५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

प्रतिशोधमा अमर्त्य सेन

भारतीय सञ्चारमाध्यममा प्रकाशन अगावै विशेष चर्चा पाएको पुस्तक हो, 'द कन्ट्री अफ फर्स्ट बोइज'। सन् १९९८ मा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेता अमर्त्य सेनको हालसालै प्रकाशित उक्त पुस्तक चर्चामा छ। भएको के थियो भने वर्तमान भारतको 'दक्षिणपन्थी' नरेन्द्र मोदीको सरकारले प्राध्यापक सेनलाई नालन्दा विश्वविद्यालयको दोस्रोपटक चान्सलर स्विकार्न आनाकानी गर्यो।१५ सय वर्षअघि भारतको बिहारमा अवस्थित नालन्दा बौद्ध दर्शनमा प्राध्यापन गराउने एउटा विश्वकै ज्यादै पुरानो प्राज्ञिक संस्था थियो। प्रोफेसर सेनकै पहलमा उक्त प्राज्ञिक संस्थालाई एउटा आधुनिक अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा पुनरोदय गर्ने निर्णय गरियो।

सन् २००७ मा फिलिपिन्सको सेवुमा भएको पूर्वी एसियाको शिखर सम्मेलनमा नालन्दालाई पुनरोदय गराउने उद्देश्यले यसको सञ्चालन एवं नेतृत्वको लागि एउटा सञ्चालक समिति/गभर्निङ बोर्ड/मेन्टर गु्रप गठन भयो। भारतका वर्तमान राष्ट्रपति एवं तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जीले प्रोफेसर सेनलाई उक्त समितिको नेतृत्व लिन आग्रह गरे। उक्त समितिले नै प्राध्यापक सेनलाई सर्वसम्मत रूपमा चान्सलर बनाउने निर्णय भारत सरकार समक्ष प्रस्ताव गर्योा र तत्कालीन मनमोहन नेतृत्वको सरकारले सो प्रस्तावलाई सहजै स्वीकार गर्योर। भारत, चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, थाइल्यान्ड मलेसिया, कम्बोडिया, अस्ट्रेलिया, न्युजिल्यान्ड लगायत देशका प्रतिनिधि रहेको उक्त गभर्निङ बोर्र्डले पुनः प्रोफेसर सेनलाई सर्वसम्मत रूपमा दोस्रो अवधिका लािग पनि नालन्दाको चान्सलर पदमा नियुक्ति प्रस्ताव गर्यो । लामो समयसम्म पनि वर्तमान भारत सरकारले उक्त प्रस्तावलाई बेवास्ता गरेपछि अमर्त्य सेनले आफू दोस्रोपटक चान्सलर नबन्ने घोषणा भारतीय सञ्चारमाध्यम मार्फत गरिदिए। उत्कृष्ट अन्तर्राष्ट्रिय बौद्धिक व्यक्तिमाथि वर्तमान भारत सरकारले गरेको त्यस प्रकारको अपमानजनक व्यवहारले भारतमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतमै तीव्र प्रतिक्रिया जन्मायो। उक्त गभर्निङ बोर्र्डले पुनः प्रोफेसर सेनलाई नै चान्सलरका लागि प्रस्ताव गर्दै दबाब दिने निर्णय गर्योक तर भारतीय राजनीतिको मनोविज्ञानसँग परिचित प्रोफेसर सेनले अर्का सक्षम प्राज्ञ सिंगापुरका पूर्व विदेश मन्त्री एवं उक्त बोर्र्डका सदस्य जर्ज यो लाई चान्सलरका लागि प्रस्ताव गरे। घटना यतिमा मात्रै रोकिएन। प्रोफेसर सेनले त 'द न्युयोर्क रिभ्यु अफ बुक्स'मा यस घटनालाई लिएर एउटा सनसनीपूर्ण लामो लेख लेखे। वर्तमान 'दक्षिणपन्थी' भारत सरकारले एउटा प्राज्ञिक उचाइ अंकुरण गर्न खोजिरहेको संस्थाबाट आफूलाई कसरी अमर्यादित ढंगले हटायो एवं भारतका उत्कृष्ट संस्थामा राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्तालाई भर्र्ती गर्दै प्राज्ञिक स्वतन्त्रताको मर्ममाथि कसरी प्रहार गरिँदैछ भन्ने तथ्यलाई उक्त लेखमार्फत उजागर गरिदिए। साँचो अर्थमा भन्ने हो भने प्राध्यापक सेनले वर्तमान भारत सरकारले उनीमाथि साँधेको राजनीतिक इबीको मिठो प्राज्ञिक बदला लिए। यसले विश्वको प्राज्ञिक एवं सञ्चार जगतमा पुनः तीव्र क्रियाप्रतिक्रिया जन्माइदियो। द न्युयोर्क रिभ्यु अफ बुक्सको उक्त आलेखलाई आफ्नो प्रकाशोन्मुख पुस्तक 'द कन्ट्री अफ फर्स्ट बोइज'मा समेत समेट्ने घोषणा गरे। उनको 'द न्युयोर्क रिभ्यु अफ बुक्स' को उक्त आलेखलाई लिएर भारतीय सञ्चारमाध्यममा एक प्रकारको दोहोरी नै चल्यो।

