ग्रिसेली दार्शनिक अरस्तुले साहित्यलाई 'क्रियाशील मानवको अनुकरण' भनेका छन्। यसै परिभाषालाई आधुनिक साहित्यका इतिहासकार विलियम जे लङ्ले 'मान्छेको कथा माने।' समयसँगै साहित्य यस्ता मान्छेको मात्रै, वा उस्ता मान्छेको मात्रै कथा हो भन्ने परिपाटी हावी हुँदै गए, जसका कारण साहित्य मूलभूत मानवीय स्वभावको अनुकरणभन्दा आग्रह र राजनैतिक आस्था पृष्ठपोषणका लागि प्रयोग गरियो। तर ती प्रयोग समयको कालखण्डमा साँगुरिँदै गए। प्रेमको सास्वतता र यसका विविध रुपको चित्रण आज पनि कला साहित्यको प्राण हो।
साहित्य क्रियाशील मानवको अनुकरण नै हो, जसको नैसर्गिक शर्त सम्पूर्ण गुण र दोषसहितको 'मानव' हुनु हो। जहाँ मानवको चर्चा गरिन्छ, मानवीय स्वभावको चर्चा अनिवार्यतः साहित्यविमर्शको केन्द्रतिर अवस्थिति खोज्छ। त्यसकारण सपना, भोक, सुख, दुःख, आकांक्षाजस्तै प्रेम र यौनजस्ता मानवीय स्वभाव सधैँ साहित्यको कोन्द्रीय कथ्यका रुपमा छन्, र यसको इतिहास अक्षर–सभ्यताको इतिहास जत्तिकै लामो र प्रभावशाली छ।
कुन मुलुकको साहित्यमा कति प्रेम लेखियो, त्यसको लेखाजोखा लगभग असम्भवप्राय छ। विश्वभर लेखिने कविता, कथा, चलचित्रका पटकथा र गीतमा प्रेमको स्थान अग्रणी छ। त्यसको सङ्ख्यात्मक संस्लेषण असम्भब छ। तर, प्रेमसाहित्यको सैद्धान्तिक धरातल पश्चिमा र पूर्वीय जगतमा कस्ता भेटिन्छन्, त्यसको आँकलन गर्न सकिन्छ।
पश्चिममा प्रेम साहित्यको अद्य–धरातल ग्रिसेली सभ्यताको मध्यतिरै लिपीबद्ध गरियो, जुन बाइबलको उद्भवसँगै नयाँ उचाइमा पुग्यो। दार्शनिक प्लेटोका सैद्धान्तिक लेख 'द डायलग्स'मा प्रेम के हो र यो कसरी हुन्छ भन्ने सैद्धान्तिक वहस–श्रृङ्खला छन्। उनको 'सिम्पोसियम' तथा 'फेद्रस' प्रेमकेन्द्रीत वहस हुन्, जसमा सोक्रेट्सलाई मूखपत्र बनाएर प्लेटोले प्रेमदर्शन प्रस्तुत गरेका छन्। 'सिम्पोसियममा' एरिस्टोफेनिस नामक एक पात्रका माध्यमबाट भनिएको छ, कि श्रृष्टिको शुरुमा लिङ्ग तीन थिए — पुलिङ्गका सूर्य, स्त्रीलिङ्गकी पृथ्वी तथा दुवै सम्मिश्रित, चन्द्रमाको जस्तो गोलाकारमा द्विलिङ्गी उभय मानव। यी उभयी पनि सूर्य र पृथ्वीजस्तै गोलाकार थिए, र यस्ता प्रत्येक उभयचरका चार हात, चार खुट्टा र दुई अनुहार थिए। कुनै बेला यिनीहरू भगवानको सत्तामाथि धावा बोल्न पुगे। फलस्वरुप, क्रूद्ध देवराज जियसले यी उभय लिङ्गी मानवलाई बीचबाट काटिदिए, जसका कारण आजका जस्ता पुरुष र महिला हुन पुगे। यी पुरुष र महिला, आफ्नो टुक्रिएको आधा महिला र पुरुषको अभावमा तड्पन र मर्न थाले।
