श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले आफ्नो पार्टी विजयी भएर सरकारको नेतृत्व गर्दा एक रुपैयाँ भ्रष्टाचार नगरी थिलथिलो देशलाई नमूना बनाउने संकल्प गरेका छन्।
‘आफ्ना पाखुराको दम्भ देखाएर देशलाई बनाउनेछौं। विदेशी प्रभूले जे भन्छ, त्यो मानेर देश बन्दैन। हामी आफैँ देश बनाउनेछौं। सबै मान्छेलाई कामसँग जोड्नेछौं। देश अर्थतन्त्रलाई उक्सानेछौं,’ अध्यक्ष साम्पाङ्ले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो लाइभमार्फत भनेका छन्, ‘शिक्षामा परिवर्तन ल्यानेछौं, जनतामुखी कानुन बनाउनेछौं।’
धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख उनले देशका सीमा संरक्षित गर्ने र देशलाई कसरी सार्वभौमिकता बनाउने भनेर सदैव समर्पित भएर लाग्ने बताए। ‘म जे गर्दिनँ, त्यो बोल्दिनँ,’ उनले भने, ‘मैले बोलेका कुरा पूरा गरेरै छाड्नेछु।’
श्रम संस्कृति पार्टी किसान, गरिब, गरिखाने र देश बचाउनेको पार्टी भएकाले गर्दा यस्तो पार्टीमा कोही नेता-कार्यकर्ता नहुने बताए। ‘श्रम संस्कृति पार्टी मेरो विचारबाट जन्मिएको पार्टी हो। कोही पनि नेता पनि हुँदैन। कोही कार्यकर्ता हुँदैन। म पनि नेता होइन,’ उनले भने, ‘यहाँ कसैले कसलाई सिकाइ रहनु पर्दैन। कसैलाई भनी राख्नुपर्दैन।’
उनले आफ्नो पार्टीले सरकार बनाएको खण्डमा देश बनाउने जिम्मा लिने बताए। अब पुराना र नयाँ गठबन्धन गरेका दलबाट देशको हित नहुने ठोकुवा उनले गरे। ‘पुराना दलहरूले अहिलेसम्म भ्रष्टाचार मात्र गरे, अन्याय अत्याचारसँगै सबै कुरालाई दलीयकरण गरे,’ उनले भने, ‘न्यायालयलाई पार्टीकरण गरे। दलको न्यायाधीश बने, कर्मचारीहरूमा पनि त्यस्तै भयो। देशले न्याय पाएन, निस्पक्षतामा विश्वास गर्न सकिएन। दलमा आबद्ध नभएसम्म सानो तिनो उजुरी समेत लिने वातावरण भएन।’
उनले सिंहदरबारलाई कहिल्यै पनि सेवा केन्द्रको रूपमा सर्वसाधारणले बुझ्न नसकेको बताए। ‘सिंहदरबार ठूल्ठूला मान्छेहरूको ब्रिफकेस बोक्ने जस्तो मात्र बन्यो, पार्टी अफिसजस्तो बन्यो। समातामूलक ढंगले सेवा केन्द्र भनेर सिंहदरबार स्थापित भएन,’ उनले भने। उनले पुराना दलहरूले देशको अहितमा एमसिसि पास गर्ने, सुन तस्करी, मानव तस्कारीजस्ता अनेक गलत कार्य गरेको पनि आरोप लगाए। उनले कांग्रेस फुट्यो भने पनि एउटै विउ र एउटै ब्याडबाट निस्किएको हुनाले आशा र भरोसा नभएको बताए।
नेता साम्पाङ्ले नयाँ भनिएकाहरू पनि गठबन्धन गरेर अघि बढे पनि नयाँहरू पनि देशप्रति, स्वाधिनताप्रति र नेपाली माटोप्रतिको माया नभएको जिकिर गरे। ‘नयाँलाई पनि विदेशीहरुले खेलाई रहेको छ। तिनीहरू विदेशीको डिजाइनमा साधनको रूपमा देख्न सक्छौं,’ उनले भने।
उनले जेनजीको आन्दोलनले उथलपुथल ल्याएर परिवर्तन आए पनि नयाँ भनाउँदाहरूले के गरे र पुरानाले के गरे भन्ने कुरामा आम सर्वसाधारणले फरक छुट्याउनुपर्ने बताए। ‘पुरानाले गरेका नराम्रामध्ये सबैभन्दा नराम्रो जेनजी आन्दोलन अभिव्यक्ति राख्ने, बोल्ने ठाउँ र अरु बोलेको सुन्ने ठाउँ बन्द गरे दिएपछि भयो,’ उनले भने, ‘पुरानाले विविध बहानामा बोल्न पाउने ठाउँ नै बन्द गरे। पहिला प्रचण्डले पनि गरेका थिए। पछि केपी ओलीसहित कांग्रेसहरू मिलेर त्यही गरिदिए। आन्दोलन त्यही आक्रोसले भएको थियो।’
उनले कहिल्यै जनतालाई नभेट्ने अनि मिडियाबाजी गरेर गर्नेको काम नभएको बताए। ‘हामीले जितेको खण्डमा छियाछिया भएको देशलाई एक सुत्रमा एक मालामा गास्नेछौं। देशभन्दा ठूलो स्वाधीनताभन्दा ठूलो केही हुँदैन्। विदेशका एजेन्टलाई चिन्नुपर्छ, यो चुनाबमा दण्डित गर्नैपर्छ,’ उनले भने। उनले आफ्नो दलका उम्मेदवारमा केही न केही खोट भए पनि हर्क साम्पाङ्लाई सम्झेर भोट हाल्न अपील गरेका छन्।
साम्पाङ्ले आइतबार धरान उपमहानगरपालिकाका नगर प्रमुखबाट राजीनामा दिएर चुनावी अभियान तीव्र पारेका हुन्। मंगलबार सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवारी मनोनयन दर्ता गर्ने आइतबारदेखि नै लागू हुने गरी उपप्रमुख अइन्द्र विक्रम बेघासमक्ष उनले राजीनामा पेस गरेका थिए।
साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भएका थिए। उनले श्रमदान अभियान, सुशासन प्रवर्द्धन तथा खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्दै आएका थिए।
प्रकाशित: ५ माघ २०८२ १०:४१ सोमबार





