१९९७ साल श्रीपञ्चमी। सम्झनाभित्रका फरक तर शाश्वत सार्थक दिन थियो। त्यस दिन नै थियो कि ॐ नमः शिवाय मन्त्र उच्चारणसहित नमोवागेश्वराय भन्न सिकेथेँ। त्यसताका ती सबै काला अक्षर भैंसी बराबर रहे। अर्थ न बर्थ गोविन्द गाई। अब त 'ॐ नमः शिवाय नमोवागीश्वराय' मन्त्र नै उच्चारण गर्ने/गराउने शैक्षिक संस्कारयुक्त शिक्षापद्धति जीवित छ, न त संस्कृत भाषा र वाङ्मयका मन्त्र बुझ्न त के वाचन गर्नसम्म सक्ने ममचा पण्डित छन्। ममचा खाएर क्षमता हरण हुने होइन। क्षमतावान् चेष्टा हरण हुनुको वेदना बनेछ।
उस बालापन र जेष्ठ नागरिक अवस्थाबीचको प्रारम्भिक र वर्तमानको अन्तर मेरै भुक्तमान! चुरोसितको गाँठी अर्कै छ। पूर्वीय शिक्षा संस्कृति सिद्धान्त र जीवन दर्शनबाट थालनी हुन्थ्यो। पश्चात्य शिक्षापद्धति व्यावहारिकतामा आधारित गरेर गरिन्छ। यो अस्सी वर्षे जोवन— जीवनको ठम्याइ मेरो!
झन्डै चार वर्ष खेलेर क–ख–ग गरेँ। बालशिक्षा मातृ कोषदेखि मातृ काषमा पाएँ। लाग्छ- ती सबै प्राच्य शिक्षा संस्कृति अनुकूल पाएथेँ। यो श्लोक यस अवधारणाअनुरूप थियो :
लालयेत् पञ्च वर्षाणि
दश वर्षाणि ताडयेत्
प्राप्ते तु षोडशे वर्षे
पुत्रं मित्रवदाचरेत्।
पाँच वर्षसम्म लालनपालन गरियून्, दस वर्षसम्म घोट्पिट गराइयून्, सोह्र वर्षसम्ममा सचेत भइसकेका आफ्ना पुत्रलाई मित्रजस्तै समान व्यवहार गरियून्। यिनै प्राच्य जीवन–दर्शन र शिक्षा पद्धतिका मान्यताले छोइँदा मन रंगिएर यी अन्तरधारणाहरू प्रवाहमान भइरहेको चेत पस्काउने चेष्टा जाग्छ। २००१ सालसम्म पनि सललल नेपाली बोल्न धौधौ पर्दा ती दिनहरू शुद्ध भादगाउँले पारामै बितेका अनुभूति उकास्न चाहेँ। श्री ३ भीमशमशेरका सीताभवनका शिक्षक स्व. प्रधानका काठमाडौं बांगेमुढास्थित घरमा पढ्दा नेपालीमा वार्तालाप गर्न हम्मेहम्मे परेको यादगार ताजा छ। मास्टर बाले दुई जोर मोजा खप्ट्याएर लाउनुभयो भन्न अकमकिएको घटना आलै छ। सम्भवतः तिनै घटनाले मन फर्काएर मेरो यो सिप–शैली बन्नपुग्यो। त्यो र योबीच बनेको आजको अन्तर आफ्नै बुझाइजस्तो लाग्छ। २००१ सालमा भक्तपुर इङ्लिस स्कुलको कक्षा १ मा विज्ञान पाजुले प्रवेश गराउनु भयो। श्री ५ र श्री ३ महाराजहरूका जन्मोत्सवमा शिक्षा निर्देशक स्वर्गीय मृगेन्द्र शमशेर जबराबाट मिठाईका पोको पाएको अहिलेझंै लाग्छ। अवरसका ती शृंखला तत्कालीन शैक्षिक आकर्षण र उत्प्रेरण बनेको थियो। ती अवसर अब राजनीतिक परिवर्तनसितै टुंगियो। तत्कालीन शिक्षा निर्देशक स्व. राणासित नेपालमा प्रत्यक्ष भेटवार्ता गर्ने अवसर नपाए पनि २०२५ सालमा डा. लियो रोजको निवास क्यालिफोर्निया राज्यको वर्कलेमा भेटी कुराकानी गरेको सुमधुर सम्झना ताजा छ।