भारतीय सञ्चार जगत्का जानेमाने टिभी जर्नालिस्ट राजदिपसार देशाइलेे यसै प्रसंगलाई लिएर तत्कालीन 'हेडलाइन टुडे' एवं वर्तमानको 'इन्डिया टुडे' टिभीमा प्रोफेसर सेनको एउटा अन्तर्वार्ता लिए। नालन्दा विश्वविद्यालयको चान्सलरसिपको प्रसंगलाई लिएर गरिएको उक्त अन्तर्वार्ताले इन्डियन एक्सप्रेसकी एउटा 'दक्षिणपन्थी' स्तम्भकार तवलिन सिंहले उनको स्तम्भ 'फिफ्थकोलम' मार्फत तीव्र आक्रोश पोखिन्। सेनलाई वामपन्थी विचारकको पगरी गुथाउँदै सन् २००२ को गुजरात हिंसाको विरोध गर्ने सेनले सन् १९८४ को पञ्जाबीमाथिको आक्रमणलाई लिएर किन मौन साँधेको भनेर प्रश्न तेर्स्याइदिइन्। भारतका दक्षिणपन्थी प्राज्ञलाई पूर्व कांग्रेस एवं युपिए गठबन्धनको सरकारले गरेको बेवास्तालाई उल्लेख गर्दै सेनलगायत अरूलाई भारतीय प्राज्ञिक संस्थाबाट हटाउने वर्तमान सरकारको निर्णय उचित रहेको ठहरसमेत गरिन्। यसै प्रसंगमा भारतका अर्का प्रभावशाली पत्रकार करण थाप्परले सत्यमात्रै ओकल्न लगाउने अर्को कार्यक्रममा प्रोफेसर सेनको अन्तर्वार्ता लिए। यसले नालन्दा विवादलाई झन् प्रगाढ बनाइदियो। भारतका अर्का प्राज्ञ प्रताप भानु मेहताले त यस घटनालाई 'नालन्दा सिन्ड्रोम' नै भनिदिए।

पछि प्रोफेसर सेनले मेहता र सिंह दुवैलाई जवाफी पत्र पनि लेखे र आफ्नो आगामी पुस्तक मेहतालाई उपहार दिने प्रतिबद्धतासमेत प्रकट गरे। सायद मेहताले सेनको उपहाररूपी उक्त पुस्तकको गम्भीर अध्ययन गरिरहेका होलान् भनी सहजै अनुमान गर्न सकिन्छ।

