३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

पवित्र र दोयम नयाँ शक्ति

नयाँ शक्ति यस्तो उत्तरआधुनिक अवधारणाका रूपमा नेपाली राजनीतिक विमर्शमा प्रवेश गर्यो्, जसका असंख्य व्याख्या छन्। तिनका अर्थहरू भने निरन्तर चलायमान छन्। अर्थहरूको निरन्तर चिप्ल्याइका बाबजुद केही उप–अवधारणाहरू भने कतै टुटेका छैनन्। अर्थ र अवधारणाका क्षणभंगुरताका बीच 'विकास' र 'नेपाल बनाउने' संकल्प अटुट ध्वनित भइरहेछन्।उत्तरआधुनिक राजनीतिक शक्तिलाई केही आधुनिक मानकहरूमा नापेर तीनवटा उपशीर्षकमा विभाजन गर्दा बुझ्न सहज होला। यस आलेखमा सबभन्दा पहिले पवित्र नयाँ शक्तिबारे चर्चा गरिनेछ। पहिलो प्रकारको नयाँ शक्तिले यस अवधारणाको 'पेटेन्ट' आफूसँग भएको दाबी गर्र्ने गरेको छ। दोस्रोमा चर्चा गरिने नयाँ शक्ति भने मार्क्सवादले प्रतिपादन गरेको 'टाइमलाइन'भन्दा आफू बाहिर नभएको बताउने गर्छ। अर्थात्, अब सामन्तवाद सकिएकाले जोडदार रूपमा पुँजीवादको विकास गर्नुपर्ने उसको अघोषित मार्क्सवादी दृष्टिबिन्दु रहेको चर्चा चलाउने गरेका छन्, यसका एकथरी अभियन्ताहरूले। तर, यो दोयम दर्जाको ठानिएको नयाँ शक्तिमा सहभागी हुन चाहने सबैलाई आ–आफ्नै किसिमले राजनीतिक दर्शनको प्रतिपादन गर्न छुुट छ। तेस्रो प्रकारको नयाँ शक्ति एकै प्रकारका भए पनि एउटै पार्टीमा संगठित भएका छैनन्, हुने छैनन्। यो अनौठो प्रकारको नयाँ शक्ति भने खासगरी नेकपा एमाले र नेपाली कांग्रेसभित्रै मौजुद छन्। कांग्रेस र एमाले मार्काका यी नयाँ शक्तिहरू यी पार्टीहरूभित्र चिल्ला कुरा गर्ने र ठोस काम केही नगर्नेहरू हुन्।

पवित्र र 'ओरिजिनल' नयाँ शक्ति
'ओरिजिनल' नयाँ शक्ति निर्माण गर्नेहरू शुद्ध आचरणको वकालत गर्छन् भने वैचारिक प्रदूषणप्रति घृणा व्यक्त गर्छन्। पवित्रता नबिटुलियोस् भनेर नै उनीहरू स्वच्छ छवि भएका मानिसहरू खोजिरहेका छन्। भ्रष्टाचारीलाई कीरा परोस् भनेर पहिल्यै सराप दिइसकेकाले कीरा नपरेका शरीरहरूमा ओरिजिनल नयाँ शक्तिको ध्यान केन्द्रित भएको छ। तर, शहरमा कीरा नपरेका शरिरहरू भेट्न गाह्रो भएकाले उनीहरू केही धिमा गतिमा नयाँ शक्ति निर्माणमा लागेका छन्। अहिले नै ठोस आकार ग्रहण नभएकाले यसका अभियन्ताहरू जो–जो जहाँ–जहाँ छन्, त्यहाँबाट नै अभियान सञ्चालन गर्ने अभिभारा पूरा गरिरहेका छन्। सञ्चारगृहमा भएकाले भोलि आफ्नो प्रतिस्पर्धी हुन सक्ने पार्टी र नेताका शरीरमा परेका कीरा औँल्याउँदै बसेका छन्। तिनका शरीरमा भ्रष्टाचारका कीरा जति गोचर हुन्छ, त्यति नै पछि आफूलाई फाइदा हुने उनीहरूको आकलन हुन सक्छ। त्यसैले लेन्स लगाएर कीरा हेर्नु खासगरी ओरिजिनल नयाँ शक्तिका सञ्चार क्षेत्रका प्रवर्तकहरूको दैनिकी बनेको छ।