एकातिर वैन्ही अर्कोतिर आफैं खर्पनमा बोकिएर कान्तिपुर–भक्तपुर गरेको अन्तरैमा रहेर अहिले अन्त्य भएको छ। अब ती खर्पन संग्रहालयकै दर्पण बनिसकेको छ। कहाँ जीवन्त भोगाइ, कहाँ मर्मान्त संग्रहालयको सजाइ...! सांस्कृतिक यस अन्तरतामा सामाजिक, आर्थिक, जीवनका पहलचहलका फेरबदल अनुभूति गरिरहेछु। बाँच्न त फेरबदलसित अनुपम भोगाइ बन्दो रहेछ। यतिन्जेल सिकिरहेछु मनग्य कि बाँच्नु त अविरल भोगाइको निरन्तर अनुभूति पो रहेछ। यति धेरै अन्तर आइसके— देशको जीवन र जीवनको देशमा मेरो बालापन कहीँ कतै मसित छैन। यतिन्जेल न म देश छुन सक्छु, न देशैले मलाई छुन सकिरहेको छ। छुन नसक्नुको दुर्बलता र दुर्बलताकै कारण छुवाउन नसक्ने मेरो वर्तमानको आग्रह बनेको छ। वर्तमानको दुर्बलतासित आग्रह छैन मेरो देशसित। छैन कुनै आग्रह मेरै मेराहरूसित पनि। आग्रहपूर्ण जीवन विग्रहपूर्ण बन्न सक्ने सम्भावनादेखि अन्तर रहनु मेरो अन्तर्यको चाह पनि, वाह पनि। चाह र वाहसित सहमति, असहमति लोकतन्त्रको यन्त्र, तन्त्र, मन्त्र पनि हुन सक्छ। ठम्याइ आ–आफ्नै खेती आशको! अशान्तिको निवारण भाग शान्ति।
मेरो बाल्यकालमा भक्तपुरमा भक्तपुर इङ्लिस स्कुल एक, संस्कृत पाठशाला एकमात्र थियो। २००४ मा शान्तिभक्त विद्यालय र विद्यार्थी निकेतन खोलिए, भक्तपुरमा। नामले शान्तिभक्त अन्तर्यले क्रान्तिभक्त थिए। २००४, ०५, ०६ र ०७ तिर निकै शिक्षकले तत्कालीन शासकीय बुट चाखे, कारागार भोगे। २००४ सालमा पहिलोचोटि कांग्रेस निस्केथे भक्तपुरमा। कांग्रेस कस्तो जन्तु हुँदो हो कौतुहल थियो। स्कुल जाँदा एउटी काकीले छिटोछिटो जानू भनिन्। किन काकी...? आज मिठाई दिने रे भनिन्। हस्याङफस्याङ गरी पुगेको त स्कुलको मूलढोकामै बसेर गजसुन्दर प्रधान, जगतप्रकाश हाडा, नारायाण विलाश जोशी, गंगाराम श्रेष्ठ उभिइरहेका। प्रधानले लिखित भाषण वाचन गरिरहे। चार कक्षाका बफरा तेजेश्वरले भाषण बुझेन। कांग्रेस प्राणी त आफूले चिनेका पो रहेछन्। काठमाडौंको काठमाडौं त प्रजापरिषद्, नेपाली राष्ट्रिय कांग्रेस, कम्युनिस्टको गर्भस्थलै। २००६ मा जुद्धोदय पब्लिक हाइस्कुलको ६ कक्षामा पढ्दा कपडाको झोलामा जय नेपाल लेखेथेँ। जयलाई 'जये' लेखेथेँ। कृष्णमुरारी उपाध्याय गुरुले देख्नुभयो र भन्नुभयो, 'शुद्ध भादगाउँले रहेछौं।' घर फर्कंदा बुबाले छ्यास्नुभयो, 'कसले सिकायो यो लेख्न? जेल जान मन लाग्यो?'
अहिले जय नेपाल त के खायो कपाल लेखे नि कल्ले के भन्ने...! तीनछक पर्छु। कत्रो अन्तर!
