पार्टी महाधिवेशन पर सारेर सभापति सुशील कोइरालाले कांग्रेसमा वंश परम्परा स्थापित गराउन चाहेका छन्। सभापति कोइराला कुनै पनि हालतमा पार्टीभित्र स्वच्छ लोकतान्त्रिक अभ्यास होस् भन्ने पक्षमा छैनन्। उनी प्रधानमन्त्रीको कुर्सीमै रहेर सत्ता र शक्तिको आडमा पार्टी महाधिवेशन गर्न चाहिरहेका छन्। पार्टीलाई अवैधानिक हुनबाट जोगाउने उपाय निकालिसकेपछि अब उनी आफूलाई अनुकूल हुनेगरी मात्र महाधिवेशन गर्ने पक्षमा छन्। केही गरी असोज ५ भित्र नयाँ संविधान जारी हुने परिस्थिति बनेन भने भदौ १७ देखि गर्ने भनिएको गाउँ अधिवेशन असोज १ बाट सुरु गर्ने तयारी पनि छ। जे–जस्ता जालझेल गरेर पनि संस्थापन पक्ष कांग्रेसमा लोकतान्त्रिक पद्धति र मान्यतालाई निमिट्यान्न पार्ने अभियानमा जुटेको देखिन्छ। लोकतन्त्रका लागि पटक–पटक संघर्ष गरेको दल पार्टीभित्रको आन्तरिक लोकतन्त्रका लागि भने यो हदसम्म गैरजिम्मेवार देखिनु लाजमर्दो कुरा हो। सभापति कोइराला १३ औँ महाधिवेशन कम्तीमा फागुन अन्तिम वा चैतमा सार्ने पक्षमा छन् भने वरिष्ठ नेता शेरबहादुर देउवा मंसिरमै महाधिवेशन गर्नुपर्ने अडानमा छन्। पार्टीभित्र वरिष्ठ नेता देउवा पकड बढ्दै गएपछि आत्तिएका सभापति कोइराला र उनी निकटका नेताहरू आफूलाई अनुकूल हुने परिस्थितिको निर्माण भएपछि मात्र महाधिवेशन गर्ने पक्षमा छन्। संस्थापन पक्षबाट देउवालाई टक्कर दिन सक्ने उम्मेदवार आफूबाहेक अरू नभएको बताउन थालेका कोइराला फेरि सभापतिको प्रत्याशी बन्ने मुडमा देखिन्छन्। सभापति उम्मेदवार बन्नका लागि उनले कि त प्रधानमन्त्रीकै कुर्सीमा अडिन चाहेका छन्, कि त संविधान निर्माणको जस लिएर सभापति उछिट्याउने दाउमा छन्। सभापति निर्वाचित भइसकेपछि कोइराला वंशका कसैलाई वा वंश परम्परामा ल्याप्चे लगाउन राजी हुनेलाई कार्यवाहक सभापति सुम्पेर राष्ट्रपति बन्ने योजनामा पनि सभापति कोइराला लागिपरेको कांग्रेसकै नेताहरूले बताउन थालेका छन्। पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्ने बाटो थुनेर सभापति कोइरालाले आफूलाई अहिले पनि गुटकै नेताका रूपमा स्थापित गराउन चाहेको स्पष्ट हुन्छ।
सभापतिमा निर्वाचित भएलगत्तै कोइरालाले पार्टीलाई 'विधि–विधान र संस्थागत रूपमा सञ्चालन गर्छु' भनेका थिए। तर, उनले आफ्नो कार्यकाल सकिने अवस्थासम्ममा पनि बोलेको कुरा पूरा गरेनन्। अधिकांश भ्रातृ संगठनमा झन्डै एक दशकदेखि महाधिवेशन गराउन नसकेको कांग्रेसले पार्टीलाई पनि त्यही बाटोमा लगेको भन्दै युवा केन्द्रीय सदस्यहरू चिन्तित छन्। केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले महाधिवेशन अनिश्चयले कांग्रेसको लोकतान्त्रिक छविमै प्रश्न उठेको बताएका छन्। आम नेता–कार्यकर्तामा पार्टीको महाधिवेशन पनि भ्रातृ संगठनको जस्तै हुने भयो भन्ने परेको छ। थप एक वर्ष समय लिएर भए पनि महाधिवेशन गराउन नसक्नुले पार्टी नेतृत्वको क्षमतामाथि प्रश्न उठेको भन्दै आक्रोश पोख्ने नेताहरू कांग्रेसभित्रै बढ्दै गएका छन्। कांग्रेसभित्र मौलाएको ६०/४० प्रतिशतको भागबन्डाले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई 'प्यारालाइज्ड' बनाएको छ। सभापति कोइरालालाई कडा टक्कर दिने हैसियत भएका वरिष्ठ नेता देउवा पनि अधिकांश समय भागबन्डाको 'क्यालकुलेटर' हानेरै दिन बिताउँछन्। उनले यो बेला भागबन्डाभन्दा पनि पार्टीभित्र विधि र पद्धति निर्माणमा आफ्नो समय खर्चिनुपर्छ। १३ औँ महाधिवेशन उनको राजनीतिक जीवनको महत्वपूर्ण खुड्किलो हो। यो खुड्किलो पार गरेर उनी कांग्रेस सभापति बन्न सफल भएभने पार्टीभित्र वंश परम्परा होइन, नेतृत्व पनि स्थापित हुन सक्छ भन्ने नजिर बस्छ। अन्यथा, कांग्रेसको सभापति हुन कि त कोइराला थरकै हुनुपर्छ, होइन भने त्यही थरको भजन गाउने आज्ञाकारी हुनुपर्छ भन्ने तथ्य स्थापित हुनेछ। वरिष्ठ नेता देउवा भागबन्डामा अलि बढी नै विश्वास गर्ने नेताका रूपमा चिनिन्छन्। त्यसैले अब उनले भागबन्डाको राजनीति छोडेर पार्टीभित्रको आन्तरिक लोकतन्त्रका लागि आफूलाई अग्रमोर्चामा राखेर अघि बढ्ने साहस गर्ने हो भने उनी पार्टीभित्र सबैका प्रिय नेता पनि बन्न सक्नेछन्।
प्रकाशित: ४ भाद्र २०७२ ०३:४० शुक्रबार





