बामे सर्दे गरेकी छोरी हिँड्न थालिसकी। तर, उनले त्यहाँबाट निस्कने बाटो पाएकी छैनन्।
त्रिपाल मक्किएर च्यातिएपछि आकाशको शीत र जमिनको चिसोले सताउन थालिसक्यो। तीन सन्तानकी आमा सन्तोषीलाई आफ्नोभन्दा पनि सन्तान जोगाउने चिन्ता बढी छ अहिले। एक वर्षीया कान्छी छोरी पूर्णिमा चिसो सहन नसकेर रुँदा उनी झनै चिन्तित छिन्। 'चिसोले बिरामी पर्ली भन्ने डर छ,' उनले भनिन्, 'फाटेको त्रिपालभित्र हावाहुरी र चिसोबाट जोगाउन मुस्किल परेको छ।'
साँझपख शिविरबाहिर निस्कँदा जाडोले उनको जिउ लुगलुग काँप्दै थियो। अभावको पीडाले मन पोलेपछि उनी सुनाउँछिन्, 'जिउ काँप्छ, मन पोल्छ।' छ महिनाकी छोरी काखी च्यापेर राहतको आसमा त्रिपालमा गुजारा चलाउँदै गर्दा छोरी टुकुटुकु हिँड्न थालिसकी तर सरकार डेग चलेको छैन। 'छोरी टुकुटुकु हिँडेर त्रिपालबाट बाहिर निस्कन खोज्छे,' उनले भनिन्, 'सरकार हाम्रा समस्याको समाधानमा पाइलो सार्दैन।' पीडितको आवाज सुन्न सरकारले ढिलो गरेको उनको गुनासो छ। हिम्मत नहार्दैमा बाटो देखाइदिए हिँड्न सजिलो हुने उनको विश्वास छ। 'अब के यही छोरीले अधिकार माग्नुपर्ने हो र?' उनको प्रश्न छ, 'हैन भने बेला नबित्दैमा सरकारले हामीजस्ता पीडितको लागि बाटो देखाएको खै?'
छेँ मरु, दुःख जुल
सन्तोषीको शिविरभन्दा तीन सय मिटर पर रहेको शिविरको अवस्था पनि उस्तै छ। समस्या अनिगिन्ती छन्। समाधान केही छैन। यति बेला सबैको साझा शत्रु बनेको छ, चिसो। जोसँग लड्ने सामग्री उनीरूसँग पर्याप्त छैन।
उनीहरू साँझको चिसोबाट बच्न केही राहत आउँछ कि भन्ने प्रतीक्षामा त्रिपालबाहिर निस्कन्छन्। बाटोतर्फ आँखा दौडाउँछन्। राहत आउँदैन। फेरि चिसो रात आउँछ।
भूकम्पले घर भत्केपछि ७७ वर्षीया नानीमाया प्रजापती यही अस्थायी शिविरमा आश्रय लिन्छिन्। घरमा रहँदा खेतीपातीको काममा व्यस्त रहने उनी यति बेला त्रिपालभित्र चर्खा काट्दै दिन कटाउँछिन्। उनी नेपाली राम्रोसँग बोल्न जान्दिनन्। नेवारी भाषामा कुरा गर्छिन्। 'छे मरु, दुःख जुल ‐घर छैन, दुःख छ )' उनले भनिन्। सात महिनादेखि यहाँ बस्दै आएकी उनले सरकारले नहेरेको सुनाइन्। 'सरकारले नहेरे कसले हेर्छ?' उनका आफन्तले उनको अवस्था प्रस्ट्याए, 'यो चिसो कसरी कटाउने हो।' उनीसँगै रहेकी ८२ वर्षीया सुन्दरीमायाको समस्या पनि उही हो। सूर्यमढी–१ मा रहेको घर भत्केपछि शिविरमा बस्दै आएकी सुन्दरीमायालाई पनि जाडोकै डर छ। 'सरकारले हेरेन,' उनले भनिन्, 'जाडोले छाडेन।'
भूकम्पपछि घरबारविहीन उपत्यकाका ४७ वटा अस्थायी बासस्थानमा बस्दै आएका १० हजार ५ सय सर्वसाधारणको साझा समस्या यस्तै छ। भूकम्पले आत्तिएर अस्थायी शिविरमा बस्दै आएका उनीहरू राज्यले चासो नदिँदा घर फर्किन ढिलो भएको गुनासो सुनाउँछन्। जीवन जोगाउन शिविरमा बस्दै आएका उनीहरू सकसलाग्दो शिविरबाट उम्कन चाहन्छन्। फाटेका र मक्केका शिविर नै कालको घर बन्ला भन्ने डरले उनीहरूलाई सताएको छ।
बौद्ध नयाँबस्तीस्थित शिविरमा बस्दै आएकी सांगमु शेर्पाले हिमालको सिरेटो खेपेकी छिन्। तर उनलाई राजधानीको चिसो डरलाग्दो बनेको छ। 'चिसो समस्या होइन,' उनी भन्छिन्, 'चिसोमा राम्रोसँग ओढ्न नपाउनु र खान नपाउनुचाहिँ डरलाग्दो हुन्छ।' खासामा होटल चलाउँदै आएको परिवारलाई यहाँ बिहान–बेलुकाको गुजारा चलाउनसमेत समस्या परेको छ। उनीहरूलाई घर फर्कने मन छ तर फर्कने बाटो पाएका छैनन्। उता भूकम्पले जमिन चिराचिरा पारेको छ। सरकारको उदासीनताले उनीहरूको मन पनि उसैगरी चिरिएको छ। 'त्रिपालभित्र खुम्चिएर बस्ने हाम्रो रहर छैन,' उनी भन्छिन्, 'बाटो पाए हामी यहाँबाट निस्कन चाहन्छौं।'
तन शिविरमा रहे पनि मन भने गाउँमा छ, उनीहरूको । हात, पाखुरीमा बल भए पनि काम गर्न नपाउँदा छटपटी बढ्दो देखिन्छ। 'सरकार केही दिँदैन, अरूसँग हात फैलाउन मन लाग्दैन,' उनले भनिन्, 'हामी यस्तो समस्याबाट उम्किन चाहन्छौ। शीत चुहिने त्रिपालभित्र कतिन्जेल रात कटाउनु?'
