महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले कात्तिक १३ गते कार्यविनायक नगरपालिकामा रहेको पुनरावेदन अदालत पाटनका कर्मचारी प्रद्युम्नकृष्ण कार्की र दुई दिनपछि भैंसेपाटीमा रहेको कान्ति बाल अस्पतालका चिकित्सक डाक्टर अजित राईको घरमा दिउसै करिब ३३ लाख बराबरको धनमाल चोरी गरेको घटनामा राई र तामाङलाई पक्रेको हो ।
प्रहरीका अनुसार राई र तामाङ पेसेवर चोर हुन् । दिनको उज्यालोमा मौका हेरेर घरमा चोरी गर्ने यो समूहले निशाना बनाएको घरमा १० दिनभन्दा बढी समय निगरानीपछि मात्र घटना गर्ने गरेको अनुसन्धानमा खुलेको छ । परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले अभियुक्तलाई भैंसेपाटीबाट पक्रँदासमेत दुवै एउटा घरको निगरानी गरिरहेको अवस्थामा फेला परेको बताए । उनले घरमा कोही नभएको मौका छोपी ताला फोडेर घरमा रहेका बहुमूल्य सामानमात्र समूहले चोरी गर्दै आएको थियो ।
दुई चोरका आठ सहयोगी
प्रहरीले सुनका गरगहना, ल्यापटप, नगद र महँगा विद्युतीय सामग्री चोरी गर्ने राई र तामाङलाई चोरीका सामान लुकाउन, बेच्न र खरिद गर्न सघाउने अन्य आठ जनालाई समेत पक्रेको छ । राई र तामाङले चोरी गरेका सामान विष्णु तामाङमार्फत रेलकुमार लामालाई दिने गरेका थिए । लामाले सुनका गहना गलाएर स्वरुप परिवर्तन गरी सन्तोष रसाइलीले चाबहिलका विभिन्न सुनचाँदी पसलमा बेच्ने गरेको अनुसन्धानमा खुलेको छ । यस्तै, चोरीका सामान राख्ने भारत महाराष्ट्रका धनाजी नल, किरणसिंह सिन्दे र पश्चिम बंगालका अमिय मण्डल, चोरीका सामान खरिद गर्ने सुरेश श्रेष्ठ ङाखुसी र चोरीका सामान बन्धकी राख्ने सन्जिव श्रेष्ठलाई समेत पक्राउ गरी कारबाही थालेको छ ।
चोरीमा राई र तामाङ प्रत्यक्ष संलग्न देखिए पनि १० जनाको समूहले मिलेर चोरीका सामान बेच्ने, लुकाउने र किन्ने गरेका थिए ।
चोरको सम्पत्ति खोज्दै प्रहरी
प्रहरीले चोरी घटनामा संलग्न मुख्य अभियुक्तसहित सबै मतियारलाई पक्रे पनि चोरिएका सामग्रीको केही भाग मात्र बरामद गर्न सकेको छ । प्रहरीलाई पीडितले दिएको उजुरीमा विभिन्न अवसरमा देशविदेशबाट खरिद गरिएका गरगहनाको विवरण टिपाएको भए पनि बरामद भएका गरगहनाको स्वरुप परिवर्तन भइसकेको छ । प्रहरीले पीडितसँगै चोरीका घटना कमी गर्न चोरले लगानी गरेको क्षेत्र, बैंक मौज्दात र घरजग्गाको समेत छानबिन गर्ने भएको छ । एसएसपी अधिकारीले पीडितको चोरी भएको बिगो भराउन मात्र नभई चोरीका घटनामा समेत कमी आउने विश्वाससाथ चोरको सम्पत्ति खोज्न थालिएको बताए । 'चोरी गर्ने र कैद भुक्तानपछि पुरानै पेसामा फर्कनुको एउटा कारण चोरिएका सामग्रीबाट अभियुक्तले बनाउने आर्थिक आधारसमेत हो, त्यो भत्काउन हामी परिवारसमेतको विवरण खोज्छौं,' एसएसपी अधिकारीले भने ।
प्रहरीले पक्राउ अभियुक्त अन्य घटनामा समेत संलग्न हुनसक्ने आशंकामा काठमाडौं उपत्यकाका अन्य प्रहरी युनिटसँग जानकारी मागेको छ । घटनामा संलग्न अभियुक्तविरुद्ध प्रमाण जुटाउन सक्रिय रहेको प्रहरीले संगठित अपराध ऐनअन्तर्गत समेत कारबाही अगाडि बढाउने जनाएको छ ।
प्रहरीले राई र तामाङ ललितपुरमा भएका अन्य घटनामा समेत संलग्न हुने भन्दै चोरी घटनामा परेका उजुरी केलाउन थालेको छ । प्रहरीले राई र तामाङका साथबाट एप्पलको ल्यापटप, आइपड, डेलको ल्यापटप, तीन थान महँगा मोबाइल, सुन तथा हिराका गहना र ताला फोड्न प्रयोग हुने फलामको रड बरामद गरेको छ ।
प्रकाशित: २२ मंसिर २०७२ २१:२७ मंगलबार





