यसअघि मूलतः कवितामै साधना गरिरहनुभएको थियो। एकाएक उपन्यास नै लेख्छु भनेर कसरी क्लिक भयो?
कवितामा सीमित घेरा हुन्छ। भन्न खोजिएका सबै कुरा कविताको आयाममा नअट्न सक्छ। यही सोचले पनि मलाई उपन्यासका लागि प्रेरित गरेको हुनुपर्छ। पहिलेदेखि नै उपन्यासको विषयबारे सोचिरहेको थिएँ। विशेषगरी नेपालको ग्राम्य परिवेशसँगै अस्ट्रेलियाको परिवेश, ठाउँअनुसार हुने प्रेम सम्बन्ध र यसको फरक परिभाषालाई प्रयोग गर्न चाहन्थेँ। मभित्रको उपन्यासका प्लट निर्माण भइरहेकै थिए। अब यसलाई लेखिहाल्नुपर्छ भन्ने उत्कर्ष अवस्थामा पुगेपछि दुई हप्ता बिदा लिएर बसेँ। १५ दिनमा पहिलो ४० हजार शब्दको ड्राफ्ट लगभग तयार भयो। त्यसको अर्को चरण सम्पादनपश्चात् तीन महिनामा उपन्यास यो आकारमा आएको छ।
एउटा कविको कलमले आख्यान लेख्दैगर्दा कस्तो अनुभव गर्दो रहेछ? कविताका शब्द खेलाउने हातले लेखेको आख्यानबाट पाठकले पनि फरक महसुस गर्न सक्छन्?
पक्कै पनि। कवितात्मक रसमा बानी परेको मलाई आख्यान लेख्दा यसको शब्द शिल्प र संवादमा अझ सजिलो भयो। त्यो मैले महसुस गरेको छु। प्रस्तुति र भाषिक विन्यास इत्यादि कुरामा काव्यिक रस रह्यो भने त पाठकलाई अझ स्वाद आउने नै भयो।
उपन्यासको नाम 'डार्लिङ हार्बर' कसरी रह्यो? नेपाली पाठकले झट्ट सुन्दा असहज महसुस गर्दैनन्?
अस्ट्रेलियको सिड्नीमा अवस्थित एउटा हबको नाम हो— डार्लिङ हार्बर। मलाई मन पर्ने ठाउँ, जहाँ म गइरहन्छु। मेरो उपन्यासको सुरुवात र अन्त्य यही ठाउँमा भएको छ। यसैले पुस्तकको नाम सोही नामबाट राखिएको हो।
म अस्ट्रेलियमा बस्दै छु। उपन्यासमा त्यहाँको परिवेश र जीवनशैली छ। सायद म नेपालमै बसेको थिएँ भने कुनै सहज नेपाली नाम नै रहन्थ्यो कि! हाम्रा लेखकहरूले पुस्तकको नामकरण अंग्रेजीबाटै राख्न थालिसकेकाले पनि यो अनौठो नसुनिएला। उपन्यास पढिसकेपछि मेरा पाठक नामसँग सहमत हुनुहुन्छ होला भन्ने विश्वास लिएको छु।
प्रेम आख्यान यसअघि पनि धेरै लेखिसकिएका छन्। तपाईंले पनि मूल विषय प्रेमलाई नै छान्नुभयो। पाठकले डार्लिङ हार्बर पढेपछि पाउने फरक स्वाद के त?
प्रेमको आयाम असीमित छ। यो कसैले लेखेर सकिने चिज होइन। म पनि प्रेमबाट टाढा हुन कहाँ सक्छु र! तर यसलाई कसरी फरक शैलीमा व्यक्त गर्ने भन्नेमात्रै हो। राजनीतिक द्वन्द्वको कारण प्रेममा कसरी प्रभाव पर्छ भन्ने मैले देखाएको छु। अर्को त नेपालको ग्रामीण परिवेश र पाश्चात्य मुलुकको सहरको फरक–फरक आञ्चलिकतालाई समावेश गरेको छु। द्वन्द्वले प्रेममा पारेको प्रभाव, त्यसले गराएको बसाइँसराइ, सामान्य गाउँदेखि सिड्नीसम्मको परिवेश र आफ्नै गाउँले भाषाशैली उपन्यासको मौलिकपन हो।
उपन्यासमा प्रयुक्त प्रतिनिधि पात्रहरूबीच प्रेमसँगसँगै सेक्ससम्मको अवस्थालाई चित्रित गर्नुभएको छ। प्रेममा सेक्स अनिवार्य हुनैपर्छ?
