२ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

क्यानभासमा रुझेको परिवार

राष्ट्रिय मावि कक्षा ८ का विद्यार्थीलाई बर्खे विदाका लागि विज्ञान पढाउने मिसले होमवर्क दिइन्— किताबका सबै चित्र उतारेर ल्याऊ । कतिले ल्याए, कतिले ल्याएनन् । एउटा विद्यार्थीले भने सबै चित्र बनाए । त्यो पनि सबैले भन्दा निकै राम्रो । मिसले तारिफ गरिन् । त्यो विद्यार्थी कक्षामा मात्रै होइन, स्कुलभरि नै चित्रकार भनेर चिनियो ।त्यही विद्यार्थी एक दिन पोखराको चल्तीको बजार महेन्द्रपुल हुँदै कतै गइरहेको थियो । उसका आँखा एउटा विज्ञापनले खिच्यो । क्षेत्रीय स्तरको खुला चित्रकला प्रतियोगिताको विज्ञापन थियो । स्कुलमा आफ्ना चित्रको हाईहाई भएको कुराले उसलाई प्रतियोगितामा भाग लिन योग्य छु भन्ने आत्मविश्वास दिलायो । नाम टिपायो । चित्र पनि बनायो । सान्त्वना पुरस्कार पाइहाल्यो ।

१० कक्षा पढ्दा सान्त्वना पुरस्कारले त्यो विद्यार्थीलाई सान्त्वना मिलेकै थियो । के को चित्र बनाउँदा होला भन्ने अक्कल भने फुरेको थिएन । अर्काे एक दिन तेर्सापट्टीको एउटा अर्काे पसलले तान्यो उसलाई । ललित कला संस्था नाफाको सेल्ससप थियो त्यहाँ, जहाँ विभिन्न कलाकारका चित्र थिए । त्यस्तै चित्र बनाउन पाए भन्ने हुन थाल्यो । कसोकसो गर्दा गर्दै कलाकार दुर्गा बरालले इगल आई आर्ट स्टुडियो चलाएको चाल पायो । त्यसपछि त जे खोजेको त्यही भेटेजस्तो भयो र ऊ बरालको स्टुडियो पुग्यो । कला सिक्ने इच्छा देखायो । बरालले तुरुन्तै हुन्छ भने । त्यही स्टुडियोमा ३ महिनासम्म सैद्धान्तिक र व्यावहारिक ज्ञान लिएर कुची चलाउन थालेको ठिटोले अरु बाटो समाएन । कलामै समर्पित बन्यो ।

बिहानको सफा आकाशमा माछापुच्छे« हिमाल छ्यांग खुल्थ्यो । खरले छाएका र रातोमाटोले लिपेका घरको दृश्य आफैंमा चित्र जस्ता हुन्थे । बुद्धि गुरुङ त्यही हेरेर दृश्यचित्र तयार पार्थे । बिहान उठ्यो, हिमाल हे¥यो, चित्र बनाउन मन लागिहाल्ने हुन्थ्यो । बनाएका चित्र बरालगुरुलाई देखाउँदा उनी पनि माछापुच्छे«े जस्तै हाँसेर हौस्याइदिन्थे । बरालगुरुसँग संगत बाक्लिन थाल्यो । सँगै कला सिकेका हरेराम जोजिजू त थिँदै थिए, संगतमा भेटिन थाले यादवचन्द्र भूर्तेल पनि । संगत र साथी थपिँदै गए ।

तेर्सापट्टीको पसलमा चित्रहरु बिक्री भइरहेको देखेपछि हरेराम र बुद्धिलाई पनि आफ्ना चित्र बेच्न पाए भन्ने भयो । एक दिन दुवैजना चित्र काखीमा च्यापेर लेकसाइडतिर हुइँकिए । डुल्दाडुल्दै फर्कंने बेला भएको थियो । एयरपोर्टतिर आइपुग्ने बेला केही विदेशीको झुन्ड देखियो । काखीमा चित्र च्यापेर हिँडिरहेका ठिटाहरुलाई विदेशीले सोधे—बेच्ने हो ? दुवैले एकैचोटि उत्तर दिए —हो । 'हरेरामको तिनटा, मेरो तिनटा चित्र बेच्यौं,' बुद्धि सम्झन्छन्, 'सय रुपैयाँ कमाइ भयो, त्यसपछि त के चाहियो र !'

