दस–एघारै वर्षको उमेरमा प्रकृतिका विकट र कहालीलाग्दा भीर–पहरा, उकाली–ओराली र डरलाग्दा जनावरहरूसँग लाप्पा खेल्दै १२ दिनको कठिन यात्रा तय गरी मानेभञ्ज्याङ पुग्नुभएको थियो उहाँ। त्यहाँबाट वर्षभरिलाई चाहिने नुनको डोको घर भिœयाउने काले राईले बचपनमा बेहोर्नुपरेका दुःख, कष्ट र कहरका कथाहरू अहिलेका मानिसको लागि 'यस्तो पनि हुन्छ र' भन्नुपर्ने किसिमका छन्। शिक्षाको प्यास मेटाउन उहाँले पाउनुभएका दुःख, कष्ट कति हुन् कति; सुन्दैमा आँखा रसाउने खालका छन्।
सानै उमेरदेखि जोसमुनि मतबाट प्रभावित कालेले परम्पराको रूपमा घर–समाजमा हुर्केको विकृति र विसंगतिको विरोध गर्न खोज्दा उहाँमाथि गरिएका निन्दा, गालीगलौज र प्रताडनालाई सहन नसकी विरक्तिएर घर छोडी निक्लँदा पनि आफ्नो अडानलाई छोड्नुभएन र त्यसैबाट उहाँले अरू ऊर्जा र प्रोत्साहन प्राप्त गर्दै जानुभयो। केटाकेटीदेखि नै आफ्नो बाबुको काममा सघाउने, गोरु नार्ने, हलो जोत्ने, घाँस काटेर बस्तुभाउलाई खुवाउने काममा कहिल्यै पछि पर्नुहुन्नथ्यो। दृढ इच्छाशक्ति भयो र मेहनत, परिश्रम गर्योल भने सामान्य व्यक्ति पनि महान् व्यक्ति बन्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरणका लागि डा.स्वामी प्रपन्नाचार्य काफी हुनुहुन्छ। केटाकेटी बेलाका नानीगोठालो, गाईगोठालो, बिजुवा भएर जीवन गुजारा गर्ने काले राई तिनै दृढ इच्छाशक्ति, मेहनत र परिश्रमको कारण नेपाली, संस्कृत, हिन्दी र अंग्रेजी भाषाका छ दर्जनभन्दा बढी उच्चस्तरीय पुस्तकका लेखक, रचनाकार र स्रष्टा बन्न सफल हुनुभयो। मृत्युलाई वरण गर्नुभन्दा केही महिनाअघिसम्म पनि स्वास्थ्यले साथ दिँदा कुनै न कुनै लेख वा रचना गरिरहेकै अवस्थामा देखिनुहुन्थ्यो, उहाँ। आफूले तयार पारेको पुस्तकमा भूमिका वा आशीर्वचन लेखिदिन अनुरोध गर्दै विभिन्न महानुभावहरू उहाँकहाँ एक न एक जना प्रत्येक दिन आइरहेकै हुन्थे। त्यस्तैगरी पत्रपत्रिकाको लागि लेखरचना लेखिदिन अनुरोध गर्न आउनेहरू पनि कम हुँदैनथे।
स्वामी फल्गुनन्द सरस्वती सत्यहाङ्माका विचार र जोसमुनि सम्प्रदायका सिद्धान्तबाट प्रभावित परिवारमा जन्मेका काले राईका मनमा बाल्यावस्थादेखि नै व्यक्तित्वको उठान र सामाजिक रूपान्तरणका भावनाहरू तरंगित नभएका होइनन्। तर, तिनले मूर्तरूप लिने सही आधारभूमि फेला पार्न सकेका थिएनन्। तिनै कारणहरूले गर्दा नै हुनुपर्छ, काले राई कहिले घरबाट भाग्नुहुन्थ्यो, फेरि फर्कनुहुन्थ्यो। व्यापारमा लाग्न प्रवृत्त हुनुहुन्थ्यो र घाटा खाएपछि पुगीसरी आउनेहरूका घरमा कहिले वस्तुभाउ हेर्ने गोठालो बन्न पुग्नुहुन्थ्यो। कहिले नानीगोठालो समेत बन्न पुगेको अनुभव उहाँसँग थियो। त्यसैगरी कहिलेकाहीँ दार्जिलिङका चियाबगानमा कुल्ली बन्न पुग्नुहुन्थ्यो त कहिले सानोतिनो पसलबाट पो केही हुने हो कि भनी नाङ्ले पसल थाप्न पुग्नुहुन्थ्यो। धनीमानीका घरमा नानीगोठालो र गाईबस्तु गोठालो हुँदा उनीहरूका अति तल्लो व्यवहारले गर्दा उहाँको हृदय छियाछिया हुन्थ्यो र प्रताडना बेहोर्न नसकेर त्यस्ता ठाउँ छोडिदिनुहुन्थ्यो। घरमा बसूँ गरिबीले आक्रान्त छ, बाहिरफेर कसैको काम गरूँ उदार विचारका सहनशील व्यक्तिहरू पाउन गाह्रो छ। यस्तै कारणले उहाँलाई अनेकतिर भौंतारिन बाध्य गरायो। सानै उमेरदेखि दुःख, कष्ट बेहोर्नुसम्म बेहोर्नुभयो।