त्यो पीडा देखेर आफैँ विक्षिप्त भएका देवराज जियसले यिनीहरूका लिङ्गलाई सक्रिय गरिदिए, जसका कारण उनीहरू स्वतः आफ्नो छुटेको आधाको सहजपूर्ण खोजी गर्न तथा जिवीत रहन सफल भए। यो विपरित लिङ्गीहरूप्रतिको आकर्षण उर्जालाई 'इरोस' भनिएको छ। यसै दृष्टिकोणमा अलिकति सैद्धान्तिक पुनर्परिभाषासहित यौन उत्तेजक साहित्यलाई आजभोलि 'इरोटिक' साहित्य भनिन्छ। ग्रिसेली दर्शनमा यो नै पुरुषको महिलाप्रतिको, र महिलाको पुरुषप्रतिको आकर्षणको अद्यप्ररुप हो, र एक मिथकीय व्याख्या हो।
प्लेटोको 'फेद्रस' मा, फेद्रस नामक पात्रको भनाइ छ 'मान्छेले आफूलाई मन नपर्ने व्यक्तिसँग सामिप्यता खोज्नुपर्छ, कारण सबै प्रेमी पागल हुन्छन्।' यसको उत्तरमा प्लेटोको दलिल छ 'प्रेमीहरू एक उच्च आदर्शको खोजीमा हुन्छन्, जहाँ उनीहरू एक–अर्का हुँदै श्रृष्टिको पवित्रतम सौन्दर्यसँग एकाकार हुन हरक्षण आकाशतिर उड्न खोजिरहेका हुन्छन्।' यस असामान्य प्रयासलाई यसको मर्म नबु‰नेहरू पागलपन भन्छन्। वास्तवमा यस्तो प्रयास यौनिकता र वास्नाभन्दा माथि हुने गर्छ। पागलपन नै भए पनि यो उच्च कोटिको पागलपन हो। प्रेमको उच्चतम रुप हो। त्यसैले उच्चतम प्रेमलाई यसै आधारमा 'प्लेटोनिक लभ' भन्ने चलन छ।
पश्चिमी वाङ्मयमा प्रेमको अर्को अद्यप्ररुप बाइबलमा पाइन्छ, जसले प्लेटोको जस्तो आदर्श प्रेम, आध्यात्मिक प्रेम र यौनजन्य प्रेम, तीनै प्रकारको प्रेमको आधार प्रस्तुत गरेको छ। बाइबलको जेनेसिस अर्थात श्रृष्टिकथामा भनिएको छ, श्रृष्टिको आदि समयमा पुरुष मानव 'आदम' को मात्र कल्पना गरिएको थियो, तर पछि उनकै करङ्बाट नारी मानव 'इभ' रचना गरियो। आदम र इभको 'एकै ज्यान' भनेर गरिएको चित्रण प्लेटोको आदर्श प्रेमको रचनाजस्तो हो, जबकि, बाइबलमै रहेको डेभिड र जोनाथनको भातृत्वपूर्ण प्रेम आध्यात्मिक प्रेमको द्योतक मानिएको छ। बाइबलकै 'सोङ्स अफ सोङ्स' मा भेटिने यौनपूर्ण प्रेमका अभिव्यक्ति शारीरिक प्रेमका व्याख्या हुन् भन्न सकिन्छ। 'न्यू टेष्टमेन्ट' मा प्रेमको मातृत्व पक्षको भावुक चित्रण पाइन्छ, जसमा यशुकी आमा मेरी यशुको मृत शरीरसामु विह्वल भएर रुन्छिन्। मानव मुक्तिका लागि भनेर यशुले गरेको प्राणउत्सर्ग बाइबलमा व्याप्त आध्यात्मिक शैलीको प्रेमको सबैभन्दा प्रभावशाली अद्यरुप पनि हो। शारीरिक मिलन अर्थात् इरोस भन्दा पृथक, यस प्रकृतिको बलिदानीपूर्ण प्रेमलाई पश्चिमा दार्शनिकहरूले 'अगेप' भनेका छन्।