साथीसंगत बढ्दै जाँदा ९ जनासम्म पुगे । त्यत्रो टिम बनेपछि अब आर्ट ग्यालरी खोल्नुपर्छ भन्ने धून सुरु भयो । पोखरा एयरपोर्ट छेवैमा ग्यालरी खुल्यो । बुद्धि गुरुङ ग्यालरीमा बस्दा बस्दै पनि चित्र कोर्थे । विदेशी आउन थाले । चित्र किन्थे, बुद्धिलाई केही सिकाएर जान्थे । 'कतिले त आर्ट सम्बन्धी राम्राराम्रा किताब पनि पठाउँथे,' ती दिन सम्झँदा उनलाई अहिले पनि आनन्द लाग्छ । ग्यालरीबाहिर निस्कँदा माछापुच्छ«े हिमाल देख्यो कि बुद्धिलाई चित्र कोर्न मन लागिहाल्ने । उनी बाटोमै बसेर चित्र कोर्न थाले । त्यही बाटो भएर हिँड्ने पर्यटक पर्खिएरै पनि बनाउँदाबनाउँदैको चित्र किन्थे । 'बाटोमै बसेर चित्र बनाउने अनि बेच्ने गर्न मनले मानेन,' १० दिनसम्म पनि त्यसरी चित्र बनाएर बेचेपछि छोड्नुको कारण थियो ।

हो, सुरुआती दिनतिरै चित्र बेचेर कमाइ गरेका बुद्धि खासमा कमर्सियल कलाकार होइनन् । सुरुआती दिनमा मात्रै होइन, त्यसपछि पनि उनले कला बिक्रीबाट कमाइ गरिरहे । जीविकोपार्जनको माध्यम पनि कला नै हो, घर पनि त्यसैको कमाइले बनाए । तर कलालाई बेच्ने वस्तुमात्रै ठान्दैनन् । 'मन लागेर लागेको काम हो,' उनी प्रष्टिकरण दिन्छन्, 'बेच्ने नै भनेरमात्रै चित्र बनाउँदिनँ । मन लागे बनाउँछु । मन लागेर बनाएको अरुलाई मन पर्दाे रहेछ र किन्छन् ।' व्यापारिक कलाकार बन्दा यसो बनाइदेऊ, उसो बनाइदेऊ भनेर अरुको मन लागेको कुरा बनाउनुपर्ने बाध्यतामा काम गर्न रुचाउँदैनन् ।

सुस्तरी बोल्ने बानी छ बुद्धिको । शीतलो व्यवहार गर्छन् सबैसँग । त्यसैले नै होला उनलाई मन पर्ने रङ पनि शान्तिपूर्ण छ, नीलो । प्राय प्रकृतिका दृश्यचित्रमा रमाउन चाहने बुद्धि डिट्टो दृश्य भने उतार्दैनन् । दृश्यले आफूमा कस्तो भाव उत्पन्न गराउँछ त्यसैअनुसार उर्ताछन् । 'अनुभूतिलाई पनि मिसाउँछु,' उनी भन्छन् । सुरुआती ताका एउटा ग्यालरी सपमा गएर हाम्रा चित्र पनि बेच्दिनु न भन्दा पसलेले त्यति वास्ता गरेनन् । उनको पसलमा चिल्ला र प्रकृतिको फोटैजस्ता चित्र थिए । बुद्धिले भने पानीरङले बनाएका खस्रा चित्र लिएर गएका थिए । त्यत्तिकैमा पर्यटक आए अनि पसलमा टाँगिएका भन्दा बुद्धिकै मन पराए । चित्र भनेको फोटो होइन, सिर्जनशील नै हुनुपर्दाे रहेछ र बुझ्नेले बुझ्दा रहेछन् भन्ने कुरा बुद्धिलाई झन् राम्ररी थाहा भयो ।

