बीसौं शताब्दीका एक महान् विश्लेषकको यो भनाइले उपन्यासको बढ्दो ख्यातिलाई पुष्टि गर्छ। निरन्तर उचाइतर्फ गइरहेको साहित्यिक विधालाई अभिव्यक्तिको माध्यम बनाएका छन्, कवि तथा समालोचक महेश पौड्यालले। आफ्नो दसौं साहित्यिक कृतिको रूपमा आएको उपन्यास 'तादी किनारको गीत' माझी समुदायको मार्मिक कथा हो।
दोलालघाटको माझी गाउँबाट विभिन्न कारण बसाइँ सरेर नुवाकोटको तादी नदीको किनारामा गएर बसेका माझीहरूको जीवनकथा नै उपन्यासको मूल कथानक हो। तादी किनारमा पसिना, पीडा र मेहनतका सुनकोसी र इन्द्रावतीहरू बगाइरहेका छन् भन्ने यथार्थलाई उपन्यासको विषयवस्तु बनाइएको छ।
युवा तथा वयस्कलाई लक्षित गरेर तथा कल्पनाको कलेवर लगाएर परम्परागत कथावाचन शैलीमा लेखिएको यो एक यथार्थवादी उपन्यास हो। यसमा सामाजिक र मनोवैज्ञानिक यथार्थवादका प्रशस्तै दृष्टान्त छन्। विश्लेषक रोबर्ट स्कोल्सले तर्क गरेका छन्— 'उपन्यास यथार्थवादी हुनका लागि उपन्यासमा प्रयुक्त शब्दावलीहरू समाजशास्त्र र मानवशास्त्रबाट लिइएका हुनुपर्छ। प्रयोग गरिएका पात्रहरू आफ्नै परिवेशका हुनुपर्छ र उनीहरूले आफ्नै कथा भनिरहेका हुनुपर्छ।' स्कोल्सको भनाइलाई पुष्टि गर्ने पात्र, परिवेश र शब्दावलीहरू यस उपन्यासमा यत्रतत्र भेटिन्छन्।
सत्ताकेन्द्रित संकथनले न्याय गर्न नसकेको माझी समुदाय यस उपन्यासको केन्द्रमा छ र उनीहरूकै जीवनको वरिपरि यो उपन्यास घुम्छ। उनीहरूको जीवनपद्धति, संस्कृति, संस्कार र रहनसहनका राम्रा–नराम्रा पक्ष उपन्यासमा वर्णित छन्। माझीहरूको निजी विशेषता लखुमलाई सुनाउँदै काहिँला माझीबा भन्छन्, 'हेर्, हामी माझी हौ। हाम्रो समाजमा आइमाईलाई थिचोमिचो गर्नु, कुटपिट गर्नु महापाप हो। बुझिस्? दुखिनीलाई सधैं माया गरेस्... छोराछोरी जे जन्मिए पनि बराबर माया गरेर पालेस् तालेस्। पाहुना पासा आउँदा माछा खुवाएर आदरपूर्वक राखेस्। वर्षको पहिलो दिन मारेको पहिलो माछा कुलदेवीलाई चढाएस्। ...गाईभैंसीलाई कहिल्यै दुःख नदिनू अनि छोराछोरीलाई पनि त्यही सिकाउनू। बुढापाकाको सधैं आदर गर्नू। कहिल्यै मुख नलाग्नू।'
यति सभ्य र शालीन जीवनशैली भएका माझीहरूको जीवनमा भने सधैंभरि ग्रहण लागिरहन्छ। उनीहरू निधारबाट पसिनाका तादी र आँखाबाट सुनकोसी र इन्द्रावती बगाइरहन बाध्य छन् । 'भोकाउनु र भोकाइरहनु' उनीहरूको विवशता बन्यो। यिनै विवशतालाई उपन्यासले कहेको छ।
उपन्यासका पात्रहरू सवार्ल्टन हुन् तर उनीहरूको सचेतता भने गज्जबको छ। माझीबा समझदार छन्। माझीहरूका अभिभावक पनि हुन्, उनी। परिस्थितिअनुसार सही निर्णय गर्छन्, तिल्केले कसैलाई कहिल्यै धोका दिँदैन। उपन्यासको सन्देश हुन सक्छ— कानुनी तथा संवैधानिक व्यवस्थालाई मात्र परिवर्तन गरेर लक्षित समुदायमा आशातीत परिवर्तन ल्याउन सकिँदैन। लक्षित वर्गको सोच्ने क्षमता, कल्पना शैलीलाई परिवर्तन ल्याउनु पहिलो दायित्व हो। त्यसो गर्दा सम्बन्धित समुदायकै भाषा र परिवेशबाट कथा उन्नुपर्छ भन्ने लेखकीय दृष्टिकोण देखिन्छ, यद्यपि उनले माझीले नै बोल्ने भाषाशैली भने प्रयोग गरेका छैनन्।