साहित्य जीवनको निकट हुनुपर्छ। सेक्स जीवनमा हुन्छ नै। खुलमखुल्ला यौनलाई महŒव दिइयो भने त्यो अश्लील हुन्छ, अमर्यादित हुन्छ। तर भावनात्मक सम्बन्धमा रहेकाहरूबीच सेक्स हुनु अन्यथा होइन। यहाँ सुरुवाती खण्डमा मधु र अनिताबीच छ–सात महिनाको स्वच्छ प्रेमपछि सेक्सको कुरा आएको छ । यसलाई म आत्मीय सम्बन्धका बीच भएको कलात्मक सेक्स भन्छु। यसले अर्थ पनि बोक्छ। जीवनमा जसरी हामीले यौनका कुरालाई गोप्यतासँग जोडेर हेर्छौं, त्यसरी नै साहित्यमा पनि कलात्मक प्रयोगमार्फत देखाउन सकियो भने त्यसलाई सहज मान्नुपर्छ।
मैले यहाँ किशोरावस्थामा हुने हस्तमैथुन, महिनावारी जस्ता विषयलाई पनि त अटाएको छु। ती सबै हाम्रै जीवनसँग जोडिएका होइनन् र? जीवनसँग सक्दो निकट रहेरै मैले लेख्ने कोसिस गरेको छु। म पढ्दा गाउँका स्कुलका विद्यार्थीहरूमा स्वास्थ्य शिक्षाबारे वा अन्य विभिन्न विषयबारे खुलेर कुरा गर्ने वातावरण थिएन। मेरो बालमनोविज्ञानमा पनि विभिन्न कुराहरू कुण्ठित भएर रहेका थिए। सानो छँदै मेटिनुपर्ने जिज्ञासाहरू पछिसम्म रहिरहे। समयसँगै ती पछिमात्रै मेटिए। यसखाले बालमनोविज्ञानलाई पनि मैले उपन्यासमा केही ठाउँ दिएको छु।
तपाईंका कविताहरूमा पनि बढीजसो प्रेम सम्बन्धका कुराहरू आइरहेका हुन्छन्। उपन्यासमा पनि सुरुमै प्रेमलाई रोज्नुभयो, किन?
मेरा लागि प्रेम प्रिय चिज हो। हुन त प्रेम सबैका लागि प्रिय नै लाग्छ। मेरा कविताहरू पनि मूलतः प्रेम–सम्बन्धमा नै बढी केन्द्रित छन्। विकासोन्मुख मुलुक र पाश्चात्य विकसित मुलुकमा गरिने प्रेमको प्रकृति फरक हुन्छ, त्यसको बुझाइमा अन्तर देखिन्छ। समयक्रमसँगै नेपालीहरू विदेसिने क्रम बढ्दो छ। विदेसिनुको अनुभूति र प्रेमको बदलिँदो परिभाषा नै मेरो उपन्यासको मूल विषय हो। उपन्यासमा पूरापूर प्रेममात्र छैन, त्यहाँ सशस्त्र द्वन्द्वको चित्र पनि आएको छ। द्वन्द्वलाई नमिसाऊँ भन्ने पनि लागेको थियो सुरुमा। पछि प्रेमलाई असर पार्ने कारकमध्ये द्वन्द्व पनि त हो भन्ने लागेर केही मात्रामा यसको प्रभावलाई अटाएको छु।
देशबाहिर रहँदा लेख्नका लागि तपाईंजस्ता लेखकलाई कस्ता विषयले बढी छुने रहेछन्?
काम वा अध्ययनका सिलसिलामा बाहिर बस्दा थोरै समय निकालेर साहित्य सिर्जनामा लगाउनुपर्ने बाध्यता छ। हामीले त्यहाँ रहँदा पढ्ने समाचार, साहित्य र लिइराख्नुपर्ने सूचना बढीजसो नेपालको नै हुने हो। पोखरा बस्ने मान्छे जुम्ला जानु वा अस्ट्रेलिया पुग्नु उस्तैजस्तो लाग्छ मलाई। बाहिर रहे पनि हामी आफ्नै मातृभूमिसँग जोडिइरहेका हुन्छौं। मेरो उपन्यासमा सिड्नीमात्र होइन नेपालकै पोखरा बजार, फेवाताल, हेम्जा, म्याग्दी, पर्वत, नेपालगन्जजस्ता ठाउँ आएका छन्। यी ठाउँसँगै पाठकले आफू यात्रा गरेको महसुस गर्नुहुनेछ। कतिपय उपकथा पनि जोडिएर आएका छन्, ती बीचैमा टुंगिए पनि केही सार भने अवश्य छोडेका छन्, तिनले।
नाकाबन्दीले निम्त्याएको संकट र अभावपूर्ण अवस्थामा पुस्तक लिएर आएनुभएको छ। पहिलो आख्यान भएकाले पाठकबाट कस्तो अपेक्षा राख्नुभएको छ?
पुस्तक विमोचनको कार्यक्रम अलि पछाडि सारौं कि भनेर एकखाले सल्लाह पनि भएको थियो। तर, यति बेला अन्य पुस्तक नआइरहेको अवस्थामा बिलकुल प्रेम उपन्यास आउँदा पाठकका लागि नयाँ उपहार होला भन्ने सोचेर सार्वजनिक भयो। यस्तो तनावपूर्ण समयमा पढ्नका लागि यो बोझिल विषयको उपन्यास पनि होइन। अझ त्यो तनाव हटाएर उपन्यासले फ्रेस गराउँछ कि भन्ने अपेक्षा गरेको छु।
कवितामै लागिरहेको मैले पहिलो आख्यान लिएर आएको छु। कविता सीमित पाठकले पढ्छन्। तीसँगै मेरो आख्यान पढ्ने पाठक विस्तार होऊन् भनेर यसमा कलम चलाएँ। नेपाली समाजसँगै जोडिएको मान्छे देशबाहिर जाँदा उसले भोगेको जिन्दगीसँग पाठकहरू कतै न कतै समाहित होलान् भन्ने पनि लागेको छ। यसबाट धेरै पैसा कमाऊँ भन्ने छैन र मैले आत्मसन्तुष्टिका लागि लेखेको पनि भन्दिनँ।
प्रकाशित: १८ मंसिर २०७२ २३:०२ शुक्रबार