यिनै विवाद र पृष्ठभूमिको परिवेशमा प्रकाशनमा आएको हो प्रोफेसर सेनको नयाँ पुस्तक 'द कन्ट्री अफ फर्स्ट बोइज'। अक्सफोर्ड युनिभर्सिटी प्रेसले छापेको उक्त पुस्तक सेनका यसअघिका चर्चित पुस्तक 'आर्गुमेन्टेटिभ इन्डियन', 'आइडेन्टिटी एन्ड भ्वाइलेन्स', 'दि आइडिया अफ जस्टिस' जस्तै विचारोत्तेजक छ। ती पुस्तकको लेखनको प्रारम्भिक जग एवं विचारको रूपमा यस पुस्तकमा संकलित सामग्रीलाई लिन सकिन्छ। भारतका अर्का प्राज्ञिक प्रशासक गोपाल कृष्ण गान्धीको प्राक्कथनबाट सुरु गरिएको यो पुस्तक परिचय सहित चौध वटा गम्भीर आलेख एवं प्रवचनको संग्रह हो। दक्षिण एसियामा हुने विविध प्रकारका विभेद एवं अन्यायको विशद चर्चा यी आलेखमा गरिएको छ।

दक्षिण एसियामा नै सम्पूर्ण अभिभावक आफ्ना छोराहरूलाई प्रथम हुने सपना देखिरहेका हुन्छन् एवं त्यसका लागि मानसिक दबाबसमेत दिइरहेका हुन्छन्। प्रथम हुनु आफैंमा नराम्रो कुरा भने होइन। तर अमर्त्य सेनको शिक्षासम्बन्धी बेग्लै अवधारणा छ। आम जनतामा आधारभूत शिक्षाको पहुँचले धेरै सामाजिक अवसरको सुविधा प्रदान गर्छ। त्यसले भारतका प्रथमहरूले त त्यसै पनि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अवसरको सहजै उपयोग गरिरहेका छन्। तर भारत सरकारका अगाडि त्यहाँको शिक्षा प्रणालीले पछाडि पारेका एवं विद्यालयमा उपस्थित भई शिक्षा ग्रहण गर्न नसकेका विद्यार्थीलाई राज्यको असल नीतिद्वारा सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनको स्पष्ट सुझाव छ, भारत प्रथमहरूको मुलुकमात्र नभई संसारकै धेरै अशिक्षितहरू एवं पछौटेहरू भएको विरोधाभासयुक्त मुलुक पनि हो। विश्व महाशक्तिको प्रतिस्पर्धी भारतले सामना गर्नुपर्ने यो एउटा गम्भीर चुनौती रहेको उनको ठम्याइ छ।

सन् २००९ मा न्यायसम्बन्धी अवधारणामा आफ्नै सहकर्मी हार्वर्डका प्रोफेसर जोन रल्जको न्यायको सिद्धान्तलाई बेजोड चुनौती दिँदै न्यायको सोचमा नै परिवर्तन गराउने अर्को एउटा गम्भीर पुस्तक 'दि आइडिया अफ जस्टिस' लेखेका छन्, सेनले। ११ अगस्ट २००८ मा उनले भारतीय संसदमा हिरेण मुखर्जीको संस्मरणमा एउटा प्रवचन प्रदान गरे। 'दि आइडिया अफ जस्टिस'को सारांशजस्तो लाग्ने उक्त सम्भाषणमा उनले सामाजिक न्यायलाई नीतिप्रधान एवं न्यायप्रधान गरी दुुई भागमा विभाजित गरेका छन्। उनको स्पष्ट धारणा छ— संस्थागत नीतिप्रधान न्याय प्रणालीभन्दा आमजनतालाई अनुभूति हुने न्यायप्रधान प्रणाली बढी प्रभावकारी हुन्छ। प्रोफेसर सेन दाबी गर्छन्— पूर्ण रूपमा न्यायपूर्ण आदर्श समाज हुनै सक्दैन किनभने आम मानिसका न्यायका चाहना फरक–फरक हुन्छन्। न्याय प्रदान गर्ने संस्थाका नीति पनि सोचेजस्तो पूर्ण निष्पक्ष रहन सक्दैनन्। ती संस्थाले गर्ने व्यवहार एवं प्रदान गर्ने न्यायलाई आम मानिसले उत्तिकै निष्पक्षताका रूपमा ग्रहण नगर्न सक्छन्।

