९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

जाऔं है स्वरेक

झम्के साँझ । चिसो मौसम । स्याङजाको स्वरेक गाँउ (१६००मिटर) । पञ्चेबाजा र लोकगीतको धुन । सबै मस्त । जति थाके पनि गाउन र नाच्नमा साइकले पनि कम थिएनन् । अत्यमा निरज थापा दाइले राष्ट्रिय गीत 'बनेको छ पहराले यो छाती मेरो' गाएर कार्यक्रम समापन गरियो।


साइकल यात्रा कठिन भए पनि गन्तव्यमा पुग्न सकेकामा सबैको छाती गर्वले फुलेको थियो । हामी पोखराबाट 'जाउँ है स्वरेक' अभियानमा निस्केका थियौं । आयोजक थियो, होटल माउन्ट कैलाश । कतिपय पर्यटनकर्मी गाडिमा स्वरेकतिर लागे । हामी भने साइकलमा ।

साइकल सिटी पोखराका अध्यक्ष जितेन्द्रमान शाक्य दाइको नेतृत्वमा हामीले साइकल कुदायौं । उकालो सकिए पछि भकुण्डेमा केही बेर रोकियौं । जाँदाजाँदै बीच बाटो बगालथोकमा कफि पिउदै गरेका तत्कालीन खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र पश्चिमाञ्चल खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलसँग भेट भयो । उहाँहरुलाई शंकर भाइले साइकल सिटी पोखराबारे बताए ।

त्यसपछि हामी स्याङ्गजाबजार तर्फ हानियौ । बजारमा जिविसले स्वागत ग¥यो । त्यसपछि हामी स्वरेक उकालो लाग्न नपाउँदै बगरे बजारमा आमा समुहले खादा लगाइ दिए । सर्बत पिलाए । बाटो बाटोमा यात्रीलाइ दुना टपरीमा दही खुवाउने देखि ठाँउ ठाँउका अबिरे जात्राले रात्तै भयौं । पाउदानी घुमाउन सकस थियो । ग्राबेल कच्ची र धुलो अनि उकालो । तैपनि हामी अघि बढ्यौं ।

साइकल यात्री आउँछन भनेर स्कुले बाबु नानी स्वागत गर्न बसेका रहेछन् । तर, हामी ढिला पुगेकाले उनीहरु फर्केछन् । सुन्दा मन कटक्कै खायो । साथीहरु गणेशजङ्ग थापा, हरिबहादुर थापा, लोक थापा, जितेन्द्रमान शाक्य, निरज थापा, तिर्थ अवस्थी राजु थापा, रक्षे लामा, टोक्केल शेर्पा, शंकर भण्डारी, खेमनारायण ढकाल, तुल गुरुङ्ग जाउँ है स्वरेक कार्यक्रममा पाउदानी चलाउने यात्री ।

पच्चे बाजा बजाउने र स्वागत गर्ने समुह डाँडा माथि हुँदा अनि त्यस ठाउँ अगाडि साइकल चलाउदै पुग्नु पर्दा उकालोमा हामीलाई हम्मे हम्मे थियो । स्वरेक भञ्ज्याङ्गमा भैरव कालिका आमा समुहले पञ्चेबाजा र अबिर जात्रासाथ भब्य स्वागत गरे पछि कालिका मन्दिर पुग्यौ । पर्खाल भित्र ठुलो ६ फिट गहिरो ७ फिट चौंडा खाल्डोमा भैरब शिला रहेछ । जुन शिला बर्षको १ पटक आफै घुम्छ रे । यो शिला वालिङ्गको पेखुबाट उडेर यस मन्दिरमा बास बस्न आएको कथा छ ।

मुसलधारे पानी पर्दा पनि खाल्डोमा पानी जम्दैन रे । मन्दिरप्रति स्वरेक गाँउको ठुलो आस्था छ । मन्दिर दर्शन गरेर फर्के पछि हामी लखतरान हुदै महापुर आइपुग्यौ । भोकका बेला आमा समुहले दिएको मकै भटट र मोही मिठो मानी खाइयो । त्यस पछि हामी अन्तिम गन्तब्य स्वरेक मैदान पुग्यौ । जहाँ लोकभाका गीत र पञ्चेबाजा गुञ्जिँदै थियो । आयोजकले सुत्न मैदानमा टेन्ट लगाएको थियो । त्यही टेन्टमा थाकेका ज्यानलाई केहि बेर आराम गरे पछि हामी रमाइलोतिर लाग्यौं ।

खाना खाएर घरमा भएको भए चुकुल लगाउथ्यौ होला, पहिलोपटक खुला आकाशमा टेन्टमा सररर फस्नर लगाई चुकुल लगाई स्लिपिङ्ग ब्याग ओडेर सुतियो । स्वरेक मैदानमा नारी जागरण आमा समुहद्धारा ०५२ सालमा निर्मित बाल शिब मन्दिर र मैदान नजिकै पोखरी र पुरानो राजेन्द भवानी मन्दिर पनि रहेछ । पोखरीलाई बुढापाका सीता पोखरी भन्छन् । जुन पोखरीमा हिउँदमा पनि पानी हुन्छ । यसलाई भवानी थुम भनिन्छ । राजेन्द्र भवानी मन्दिरको नाममा विद्यालयको नामाकरण गरिएको छ ।

स्वरेकबाट माछापुच्छे, धवलागिरी, अन्नपूर्ण लगायत हिमाल देखिन्छ । प्याराग्लाडिङ्गका लागि समेत स्वरेक उपयुक्त छ । त्यहाँबाट सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ । मौसमले साथ दिए त्यहाँबाट पाल्पा पनि देखिन्छ । स्वरेकलाई वालिङ्ग नगरपालिका, भीरकोट नगरपालिका र कालिकाकोट गाविसले घेरको छ । प्याराग्लाडिङ्ग पाइलट सानु बाबु सुनारले नेपालकै पहिलो प्याराग्लाडिङ्ग स्कुल 'बाबु एडभेञ्चर स्कुुल' ०७३ वैशाखबाट सुरु गर्दै छन् ।

उनले त्यहाँ रिसोर्ट पनि चलाएका छन् । सुनुुवारले सन २००८ मा अमेरिकामा प्याराग्लाडिङ्ग प्रशिक्षण लिएका थिए भने सन २०११ मा स्विजरल्याण्डबाट प्याराग्लाडिङ्ग लाइसेन्स । सगरमाथाको चुचुरोबाट प्याराग्लाडिङ्गमा उडेका उनले सन २०१२ मा नेसनल जियोग्राफिबाट साहसिक अर्वाड पाएका थिए । उनले सन २०१३ मा अफ्रिका महादेशको अग्लो शिखर माउण्ट किलिमञ्जारोबाट पहिलो प्याराग्लाडिङ्ग गरि बिश्व किर्तिमान राखेका थिए ।

स्वरेकमा १२५० घर धुरी छ । स्वरेकमा बाह्मण, क्षेत्री, ठकुरी, मगरका साथै अरु जातीको बसोबास छ । त्यहाँ होमस्टे सुरु हुँदै छ । खानामा स्वरेकमै उत्पादित अर्गानिक स्वाद पाइन्छ । प्रकृति प्रेमिका लागि उपयुक्त छ स्वरेक । हामी बिहान साइकलमै स्याङ्गजा हुदै पोखरा फर्कियौं ।

कसरी पुग्ने ः पोखराबाट स्याङ्गजा बालिङ्ग जाने बस सजिलै पाइन्छ । पोखराबाट ५२ किमि स्याङ्गजाको बयरघारी हुदै १० किमि कच्ची पश्चिम आँधिखोला तरेर मोटरेबल बाटो हुँदै सुन्दरबजार (बगरे बजार ) तिलाहार नेटा हुदै स्वरेक भञ्जाङ्ग पुगिन्छ । त्यहाँबाट स्वरेक मैदान । स्याङ्गजाको वालिङ्गबाट पनि उत्तर अमले, दौबा, धनपुरे, टापुभञ्जाङ्ग, महापुर हुँदै स्वरेक मैदान पुगिन्छ भने सडक मार्ग छाडेर कच्ची बाटो हुदै बयरघारी र बालिङ्गबाट स्थानिय जीपबाट ३५ मिनेटमा स्वरेक मैदान पुग्न सकिन्छ ।

प्रकाशित: २१ फाल्गुन २०७२ २१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App