१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

बक्सिङमा विवादास्पद निर्णय

काठमाडौं- भारतमा अर्को महिना हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको बक्सिङमा राष्ट्रिय खेलकुद परिषदले मुख्य प्रशिक्षकबाहेकलाई जिम्मेवारी दिएपछि खेलाडी अन्योलमा परेका छन्।

माघ २२ बाट सुरु हुने सागका लागि परिषदले बक्सिङ टोलीको प्रशिक्षण जिम्मेवारी मुख्य प्रशिक्षक प्रचण्ड शर्मालाई वेवास्था गर्दै ओम माश्केलाई दिएको छ। सागलाई छानिएका ७ पुरुष र ३ महिला खेलाडीलाई मुख्य प्रशिक्षक शर्माले प्रशिक्षण गराइरहे पनि साग तयारी समितिले ओम मास्केलाई टोलीको जिम्मा दिएपछि खेलाडीले अन्योल बढेको बताएका छन्।

'लामो प्रशिक्षणका लागि जो भए पनि हामीलाई फरक पर्दैन। तर, सागलाई अब धेरै समय छैन,' बक्सिङ टोलीका कप्तान दीनेश श्रेष्ठले भने, 'एउटा प्रशिक्षकको योजनामा प्रशिक्षण गरिरहेको अवस्थामा अर्को आएपछि फेरिन्छ। त्यसले समस्या पर्छ। मुख्य प्रशिक्षक परिवर्तन भएको हल्लाले अन्यौल बनाएको छ।'

बक्सिङमा मुख्य प्रशिक्षकले नै ठूला प्रतियोगितामा जिम्मा लिने परम्परा छ। परिषद्को तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेतीले लामो समय मास्केले राष्ट्रिय टोलीलाई प्रशिक्षण गराएकोले उनलाई नै जिम्मा दिन उपयुक्त देखिएको बताए। साग तयारी समितिका सचिव समेत रहेका उप्रेतीले भने, 'त्यसैका आधारमा मास्केलाई जिम्मा दिने निर्णय गरिएको हो। सागको लागिमात्र उहाँ मुख्य प्रशिक्षक हो।'

आइतबार केही समय प्रशिक्षण हल पुगेका मास्केले सोमबारबाट काम थाल्ने बताए। 'मैले आज (आइतबार) पत्र बुझे,' मास्केले भने, 'भोलिबाट प्रशिक्षण गराउछु।' मास्केले मुख्य प्रशिक्षक बाहेकले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा टोली लिएर जान सक्ने बताए।

उता मुख्य प्रशिक्षक शर्माले आफूले लामो समयदेखि प्रशिक्षण गराइरहेकाले अन्तिम सम्म पनि गराइरहने अडान लिए। 'जो मुख्य प्रशिक्षक हो उसैले टोली लाने परम्परा हो। सन् २०१० को एसियन खेलकुदमा बक्सिङको मुख्य प्रशिक्षक म थिए, टोली पनि लगे,' शर्माले भने, 'गत वर्ष मास्के मुख्य प्रशिक्षक थिए उनैले एसियन खेलकुदमा टोलीको जिम्मा पाए। अहिले बक्सिङमा एउटालाई हेडमास्टर अर्कोलाई प्रधानध्यापक बनाउने काम भएको छ।'

शर्मा र मास्के दुवै बक्सिङका थ्री स्टार प्रशिक्षक हुन्। तर, उप्रेतीले मास्के अन्तर्राष्ट्रिय बक्सिङ महासंघबाट निलम्बनमा परेको जानकारी आएकोले पुनः छलफल गर्ने बताए। साढे तीन वर्षअघि राखेपले शर्मालाई हटाएर मास्केलाई बक्सिङको मुख्य प्रशिक्षक बनाएको थियो। शर्माले त्यसअघि झन्डै ७ वर्ष मुख्य प्रशिक्षक भएर काम गरिसकेका थिए। राखेपले कात्तिक अन्त्यमा मास्केलाई हटाएर पुनः शर्मालाई जिम्मेवारी सुम्पेको थियो।

प्रकाशित: २६ पुस २०७२ २२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App