पवित्र नयाँ शक्तिका अन्य प्रवक्ताहरू भने आफ्नो मौलिक राजनीतिक दस्तावेज कथ्न केही ग्रन्थहरूका गहन अध्ययनमा लागेका छन्। यस्ता ग्रन्थमध्ये भारतीय बेस्ट सेलर लेखक शिव खेराका 'यू क्यान विन' सबैभन्दा प्रमुख हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ। सो अनुमान गर्ने आधार भने यस शक्तिका अभियन्ताहरूले सार्वजनिक मञ्चहरूमा व्यक्त गर्दै आएका केही 'मनमोहक' विचारहरू नै हुन्। जस्तो, मुख्य अभियन्तामध्येका एकलेे हरेक परिवारले शुद्धीकरणको माध्यमबाट परिवारका सबै सदस्यका शरीरमा परेका कीरा पत्ता लगाउने र ती कीराहरू निर्मूल पार्न केही खास आचरणका विधिहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। कुनै सिद्धान्तको फोहोर आफ्नो शरीरमा नलगाउन शुद्ध आचरणको बाक्लो पर्दाले आफ्नो मन–मुटु ढाक्नुपर्ने सुझाव पनि ती अभियन्ताले सार्वजनिक गरेका छन्। यस्ता अनुपम र पवित्र विचारसहितका दस्तावेज जो अहिले लेखिँदै छ, त्यसमा कुनै प्रचलित 'वाद' वा सिद्धान्तहरू हुने छैनन्। त्यसैले अभियन्तामध्येका एक 'पप' शैलीका विद्वानलाई त्यस्तो 'वाद'बाट ग्रसित नभएको 'ह्वाई नेसन्स फेल' जस्ता किताबका उद्धरणहरू खोजेर दस्तावेजमा मिसाउन खटाइएको छ।

माथि उल्लिखित तथ्यहरू ओरिजिनल र पवित्र नयाँ शक्तिका केही सकारात्मक गुणहरू हुन्। यसका अभियन्ताहरूले नकारात्मक सोचलाई आफ्ना छेउमा ढिम्किन नदिने भएकाले उनीहरूमा खासै केही नकारात्मक गुणहरू छैनन्। बरु यो शक्तिका दुःखहरू भने दिन प्रतिदिन बढ्दै गइरहेका छन्। यी दुःखका चाङ भविष्यमा घट्दै गए वा दस्तावेजकै बललेे ती दुःख निवारण भए भने यो ओरिजिनल नयाँ शक्तिले छोटै समयमा ठोस आकार ग्रहण गर्नेछ।

पवित्र नयाँ शक्तिका दुःखबारे केही नलेख्दा, त्यो शक्तिप्रतिको बुझाइ अपूरो हुनेछ। पहिलो दुःख हो– दस्तावेज लेखिरहेका एक अभियन्ताले आधा जति लेखिएको दस्तावेज लिएर दोयम दर्जाको अर्को नयाँ शक्तिमा पलायन हुनुु। एक पूर्व 'कमरेड'ले शुद्धीकरण प्रक्रियामा आफूलाई केही वर्ष बडो मिहिनेतसाथ सामेल गराएपछि, उनको 'कमरेड'पना न्यूनीकरण भएको ओरिजिनल नयाँ शक्तिका प्रमुख अभियन्ताले विश्वास गरेका थिए। उनले पार गरेका शुद्धीकरणका प्रक्रियाबाट आर्जन गरेको सो विश्वासको बलमा नै उनलाई दस्तावेजको जिम्मा लगाइएको हो। तर, उनलेे आफ्नो 'कमरेडी' प्रदर्शन गरेरै छाडे। यता गद्दारी गरेर उनी दोयम दर्जाको नयाँ शक्तिमा लुसुक्क गएकोमा ओरिजिनल नयाँ शक्तिका प्रवर्तक क्षुब्ध बनेका छन्। त्यसउपर दस्तावेजमा भएका आफ्ना नवीन विचार र शैली पनि अर्को शक्तिको दस्तावेजमा पारिएला भन्ने पिरलो थपिएको छ। यो सकसबाट पार पाउन सजिलो छैन।

पवित्र शक्तिको दोस्रो प्रमुख दुःख बनेका छन्, भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी। गुजरातमा मोदीले कुनै सिद्धान्तबिना नै झिलिमिली विकास गरेको मान्यता राख्ने यी अभियन्ताहरू आफ्ना आदर्श मोदीको प्रशंसा गर्न नपाएर हैरान भएका छन्। सिद्धान्त नमान्ने तर महेन्द्र शाहले प्रतिपादन गरेको राष्ट्रवाद छोड्न नमिल्ने उनीहरूको ठहर भएकाले मोदीप्रतिको अनुराग सार्वजनिक गर्न अहिले अप्ठेरो परिरहेको हो। मोदीले नाकाबन्दी लगाएर 'अराष्ट्रवादी मधेशी'लाई उकेरा लगाएकाले मोदीबाट सिक्न सकिने बुँदाहरू दस्तावेजमा उल्लेख गर्न नपाएकामा उनीहरूलाई सकस परेको छ। त्यसो गर्दा एमालेले राम्रोसँग सम्बोधन गर्न नसकेको 'राष्ट्रवादी भोटर'लाई आफ्नो पक्षमा ल्याउन नसकिने उनीहरूको राय छ। उनीहरूमा ठूलो बेचैनी पैदा भएको छ। यो दुःखबाट मात्रै पार पाउँदा पनि ठोस पार्टी बनाउनेतर्फ उनीहरूले केही सोच्न सक्थे।

