१६ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

मौलिक स्वादको चासो

युट्युबमा भेटिएको एउटा भिडियोमा नेपालमा धेरै समय बिताएका अमेरिकन स्वयंसेवक पिटरलाई सोधिएको प्रश्न थियो, 'नेपालीहरू प्रायः के गर्छन्? र, तपाईंलाई सबैभन्दा मन पर्ने नेपाली खाना के हो?'पिटरको जवाफ थियो, 'दे जस्ट ह्याङ आउट' र मःम।'

पहिलो प्रश्नको जवाफबारे निष्कर्ष निकाल्न गाह्रै पर्ला, तर दोस्रो जवाफले भने सहरिया नेपालीहरूको खाजाको रोजाइलाई धेरै हदसम्म झल्काउँछ। मेरा एक सहकर्मी मःमका ग्राहकको संख्याबारे भन्छन्, 'काठमाडांैका ६० प्रतिशत मान्छे खाजाको रूपमा मःम खान्छन्। त्यस्तै दाल, भात, तरकारीलाई नेपालको राष्ट्रिय खाना मान्ने नेपालीको संख्या पनि ठूलो छ।'

अमेरिकाको युनिभर्सिटी अफ मेनमा अन्डरग्राजुएट चौथो वर्षमा पढ्ने बेलाको कुरा हो। युनिभर्सिटीमा हरेक वर्षजस्तै कल्चर फेस्टिभलको आयोजना हुन लागेको थियो। कल्चर फेस्टमा हरेक देशका विद्यार्थीहरूले आ–आफ्नो देशको मौलिक संस्कृति झल्काउने कुराको प्रदशनी गर्ने स्टल राख्ने गर्थे। त्यति बेला म र मेरो साथी रेवन्तइनोभेसन गरुको रूपमा चिनिने डग हलको इनोभेसन इन्जिनियरिङको कक्षा लिइरहेका थियौं। डग हलको क्लासमा सिकेका मार्केटिङका रणनीतिलाई हामीले बाहिरी दुनियाँमा प्रयोग गरेर हेर्ने विचारले कल्चर फेस्टमा भाग लिने र त्यहाँ मौलिक नेपाली खानाको स्टल राख्ने विचार गर्यौंम। स्टलमा कुन खाना राख्ने भन्ने छलफल हुँदा हामीले धेरै खानाको नाम सोच्यौं— कुखुरा वा खसीको मासु र भात, मःम, ढिँडो, चटामरी, आदि। नेपाली र भारतीय मसला उस्तै हुने भएकोले मासु, भात भारतीय परिकारसँग मिल्ने भयो, मःमजस्तै देखिने चाइनिज डम्प्लिङ त्यहाँ पहिलेदेखि नै थियो। ढिँडो र चटामरी बनाउन र मानिसहरूलाई त्यसबारे बुझाउन गाह्रो हुने भयो, त्यसैले खानाको बारेमा निर्णय गर्न गाह्रो भयो। अन्ततः हामी सजिलो विकल्प नभेटेर नेपालीको प्रिय खाजा मःम नै राख्ने निर्णयमा पुग्यौं।

समस्या के थियो भने हाम्रो मःम चाइनिज डम्प्लिङभन्दा खासै फरक भएन भने त्यसलाई मौलिक नेपाली खाना भन्न मिल्दैनथ्यो। त्यसैले हामीले टिम्मुर, गोलभेडा, धनियाँ, लसुन र अन्य नेपाली मसला राखेर मःमको लागि स्पेशल चट्नी बनायौं र हाम्रो खानालाई 'टेस्ट फ्रम हिमालयज' (हिमालयको स्वाद¬¬) भनेर नाम दियौं। हामीले पर्चा बनायौं, मुख्य ठाउँमा पोस्टर टाँस्यौं र साथीभाइ मार्फत धेरैभन्दा धेरै मौखिक प्रचारप्रसारमा जोड दियौं। डग हलको कक्षामा सिकेका सबै मार्केटिङका रणनीति हामीले प्रयोग गर्यौं । डेढ घन्टामै प्लेटको ५ वटाको दरले ५ सय वटा मःम बेच्यौं। हाम्रो स्टलको बिक्रीले बाँकी सबै स्टलको बिक्रीलाई जित्यो। कल्चर फेस्टको सबैभन्दा उत्कृष्ट स्टलको अवार्ड हामीले नै जित्यौं। हाम्रो खानाको स्वादले त काम गर्योा नै, त्योभन्दा बढी जादु त हाम्रो 'टेस्ट फ्रमहिमालयज' भन्ने नामले गर्योि। उनीहरूमा हिमालयको स्वाद कस्तो होला भन्ने कौतुहल देखिन्थ्यो। एकातिर हाम्रो ब्रान्डिङ र मार्केटिङका रणनीति सफल भएकोमा खुसी थियौं भने अर्कोतिर यो थाहा पाएर दुःखी पनि भयौं। किनकि हामी नेपालीको ब्रेकफास्ट, लन्च र डिनर आदिलाई झल्काउने कुनै मौलिक खाना हामीसँग छैन, जुन अन्य देशका मानिसको अगाडि हामी प्रस्तुत गर्न सकौं।

यो अनुभव गरेको ५ वर्ष बितिसक्दा पनि मौलिक नेपाली खाना खोज्ने र परिभाषित गर्ने काममा खासै प्रगति भएको पाइँदैन। अझै पनि हामी धेरै नेपालीको खाना दाल, भात र तरकारीमै सीमित छ। यसको दोष नेपालीहरूलाई दिन पनि खासै मिल्दैन किनकि उनीहरूले रोज्नको लागि बजारमा त्यस्ता धेरै खाना उपलब्ध पनि छैनन्।

नेपालमा खानाको व्यापार वार्षिक अर्ब डलरभन्दा बढी रहेको अनुमान गरिन्छ। हरेक वर्ष यो संख्या बढ्दो छ। बढ्दो मागसँगै च्याउ उम्रेसरी हरेक दिन नयाँनयाँ रेस्टुरेन्ट र खाना खाने ठाउँ खुलिरहेका छन्। यति हुँदाहुँदै पनि हामीकहाँ खानाको गुणस्तर, सरसफाइको स्तरजस्ता उपभोक्ताको मौलिक हकभित्र पर्ने कुराबारे ढुक्क हुन सकिने ठाउँको अभाव छ। अर्कोतर्फ, हामीले आफ्नो मौलिक नेपाली खाना (ब्रेकफास्ट, लन्च र डिनर) खोज्ने र परिभाषित गर्ने चुनौती त छँदै छ।

नेपालीहरूको जनजीवनसँग प्रत्यक्ष जोडिएका बिहानको नास्ता, खाना र खाजा बन्न सक्ने मौलिक नेपाली स्वादको पहिचान कसरी गर्ने? तिनीहरूलाई कसरी परिभाषित गर्ने र बजारमा ल्याउने? नेपालको खानासँग सम्बन्धित व्यवसायहरुको लागि अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको यही नै हो।

खड्का बाजेको सेकुवा र बाजेको भेन्चरसँग आबद्ध छन्।

प्रकाशित: १ आश्विन २०७२ २१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App