भिन्चीले पहिलो सेट गुमाए पनि २–६, ६–४, ६–४ सेटमा जित निकाल्दै तीनपटककी साबिक विजेता सेरेनाको ३३ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएकी थिइन्।
शनिबार हुने फाइनलमा ४३औं वरीयताकी भिन्चीले आफ्नै देशकी २६औं वरीयताप्राप्त फ्लाभिया पेनेट्टाविरुद्ध खेल्नेछिन्। पेनेट्टाले रोमानियाकी दोस्रो वरीयताप्राप्त सिमोना हालेपलाई ६–१, ६–३ को सेटमा परजित गर्दै फाइनल तय गरेकी थिइन्। युएस ओपन टेनिसको फाइनलमा दुवै प्रतिस्पर्धीले इटालीको प्रतिनिधित्व गरेको यो पहिलो हो।
'उनले अविश्वसनीय प्रदर्शन गरिन्। मलाई लाग्दैन कि मैले नराम्रो खेलेँ। उनले साँच्चिकै उत्कृष्ट प्रदर्शन गरिन्,' सेरेनाले भनिन्, 'उनले जीवनकै उत्कृष्ट टेनिस खेलिन्।'
यो अप्रत्यासित नतिजाले सेरेनाको वर्षमा टेनिसका सबै मुख्य उपाधि जित्दै स्टेफी ग्राफले १९८८ मा बनाएको कीर्तिमानी बराबरी गर्ने चाहना मात्र अपुरो बनेेन, उनको ग्राफसँगको २२औं ग्रान्डस्लाम उपाधि बराबरी गर्ने धोको पनि अधुरै रह्यो।
'यसले मलाई कति निराश बनाएको छ त्यो म भन्न चाहन्नँ,' खेलपछि पत्रकार सम्मेलनमा सेरेनाले भनिन्। उनले आफ्नो असफलताको केही जिम्मा प्रशिक्षक प्याटि्रक मोउराटोग्लउलाई दिइन्।
'यस प्रतियोगितामा ठूलो दबाब थियो। त्यसलाई उनले राम्रो व्यवस्था गर्न सकिनन्,' मोउराटोग्लउले भने, 'उनको खेलपछि हामीले सेरेनाले ग्रान्डस्लाम जित्न सकिनन् भनेर सम्झदैनौं। उनी सदाबहार उत्कृष्ट खेलाडी थिइन् भनेर भन्नेछौं।'
भिन्ची भने आश्चर्यजनक जितबाट धेरै खुसी देखिइन्। 'मेरा लागि अविश्वसनीय क्षण हो,' भिन्चीले भनिन्, 'यो एक सपना जस्तो लागेको छ। म सेरेनालाई हराउँदै फाइनल पुगेँ। यो एकदमै खुसीको क्षण हो। मेरो जीवनकै सबैभन्दा सुन्दर क्षण हो।'
सेरेनाको ग्रान्ड स्लाम जित्ने अभियानमा पूर्णविराम लगाएकी भिन्चीले दर्शकलाई सम्बोधन गर्दै भनिन्, 'सेरना विलियम्सको ग्रान्ड स्लाम उपाधिका साथै अन्य सबैका लागि अमेरिकी जनताले मलाई माफ गर्नुहोला। आज मेरो दिन रह्यो।'
सेरेनाविरुद्ध पछिल्लो चार खेल सोझो सेटमा पराजित भएकी ३२ वर्षीया भिन्चीले जित्छु भन्ने सोचेकै थिइनन्। 'हो, मैले जित्छु भनेर सोचैकै थिइनँ,' भिन्चीले भनिन्, 'जब बिहान म उठेँ। मैले सरेनाविरुद्ध सेमिफाइनल खेल्नुछ भन्ने सोचेँ, यसमा रमाउनुपर्छ। मैले जित्छु भन्ने आशा गरेको थिइनँ।'
वर्षको तेस्रो ग्रान्ड स्लाम उपाधिका लागि आइतबार रोजर फेडेररविरुद्ध खेल्ने विश्व नम्बर एक नोभाक जोकोभिचले सरेनालाई जित्न कठिन हुने चेतावनी दिएका थिए।
'आजको हारको सामना गर्न सेरेनालाई सजिलो हुनेछैन। तर, उनी महान विजेता हुन्,' जोकभिचले भने, 'उनले यसअघि लगातार तीनपटक जितेकी थिइन्। यस अनुभवबाट शिक्षा लिएर कसरी अघि बढ्ने भन्ने उनलाई थाहा छ।'
फ्रान्सेस्का चिभोनी र सारा इरानीपछि ग्रान्ड स्लाम फाइनलमा स्थान बनाउने पेनेट्टा र भिन्ची इटालीकी तेस्रो र चौथो महिला खेलाडी हुन्। चिभोनीले २०१० को फ्रेन्च ओपन जितेकी थिइन् भने इरानी २०१२ को फ्रेन्च ओपन फाइनलमा पराजित भएकी थिइन्।
पेनेट्टाले ५९ मिनेटमै हालेपलाई हराएकी थिइन्। पेनेट्टाले दोस्रो वरीयताकी हालेपलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गरेकी हुन्। 'यो निकै खुसीको क्षण हो। मैले निकै राम्रो खेलँे। मैले पहिलो खेलबाटै प्रत्येक खेलमा राम्रो गर्ने प्रयास गरेको थिएँ। को विरुद्ध खेल्ने भन्दा पनि आफ्नो खेलमा ध्यान केन्द्रित गरेँ, जसले गर्दा आज यहाँ आइपुगेँ,' ३३ वर्षीया पेनेट्टाले भनिन्।
यसैबीच युएस ओपन फाइनलमा खेलाडीले आफ्नो देशको प्रतिनिधित्व गर्ने भएपछि इटालीका प्रधानमन्त्री मट्टेयो रेन्जी न्युयोर्क जाने भएका छन्।
रेन्जीले आफ्नो सबै कार्यक्रम स्थगन गरेर इटालियन ओलम्पिक कमिटीका अध्यक्ष जियोभानी मालागो र इटालियन टेनिस संघका अध्यक्ष एन्जेलो विनाघसँग अमेरिका जाने प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा जनाइएको छ।
प्रकाशित: २६ भाद्र २०७२ २०:४० शनिबार





