२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

कर्खा गाउँदै आएँ

देशको सिमाना रुङ्न बसेको जङ्गेपिलर

आफूले कुल्चिएको माटोमा शिर गाढेर

आज पनि रातभरि रोयो !

र उसका जोर आँखाहरूबाट अविरल बगिरहे—

इतिहासको अँध्यारो खाडीमा पुरिएका

रगतका असङ्ख्य नदीहरू !

जङ्गेपिलरको छेउमा बसेर

गीत गाउँदै थियो एउटा निर्धो गाइने—

हे बरै !

सारङ्गी रुवाउँदै आएँ÷कर्खा गाउँदै आएँ

निभेको इतिहासको नाममा÷कलेजी कटाउँदै आएँ !

नातिहरूलाई सुनाउनु थियो एउटा गीत

सोध्नु थियो प्रश्नहरू—

तिम्रा बाजेको भिक्टोरिया क्रस

र तिम्रा बाबुको परमवीर चक्र

कसले बेचेर खायो रक्सी ?

सोध्नु थियो—

तिम्री आमाको हरियो लुङ्गीमा

कसले निभायो चुरोटको ठुटो ?

आफ्नै पैतालामुनि पहिरो गएझैं हरेक दिन

कहाँ हराउँदै छ यो देशको माटो ?

जङ्गेपिलरलाई सोध्नु थियो—

झुसेलीले खाएको सिमीको पातजस्तै

थाहै नपाई हरेक दिन

किन खुम्चिँदै छ यो देशको सीमारेखा ?

महाकाली नदीलाई एकै छिन

आँखाको डिलैमा रोकेर सोध्नु थियो—

काली ! तिमी लिम्पियाधुराबाट आयौ

कि लिपुलेकबाट आयौ ?

इतिहासबाटै इतिहास हराउँदा

सोध्न बिर्सिएका प्रश्नहरू धेरै थिए !

देख्नै बिर्सिएका सपनाहरू पनि धेरै थिए !

हे बरै !

सारङ्गी रुवाउँदै आएँ÷कर्खा गाउँदै आएँ ...!

सन्ततिहरूलाई सुनाउनु थियो—

हजारौं स्वामी र हजारौं मालिकका सगुनहरू !

कसरी टुक्रिए भूमिहरू÷कसरी जोडियो पृथिवी ?

र कसरी जन्मियो तिमी बाँचेको देश ?

सोध्नु थियो—

आज त तिमी हौ यो देशको मालिक !

तर कसरी निभ्यो तिम्रो शिरको उज्यालो ज्योति ?

अल्लाका भाङ्ग्रा ! भेडाका दोचा !

हाकुपटासी ! लेहेँगा धोती !

फाटेको शिरमा ढाकाको टोपी !

भोटो र कछाड ! दौरा र सुरुवाल !

चाँदीका सोली ! चौबन्दी चोली !

डाँडा र पाखामा लस्करै हिँड्थे—

बिस्र्यौ कि तिमीले ?

रगतको बाफमा भुइँकुहिरो उड्यो

पुर्खाको रगत माटोमै भिज्यो !

हड्डीको धुलो र रगतको दाग—

प्रकाशित: २९ आश्विन २०७२ २०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App