उनै समालोचक बाख्तिनले भन्ने गरेको 'हेटेरोग्लोसिया/पोलिग्लोसिया' अर्थात् बहुभाष्यको विशेषता उपन्यासमा पनि भेटिन्छ। पौड्यालका अन्य कृतिलाई जस्तै यसलाई पनि बालमनोवैज्ञानिक दृष्टिबाट व्याख्या गर्न सकिन्छ। बिकवा र मालश्रीको पे्रमकथा, लखुम र दुखिनीका बाल्यकालको मनोविज्ञान, जानुकीको लखुमप्रतिको चाह, मचुङ्गेनी भाउजूकी छोरी बुल्कीले दस वर्षकी हुँदा देखाएको व्यवहार त्यसका आधारहरू हुन्। साथै यो उपन्यासले वयस्क प्रेमीहरूका मानसपटलमा आउने भावनाहरूलाई पनि सम्बोधन गरेको छ।
लेखकले बालविवाहको विरोध गरेका छन्, यस्ता सामाजिक कुरीति यथासम्भव छिटो अन्त्य गर्नुपर्ने चाह लेखकमा छ। एउटा लहडको निर्णयले बालखमै निश्चित हुने विवाह र त्यसका दुष्परिणामलाई समेत पुस्तकले उजिल्याएको छ। विश्वव्यापीकरणले माझीहरूको पेसामा पारेको प्रभावप्रति लेखक सजक छन्। उनीहरूको पुर्ख्यौली पेसालाई मोटरबोटले विस्थापन गरेपछि निराश बनेका लखुमहरू थातथलो नै छाडेर बसाइँ सर्न बाध्य छन्।
कथाकी प्रमुख पात्र 'दुखिनी'को भाग्य उनकै नामजस्तै छ। उनी हाम्रै समाजकी एक प्रतिनिधि पात्र हुन्। उनका पनि हाम्राजस्तै कयौं ससाना सपना छन् र हाम्रा पनि उनका जस्तै कैयौं सपनाहरू अधुरै र अपुरै छन्। उनको धरहरा हेर्ने रहर सपनामा मात्र सीमित भएजस्तै हाम्रा पनि कैयौं रहर सपनामै कुण्ठित छन्। 'कुमार'जस्ता समाजमा आतंक फैलाउनेहरू पनि प्रशस्तै छन् हाम्रो समाजमा। उनीहरू मानवता बुझ्दैनन् र गरिबका श्रम लुटिरहन्छन्, निधारबाट सुनकोसी बगाउनेको पीडा बुझ्दैनन् र थिचोमिचो गरिरहन्छन्। 'लखुम'जस्ता मेहनती माझीहरू पनि छन् यहाँ, गरिब हुनुको पीडा छन् उसका जस्तै हामीसँग पनि। ऊ भोक लागे पनि नलागेको अभिव्यक्ति दिन्छ, गरिब छ तर मानवता छ। मजदुरी गर्छ तर आत्मा बेच्दैन।
यथार्थवादी कथा हुँदाहुँदै पनि आख्यानात्मक कृति भएकाले कल्पनाको संसार पनि सानो छैन। बिकवाले आफू सात वर्षको हुँदो कल्पेको संसार उसको उमेरभन्दा ठूलो छ।
लक्षित समूहले बुझ्ने भाषाको उपन्यास बोधगम्य छ। सामान्य भाषगत त्रुटिहरू भए पनि पाठकलाई रुँदारुँदै हँसाउने र हाँस्दाहाँस्दै रुवाउने क्षमता राख्ने यो कृति कमैमात्र लेखिने युवा–वयस्क साहित्यको एक कोशेढुंगा हो। केही सामान्य बेमेलहरू छन्, जसको जवाफ लेखकले दिनुपर्ने हुन सक्छ। सबैको न्यायको कुरा गर्ने पौड्यालले सुर्पणखालाई कुरूपताको विम्बको रूपमा चित्रण गरेर पुरानो विभेदकारी संकथनलाई दोहोर्याेएका त होइनन्?
कृति : उपन्यास
लेखक : महेश पौड्याल
प्रकाशक : बुक आर्ट नेपाल
पृष्ठ : ९१, मूल्य : २०५/–
प्रकाशित: ९ आश्विन २०७२ ००:०० शनिबार





