२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

बाँकेमा एमाले र नेकपाले टुंग्याए उम्मेदवार, कांग्रेससहितका दल अलमलमा

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सबै उम्मेदवार टुंगो लगाएका छन्। एमालेले बाँके क्षेत्र नम्बर १ मा निवर्तमान सांसद सुर्य ढकाललाई फेरि उम्मेदवार बनाउने गरी टुंगो लगाएको छ।

यस्तै बाँके-२ मा एमालेका तर्फबाट पूर्वमन्त्री मोहम्मद इश्तियाक राई उम्मेदवार बन्ने निश्चित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राईलाई उम्मेदवार बनाउने गरी टिकट टुंगो लगाएका हुन्।

तत्कालीन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालका केन्द्रीय नेता रहँदा राई यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपा महामन्त्री डा. धवल सम्शेर राणासँग पराजित भएका थिए।

उक्त निर्वाचन पश्चात उक्त पार्टीबाट अलग भएका राई पछिल्लो समयमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको महामन्त्री छन्। बाँके क्षेत्र नम्बर २ लाई आफ्नो चुनावी क्षेत्र बनाउँदै आएका राईले यस पटक एमालेको समर्थनमा चुनाव लड्ने तयारी गरेका हुन्। बाँके-२ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइराला चुनाव लड्ने क्षेत्र हो। तसर्थ, यो क्षेत्रलाई राष्ट्रिय स्तरमै चासोका साथ हेर्ने गरिन्छ।

क्षेत्र नम्बर ३ मा उक्त पार्टीले पूर्वसिँचाइ राज्यमन्त्री एवं संविधानसभा सदस्य दलबहादुर सुनारलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। नेता सुनार यसअघि एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा गएका थिए। २०७९ सालको निर्वाचनमा प्रदेश सभा-३ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार बनेका उनी हालै एमालेमै फर्केका थिए।

यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि बाँकेका तीन वटै क्षेत्रमा आफ्ना उम्मेदवार टुंग्याएको छ। उक्त पार्टीले यस पटक नयाँ अनुहारलाई टिकट दिएर मैदानमा उतार्ने गरी टिकट दिएको हो। नेकपाले बाँके क्षेत्र नम्बर १ का लागि नरेन्द्र पाण्डे ‘जेम्स’, क्षेत्र नम्बर २ बाट दिपेन्द्र बिष्ट र क्षेत्र नम्बर ३ मा दीपक जि.एम. को नाम टुंगो लगाएको हो।

तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दल तथा समूहबीच एकीकरण पश्चात बनेको नेकपाले उम्मेदवारको टुंगो लगाएसँगै उक्त पार्टीले निर्वाचन कार्यक्रम अगाडि बढाएको छ।

प्रतिनिधिसभा उम्मेदवारको टिकट पाउने क्षेत्र नम्बर १ का पाण्डे र क्षेत्र नम्बर २ का विष्ट तत्कालीन नेकपा माओवादी केन्द्रमा आबद्ध थिए, भने क्षेत्र नम्बर ३ का जिएम नेकपा (एकीकृत समाजवादी)मा थिए। नेपालगन्जका युवा व्यवसायी समेत रहेका बिष्टले राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यको जिम्मेवारी समेत निभाइसकेका छन्।  

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाँके-३ मा दलित अभियन्ता खगेन्द्र सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ। उक्त पार्टीले जिल्लाका अन्य क्षेत्रमा भने अझै टुंगो लगाएको छैन। पार्टीको आन्तरिक विवादमा रुमल्लिएको नेपाली कांग्रेसले अहिलेसम्म आफ्नो उम्मेदवारको टुंगो लगाउन सकेको छैन। यस्तै राप्रपा, मधेस केन्द्रितलगायत दलहरू पनि उम्मेदवार छनोट गर्न अलमल गरिरहेका छन्।

प्रकाशित: ५ माघ २०८२ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App