१६ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

नाडालको सपना चकनाचुर

न्युयोर्क- आठौं वरीयताप्राप्त राफेल नाडाल शुक्रबार इटालीका फाबियो फोग्निनीसँगको संघर्षपूर्ण पाँच सेटमा पराजित भएपछि युएस ओपन टेनिसबाट बाहिरिएका छन्। शुक्रबारको नतिजासँगै यस वर्ष कम्तीमा एक ग्रान्ड स्लाम उपाधि जित्ने नाडालको सपना सकिएको छ।नाडालको सन् २००४ पछि कुनैपनि ग्रान्डस्लाम नजितेको यो पहिलो वर्ष हो भने युएस ओपनको १० वर्ष अवधिमा यति छिटो बाहिरिएको पहिलोपल्ट हो।

२०१० र २०१३ को उपाधि विजेता नाडालले शुक्रबार पहिलो दुई सेट जितेर पनि नतिजा गुमाएका थिए। १४ग्रान्डस्लाम विजेता नाडालले फोग्निनीलाई ६–३, ६–४, ४–६, ३–६, ४–६ को नतिजा सुम्पेका थिए।

यस वर्ष नाडालको यो १५औं हार हो। उनले शीर्ष १० वरीयताका दुई खेलाडीलाई मात्र हराउन सकेका छन्। अस्ट्रेलियन र फ्रेन्च ओपनको क्वार्टरफाइनल पुग्नु नै नाडालको यस वर्ष सबैभन्दा राम्रो प्रदर्शन रह्यो।

'यसको एकमात्र निष्कर्ष भनेको मैले १० वर्षकै सबैभन्दा कमजोर प्रदर्शन गरेँ। साँचो कुरा यही होे,' नाडालले भने, 'तथापि १० वर्ष लगातार ग्रान्ड स्लाम जित्नु आफैमा ठूलो उपलब्धि हो। यो कति कठिन हुन्छ तपाई कल्पना गर्न सक्नुहुन्छ। म स्वीकार्छु कि यो वर्ष मेरो लागि राम्रो रहेन। सिजनको अन्तिमसम्म संघर्ष गर्नु मेरा लागि सकारात्मक हो।'

खेलअघिको पत्रकार भेटमा ठट्टा गर्दै आफूले सुस्तरी लय समाएको बताएका नाडालसुधार गर्नुपर्ने पक्षबारे खुल्न चाहेनन्। 'सिजनको सुरुदेखि केही कुरामा सुधार भएकोछ। मैले सिजनसुरुआतमा जस्तो खराब प्रदर्शन गरेको छैन। मैले हारेँ किनकि मेरो प्रतिद्वन्द्वीले राम्रो गरे,' चोटका कारण गत वर्षको युएस ओपन गुमाएका २९ वर्षे नाडालले भने, 'सिजनको सुरुमा भन्दा अहिले मैले धेरै सुधार गरेको छु। यो सुरुआत हो। मैले के गर्नुपर्छ त्यो मलाई थाहा छ र त्यो गर्दैछु।'

३२औं वरीयताका फोग्निनी युएस ओपनको अन्तिम १६मा पुग्ने डेभिड साङगुइनेटीपछिका पहिलो इटालियन खेलाडी हुन्। उनले क्वार्टरफाइनलमा स्पेनका फेलिसियानो लोपेजको सामना गर्नेछन्।

'यो सहज थिएन। उनले राम्रो सुरुआत गरेका थिए। तर, अन्ततः नतिजा मेरो पक्षमा आयो,' फोग्निनीले भने, 'नाडालसँग पहिलो दुई सेट गुमाएर पनि खेलमा फर्कनु यो अविश्वसनीय खेल हो। दुई सेटपछि खेलमा ध्यान केन्द्रित गरेँ। पाँचौं सेट हामी दुवैका लागि निकै कठिन रह्यो।'

दसौं ग्रान्डस्लाम जित्ने अभियानमा रहेका विश्व नम्बर एक नोभाक जोकोभिचले इटालीका आन्द्रेस सिप्पीलाई ६–३, ७–५, ७–५ को सेटमा परजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका छन्। उनले अब स्पेनका २३औं वरीयताप्राप्त रोबर्टो बौटिस्टासँग खेल्नेछन्। बौटिस्टाले १४औं वरीयताका डेभिड गोफिनलाई ६–२, ७–५, ३–६, १–३ को सेटमा जित हराए। तर, गोफिनले चोटका कारण खेल छाडेका थिए।

क्रोएसियाका नवौं वरीयताप्राप्त मारिन किलिकले ५६ औं वरीयताका काजकिस्तानका मिखायल कुकुस्किनलाई ६–७(५/७), ७–६(७/१), ६–३, ६–७(३/७), ६–१ को संघर्षपूर्ण सेटमा हराएका थिए।

महिलातर्फ विश्व नम्बर एक सेरेना विलियम्सले १०१औं वरीयताकी बेथानी मट्टेक–स्यान्ड्समाथि संघर्षपूर्ण जित निकालिन्। सेरेनाले पहिलो सेट गुमाएर पनि खेलमा पुनरागमन गरेकी हुन्। ३३ वर्षीया सेरेनाले ३–६, ७–५, ६–० को सेटमा जिन निकालेकी थिइन्। तीनपल्टकी विजेता सेरेनाले अब आफ्नै राष्ट्रकी १९औं वरीयताकी म्याडिसन कीसँग खेल्छिन्। अमेरिकाकी कीले पोल्यान्डकी वरीयताप्राप्त अग्निस्का राडवान्स्कालाई ६–३, ६–२ ले पराजित गरिन्।

सेरेनाकी दिदी भेनसले स्विट्जरल्यान्डकी बेलिन्डा बेन्किकलाई ६–३, ६–४ ले पराजित गरिन्। २३औं वरीयताकी भेनसले अब इस्टोनियाकी एनेट कोन्टाभिएटसँग खेल्नेछिन्।

'म आक्रामक रुपमा खेल्न चाहन्थेँ,' भेनसले भनिन्, 'त्यसमा उनले केही गल्ती गरिन्, जसले मलाई निकै मद्धत गर्यो ।'

रसियाकी कटेरिना माकारोभाले युक्रेनकी एलिना भिटोलिनालाई ६–३, ७–५ ले हराइन्।

प्रकाशित: १९ भाद्र २०७२ २०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App