सौभाग्यवश तिनताका वैष्णव स्वामी दामोदर हयग्रीव प्रपन्नाचार्यबाट दीक्षित हुन पुग्नुभएका काले राई त्यसपछि रामकृष्ण प्रपन्नाचार्यको रूपमा चिनिनुभयो। पछि पं. दामोदर खतिवडाको आत्मीय सहयोगपश्चात् उहाँकै सहयोगमा विद्याको खानी काशी पुग्नुभयो। त्यहाँ पनि अनेक हन्डर बेहोर्दै जानुभयो। संस्कृत भाषा त्यत्तिखेर सबैका लागि सर्वसुलभ नभएका कारण संस्कृत शिक्षा उहाँका लागि पहुँचको विषय बन्न नसक्ने अवस्थामा दैववशात् रामकृष्ण प्रपन्नाचार्यले सरस्वती थपलियालजस्ती आदर्श शिक्षिकाको घरमा घरेलु कामदारको रूपमा संरक्षण पाउनुभयो। यो संरक्षण नै पछि गएर उहाँका लागि जीवन रूपान्तरण गराउने, बाल्यकालिक महŒवाकांक्षा साकार तुल्याउने अवसर बन्न पुग्यो। आमाले दामोदर हयग्रीव स्वामीको प्रवचन सुन्दा 'मेरो छोरोलाई वेद जान्ने विद्वान् बनाइदिनुस्' भनेका वाक्य नै काले राईलाई सधैं अमृतवाक्य बनेर रह्यो। र, त्यही वाक्यलाई हृदयहार बनाएर कता हो कता परदेशी मुलुकमा पुग्दा जीवनको लक्ष्य बन्न पुग्यो। विद्वान् बनेर आइपुग्दा आमा–बुबाको अनुहार देख्न नपाए पनि उहाँ अत्यन्त ठूला मातृभक्त हुनुहुन्थ्यो। उहाँ भन्ने गर्नुहुन्थ्यो, 'म जन्मँदा नेपाली हुँ, मेरो देश नेपाल हो र म नेपाललाई स्वर्गभन्दा पनि गौरवशाली मान्छु।' किन नेपालमा पहिल्यै आउनुभएन भनी कसैले सोध्दा उहाँको उत्तर हुन्थ्यो, 'अध्ययन सुरु गर्दागर्दै जीवनको उत्तरार्द्ध सुरु भइहाल्यो अनि अध्ययन सकिँदा नसकिँदै जीवनको उत्तरार्द्ध सकिन लागिहाल्यो। जीवनको उत्तरार्द्ध पनि सकिनु, पढाइ पनि सकिनु भएपछि विदेशमा बसिरहनु उचित लागेन। किनभने विदेशमा जस्तोसुकै सम्मान होस्, आफ्नो मातृभूमिमा कुनै पनि सम्मान नहोस् तापनि पछिल्लै श्रेष्ठ हुन्छ भन्ने सम्झेर आफ्नो प्यारो देशमा फर्केको हुँ। चाहेको भए त्यहाँका ठूल्ठुला मठहरूमा बस्न सक्थेँ तर त्यसो गर्न मनले मानेन।'
संस्कृत भाषाको माध्यमबाट अध्ययन गर्दै जाँदा समयको केही अन्तरालपछि राष्ट्रिय संस्कृत संस्थान दिल्लीबाट वेदान्तनयभूषण जस्तो शांकररवेदान्तको कठिन र विशिष्ट ग्रन्थको आधिकारिक शोध गर्नुभयो। त्यसपछि नै काले राई डा. स्वामी प्रपन्नाचार्यको रूपमा प्रसिद्ध बन्नुभयो। उहाँले अनेक कृतिहरूका लेखक, रचनाकार भई नेपाली भाषाको भण्डारको श्रीवृद्धि गर्नुका साथै समाजसेवाको माध्यमबाट राष्ट्रको चतुर्दिक विकासमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभयो। यसर्थ पनि उहाँ एक प्रेरक र आदर्श व्यक्तिŒव बन्न सफल हुनुभएको छ।
