नामै–सिस्नोपानी। सम्झिदै धेरैलाई च्वास्स पोल्ने। अझ शरीरमै कसैले सिस्नोपानी झ्याम–झ्याम हान्यो भने के होला?
सिस्नोपानी–देउसी कार्यक्रमको सुरुमै देउडा गायक नन्दकृष्ण जोशीको झ्याम्म.. झ्याम्म..ले भारतीय प्रधानमन्त्री मोदीलाई मज्जाले घोच्यो।
उनले गाए–
मोदीको मन रैछ कालो लुगा मात्रै सेता झ्याम्म.. झ्याम्म..।
जोसिलो स्वरमा जोशीले देउसी शैलीमा प्यारोडी गाउँदा उनकी छोरीले मञ्चमै र अगाडीबाट दर्शकले साथ दिए।
कार्यक्रम थियो– प्रज्ञा प्रतिष्ठान र सिस्नोपानी नेपालको देउसी।
स्थान–प्रज्ञा प्रतिष्ठानको हल,कमलादी।
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत मन्त्री, सभासद, नेता, कलाकार, पत्रकार र दर्शकले हल भरिएको थियो।
डेढ घण्टा चलेको कार्यक्रममा नेता, मन्त्रीदेखि कर्मचारीलाई कलाकारले देउसी भाकामा सिस्नोपानी लगाए। मञ्चमा बसेर आफ्नै हुर्मत काढेको हेर्दैथिए प्रधानमन्त्री ओली र नेता,मन्त्रीहरु। कलाकारका व्यंग्यात्मक सिस्नोपानी प्रहारबाट भतभती पोलेपनि उनीहरुसँग मुस्कुराउँदै सहनुको विकल्प थिएन।
...
दिल्ली आदेश मानेनौं चम्चा हुन जानेनौं,
देउसी खेल्यौं पारीबाट ढुंगा हानेनौं ।
मधेसवादी दलमाथि खनिए कलाकार। भारतीय सीमाबाट नेपाली सुरक्षाकर्मीलाई ढुंगा हान्ने आन्दोलनप्रति कलाकारले व्यंग्य कसे।
...
केपी, सुशील, प्रचण्ड मिल्दा भारत डरायो,
मध्यरातमा बालुवाटारमा दूत करायो।
पखेटाले छोप चल्ला ढाडे आइ समाउला
खबरदार नेता हो खुट्टा कमाउला।
प्रमुख तीन दलको एकताले भारतको अनिच्छा हुँदाहुँदै पनि संबिधान जारी गर्न नेताहरू सफल भएकोमा कलाकारले खुसी व्यक्त गरे। तर संगसंगै एकता कायम राख्न र भारतसँग नझुक्न, खुट्टा नकमाउन देउसी भाकामा कलाकारले नेताको मनोबल बढाए।
नेपाली कांग्रेसलाई देउसी भाकामा व्यंग्य गरियो–
काँग्रेस भन्ने पार्टीको कस्ले कान घुमायो,
प्रधानमन्त्री खोज्दा राष्ट्रपति गुमायो।
...
अरु देशका प्रधानमन्त्री आफ्नो देश बनाउँछन्,
हाम्रा चाँही उपप्रधानमन्त्री बनउँछन्।
नयाँ नेता केपी ओली सिंहदरबार छिरेका,
यिनका पनि छन् कि कतै कान चिरेका।
मञ्चमा कलाकार व्यंग्य कस्दै थिए। अगाडी प्रधानमन्त्री र उनकी पत्नी राधीका शाक्य हाँस्दै थिए। आधा दर्जन उपप्रधानमन्त्री बनाएकोमा आलोचना खेप्दै आएका प्रधानमन्त्रीलाई कलाकारले पनि छाडेनन्।
...
अहिलेको गठबन्धन सरकारलाई कलाकारले यसरी घोचपेच गरे–
यो घर कस्को आलेको भित्र बाहिर टालेको,
गठबन्धन मण्डले, मसले–मालेको।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संबिधान निर्माणको जस दिदै कलाकारले एकता र सकारात्मक राजनीतिक संयोजनमा टिकिरहन दाहाललाई घुमाउरो शैलीमा आग्रह गरे।
प्रचण्डको पहलमा संबिधान जारी भो,
एकछिन हो कि यो नाटक सधैभरी हो?
...
कुनैबेला हाम्रो –देशैमा
भूकम्प आको –केसैमा
राहत आयो –नेपालमा
तानातान प¥यो –त्रिपालमा
जनता खुल्ला –आकाशमा
जस्ता चाँही मन्त्रीको –बाकसमा
भूकम्प पीडितले राहत नपाएको र नेता, मन्त्रीले राहतमा भ्रष्टाचार गरेको देउसी गीतमा अभिव्यक्त भयो।
अख्तियार पनि अछुतो रहेन,
अख्तियारको बिरालोले, मुसा मार्न छाडेको,
सानो माछो जेलमा, ठूलो माछो खेलमा।
...
महिलामाथि हातपात गर्ने कृषि मन्त्री हरी पराजुली, पार्टी छाडेर नयाँ शक्ति निर्माणमा लागेका बाबुराम भट्टराई, मन्त्री पद नछाड्ने विजयकुमार गच्छदार, एमाले सभासद राज्य लक्ष्मी गोल्छालगायले कलाकारको सिस्नोपानी खाए।
कृषि मन्त्री पराजुली रोपाइँ गर्न गएछन्
रोपाहारलाई समातेर भूपू भएछन्।
...
टालाटुली बाटुली, बाबुरामकी पुतली
४० बर्ष बस्या घरको खाँबो उखेली।
...
छिनमै मधेस आन्दोलन, छिनमै सत्ता सरर,
गच्छेदारको अन्तिम लक्ष झण्डा फरर..।
...
राज्य लक्ष्मी गोल्छाले हरियो घाँस काटेको,
एमालेले हरियो घाँसमा सांसद साटेको।
...
नाकाबन्दी पछि पैशा भन्दा इन्धन (तेल) को महत्व रहेको र 'क्यास' भन्दा ग्यासमा आकर्षण बढेको देउसी भाकामा कलाकारले रोचक ढंगले उठाए।
धन हुनेलाई हैन छोरी तेल हुनेलाई दिने हो,
क्यास हैन दाइजोमा ग्यास लिने हो।
भिडियोः
प्रकाशित: २५ कार्तिक २०७२ ०१:३८ बुधबार





