१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

कम्पन भुल्न सांस्कृतिक गुञ्जन

वैशाख १२ को भूकम्पमा उनको घर भत्कियो। गल्लीमा टहल्न निस्केकी आमा छिमेकीको घरमा पुरिइन्। भक्तपुरको महेश्वरीमा अवस्थित शिविरमा आश्रय लिँदै आएका उनी भदौ १० गते हनुमन्ते खोलाको बाढीको चपेटामा परे। भेलले जात्रा मनाउन राखेको सामग्रीसमेत बगायो। अनगिन्ती समस्याका बाबजुद पनि भक्तपुर चासुकेलका सूर्यराम त्वनाबासुले भदौ १३ को गाईजात्रा मनाएरै छाडे।

'दुखःसुख जे भए पनि जात्रा मनाउँदै छौं,' महेश्वरी शिविरमा बस्दै आएका उनले भने, 'आपतविपतमा आफ्नो जात्रा मनाउन छाडेनौं। पर्वमा रमाउँदा पीडा कम हुँदो रहेछ।'

सूर्यरामजस्तै भक्तपुरका सर्वसाधारणहरूमा भूकम्पको पीडा छ, तैपनि जात्रामा रमाइरहेका छन्। यस्तो लाग्छ, उनीहरू भूकम्पको पीडाको सांस्कृतिक उपचार खोज्दै छन्।

जनै पूर्णिमाबाट सुरु भएको गाईजात्रा कृष्णाष्टमीसम्म चल्छ। भूकम्पको कम्पन भुलाउन नाचगानको सहर भक्तपुर यति बेला सांस्कृतिक गुञ्जनमा रमाउँदै छ। हरेक रात चोक तथा डबलीमा हुने प्रहसनमा रमाउँदै सर्वसाधारण आफ्नो पीडा भुल्ने कोसिस गरिरहेका छन्।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःको विचारमा मनको पीडा हटाउन जात्रा सहयोगी बनेको छ। 'टेकाको भरमा अडिएका घरमा बस्ने र बेघर भएर शिविरमा आएकाहरू उत्साहपूर्वक जात्रामा आएका छन्,' उनले खुसी हुँदै भने, 'भक्तपुर नगरपालिकाले गल्लीका अवरोध हटाइदियो र आर्थिक सहयोग पनि गर्योा; यो सकारात्मक पक्ष हो।'

कतैकतै बाटोमा भग्नावशेषको थुप्रो त कतै गल्लीमा घरका टेकाहरूको अवरोध। यस्ता तगारा छेल्दै यहाँका सर्वसाधारण सांस्कृतिक जात्राको मार्गमा अगाडि बढे। अँध्यारा गल्लीमा मतःया (दीपजात्रा) मनाए। भत्केका भग्नावेशबाट जात्राको लिंगो ‐गाईको प्रतीकका रूपमा बनाइएका १५ हात लामो बाँसको तहमचा) ठड्याए। खुला डबलीमा गाईजात्रा मनाए।

संस्कृतिविद् पुरुषोतमलोचन श्रेष्ठ महाभूकम्पपछि जात्रा चल्नु नै गौरवको विषय रहेको बताउँछन्। 'नेपाली समाज समस्याका बाबजुद पनि कसरी अगाडि बढ्न सक्छ भन्ने शिक्षा यसपटकको जात्राले दिएको छ। सुरुसुरुमा त जात्रा स्थगित हुने हो कि भन्ने चिन्ता थियो,' उनले भने, 'गाईजात्रामा जसरी सर्वसाधारणले मनाए, त्यो तारिफयोग्य छ।' उनले भनेजस्तै आफन्त गुमाएका र घरबारविहीन भएकाहरू ओठमा मुस्कान बोकेर जात्राको भिडमा मिसिन आइपुगेका थिए। भलै पीडाको पोको मनभित्र किन नहोस्, तर आँसु लुकाएर जात्रामा रमाउनु जीवनप्रतिको आशा पनि हो। 'त्यत्रै विपत्तिमा कसलाई पीडा छैन?' श्रेष्ठ भन्छन्, 'समस्या र चुनौतीका माझ पनि नेपालीहरू उठ्न सक्छन्, यसपटक मैले महसुस गरेँ।'

नेवारहरूको जीवन जात्रासँग जोडिएको छ। मानिस मरे गाईजात्रा, गाईजात्रा नै मरे के त? श्रेष्ठको यो प्रश्नले सोच्न बाध्य बनाउँछ, नयाँ पुस्तालाई। सांस्कृतिक मार्गलाई भूकम्पले भत्काउन नसकेको उनी बताउँछन्।

भूकम्पका कारण भक्तपुरमा ३ सय ४३ सर्वसाधारणले ज्यान गुमाए। त्यहीँ गाईको प्रतीकका रूपमा बनाइएका १५ हात लामो बाँसको तहमचामा उनीहरूको तस्बिर र विवरण टाँसेर सम्झना गरिएको थियो। कतै कलिला नानीहरू त कतै अधबैंसे आमाहरूका तस्बिर थिए, त्यहाँ। हजुरआमा, बुहारी र नातिनी सँगसँगै रहेका तस्बिरले पनि धेरैलाई भावुक बनायो। यो सुखको क्षण थिएन तर सर्वसाधारणले आफ्नो मनलाई बुझाउन सके।