मोटामोटी रुपमा पश्चिमा साहित्यमा प्रेमका यिनै केही सिद्धान्तको प्रभाव छ। लामोसमय पछाडि अर्थात अठारौँ शताब्दीतिर यिनै सिद्धान्तका किनारै किनार सिग्मण्ड फ्रायड, याक्स लकाँ र कार्ल गुस्ताभ युङ्ले मनोविश्लेषणका सिद्धान्त अगि सारे। प्रेमको सौद्धान्तिकरणमा युङ्को भूमिका केन्द्रीय होइन, तर फ्रायडको विश्लेषणले आजपर्यन्त लेखकहरूलाई प्रभाव पारिरहेकै छ। उनको तर्क छ, 'पुरुषहरू इडिपस ग्रन्थीका कारण महिलाप्रति आकर्षित हुन्छन्।' यसको अर्थ हो, राजा इडिपसले डाहाकै कारण आफ्ना पिता लाओसको हत्या गरे, र यौनआकर्षणले आमा जोकास्टीसँग विहे गरेर सन्तान समेत जन्माए। यस्तै, इलेक्ट्रा ग्रन्थीको पनि चर्चा गरिएको छ, जसमा महिलाहरू पुरुषतिर आकर्षित हुनेको सैद्धान्तिक आधार मानिएको छ। यसलाई सिद्धान्तकारहरू 'पेनिस इन्भाइ' अर्थात पुरुष जैनिन्द्रयप्रतिको ईष्यापूर्ण आकर्षणसँग जोडेर पनि हेर्छन्। सोफोक्सिको नाटक 'एन्टिगोनी' लाई यसको एक मानक उदाहरण मानिएको छ। यसमा बहिनी एन्टिगोनी, राजाको प्रतिबन्धका वाजजूद आफ्नो मारिएको दाइ पोलिनेसस्को दाह संस्कार गर्न उद्यत हुन्छिन्, जसका लागि राजद्रोह आरोपमा मृत्युदण्ड स्वीकार गर्न पुग्छिन्।
पश्चिमा प्रेम साहित्यमा प्लेटो, बाइबल र फ्रायड, यी तीन विश्लेषणकै प्रभाव परेको देखिन्छ। प्लेटोको प्रभाव पेट्रर्कको चौध हरफे सनेट कविता, पुनरजागरणकालीन र सत्रौँ शताब्दीको आध्यात्मिक कवितामा, सेक्सपियरका कविता र कतिपय नाटकमा, जोन डोन र एन्ड्रियु मार्भेलका कवितामा स्पष्टै देख्न सकिन्छ। फिलिप सिडनी, क्रिष्टोफर मार्लो र एडमण्ड स्पेन्सरका कविता मूलतः प्रेमका कविता हुन्। जोन डोनका अधिकांश कविता प्लेटोका प्रेमव्याख्यामा आधारित छन्। बाइबलको प्रभाव हामी मिल्टनका काव्यहरूमा भेट्न सक्छौँ, र उनीपछि आएका एलिजाबेथ बेरेट ब्राउनिङ्, अल्फ्रा बेन, क्रिष्टिना रोसेटी, दाँते गेब्रियल रोसेटी आदिका कवितामा देख्न सक्छौँ। यसै क्रममा रोबर्ट ब्राउनिङ्, इमिली डिकिन्सन, पी. बी सेली, जोन किट्स, रोबर्ट बर्न्स, लर्ड बाइरन, एडगार्ड एलन पो आदिले प्रेम कविताको भण्डारलाई समृद्ध तुल्याएका छन्। यो श्रृङ्खला जारी छ, र आधुनिक कालमा खलिल जिब्रान र पाब्लो नेरुदाका कविता संसारकै उत्कृष्ट प्रेम कविताको रुपमा स्वीकृत छन्।
