२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

अन्नपूर्णमा लेक लागेका बिरामीको उपचार गर्ने जनशक्ति तयार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थलमा लेक लाग्ने (अक्सिजनको कमी)ले बिरामी परेका पर्यटकको प्राथमिक उपचार गर्ने जनशक्ति तयार पारिएको छ। भौगोलिक रूपमा विकट र दुर्गम हिमाली क्षेत्रको पदयात्रा, भ्रमणमा आउने पर्यटक र स्थानीयलाई अक्सिजनको कमीका कारण स्वास्थ्यमा समस्या आउँदा प्राथमिक र घरेलु विधिबाट उपचार गर्ने तरिकासम्बन्धी तालिम दिएर जनशक्ति तयार पारिएको हो।

अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने ४, ५, ६, ७ र ८ नम्बर वडामा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र पर्यटकीयस्थलका होटल व्यवसायीलाई आधारभूत तालिम प्रदान गरिएको जानकारी दिए।

गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य तालिम केन्द्र पोखराको प्राविधिक सहयोगमा यसअघि मनाङको चामेमा रहेको हिमालयन रेक्यु एशोसियसनमा स्वास्थ्यकर्मीलाई तालिम दिएको गाउँपालिकाले आज पोखरेबगरमा अन्नपूर्ण आधार शिविर, मौरिस हर्जोग पदमार्ग, खोपारा, बयली, घोडेपानी, पुनहिल, फूलबारी र मोहरेडाँडाका २५ जना व्यवसायीलाई तालिम दिइएको केन्द्रले जनाएको छ।

लेक लाग्ने समस्याको लक्षण, प्राथमिक उपचार गर्ने र घरेलु औषधि तयार पार्ने विषयमा बरुवालले जानकारी गराएका थिए। पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकलाई लेक लाग्ने समस्याको औषधि तथा प्राथमिक उपचारका लागि गाउँपालिकाले चालु आवमा रु तीन लाख बजेट विनियोजन गरेको छ।

उक्त बजेटबाट लेक लाग्ने समस्या आउँदा आवश्यक पर्ने औषधि खरिद गरेर पर्यटकीयस्थलका होटल व्यवसायीलाई उपलब्ध गराउने, पदयात्रामा जानेका लागि जानकारीमूलक सूचनाहरू वितरण गर्ने र विभिन्न ठाउँमा सन्देशमूलक सूचना राख्ने तयारी गरिएको बरुवालले जानकारी दिए। रासस 

प्रकाशित: १५ पुस २०८२ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App