भक्तपुर नगर शंखाकार, ललितपुर नगर, चक्राकार, कान्तिपुर नगर खड्गाकार रहेको यथार्थ अब मिथक बनेको छ। दक्षिणतिर हनुमन्ते उत्तरतिर खासाङखुसुङ नदीको प्रवाहले शंख आकार पारेको भक्तपुर नगर। जमलदेखि काष्ठमण्डपसम्म, क्षेत्रपाटीदेखि प्याफल मरुटोलसम्म, जुद्ध सडकदेखि कुमारीघर वसन्तपुरसम्मका बाटाहरू खड्गजस्तै बनाइएको कान्तिपुर नगर। स्तुप, विहार, मठ मन्दिरहरूको घेराले परिक्रमित ललितपुर। तीन नगर इलाकाका सीमारेखाले निर्धारण गरेका ती आकार तान्त्रिक बनेको यथार्थ छ। अचेलका रेखागणितीय तारतम्यमा तन्त्र त रेखागणित साधनाझैं लाग्दो छ। वर्तमान भूगोल सामाजिक र सांस्कृतिक शिक्षाले यस्ता महŒवपूर्ण सरोकारलाई समेट्न नसकेको विडम्बनापूर्ण अन्तर बनेको छ। 'भूगोलको अध्ययन आफ्नै बासस्थानदेखि आरम्भ गर्नुपर्छ,' एनिबेसेन्टले लेखेकी अहिले त कसैको चासो बनेन। यथार्थपरक मर्म तुहिनु नितान्त ठूलो अन्तर कसरी नभनौं? आफ्नै बस्तीको भूगोल अनभिज्ञतामा हराउनुजति जघन्य संास्कृतिक अपराध अरू के हुँदो हो!
२००७ सालको राजनीतिक परिवर्तनसित काठमाडौं राजधानी उपत्यकामा प्रत्यक्ष दर्शन हुने गरिने हलचल आरम्भ भएको अनुभूति बन्यो। समाजको सास फुक्का हुन थाल्यो। निर्धक्क वाक् स्वतन्त्रता नेपाली स्वर मुखरित हुन थाल्यो। विना राहदानी देशभित्र आउजाउ भयो। देशभित्रका देशदर्शन काठमाडौंले। देशका अरू अंगले काठमाडौं दर्शन गर्न थाल्यो पैदल सवारी। पहिलो राजमार्ग त्रिभुवन राजमार्ग बन्नु बन्यो। वीरगन्ज–काठमाडौं ढुवानी सुविधा बढ्यो। राजमार्गको एकान्त अन्तरकुन्तरमा लभर्स चेयर देख्दा कसलाई पो सँगै बसौंबसौ नलागोस्...! उहिले मन्दिर धाउनेहरू सुदिल धाउन थालेको त्यो अवसर दिल धाममा बद्लियो। अन्तहीन दिलधामको यो क्रम झाँगिन त्यसले बीउ हाल्यो।
परिवर्तनसूचक अनुभूति यस्तै बाँडचँुड गर्न चाहेँ। परिवर्तन नयाँ दिशाबोधको संकेत भएर पनि यो निरन्तर क्रम हो। परिवर्तन क्रम भएर पनि यो क्रमभंगको क्रम बनेको छ। सात सालसम्म काठमाडौं उपत्यकावासीकै मात्र सम्पदा सयल थियो। सातसाले परिवर्तनसाथै यो उपत्यका नेपाल र नेपालीकै बन्न थाल्यो। तर पनि २०१५ फागुन ७ को आम चुनावपछिको निर्वाचित नेपाली कांग्रेसको सरकारको अवधिभर पनि तत्कालीन गढी गौंडा, गोश्वाराका नेपालीले काठमाडौंमात्र नेपाल ठान्ने गरेको झझल्को ताजा छ। अन्तको कुरा के इन्द्रावती नदीकिनारको बाहुनीपाटीका बासिन्दा पनि काठमाडौं जाने नभनी नेपाल जाने भन्थे।