अठारौँ शताब्दीमा उदय भएको मानिएको अङ्ग्रेजी उपन्यासमध्ये धेरैजसोको केन्द्रीय कथ्य प्रेम हो। जर्ज इलियटको 'मिल अन द फ्लस', इमिली ब्रेन्टेको 'वुदरिङ् हाइट', चार्लोट ब्रोन्टेको 'जेन आयर' हुँदै, जेन अस्तिनका अधिकांश उपन्यास प्रेम र विवाहमा केन्द्रित विश्वप्रसिद्ध उपन्यास हुन्। आधुनिक कालको उदयसँगै डि एच लरेन्सका उपन्यास यौन र प्रेममा आधारित भएर प्रकाशित भए, जसको केन्द्रीय उदाहरण लेडी लेचर्टीज लर्भरलाई मान्न सकिन्छ। अत्याधुनिक समयमा अमेरिकी उपन्यासकार टोनी कुश्नरले आधुनिकताको चपेटामा परेको प्रेमका सजिला–अप्ठेरालाई लेखनको विषयवस्तु बनाउने गरेका छन्। निकोल क्रौसले त 'हिस्ट्री अफ लभ' शीर्षक राखेरै उपन्यास लेखिदिए, २००५ मा।
जहाँसम्म पूर्वीय वाङ्मय र प्रेम दर्शनको प्रश्न छ, यो आदिम सिद्धान्त हो। शिव–पार्वतीको अर्धनारिश्वरको अद्यप्ररुप शिवमहापुराणको अङ्ग हो। शिव र शतिको अतिशय प्रेम, पार्वतीको शिवप्रतिको अनुपम आकर्षण, विष्णुको अन्सुया र बृन्दाप्रतिको आकर्षण सत्ययुगीन प्रेम प्रसङ्ग हुन्। रामायणले प्रेमको आध्यात्मिक पक्ष वकालत गरेको पाइन्छ भने कृष्णको प्रेमलीला संसारकै सुन्दरतम प्रेम अभिव्यक्ति मध्ये एक हो। पूर्वीय वाङ्मयमा कृष्णको प्रेमलीलाभन्दा बढी प्रभावशाली अर्को प्रेम अध्याय सायदै होला। महाभारतमा वर्णित नल–दमयन्तीको कथा, दुष्यन्त र शकुन्तलाको कथा आदि उल्लेखनीय प्रेमप्रसङ्ग हुन्।
कृष्णसँग गाँसिएको प्रेमप्रसङ्गको चर्चा दुई सिरामा गरिनु पर्छ। पहिलो, कृष्ण–राधा अद्यप्ररुप धेरै प्रेमसाहित्यका लागि नमुना हो। यसैको पुनरपठन कृष्ण धरावासीले 'राधा' उपन्यासमा गरे। अर्को, कृष्ण धेरै प्रेमसाहित्यमा त्यो आदर्श प्रेमीको प्रतिरुप हो, जसको प्राप्तिका लागि महिला र पुरुष दुवै उत्तिकै भावुकता साथ लागेको देखिन्छ। मीराबाईको भक्तिरस, सूरदासको दोहा, बिहारीका काव्यिक हरफहरू यसका उदाहरण हुन्। घनानन्दजस्ता प्राचीन भारतीय कविहरूले कृष्ण–विम्बकै माध्यमबाट प्रेम र श्रृङ्गारको अनुपम नमुना प्रकट गरे, जसबाट साहित्यमा यौनपक्षको प्राचुर्य बढेको देखिन्छ।
प्राचिन पूर्वीय साहित्यमा महाकवि कालिदासका काव्य अविज्ञान, शाकुन्तलम र मेघदूत विश्वकै उत्कृष्ट प्रेमकाव्य मध्ये एक मानिन्छन्। असङ्ख्य भारतीय र नेपाली प्रेमसाहित्यमा यी दुई कृतिको प्रभाव देखिन्छ। यी प्राचीन प्रेमप्रसङ्गहरूको प्रत्यक्ष प्रभाव हामी भक्तीमार्गी कवितामा देख्छौ, जसको प्रभाव हिन्दी र नेपाली साहित्यमा बराबरी छ। हिन्दी साहित्यमा सूरदास, मीरा र तुलसीदास त्यस धाराका प्रनिनिधि कवि हुन् भने त्यो बेला नेपाली साहत्यिको भक्ति धारा एक स्वतन्त्र काव्यधाराको रुपमा विकसित भइसकेको देखिँदैन। पछि मोतिराम युगमा प्रेमले केन्द्रीय स्थान प्राप्त गरेको देख्न सकिन्छ।
