१२ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशमा बढ्दै छ चुनावी रन्को : कास्की-२ मा एमालेले फेर्‍यो उम्मेदवार

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार चयन

निर्वाचन तिथि नजिकिँदै जाँदा गण्डकी प्रदेशमा पनि चुनावी माहोल तातेको छ। दलहरू निर्वाचनमा होमिने उम्मेदवारको टुंगो लगाउने हतारोमा छन्। 

केही दलले उम्मेदवारको टुंगो लगाइसकेका छन्। उम्मेदवारको टुंगो नलगाएका दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन्। आफ्नो पक्षमा उम्मेदवारी हत्याउन केन्द्र धाउने नेता पनि पर्याप्त छन्। एमालेले गण्डकीका सबै निर्वाचन क्षेत्र (१८) वटैमा उम्मेदवार तय गरिसकेको छ। कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार चयन गरिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि उम्मेदवारको टुंगो लगाउने क्रममै छ। कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतले भने अझै उम्मेदवार तय गरिसकेका छैनन्।

एमालेले कास्की–१ मा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीलाई उम्मेदवार बनाएको छ। कास्की २ कृष्ण थापालाई सुरुमा उम्मेदवार बनाएको एमालेले सोमबार थापाको साटो रश्मि आचार्यलाई उम्मेदवार चयन गरेको छ। कास्की ३ मा दामोदर पौडेल (बैरागी) लाई टिकट दिएको छ।

थापाले यसअघिका निर्वाचनमा समेत बारम्बार पार्टीबाट टिकट पाउँदै आएका थिए। थापाको साटो उम्मेदवार बनेका आचार्य युवा नेता हुन। त्यस्तै बैरागी विघटित प्रतिनिधिसभाका सदस्य पनि हुन। यसअघि तीन वटै क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाउने चर्चा चलेपनि एमालेले नयाँ अनुहारलाई पन्छाएर पुरानैलाई अघि सारेको थियो, त्यसले केही आलोचना बढाएको थियो।

थापालाई उम्मेदवार बनाएपछि एमाले कास्कीमा असन्तुष्टि छाएको थियो। थापाले बारम्बार अवसर पाएको भन्दै एमालेकै नेताहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा विरोध गरेका थिए। उम्मेदवार बनेका स्वयम् थापाले पनि आफ्नो उम्मेदवार बन्ने इच्छा नरहेको बताएका थिए। तर सोमबार एकाएक एमालेले रश्मिलाई उम्मेदवार बनाएपछि कास्की–२ को राजनीति बदलिएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट राजनीति सुरु गरेका आचार्य अवसर नपाएका नेता मध्येका एक हुन्। उनलाई यस पटक टिकट दिनेमा एमाले पंक्ति विश्वस्त थियो। तर, सुरुमा टिकट अर्कैले हत्याएपछि आलोचना खेपेको एमालेले अन्तिम समयमा आएर उम्मेदवार परिवर्तन गर्न बाध्य भएको छ।

कास्की–२ दिवंगत नेता रवीन्द्र अधिकारीको क्षेत्र हो। जहाँबाट अधिकारीले लगातार तीन पटक चुनाव जितेका थिए। २०६४ सालमा माओवादीको जगजगी भएका बेला पनि जितेका अधिकारीले २०७० र २०७४ मा पनि जितेका थिए। तर हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उपचुनावमा उनकै धर्मपत्नी विद्या भट्टराईले जितेकी थिइन्। २०७९ को आम निर्वाचनमा जितेकी विद्या अहिले चुनावी प्रतिस्पर्धामा छैनन्। यही क्षेत्रमा उम्मेदवार बनेका रश्मिले नेकपाका किरण थापा, रास्वपाका उत्तम पौडेल लगायतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यस क्षेत्रमा कांग्रेसले भने उम्मेदवार टुंगो लगाएको छैन।

नेपाली कम्युनिस्ट पार्टीले पनि कतिपय क्षेत्रमा उम्मेदवार चयन गरिसकेको छ भने केहीमा अझै टुंगो लगाउन सकेको छैन। अर्को दल कांग्रेसले भने पार्टीभित्रको विवादका कारण समय घर्किन लागिसक्दा पनि उम्मेदवार तय गरेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की–१ मा गणेश पौडेललाई उम्मेदवार बनाएको छ। कास्की –२ मा उत्तम पौडेललाई उम्मेदवार बनाएको छ। गणेश बालेन निकट मानिन्छन्। रास्वपाले उम्मेदवारी दिएका कास्की–१ का उत्तम पौडेल रास्वपाका रवि निकट मानिन्छन्। उनी पत्रकार पनि हुन।