सार्वभौम राष्ट्रको सीमा सुरक्षा नेपाली सेनाबाट हुनुपर्थ्यो। नेपालको उत्तरी सीमाबाट मित्रराष्ट्रका सेना हट्नु आवश्यक थियो। सार्वभौम राष्ट्रको नेपाली मुद्रा प्रदाय नेपालभर चलनचल्तीमा रहनुपर्थ्यो। अरू राष्ट्रको मुद्रा बैंक कारोबारको माध्यमबाट मात्र हुनुपर्थ्यो। स्थानीय प्राकृतिक, मानवीय सिप साधन परिचालन हुने उद्योग व्यवसाय हरसम्भव चल्नुपर्थ्यो। देशदर्शन गर्न देशकै जल, थल, आकाश मार्ग सम्भव रहनुपर्थ्यो। ज्ञान, सिप र प्रविधिमूलक शैक्षिक निकायहरू बन्नुपर्थ्यो। प्रविधि र वैज्ञानिक शिक्षायुक्त नेपालीले नेपाल बनाउने क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न पाउनुपर्थ्यो। राजनीति सञ्चालन गर्ने कर्मीहरूले उनीहरूको सही सुझाव कार्यान्वयन गर्न सक्नुपर्थ्यो। सार्वभौम सीमा सुरक्षार्थ नेपाली सेना तैनाथ गरी भारतीय सेना बल्ल २०२९ वैशाखमा कामयाव बन्यो। देशभर नेपाली मुद्रा प्रदाय चलायमान २०२२ तिर मात्र भयो। जुद्ध शमशेरका पालाका घरेलु उद्योगले निरन्तरता पाउन सकेन। हिमाल, हेटांैडा सिमेन्ट उद्योग टिक्न सकेन। हेटौंडा कपडा उद्योग, कागज कारखाना कता गयो गयो। नेपालकै स्थानीय साधन अपार जलस्रोत– बिजुलीबाट चल्ने काठमाडौं–भक्तपुर ट्रलीबस सेवाले अवसान भोग्यो। इँटा, टायल कारखाना टिक्न हम्मे पर्योच। बर्दिया कपास उद्योगमूलक कृषि उत्पादनको गर्भपतन भयो। राष्ट्रोत्थान निमित्तका प्रयासहरू राजनीतिक हलचलसितै चलखेल बन्न थालेर के भए, भए! यसले देशको उद्योगधन्दा सखाप गरेर नेपाली नागरिक जीवनलाई विदेशिन बाध्य बनायो। अहिले देशमा देशकै कर्मठ युवाशक्ति विदेश पलायन हुनुपर्ने अवस्थाले देशका गाउँहरूका उर्वर भूमि उजाड बन्न पुगेको छ।
बाल्यकालदेखिका अनेक अवस्था एक समान नरहनु प्रकृतिकै स्वरूप बनेको छ। आफ्नै पाइलाका गोरेटाहरू अहिले ६ लेनको सडकमा परिणत भएको छ। सञ्चार पद्धतिले कागका का...का... बोललाई सूबोल... सुबोल भन्नुबाट रेडियो, दुरसञ्चार, दुरदर्शन, इन्टरनेट, वेबसाइटले फड्को मारेको छ। उः बेलाको गौचरन २००६ देखि त्रिभुवन विमानस्थलमा परिणत भएको छ। भक्तपुर, ललितपुर, कान्तिपुर, कीर्तिपुरका हरिया फाँटहरू अब कंक्रिट मरुस्थल बनेको छ। वाग्मती, विष्णुमती, शंखमूल, हनुमन्ते नदीहरू नालामा परिवर्तन भएर पवित्र जलधार अब स्वर्गारोहण भइसकेका छन्। बाँसघारी, जंगल, झरना दुहिसकेका छन्। बल्ल वाग्मतीले पुनरावृत्ति पाउने मेलोमसो जुरेको छ। मेरा वचन र युवा आँखामा टल्केका झलक–टलक वाग्मती र अरू नदीहरू छेउका पूर्व र पश्चिमका डाँडा छुँदै बग्थे। मेरै बाल्य, युवा र मध्यबैंसले नुहाएका पवित्र पानी अहिले पाखण्डी बैतर्नी बनिसके। उहिले भोगेका नदी–सभ्यता र संस्कृति अहिले वीभत्स विकृति बनेको छ। यी सबैका कारण हामीभित्र हामी नै हराएर अरूमा खोज्नुपर्ने परतन्त्रजस्तै हुन पुगेको छ। त्यसमाथि नपुगे २०७२ वैशाख १२ र २९ को प्रलयकारी भुइँचालोले त देश, जनता र नेपाली अर्थ व्यवस्थालाई परामुखापेक्षी बन्न धकेलिरहेछ। यति बेला हो हामी आम नेपाली बन्धुबान्धवहरूले मन, वचन र कर्मले विनाराग, द्वेष, ईर्ष्या काँधमा काँध मिलाई नेपाललाई उठाउने अवसर पाएको छ।
प्रकाशित: ५ भाद्र २०७२ ००:१९ शनिबार





