१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

बालेनलाई प्रधानमन्त्रीको रूपमा देख्न तयार छौं: सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा देख्न पार्टी र देश तयार रहेको बताएकी छन्।

सोमबार जनकपुरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै नेतृ गौतमले जन्मले मधेशको छोरो र कर्मले काठमाडौंको छोरो बालेन र रास्वपा सभापति रवि लामिछाने एकै मञ्चमा उभिनु ऐतिहासिक क्षण भएको बताइन्।

‘बालेन शाहजीको आगमनले राष्ट्रिय स्वतन्त्र पार्टी आज पूर्ण भएको महसुस गरेको छु,’ उनले भनिन्, ‘रवि लामिछाने र बालेन शाहको उपस्थितिले अबको नेतृत्व र भविष्य देखेको छ।’

पुराना दलहरूप्रति आक्रामक रूपमा प्रस्तुत भएकी गौतमले लामो समयदेखि देशका समस्या लुकाउने र लुटतन्त्र मच्चाउनेहरूलाई सभापति लामिछानेले एउटा क्यामेराको लेन्सले नाङ्गोझार पारेको टिप्पणी गरिन्।

काठमाडौंको फोहोर व्यवस्थापन गरेर बालेनले र जनताका समस्या उजागर गरेर रविले राजनीतिक उदय गरेको प्रसङ्ग उनले जोडिन्।

मधेश इतिहास, शक्ति र जनसङ्ख्याको हिसाबले देशको निर्णायक शक्ति रहेको भन्दै उनले यस पटकको निर्वाचनमा मधेशले अग्रपंक्तिमा रहेर भाग्य परिवर्तनको नेतृत्व गर्नुपर्नेमा जोड दिइन्।

अबको आउने निर्वाचनबाट बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा देख्न आफूहरू तयार भएको भन्दै उनले आम जनसमुदायलाई ‘घन्टी’ चुनाव चिह्नमा मतदान गर्न आग्रह समेत गरिन्।

प्रकाशित: ५ माघ २०८२ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App