श्रेष्ठका अनुसार बाँच्नेहरूका लागि र मर्नेको सम्झनामा जात्रा मनाइन्छ। हाँसोमा होस् या आँसुमा, भक्तपुरको समग्र जीवन नै जात्रामय छ। त्यही भएर हो, भक्तपुरलाई सांस्कृतिक राजधानी पनि भनिन्छ। जात्रा उनीहरूको ढुकढुकी बनेको छ। ढुकढुकी भित्री सहरका टोलटोलमा धड्किरहेको छ। त्यो गुञ्जनमा रमाउनेहरू गाईजात्रा, घिन्ताङ घिसी नाच, माक प्याखं (बाँदर नाच), हनुमान नाच, लाखे नाच, भैरव नाचमा सामेल भए। देवीदेवताका नाच र विभिन्न व्यंग्यात्मक प्रस्तुति रमाएको यो सहरले कृष्णाष्टमीका दिन तलेजु जात्रा गरी गाईजात्रालाई बिदा गर्दै छ।

बोडेका सर्वसाधारणहरू यो साता निलवाराही नाचमा रमाए। सोमबारबाट सुरु चार रात तीन दिन लामो नाच बिहीबार बेलुका सकिएको छ। नाचमा भैरव, निलवाराही, कुमारी, सिंह, गणेश र द्वारपालको भेषभूषामा सजिएका १९ कलाकारले गल्ली–गल्लीमा नाच्दै सर्वसाधारणलाई मनोरन्जन दिलाए।

थिमीका सर्वसाधारण भने भैरव नाचमा रमाए। लामो समयदेखि रोकिएको नाच यसपालिदेखि सुरु भएको हो। आर्थिक अभावका कारण बन्द भएको नाच साढे चार दशकपछि युवाहरूको सक्रियतामा सञ्चालन हुँदा सबै हर्षमा रमाएका देखिन्थे। भैरव नाचमा दुई भैरव, दुई दाय्गी (कुमारी) एक ज्यापुगचा गरी पाँच जनाको टोली रहनेछ। सोमबार रातिदेखि प्रदर्शनमा ल्याइएको भैरव नाच चार दिनसम्म मध्यपुर थिमिको विभिन्न स्थानमा मध्यरातसम्म नचाइयो।

'हाम्रो घर पनि चर्केको छ,' द्वारपालको भेषमा नाच्दै गरेका गणेशकुमारका छोरा गणेशभक्तले भने, 'बुबाले जात्रा मनाउन छाड्नुभएन। किनकि जात्रा हाम्रो हरेक पुस्तासँग जोडिएको छ।'

गणेशभक्तले भनेझैं जात्राविना उनीहरू आफ्नो जीवनलाई अपुरो ठान्छन्। जात्रा यात्रा पनि हो। संस्कृतिविद तेजेश्वरबाबु ग्वंगःका अनुसार संस्कृत भाषाको 'यात्रा'बाटै जात्रा श्ाब्दको उत्पत्ति भएको हो। त्यसैले यात्रामय जीवन, जात्रामय जीवन। घन्टाकर्ण चर्तुदशी सुरु भएसँगै यहँाका बूढापाका त 'बाछिया छगु छगु नखा बोइगु' ‐हरेक १५ दिनमा एउटा जात्रा) भन्दै रमाउँछन्।

संकटमा जात्राको उत्साह

भूकम्पको ध्वंसले यसपटकको जात्रा अघि बढाउन निकै मुस्किल पर्यो'। रातो मच्छिन्द्रनाथको रथ गुड्दागुड्दै बुङ्मतीमा रोकियो। अन्य सांस्कृतिक सम्पदामा क्षति पुग्दा त्यसको असर जात्रामा परेको स्थानीय बताउँछन्।

तर, भूकम्पले बाटोमा अवरोध पारे पनि जात्रा रोक्न दिएनन् उनीहरूले। पाटनमा मतःया जात्राको क्रममा कुना काप्चामा रहेका मठ मन्दिरमा पुग्न यात्रुले सांस्कृतिक बाटो आफैं पहिल्याए। टेको छल्दै उनीहरूले जात्राको यात्रा तय गरे। हातमा बत्ती लिएर मतःयामा निस्केका ललितपुरका सर्वसाधारणको भिडले सोमबार पाटनका गल्ली उज्यालो बन्यो। भूकम्पको पीडा बिर्सेर सांस्कृतिक भेषभूषा र बाजागाजासहित मृतात्माको शान्ति कामना गर्दै बिहार र मन्दिर परिक्रमा गर्दा सर्वसाधारणको मुहार पनि चम्किलो देखिएको थियो।

घर भत्केर शिविरमा बसेका हुन् या आफन्त गुमाएका सर्वसाधारण, सबै जात्रामा सहभागी थिए।

हरेक जनै पूर्णिमाको तेस्रो दिन मतःया मनाइन्छ। जात्रामा सर्वसाधारणको सहभागिता निकै उत्साहजनक देखिन्थ्यो। मतःयामा संलग्न जात्रालुलाई चोक–चोकमा बसेका सर्वसाधारणले हौसला बढाउँदै सर्बत खुवाए, दियोमा तेल थपिदिए, निभेको बत्ती सल्काइदिए र साँस्कृतिक कम्पनलाई अझ फैलाइदिए।

मंगलबजार टोल सुधार समितिका दिगेन्द्रलाल श्रेष्ठको घर पनि भूकम्पले चर्र्काएको छ। उनी जात्राभरि खटेरै लागे। 'जात्रामा सर्वसाधारणलाई सहयोग गर्न पाउँदा आनन्द महसुस गरेको छु,' उनी भन्छन्, 'दुःख सबैलाई पर्छ तर आफ्नो संस्कृति जोगाउनका लागि हाँसेरै जुट्नुको विकल्प छैन।'

प्रकाशित: १८ भाद्र २०७२ २३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App