पवित्र नयाँ शक्तिको अर्को दुःख के भने उनीहरू मधेशमा समेत आफ्नो प्रभाव विस्तार गर्न चाहन्छन् तर त्यो सफल भएको छैन। मधेशले चिनेका केही अनुहारलाई शुद्धीकरण प्रक्रियामा सामेल गरेर उनीहरू पवित्र तुल्याउन चाहन्छन्। तर, त्यस्ता सबै मधेशीहरू अहिले शुद्धीकरण प्रक्रियामा सहभागी हुनै सक्दैनन्। कारण, उनीहरू 'अशुद्ध' कर्म गरिरहेका छन्। अर्थात्, उनीहरू आन्दोलन गरिरहेका छन्। आन्दोलन, बन्द, हड्ताल, अधिकारको माग, यी सबै चीज पवित्र र ओरिजिनल नयाँ शक्तिमा पूर्णतया वर्जित छन्। त्यसैले उनीहरू पवित्र र शुद्ध 'राष्ट्रवादी' मधेशीहरूको खोजीमा छन्। यो सानो दुःख होइन। यति एउटा सकसबाट मुक्त हुन सक्दासमेत आफ्नो ओरिजिनल नयाँ शक्तिले केही राहत महसुस गर्थ्यो।

ओरिजिनल नयाँ शक्तिको सबभन्दा ठूलो कष्ट के हो भने, आफूले मौलिक रूपमा कथेको 'नयाँ शक्ति' भन्ने नाम नै अकर्ोे दोयम दर्जाको शक्तिले पेटेन्ट अधिकारको नियम कुल्चेर चोरिदिनु हो। उजुर गरेर आफ्नो नाम फिर्ता ल्याउनेबारे उनीहरूले नसोचेका होइनन् तर हिजो कीरा परोस् भनेर सरापेका पात्रहरूले बिटुल्याएको नाम आफ्नो टाउकोमा टाँस्न सम्भव भएन। त्यसैले आफ्नै मौलिक नामको अघिल्तिर पवित्र वा ओरिजिनल भन्ने फुर्को जोड्नुपर्ने बाध्यतामा उनीहरू फस्दै गएका छन्।

दोयम दर्जाको नयाँ शक्ति
पहिले एउटाले सुरु गरेको नयाँ शक्ति भन्ने नाम नै आफूले लिएपछि, जसले सुरु गर्योर, त्यो पनि आफूसँगै मिसिन आइपुग्छ भन्ने यो दोयम दर्जाका प्रवर्तकले सोचेका थिए। तर, त्यस्तो भएन। त्यसैले यो दोयम दर्जाका अगुवाहरूले आफू एक्लै अघि बढ्ने विचार गरेर व्यापक परामर्श गरे। भौतिकवादी विद्वानदेखि अध्यात्मवादी गुरुसम्म विशद् चिन्तन गरेर नै नयाँ शक्ति निर्माणको अभियान सुरु गरिएको हो। अभियान चलाएको केही महिनामा सबलाई पार्टीमा स्वागत गरियो। अरू सबैभन्दा अघि बढेर लगभग पार्टीको आकारमा आफ्नो शक्तिलाई ढालिसके दोयमवालाले। त्यसमाथि 'ओरिजिनल'बाट आधा जति लेखिएको दस्तावेज पनि यतै आएपछि, पार्टीको आकार ग्रहण गर्न यो अभियानका लागि सहज भयो।