कहिलेकाहीँ दाताहरूले केही ल्याएर दिन्छन्। अब त ती दाता पनि आउने क्रम घटेको छ। यसबाहेक दैनिक छाक टार्न पनि समस्या पर्न थालेको उनले सुनाइन्। भूकम्पको पीडामा पिल्सिएकाहरूका माथि नाकाबन्दीको मारले झनै दुःख थपेको छ। 'कहिले पाक्ने कुरा पाइन्न, कहिले पकाउने कुरो,' उनी भन्छिन्, 'नानीहरूको पढाइ पूरा गराउन उस्तै समस्या छ।'
यहाँ रहेका करिब एक सय घरधुरीको साझा समस्या यही हो।
चाबहिल चुच्चेपाटीमा बस्दै आएकी काभ्रे आरुबोटकी विपना तामाङलाई विगतका दुःख सपनाजस्तै लाग्थ्यो । एकछिन देखिने अनि हटेर जाने तर यसपालिको दुःख त कहिल्यै सकिएन। बल्भि्कई–बल्भि्कई आइरह्यो। त्रिपाल फाट्यो तर दुःख जमेरै बस्यो। कसरी दुःखबाट फुत्किने, उनले केही भेउ पाएकी छैनन्। 'घर जाउँ घर छैन, डेरा खोज्यो तिर्न सक्ने ल्याकत छैन,' उनले भनिन्, 'हामी हिँड्ने सबै बाटो भत्केको छ।' दाताले दिएको सिरक सिउँदै गरेकी उनी यसैको भरमा जाडो थेग्ने सुनाउँछिन्। सरकारले राहतको नाममा १५ हजार दिनुबाहेक अरु केही नगरेको उनीजस्ता भूकम्पपीडितको गुनासो छ। समस्या उस्तै रहे पनि सहयोग आउने क्रम घटेकोमा उनीहरूको चिन्ता बढेको छ। 'समस्या उस्तै छ, तर सहयोग गर्ने पछि हट्दै गए,' उनले भनिन्, 'राज्यले पनि हेर्दैन, अन्य दाता पनि आउन छाडे।'
आशाको शिविरमा निराशा
भूकम्पपछि जीवन जोगाउन राजधानी आएका सर्वसाधारण यहाँको शिविरमा आशावादी भएर बसेका थिए। उनीहरू दुःखको समयमा शिविरमा मिलजुल गरेर बसे। यहाँ उनीहरूले नयाँनयाँ सपना देख्न थाले। घर भत्के पनि सरकारले सहयोग गर्ने उनीहरूको आशा थियो। तर बिस्तारै ती आशा निराशामा परिणत हुन थालेका छन्।
बौद्ध, नयाँबस्ती नजिकको 'क्याम्प होप' नामक शिविरमा भेटिएका सिन्धुपाल्चोकका ७५ वर्षीय कर्मा शेर्पा शिविरमा लामो समय एकै ठाउँमा बस्नुपर्दा निराश हुनुपरेको सुनाउँछन्। अन्य शिविरको तुलनामा व्यवस्थित देखिए पनि शिविरभित्रको बसाइ पट्यारलाग्दो छ। 'गाउँमा हिँड्ने चरी गाउँमै रमाउँछ,' कर्मा भन्छन्, 'यहाँ त पिँजडामा बसेजस्तो भएको छ।' लामो समयसम्म घर फर्किन नपाउँदा सपनामा पनि गाउँकै झल्को आउने गरेको उनी सुनाउँछन्।
भूकम्पपीडित महासंघका अध्यक्ष सोमप्रसाद भण्डारी उपत्यकाका शिविरमा जस्तै भूकम्प अतिप्रभावित १४ जिल्लाका सर्वसाधारणले लामो समयसम्म सरकारको बाटो हेरे पनि सरकारले जनताको दुःख नदेखेको बताउँछन्। आपत्मा परेका जनतालाई धैर्यको बाँध फोर्न बाध्य नपार्न उनले सरकारलाई चेतावनी पनि दिए।
भू–उपयोग नीतिसहित एकीकृत बस्ती र घर डिजाइनका लागि तत्काल प्राधिकरण गठन गर्नुपर्ने, भूकम्पपीडितलाई न्यानो लुगाका लागि २५ हजार रुपैयाँ दिनुपर्ने महासंघको माग छ। त्यस्तै, हिमाली क्षेत्रमा तत्काल टहरा निर्माण गर्नुपर्ने, राहत वितरणमा एकद्वार प्रणाली अपनाउनुपर्ने, घर बनाउन निःशुल्क पाँच लाख रुपैयाँ दिनुपर्ने, शून्य ब्याजमा २५ लाख रुपैयाँ ऋण दिनुपर्ने लगायतका माग महासंघको छ। 'पुनर्निर्माणको कार्यमा ढिलाइ भइरहेको छ,' महासंघ अध्यक्ष भण्डारीले भने, 'पीडितका यी माग पूरा नभए आन्दोलन थाल्नुको विकल्प छैन।'
प्रकाशित: १८ मंसिर २०७२ २२:२३ शुक्रबार