प्राचीन हिन्दी र नेपाली भक्तिधारामा धेरै समानता भएकाले यो प्रसङ्ग यहाँनिर उल्लेख गरिएको हो। त्यसपछिका समयमा नेपाली र भारतीय साहित्यलाई छुट्टैछुट्टै इतिहासका रुपमा अध्ययन गरिनु नै उचित हो। त्यसैले यस उपरान्त यिनीहरूको पृथक–पृथक अध्ययन पनि भएको हो।
भारतीय साहित्यमा उपन्यासको हकमा, पहिलो मानिएको उपन्यास ठाकुर जगमोहनको 'स्यामा स्वप्न' आफैँमा प्रेम केन्द्रीत उपन्यास थियो। पछि पनि, हिन्दी उपन्यासको परम्परा, पूर्वप्रेमचन्द युगसम्म, मूलतः प्रेमकेन्द्रीत नै रह्यो, तर प्रेमचन्द्र युगमा आएको यसको दिशका, केही दशकका लागि अन्य मानवीय सामाजिक यथार्थतिर ढल्कियो। पूर्व–पूर्वप्रेमचन्द युगमा किशोरीलाल गास्वामीद्वारा लिखीत 'माधव–माधवी वा मदन मोहिनी' हिन्दी साहित्यकै उत्कृष्ट प्रेम आख्यान मानिएको छ। देवकी नन्दन खत्रीको 'चन्द्रकान्ता' आज पनि भारतीय प्रेमसाहित्यको अभूतपूर्व नमुना मानिन्छ।
पे्रमचन्द युगमा प्रेमका अन्य पक्षभन्दा पनि मातृत्वको पक्षमा धेरै बढी जोड दिइएको पाइन्छ। हुन पनि, यो युग शोषणमा परेका नारीको जागरणमा केन्द्रित उपन्यासको युग पनि हो, त्यसैले पारम्परिक प्रेमका अन्य पक्षले त्यति प्रवेश पाएनन्। चलचित्र र गीत भने प्रेमप्रधान सिर्जनकै रुपमा अगि बढिरहे, जुन आजपर्यन्त जारी छ।
जहाँसम्म नेपाली साहित्यको प्रश्न छ, प्राचीनकालमा भक्ति साहित्यकै वरिपरि घुमेको कविता मोतीराम युगमा प्रवेश गरेसँगै श्रृङ्गारिकतातिर प्रवृत्य भयो। यस युगका सुन्दर उपलब्धिहरूमा मोतीराम भट्ट, गोपीनाथ लोहनी, राजीव लोचन जोशी आदिका कविता र गजल प्रमुख छन्। मोतीरामको श्रृङ्गारिक कविता र गजलका पारखी र अनुयायी नेपालमा अत्यधिक मात्रामा भेटिन्छन्। यी श्रष्टा मूलतः गजल र मुक्तकमार्फत प्रेमको शास्वत अनुष्ठान जारी राखेका छन्। यसै गरी लक्ष्मीप्रसाद देवकोटाका महाकाव्य, खण्डकाव्य र कविता, माधव घिमिरेका खण्डकाव्य र गीत, भीमनीधि तिवारीका कविता र गजल सँगसँगै आधुनिक र उत्तर–आधुनिक युगका थुप्रै कवि प्रेमका कविता लेखिरहेका छन्। अन्य विषयसँगै प्रेमलाई पनि कविता वा गीतका कथ्य बनाउने श्रष्टाहरूमा, भूपी शेरचन, बालकृष्ण सम, पारिजात, केदारमान व्यथित, भीम विराग, वैरागी काइँला, हरिभक्त कटुवाल, वाशु शशी, पुष्कर लोहनी, रत्न शमशेर थापा, कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, नरदेन रुम्बा, जस योन्जन प्यासी, अविनाश श्रेष्ठ, उषा शेरचन, सरुभक्त, तीर्थ श्रेष्ठ, दिनेश अधिकारी, कृष्ण प्रसाई, भूपाल राई, भीष्म उप्रेती, श्रवण मुकारुङ, रमेश क्षितिज, मनु मञ्जील, सञ्जीव राई, हेमन्त विवश, हेमन यात्री, शकुन्तला जोशी, चन्द्र रानाहान्छा राई, मणि लोहनी, हेमप्रभास आदि थुप्रै कविबाट नेपाली वाङ्मयले कालजयी प्रेम कविता पाएको छ। कलरब धरानले प्रकाशित गरेको 'आफ्नै छायाँ पछ्याएर' नामक प्रसिद्ध प्रेम कविता सङ्ग्रह यस यथार्थलाई अभिलिखित गर्ने एउटा ऐतिहासिक प्रयास हो। कृतिलाई कवि हेमन यात्रीले सम्पादन गरेका हुन्।
नेपाली आख्यान साहित्यमा प्रेम शास्वत विषय रहँदै आएको छ। यसको विकासको प्रथम चरणमै संस्कृति श्रोतबाट पुनरलिखित उपन्यास 'नालदमयन्तीको कथा', लोकाख्यानबाट विकसित 'मधुमालतीको कथा', 'लालहीराको कथा' आदि प्रेमका आख्यान हुन्। त्यस युग पछि पनि श्रृङ्गार अक्षुण्ण रुपमा नेपाली उपन्यासको केन्द्रीय कथ्य बनेरै रह्यो, जसका कारण माध्यमिककालले हामीलाई 'वीरसिक्का' र 'विलासिनी' जस्ता उपन्यास दिएर गयो। यो परम्परा परिमार्जनसहित निरन्तरता दिँदै रुद्रराज पाण्डे, विश्वेश्वरप्रसाद कोइराला, डायमण्ड समशेर राणा, विजय मल्ल, शङ्कर कोइराला, प्रकाश कोविद्, पारिजात, युधीर थापा, सरुभक्त, कृष्ण धरावासी आदि लेखकका उल्लेखनीय योगदानले नेपाली उपन्यासमा प्रेमको एउटा विराट श्रृङ्खला तयार भएको देखिन्छ। प्रेमको वाहुल्य कथा, चलचित्र र गीतमा पनि आज केन्द्रीय विषयकै रुपमा विद्यमान छ।
यी तमाम ऐतिहासिक प्रमाण प्रेमको कालातीत प्रवाह र अक्षुण्णालाई स्थापित गर्न काफी छन्। साहित्य जति नै यथार्थतिर लस्किए पनि यो पुनः प्रेम र प्रणयजस्ता शास्वत विषयमा आएर पुनर्जीवित भएको अनुभूति गर्दो रहेछ। मानव मनको प्राग ऐतिहासिक तिर्खा हो प्रेम। सम्यताको परिवर्तनसँगै प्याला फेरिए होला, पेयको स्वरुप पनि फेरियो होला, तर त्यो आदिम तिर्खा हो प्रेम जुन फेरिएको छैन, र फेरिँदैन पनि। साहित्य मानव जीवनको आर्थिक दशाको रुपन्तरणका लागि भनेर जति नै नारावाजी गरिए पनि मानव जीवनको प्रवृत्तिगत मूलबाटो प्रेमको बाटो नै हो, जसलाई छाडेर साहित्य यर्थाथको जर्जर बाटो सधैँ हिँडिरहन सक्दैन। साहित्य ललित कला पनि हो, जसको लालित्यको भावभूमि अधिकांश समय प्रेम नै बन्ने गरेको छ। त्यसैले पनि कबीरदासले भनेका हुनुपर्छ, 'प्रेमको अढाइ अक्षर बुझ्ने मान्छे नै महाज्ञानी हो, र लेखकहरूले यस ज्ञानलाई आफ्नो सिर्जनामार्फन चिरञ्जीवी तुल्याएका छन्।'
प्रकाशित: २९ माघ २०७२ २२:३६ शुक्रबार