यसरी प्रोफेसर सेनले रल्जको नीतिप्रधान निस्पक्षताको न्याय सिद्धान्तलाई ठाडो चुनौती दिएका छन्। न्यायका लागि आन्दोलनरत नेपाली समाजका अगुवालाई हिरेन मुखर्जी मेमोरियल लेक्चर पक्कै उपयोगी हुन सक्छ।

नेपाली राजनीति संविधानसभाद्वारा घोषित नयाँ संघीय संविधान एवं पहिचानको खोजीमा आन्दोलनरत पक्षहरूको वरिपरि घुमिरहेको छ। सेनले एकल पहिचान र हिंसालाई लिएर 'आइडेनटिटी एन्ड भ्वाइलेन्स' (सन् २००७) मै विशद चर्चा गरिसकेका छन्। समाजका सामाजिक एवं राजनीतिक अगुवाले पहिचानको साँघुरो घेरालाई आम मानिसमाथि कसरी लाद्छन् एवं त्यसले समाजमा कसरी हिंसा भड्काउँछ भन्ने तथ्यलाई सन् २००१ मा पेरिसका कलेज डे फ्रान्समा दिइएको सम्भाषणलाई 'द स्मलनेस थ्रस्ट अपन अस' शीर्षकअन्तर्गत राखेका छन्, उनले।

प्रोफेसर सेन व्यक्तिको बहुपहिचानमा विश्वास राख्छन्। मानिसको पहिचान समाजिक एवं सांस्कृतिक सोचको उपज हो। यो समाजमा विद्यमान राजनीतिक, सामाजिक एवं सांस्कृतिक रूपमा अरूहरूभन्दा भिन्न देखाउने सामूहिक सोचको अभिव्यक्ति पनि हो। अन्यभन्दा भिन्न देखिने एवं देखाइने पहिचानको राजनीतिले विद्यमान पहिचानको व्यापकता एवं बहुआयामिक पक्षलाई कमजोर बनाउँदै आफू के होइन भन्ने साँघुरो घेराको खाडलमा धकेलिदिन्छ। फलस्वरूप एकल पहिचानको साँघुरो रूपले अमानवीय एवं विवेकहीन हिंसाको उग्र स्वरूप लिन्छ।

उनको तर्क छ— एउटा युगोस्लाभियाको नागरिकमाथि तँ सर्व होस् एवं अल्वानियन होइनस् भनेर पहिचानका नाममा हिंसा भड्काइन्छ। त्यसरी नै एउटा रुवान्डनवासीलाई कसरी हुतुको आवरणमा तुत्सीमाथि नरसंहार गराइन्छ।

यसरी युगोस्लाभियावासी र रुवान्डावासीको पहिचानलाई नामेट पारिएको दृष्टान्त प्रस्तुत गर्छन्, सेन। सन् १९४७ मा भारतमै हिन्दु एवं मुसलमानको साँघुरो पहिचानले कसरी एक आपसमा हिंसा भड्कायो भन्ने तथ्यलाई उनले स्पष्ट रूपमा राखेका छन्। उनको आलेख पढ्दा नेपाल पनि कतै त्यस्तै साँघुरो पहिचानको अन्तहीन द्वन्द्वमा परिरहेको त छैन भनी शंका गर्ने प्रशस्त ठाउँ देखिन्छ। सेन भन्छन्— मानिसका एकै समयमा एकभन्दा बढी पहिचान हुन्छन्। मानिसमा अन्तर्निहित उक्त बहुपहिचानको (एउटा मालिसियाली मूलको, भारतीय पुर्ख्यौली रहेको फ्रान्सको नागरिक, अमेरिकी निवासी एउटा महिला कवि; जुन एउटै व्यक्तिका बहुपहिचान हुन्) बोध भए पहिचानको नाममा गरिने हिंसा स्वतः कम हुने प्रोफेसर सेनको निर्क्योल छ। मानिस पहिचानका विविध समूहसँग आबद्ध हुन्छन्। उनीहरू आफ्ना प्राथमिकताका आधारमा यी समूहसँग आबद्धता जनाउँछन्। सामाजिक एवं राजनीतिक दाउपेचको रस्साकास्सीमा यी समूहगत पहिचान समय समयमा दुरुपयोग भइरहेका छन्। यो नै हिंसाको मूल कारण बन्न पुग्छ। यसैले सेनले भन्ने गरेका छन्— विश्व केवल सम्प्रदाय एवं राष्ट्रहरूको सामूहिक रूपमात्र होइन। यो आम मानिसको बासस्थान पनि हो। यसैले विश्वशान्तिका लागि यी विविध समूह एवं राष्ट्रबीच विवेकपूर्ण एवं तर्कपूर्ण अन्तर्क्रियाका साथै मध्यस्थताको आवश्यकता छ भन्ने ठम्याइ छ सेनको।

