होटलको बिल तिर्नुको साटो साहुकै छोरोसँग दिल्ली पुगेकी ती युवतीबारे खोजी गर्दा उनी डिआइजीकी छोरी निस्किइन् न चिकित्सक। उनी त युवकलाई प्रलोभनमा पारेर ठगी गर्दै आएकी पटके रहेको खुल्यो। ६ जना व्यक्तिलाई ठगी गरेको आरोपमा डा. सुहाना, अदिती अनि सृष्टि केसीको उपनामले परिचित भगवती केसीलाई महानगरीय प्रहरी अपराध महाशाखाले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइरहेको छ।
महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार गुल्मी, हस्तिचौरकी उनी यसअगाडि पोखरामा ठगीका सक्रिय रहेको खुलेको छ। उनी १ वर्ष अगाडिसम्म पोखराका विभिन्न अस्पतालमा चिकित्सक बनेरै बिरामीको जाँच गरेको बहानामा चिकित्सक निकट हुन्थिन्। त्यसका लागि उनले डा. सुहाना केसीको नाममा नक्कली परिचयपत्र समेत बनाएकी थिइन्।
प्रहरीका अनुसार विवाह गर्ने बहानामा उनले पोखरामा तीन जना चिकित्सकलाई ठगेपछि उनको पोल खुल्यो। पोखराका स्थानीय सञ्चार माध्यममा उनको ठगीधन्दा सार्वजनिक भएपछि काठमाडौं आएकी उनी पछिल्लो २ महिनादेखि ठमेललाई आधार बनाएर सक्रिय थिइन्।
खनालका अनुसार उनी ठमेलको पान्डा होटलमा बस्दै आएकी थिइन्। होटल सञ्चालकले उनीसँग पैसा मागेपछि उनले भाइबरमार्फत होटलका कर्मचारीसँग एक युवकलाई कुरा गराउँथे। ती युवकले आफूलाई सशस्त्रको डिआइजी सनत केसीका रुपमा चिनाउँदै आफ्नी छोरीलाई दुःख नदिनू, पैसा पठाइदिन्छु भन्थे। होटलका कर्मचारी मौन हुन्थे।
उनको कोठामा युवाहरुको बाक्लै आउजाउ हुन्थ्यो। एक साताअगाडि उनी होटलको बिल नतिरी एक युवकसँग हिँडेपछि उनीबारे प्रहरीले सूचना पाएको थियो।
प्रहरीका अनुसार वैशाखमा पोखराबाट काठमाडौं आएकी उनले ६ जनालाई ठगी गरेको खुलेको छ। चिकित्सक हुँ भन्दै एक युवकसँग उनले वैवाहिक सम्बन्ध राख्ने प्रयास गरेको विवाद प्रहरीमा पुग्दा उनलाई यसअगाडि महानगरीय प्रहरी प्रभाग सातदोबाटोले पक्राउसमेत गरेको थियो। ९ वटा मोबाइल नम्बर चलाउँदै आएकी उनलाई प्रहरीले हिरासतमा राखेर ठगी आरोपमा अनुसन्धान अगाडि बढाएको छ।
प्रकाशित: २० पुस २०७२ २१:२९ सोमबार





