मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ८ पिङ्गलास्थानबाट चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेको तेमाल गाउँपालिका १ घर भई हाल बालाजु बस्ने ४१ वर्षीय बुद्ध बहादुर सेढाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बा ६६ प ४४३४ नम्बरको मोटरसाइकल पिङ्गलास्थानस्थित एक पार्किङबाट चोरी गर्न लागेको अवस्थामा सेढाईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । मोटरसाइकल पर्साको छिपहरमाई गाउँपालिका ४ बस्ने नागेश्वर साह कानुले हराएको भनी खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
मोटरसाइकलसहित नियन्त्रणमा आएका सेढाईलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक सुवेदीले अनुरोध गरेका छन् ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएपनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीले अनुरोध गरेको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।
प्रकाशित: १२ माघ २०८२ २०:२५ सोमबार