विकासका लागि स्वतन्त्रता सेनको पुरानो अवधारणा हो। उनको यस सम्बन्धमा 'डिभलपमेन्ट एज फ्रिडम' नामक एउटा पुरानो पुस्तक पनि छ। भारतीय मुलुकका अर्का लेखक भिएस नयपाल जन्मेको क्यारोबियन टापु टि्रनिडाडमा अवस्थित साइन्स अकादमी एवं युनिभर्सिटी अफ बेस्ट इन्डिजमा दिइएको अर्को प्रवचन 'स्पिकिङ अफ फ्रिडम'मा उनले आर्थिक विकासका लागि सञ्चारको महत्वलाई औंल्याएका छन्। जुन मुलुकमा असली प्रेस स्वतन्त्रता हुन्छ, त्यस मुलुकका पिछडिएका आम मानिसको जीवन पद्धतिलाई सही सूचनाको हस्तक्षेपकारी माध्यमबाट उकास्न सकिन्छ भन्ने सेनको दाबी छ। भारतमा अनिकाल, सुक्खा एवं अन्न बाली गडबडीले गर्दा सयौं किसान बर्सेनि आत्मदाह गर्न बाध्य छन्। भारतीय सञ्चारमाध्यममा यी समाचारलाई बेजोडका साथ सम्प्रेषित गरिन्छ। यसले सरकार एवं सरोकारवालाको ध्यानाकर्षण गराउँछ। फलस्वरूप हजारौं किसानको जीवन रक्षाका लागि स्वतन्त्र प्रेसले भूमिका खेलेको प्रोफेसर सेनले उल्लेख गरेका छन्।

प्रोफेसर सेनको यो पुस्तकमा भारतीय प्राचीन क्यालेन्डरसम्बन्धी एउटा रोचक लेख छ। सन् २००० मा 'दि लिटल म्यगेजिनमा छापिएको उक्त आलेखमा भारतीय उपमहाद्वीपमा प्रचलित प्राचीन क्यालेन्डरले कसरी ऐतिहासिक घटनाहरूको विविधतालाई उजागर गर्छन् भन्ने तथ्यलाई औंल्याइएको छ। यसैले त उनी भन्छन्— क्यालेन्डर केवल भित्तामा झुन्ड्याइएको तिथिमिति संकलित वार्षिक कार्यतालिकाको सूचीमात्र नभई इतिहासको महत्वपूर्ण दस्तावेज पनि हो। अन्य कैयौं यस्तै सम्भाषण एवं आलेख संकलन गरिएको एउटा तर्कशील भारतीयको पढ्नैपर्ने गम्भीर कृति हो 'द कन्ट्री अफ फर्स्ट बोइज'।

कृति : निबन्ध

लेखक : अमर्त्य सेन

प्रकाशक : अक्सफोर्ड युनिभर्सिटी प्रेस

पृष्ठ : २७६, मूल्य : ८८० रुपैयाँ

प्रकाशित: १५ आश्विन २०७२ २३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App