१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

काठमाडौं– नेपाल पुलिसकी चन्द्रकला लामगादेले महिला ज्याभ्लिन थ्रोमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्न आयोजित एथलेटिक्स प्रतियोगितामा चन्द्रकलाले ४३.९० मिटर टाढा फाल्दै कीर्तिमान रचेकी हुन् । यसअघि सीमाकुमारी थारुको नाममा ४३.७० को कीर्तिमान थियो। एपिएफ क्लबकी सीमाले भदौमा थाइल्यान्ड ओपनका लागि खेलाडी छनोट गर्न आयोजित प्रतियोगितामा उक्त कीर्तिमान बनाएकी थिइन्। सीमा (४०.२४ मिटर) दोस्रो र आर्मीकी सीता शाही (३५.२७ मिटर) तेस्रो स्थानमा रहे।

सोही स्पर्धाको पुरुषमा आर्मीका धिरेन्द्रजंग शाह (५८.८५ मिटर ) र रामबहादुर कुमाल (५४.२२ मिटर) तथा पुलिसका नरेन्द्रजंग शाह (५१.७६ मिटर) शीर्ष तीन स्थानमा विजयी भए ।

हाइजम्पतर्फ पुरुषमा आर्मीका प्रेम सिंह १.८५ मिटर जम्प गर्दै पहिलो भए । आर्मीकै सूर्य खत्री दोस्रो तथा पुलिसका गोपाल चौधरी तेस्रो भए । महिलातर्फ १.५१ मिटर जम्प गरेकी एपिएफकी शिला चौधरी पहिलो भइन् । प्रहरीकी वर्षा भट्टराई दोस्रो र आर्मीकी प्रभा चौधरी तेस्रो बने ।

पुरुष ८ सय मिटर दौडमा आर्मीका सोम कुमाल पहिलो भए । उनले १ मिनेट ५६ सेकेन्ड लगाए । आर्मीका मुक्तिबहादुर खड्का दोस्रो र जीवन चौधरी तेस्रो भए । महिलामा आर्मीकी सरस्वती भट्टराई २ मिनेट १५.५ सेकेन्डबाट पहिलो हुँदा एपिएफकी फुलमती राना दोस्रो र आर्मीकी लक्ष्मी पाण्डे तेस्रो स्थानमा रहे ।

पुरुष १ सय मिटर दौडमा एपिएफका यामसाजन सुनार १०.६ सेकेन्डबाट पहिलो भए । एपिएफकै आशिष चौधरी र आर्मीका मीनबहादुर चौधरी दोस्रो र तेस्रो भए । महिलातर्फ एपिएफकी सरस्वती चौधरी पहिलो भइन् । उनले १२.५ सेकेन्ड खर्चिन् । आर्मीकी कृष्णा चौधरी दोस्रो र पुलिसकी मानमति विष्ट तेस्रो भए ।

दशरथ रंगशालामा भएको पुरुष ५ हजार मिटर दौडमा आर्मीका हरिकुमार रिमाल पहिलो भए । उनले १५ मिनेट १५.९३ सेकेन्ड लगाए । एपिएफका गोपीचन्द्र पार्की दोस्रो र आर्मीका लालबहादुर थापा तेस्रो भए । महिलातर्फ आर्मीकी विश्वरुपा बुढा पहिलो भइन् । उनले १८ मिनेट ०४.९ सेकेन्डमा दूरी तय गरिन् । काठमाडौंकी सन्तोषी श्रेष्ठ दोस्रो र आर्मीकी सानुमाया कार्की तेस्रो भए । छनोट शनिबारसम्म चल्नेछ ।

प्रकाशित: १७ मंसिर २०७२ २२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App