यता कांग्रेसले भने अझै पनि पार्टीभित्रकै विवादका कारण उम्मेदवार चयन गर्न सकेको छैन। कांग्रेसको विशेष महाधिवेशनसँगै सुरु भएको विवादले अहिले चर्को रूप लिँदै गर्दा उम्मेदवार तय गर्नमा पनि ढिलाइ भइरहेको कांग्रेसका कास्की जिल्लास्थित एक जना नेताले बताए। ती नेताका अनुसार दलको आन्तरिक विवादले उम्मेदवारबारे टुंगो लगाउन सकिएको छैन।

‘एमालेलाई भने निर्वाचन लागिसक्यो। तर, कांग्रेसलाई भने अझै पनि चुनाव लागिसकेको छैन। पार्टीभित्रकै विवादले कांग्रेसलाई तताएको छ,’ कास्कीका एक जना नेताले भने, ‘हुन त कांग्रेसले यसअघिका कुनै पनि निर्वाचनमा बेलैमा उम्मेदवार टुंगो लगाउने गरेको थिएन, अहिले पनि त्यही हालत हो। तर, यो पटक त पार्टीभित्रकै विवादले गर्दा अन्योल भएको छ।’ पार्टीको आन्तरिक विवादका कारण उम्मेदवारको पनि चयन हुन नसकेको ती नेताले बताए।

‘उम्मेदवारीको टुंगो नलागेकोले चुनाव लागेजस्तो देखिएको छैन। टिकट अझै कसले पायो र पाउने भन्ने निर्णय पनि भइसकेको छैन, कांग्रेसले अघिल्ला निर्वाचनमा पनि अन्तिम घडीमा मात्र उम्मेदवार तय गर्ने गरेको थियो, अहिले पनि त्यस्तै देखिएको छ। उम्मेदवार चयन गर्नमा ढिलाइ भएको हो,’ उनले भने, ‘अरू दललाई चुनाव लागिरहँदा कांग्रेस भने आन्तरिक विवादमा रुमल्लिएको छ। यसले अन्योल बनाएको छ। जिल्लाको राजनीति भन्दा केन्द्रको विवादले अप्ठेरो पारेको छ।’

ती नेताका अनुसार पार्टीको विवादले गर्दा के हुने भन्ने यकिन हुन नसक्दा उम्मेदवारका लागि उत्ति सारो चाप पनि बढेको देखिएको छैन। ती नेताका अनुसार पार्टीको आन्तरिक विवादले चुनावको मुखमा केही नराम्रो जस्तो देखिएको छ। ‘स्वार्थको राजनीति हो, मिलेर अघि बढेको भए चुनावलाई सहज हुन्थ्यो। तर अहिले नराम्रो जस्तो देखिएको छ। पार्टीको विवादले गर्दा समस्या पनि भएको,’ उनले भने।

उनका अनुसार कांग्रेसका दुवै धारका नेताहरू आफ्नो पक्षमा टिकट हत्याउनका लागि केन्द्रसम्म धाएका छन्। ‘चुनावको मुखैमा पार्टीको आन्तरिक विवादले के हुने भन्ने टुंगो छैन। त्यसैले जनमत सम्हाल्न सकिन्न कि भन्ने डर पनि सम्भावित उम्मेदवारमा छ। टिकट ल्याएर पनि के गर्ने भन्ने अन्योल छ,’ उनले भने, ‘चुनाव खर्चिलो पनि बन्दै गएको छ। ठुलो खर्च हुने तर, आफ्नो पक्षमा निर्वाचन परिणाम नआउने हो की भन्ने त्रासले पनि पुराना दलका केही नेता हच्केका छन्। नयाँ दलसँग डराएका पनि छन्। पुराना दललाई देखाउँछौ भन्ने नयाँ दलको भनाइसँग त्रसित पनि छन्।’

एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले पनि चुनावी माहोल तातिसकेको बताए। निर्वाचन क्षेत्रको योजना बनाउने गरी निर्वाचन तयारी गरेको उनले बताए। ‘अब त उम्मेदवार पनि तय भइसकेको छ। गण्डकीका १८ वटै क्षेत्रमा उम्मेदवार पनि तय भएको छ। योसँगै एमाले अब चुनावमा होमिएको छ,’ उनले भने, ‘उम्मेदवार तय गरेकोले पनि अब चुनावी माहोल तातेको छ। आन्तरिक छलफल, भेला, गोष्ठीदेखि चुनावी प्रचारका लागि योजना बनाउने र घोषणापत्र तय गर्नेसम्मका तयारीमा हामी जुटिसकेका छौं।’

प्रकाशित: ५ माघ २०८२ १५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App