पहिलो भेटमा उहाँ कडा स्वभावको देखिनुहुन्थ्यो तर संगत गर्दै गएपछि अत्यन्त साधु र सन्त स्वभावको 'सादा जीवन उच्च विचार'का मूर्तरूप हुनुहुन्थ्यो। बिहान–बेलुका जे पाकेको होस्, त्यसलाई आफू र आफ्ना सहयोगीहरूलाई बराबर भाग लगाएपछि मात्र आफू खानुहुन्थ्यो। आउने अतिथिहरूलाई जे उपलब्ध छ, त्यो नदिईकन, नखुवाईकन पठाउनु हुँदैनथ्यो। जम्मा गरेर राख्ने बानी थिएन। कसैको घरमा खान डाकेको छ भने 'तपाईंहरू जे खानुहुन्छ, त्यही सात्विक खानामात्र मलाई दिनुहोला, मेरा लागि बढी परिकार नबनाउनुहोला' भन्नुहुन्थ्यो। स्वामीजी यसो किन भनेको भनी सोध्दा 'एउटा त पकाउनेलाई दुःख हुन्छ, अर्को पाहुनालाई अतिरिक्त पकाउन थालेपछि पछिपछि डाक्नै झन्झट सम्झन्छन्, जे उनीहरूले खाने हुन् त्यो खाइदियो भने झन्झटै हुँदैन अनि पछिपछि पनि डाकिरहन्छन्' भन्नुहुन्थ्यो। विभिन्न संघ–संस्थाहरूले उहाँलाई सम्मान गर्दा दिने धनराशी उहाँकहाँ धेरै दिन टिक्दैनथ्यो। कसलाई सहयोग गर्नुपरेको छ, खोजीखोजी प्रोत्साहन होस् भनेर सहयोग गरिहाल्नुहुन्थ्यो। यस्तो प्रोत्साहन धेरैले पाएका छन्।
सिक्किमका मुख्यमन्त्री पवन चामलिङ स्वामीजीका हितचिन्तकमध्ये एक हुनुहुन्थ्यो। झन्डै पन्„ वर्षजति अघि उहाँले 'स्वामीजी यो तपाईंको लागि सहयोगी हुन सक्छ, जतनले बैंकमा राख्नुहोला। दुःख पर्दा चलाउनुहोला' भनी एउटा बन्द खाम हातमा दिनुभएको रहेछ। काठमाडौं आएपछि हेर्दा भारतीय एक लाख रुपैयाँ रहेछ। स्वामीजीले त्यसलाई बैंकमा राखिदिनुभयो। भनेअनुसार केही वर्ष बैंकमै रह्यो। पछि बसेको ठाउँमा केही गर्नुपर्योस भनेर उक्त रकम चलाउनुभयो। 'अन्तिम समयको लागि काम लाग्ला भनी दिएको मैले चलाएँ' भनी बराबर भन्नुहुन्थ्यो।
कति मानिस उहाँको नजिकै नपरीकन घमण्डी, अहंकारी भन्ने टीकाटिप्पणी पनि गर्थे। मैले एक दिन उहाँलाई यस विषयमा सोध्दा भन्नुभयो, 'संसार विचित्रको छ। यसलाई मैले राम्ररी बु‰ने प्रयास गरेको छु। सधैं विद्यार्थी बनेर हिँडिरहेको छु। जान्न बाँकी कति विषय छन् कति! जेजति जानिएको छ, बुझेको छु भन्ने लागेको छ; त्यो समग्रमा हेर्ने हो भने सानो अंशमात्र हो। विशाल सृष्टिमा कति हो कति बुझ्नुपर्ने कुराहरू छन्। असीमित ज्ञानको भण्डारमा हाम्रो सीमित ज्ञानभण्डारको के कुरा गर्ने? त्यसैले मैले धेरै जानेको छु, बुझेको छु, पढेको छु भन्ने घमण्ड कहिल्यै नआओस् भन्ने कामना भगवान्सँग हरदिन गर्ने गरेको छु। कसैले मेराबारेमा टीकाटिप्पणी गर्छ भने मैले उनीहरूलाई विनातलबको प्रचारक हुन् भन्ने सम्झेको छु। टीकाटिप्पणी र आलोचना गर्नबाट कसैलाई रोक्न सकिन्न। यो संसारकै स्वभाव हो। त्यसैले त्यस्ता व्यक्तिहरूप्रति म सदैव चिरकृतज्ञ छु र यही मेरो साधुस्वभाव पनि हो।'
सदाचार, सद्भाव, सौमनस्य एवं क्रान्तदर्शी विचार र अनेक अनुकरणीय क्रियाकलापको माध्यमबाट जेजस्ता कार्य उहाँबाट सम्पादन भए ती कार्यले हामी सबै नेपालीका लागि सराहनीय एवं अनुकरणीय बनी मार्गदर्शन गर्नेछन्। उहाँको भौतिक शरीर अब छैन तर उहाँको विचार, चिन्तन र दर्शन नै उहाँलाई सम्झने आधार बन्न पुगेका छन् भन्दा हुन्छ। उहाँका कुनै अप्रकाशित कृतिहरू छन् भने छापिदिने, उहाँका अमर सन्देशहरूको बढीभन्दा बढी प्रचारप्रसार गरी नेपाल र नेपालीको गौरवलाई अभिवृद्धि गर्ने किसिमका उहाँका सपनाहरूलाई साकार पार्न प्रयत्नरत रहनु नै अब सच्चा श्रद्धाञ्जली हुनेछ।
प्रकाशित: ११ भाद्र २०७२ २२:११ शुक्रबार