यो दोस्रो नयाँ शक्तिको सबभन्दा लोभलाग्दो मौलिकता के हो भने यहाँ आउन चाहने सबैले अरू कसैको सिद्धान्त वा दर्शन मानिदिनुपर्दैन। ओरिजिनलको जस्तो दर्शन वा सिद्धान्त नै नचाहिने भन्ने नियम छैन। सिद्धान्त वा 'वाद' हुनुपर्नेछ तर सबैले एउटै खाले 'वाद' समाएर हिँड्न जरुरी छैन। जस्तो, एकथरी विद्वानहरूको हुल 'न्यू लेफ्ट' शैलीको पार्टी बनाउने दर्शन बोकेर यता आएका छन्। उनीहरू पार्टीमा बसेर अरूका अनुहारमा हेर्दै नहेरी आफ्नै सुरमा 'न्यू लेफ्ट' शक्तिको खेतीपाती गरिरहनमा दृढ छन्। अर्का एकथरी नवउदारवादी अर्थशास्त्रीको समूह छ। त्यो समूह पनि अरू कसैलाई मतलब नै नगरी आफ्नै ढंगले बजार प्रधान मान्ने सैद्धान्तिक पार्टीको निर्माणमा निरन्तर कर्मशील रहनेछ। एउटै पार्टीमा काम गर्ने यी दुईथरीले एकअर्कालाई वास्ता गर्ने छैनन्। कारण, काम गर्ने शैली र हिँड्ने बाटोमा विविधता भए पनि दुवैको पुग्ने गन्तव्य भने निर्दिष्ट छ। त्यो हो, विकसित अर्थात् धनी नेपाल।

त्यही उद्देश्यले प्रेरित तर माथिका दुईभन्दा फरक बाटो हिँड्ने सोभियत शैलीका समाजवादीसमेत आफ्नै धुनमा पाइला चालिरहने अठोटले यो दोस्रो शक्तिमा लागेका छन्। सबै सीमान्तकृत समुदायले अधिकार पाउँदा मात्रै समृद्ध नेपाल सम्भव छ भन्ने बुझेका अर्काे खाले झुण्ड पनि पार्टीभित्र अरू कसैलाई 'डिस्टर्ब' नगरी आफ्नै तालमा आन्दोलन गर्ने उत्कण्ठाले पार्टीमा समावेश भएको छ। मधेश आन्दोलनमा समाहित अर्काथरी आन्दोलनकै क्रममा यता लम्केका छन्।

यीबाहेक यसका अरू नै खाले मौलिकतासमेत छन्, जसको चर्चा सामाजिक सञ्जालका हल्लाखोरहरूले दिनहुँ गरिरहन्छन्। तर, कसैले सन्देह गर्नु नपर्ने एउटा सत्य के हो भने पवित्र वा ओरिजिनल नयाँ शक्तिभन्दा दोयम दर्जाको यो घालमेल नयाँ शक्तिकै बढ्ता चर्चा छ गाउँशहरमा।

कांग्रेस–एमाले मार्का नयाँ शक्ति
कांग्रेस र एमालेभित्र अनेक रंगरूपका गुट त छन् नै, यी पार्टीभित्र नयाँ शक्ति बनाउन अठोट गर्नेहरू पनि प्रशस्त छन्। ओरिजिनल नयाँ शक्ति वा दोयम दर्जावालाले जस्तो हिम्मत गर्न नसकेका तर पार्टीभित्रै रहेर बाहिरका नयाँ शक्तिलाई हरदम चियाइरहनेको उल्लेख्य झुण्ड छ, यी दुई पार्टीमा।

यी पुरानोभित्रका नयाँ बन्न चाहनेहरू मूलतः आफूलाई आफ्ना पार्टीका अन्य नेताभन्दा अब्बल ठान्छन्। अरू सबले मुलुक बिगारेको तर त्यही पार्टीभित्र बसेर आफू सधैँ शुद्ध रहेको रट लगाउनु उनीहरूको दैनिकी बनेको छ। विकासका मोडल पनि यिनैसँग छन्, असली राष्ट्रवादी कूटनीतिक कौशल पनि यिनैले मात्र जानेका छन्। भारतलाई देखाइदिन चीनसँग अपनाउनुपर्ने ठोस नीतिको व्याख्या यिनले जति राम्ररी अरू कसैले गर्न सक्दैन। भ्रष्टाचारमुक्त शासन बनाउने जुक्ति यिनैको मस्तिष्कमा मात्र सलबलाइरहन्छ। आफ्ना यिनै विशेेषता बारेमा लामा भाषण गरिरहने पुरानो पार्टीभित्रका यी नयाँ शक्तिहरू आजकल पुस्तक लेखनमा लागेका छन्।

अन्त्यमा,
नयाँ शक्ति बन्नै सक्दैन वा बनाउनु हुँदैन भन्ने पंक्तिकारको जिकिर होइन। तर, जस्ता प्रयत्नहरू भइरहेका छन्, तिनले उचित राजनीतिक संस्कारको निर्माण गर्न सक्नेमा प्रशस्त सन्देह छ। संकोच नमानी एउटा सत्य भन्नैपर्छ, यस्ता प्रयत्नमा लाग्ने केही चलेका नामहरू टपर्टुऒ्ढयाँवादमा नराम्ररी फसेका छन्।

प्रकाशित: २३ माघ २०७२ ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App