सामान्य मान्छेका आँखाले भन्दा भिन्न नदेख्ने त सिर्जनशील हुने कुरै भएन । सिर्जनशील कलाकार समूहमा समेत आवद्ध बुद्धिका आँखाले दृश्य देखेपछि मनले त्यसमा सिर्जनशीलता थपिहाल्छ । एकपटक घोरेपानी यात्रामा गएका थिए । त्यो बेला लालीगुराँसै लालीगुराँसको जंगल र त्यहाँका बोटबुट्यानले अचिम्मित बनायो । रुख आपसमा अंकमाल गरेर मिलिजुली बसेजस्ता ठाने । कताकता आवाजै निकालेर बोलेजस्तो पनि लाग्यो । अनि त्यो भावलाई पर्वतको ध्वनि शीर्षक दिएर चित्र शृंखला नै कोरे । अन्नपूर्ण क्षेत्रको अर्काे यात्रामा जाँदा अजंगको चट्टानी पहरा हुँदै छाँगो खसिरहेको देखे । सहयात्रीले छाँगोको सौन्दर्य खिचे । तर, बुद्धिलाई लाग्यो पानीले चट्टानसँग ठूलै संघर्ष गरेर आफ्नो बाटो तय गरेको छ । त्यस्तै भाव उत्रने चित्र तुरुन्तै कोरे । प्रकृतिका चित्र कोर्दा उनी पानी रङलाई पारदर्शी तवरले प्रयोग गर्न खप्पिस छन् । रङको भाषा र व्याकरणलाई ठिकठिक ढंगले मिलाउन भलिभाँती पोख्त छन् । अनि रङहरुको सन्तुलनमा सामञ्जस्य त उनको विशेषतै भइहाल्यो ।

बढ्ता त पानी रङकै प्रयोगमा उनको ब्रस चल्छ तर, एक्रेलिक र ओइल कलरलाई पनि उत्तिकै प्रयोग गर्न भ्याएका छन् । ५७ वर्ष बल्ल टेक्दा टेक्दै त्यसै पुगेको छैन उनका चित्रको संख्या १० हजार ।

पोखराबाट उत्तरी डाँडो अर्मलाकोट बुद्धि गुरुङको जन्मस्थल । अर्मलाको फेदीतिर पर्छ बाटुलेचौर । बाटुलेचौरमा गन्धर्व गाउँ छ । गन्धर्वका सारंगीको धूनले बुद्धिको मनैसम्म छुन्थ्यो । त्यसलाई उनले रङको सन्तुलन मिलाएर क्यानभासमा उतारेका छन् । काठमाडौंमा रिक्सा चालकको संघर्ष देख्दा पोखराका उनलाई अचम्म लाग्यो । अनि क्यानभासमा शृंखलाबद्ध तवरले रिक्साचालकका चित्रहरु कोरे । इमान्दार कर्मबाट जीवनमा आशाको बत्ती बल्छ भन्ने उनका चित्रका सन्देश थिए । मूर्धन्य कलाकार लैनसिंह बाङदेलले बुद्धिका कलामा रङको सन्तुलन प्रभावकारी र अर्थपूर्ण हुने गरेको लिखित टिप्पणी नै गरेर उनलाई स्याबासीको धाप लगाइदिएका थिए ।

थिममा आधारित शृंखलाबद्ध चित्रहरु कोरेका बुद्धिले ९ पटक एकल चित्रकला प्रदर्शनी गरिसके । सामूहिकमा त धेरैपटक भाग लिएका छन् । प्रदर्शनीकै लागि भारत, बंगलादेशी र दक्षिण कोरियासम्म पनि पुगे । उनको कला अन्तर्राष्ट्रिय कूटनीतिक निकायहरुमार्फत अमेरिका, बेलायत, जापान, जर्मनी, डेनमार्क, थाइल्यान्ड, हल्यान्ड, न्युजिल्यान्ड, स्विट्जरल्यान्ड, पुगिसकेका छन् ।

