प्रा. तुलशी दिवसले नेपाली 'लोक साहित्यको क्षेत्रमा मुन्धुम संगीत मार्फत लिम्बु समाजको जीवन दर्शन खासाममा अभिलेखित गर्ने सुन्दर कार्य झूमाले नै पहिलो पटक गरेको विचार राखेका थिए । यहि दिन, काठमाडौं विश्वविद्यालयका 'एथ्नोम्युजिकोलोजी'का प्राचार्य डा. लोचन रिजालले 'एथ्नो म्यूजिक'हरू कसरी अभिलेखिकरण गर्न सकिन्छ भन्ने कुराको एक नमुनाका रुपमा खासाम तयार भएकोमा खुशी व्यक्त गरे । ललित कला क्याम्पसकी प्राचार्य संगीता प्रधान राणाले विद्यार्थीहरूलाई 'लोक संगीत'लाई कसरी अभिलेख गर्नु पर्छ भन्ने जानकारी दिने उदाहरणका रुपमा 'खासाम' तयार भएको रहेछ । म मेरा विद्यार्थीलाई यसलाई सन्दर्भ सामग्रीका रुपमा सुन्न र पढ्न लाउने छु । यो कामले प्राज्ञिक प्रशिक्षणमा समेत योगदान गरेकामा झूमालाई बधाई दिइन् । यही सिलसिलामा प्रोफेसर अभी सुबेदीले 'नेपालका रैथाने सभ्यता भनेका किराती, सनातनी र वौद्ध सभ्यता हुन् । खासाम किरात सभ्यता मध्ये लिम्बु समजाको साँगितिक पक्षको एक आधिकारिक दस्ताबेजका रुपमा तयार भएको छ । यो हरेक गीत– संगीतमा लाग्ने गायक र अध्येताहरूले सुन्नु पर्ने र पढ्नै पर्ने सन्दर्भ सामग्री बनेको छ भने । 'अरु जातजातिको पनि यसरी नै साँस्कृतिक अभिलेखहरू तैयार गरेर नेपालको साँस्कृतिक सम्पदाको भण्डार भर्नु पर्छ', सुवेदीले भने ।

थाँती कुरा मुन्धुम संगीतका सबै अवयव ध्ययन गरेर छुट्टै 'मुन्धुम संगीत व्याकरण' लेख्ने काम गर्नु पर्छ भन्ने 'नयाँ बहस' झूमाले विद्वत वर्गसामु अघि सारिन् । यसका निम्ती शायद, भारतीय, चिनीया र जापानिज गायनका आधारभूत व्याकरणहरूको समेत तुलनात्मक अध्ययन गरेर नयाँ सृजना गर्ने वा मिल्छ भने तिनैका धेरै कुरा लिएर मुन्धुम संगीत व्याकरण लेख्ने काम आउँदा दिनमा गर्नु पर्नै देखियो । यो र यससंग सम्बन्धित अनेकौँ र विस्तृत पक्ष गंभीर छलफल तथा अध्ययन गरेर निर्क्यौलमा पुग्न सकिन्छ ।

मुन्धुम संगीतलाई वैज्ञानिक किसिमले परिभाषित तथा स्थापित गर्ने काम झूमा लगायत विदेशी र नेपालका संगीत विशेषज्ञ तथा अध्येता, विशेष गरेर किरात तथा लिम्बु समुदायका संगीत सन्धाताहरूको दायित्वको रुपमा रहेको कुरा मजस्तो एक संगीतको स्रोताले पनि महसुस गरेकोछु । यो काम सम्पन्न गर्नसके विश्व संगीत भण्डारमा मुन्धुम संगीत पनि मानवजातिको साँस्कृतिक पुँजीका रुपमा नेपालका तर्फबाट थपिएर सुरक्षित बस्न सके संसारभरका अध्येता र विद्यार्थीका निम्ती पाठ्य सामग्री हुने र नेपाली पहिचानको एक तत्व बनेर सबै नेपालीलाई गौरब महसुस गराउँनेछ ।

प्रकाशित: २१ फाल्गुन २०७२ २२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App