एकल आमाले हुर्काएका छोरा हुन् बुद्धि । उनी ६ वर्षको हुँदै बाबाले संसार छाडेका थिए । ब्रिटिस लाहुरे बाबाको याद उनलाई छैन । बरु ६० वर्षसम्म बाँचेका बाजेको घमिलो भए पनि आकृति सम्झनामा छ । बाबा बितिहालेको हुनाले मात्रै होइन, पुख्र्याैली पेसा लाहुरे हुने मोह उनका जागृतै भएन । आमालाई आउने पेन्सन नाममात्रै थियो । तै पनि आमा श्रीमायाले छोरालाई पढाउने भनेरै अर्मलाबाट पोखरा बसाइ झारिन् । रक्सी पारेरै भए पनि हातमुख जोर्ने मेसो मिलाइन् । होटलको सानो व्यवसायले जेनतेन जीविकोपार्जन गराइन् । उनी आफैं धार्मिक प्रवृत्तिकी थिइन् । रामायण, महाभारतका कथा सुन्न रुचाउँथिन् । स्वस्थानीको ब्रत बस्थिन् । छोरा बुद्धिले पढेर सुनाउँथे । त्यही धार्मिक कथा स्वस्थानीको पात्र नवराज जस्तै भद्र, नरम र सन्तोषी छोरा भएकोमा आमाको मन आनन्दित थियो । पछि व्रत संस्कृति बुद्धिकी जीवनसाथी हरिमायामा स¥यो । अहिले बुद्धि र उनी दुवै मधुमेहका बिरामी छन् । व्रत बस्न कठिन छ । छोरीहरुले आमा र बज्यैको संस्कार धानेका छन् ।

बुद्धिका तिनवटै छोरी कला क्षेत्रमा उनका उत्तराधिकारी भइसके । आमाबाट धर्मसंस्कार, मान मर्यादा र मूल्यमान्यता सिकेका उनीहरुले बाबुबाट कलाको ज्ञान पाए । ज्योति, क्रान्ति र हेमकान्ती तिनैजना बाबुकै बाटोमा हिँड्न सुरु गरिसकेका छन् । पोखराका नवोदित कलाकारमा बुद्धिका तिनै छोरीहरु अग्रणी छन् । माइली अहिले जापान गएकी छन् भने जेठी ज्योति र कान्छी हेमकान्ती कलाकै क्षेत्रमा पूर्ण समर्पित छन् । 'अरु फिल्डमा पनि विचार गरियो, तर आनन्दचाहिँ आर्टमै लाग्यो,' हमेकान्तीले बताइन्, 'ममीले पनि दाम पर्दैन, नाम कमाऊ भन्नुभयो । बाबाले सपोर्ट गर्ने भएपछि कलामा लाग्न सजिलो भयो ।' उनी र दिदी दुवै स्कुलमा आर्ट पनि सिकाउँछन् । ज्योति त वुमन आर्टिस्ट फेमिली ग्रुपकी अध्यक्ष पनि हुन् । बुद्धि पनि २०४२ सालदेखि नै एसओएस गण्डकीका आर्ट टिचर पनि हुन् । हप्तामा ६ घन्टामात्रै स्कुल पुग्ने उनको अधिकांश समय पोखरा रानीपौवाको घरमै बित्छ । घरमै उनले बुद्धिज एटलियर खोलेका छन् । एटलियर अर्थात स्टुडियो । स्थानीयदेखि राष्ट्रिय स्तरबाट समेत उनलाई थुप्रै पुरस्कार र सम्मान मिलिसकेको छ । तर, जीवनमा कलाको सन्तुष्टिले नै उनलाई परमानन्द दिइरहेको छ ।

प्रकाशित: १५ माघ २०७२ २२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App