कहिल्यै नाम नसुनेको एउटा 'डनफर्मलाइनप्रेस डटकम' भन्ने साइटमा अचम्मलाग्दो समाचार छ। एकजना २५ वर्षीया युवतीले नेपालका भूकम्पपीडितलाई सहायता गर्न कपाल खौरेर गत साता दुई सय पाउन्ड जम्मा गरिन् रे! समाचारमा तिनको मुडुलो टाउको भएको तस्बिर पनि छ। कपाल खौरेपछि ती बेथानी नाम भएकी नानीलाई निकै चिसो भयो रे। ती कहाँकी हुन् भन्ने चाहिँ समाचारमा लेखिएको छैन तर पाउन्ड जम्मा गरेकी उल्लेख भएकाले बेलायतकी होलिन् भन्ने अनुमान गर्न सकिन्छ। कपाल खौरेर तिनले कसरी पैसा पाइन् भन्ने पनि समाचारमा खुलाइएको छैन। रेडक्रसको वेबसाइटमा हेर्दा १० पाउन्डले पनि एउटा परिवारका लागि त्रिपाल किन्न पुग्ने र अझै पनि थुप्रै परिवारलाई सहायता चाहिएको लेखिएकाले सय पाउन्डजति उठाउने आशामा कपाल खौरने निर्णय गरेको बेथानीलाई उद्धृत गरेर समाचारमा लेखिएको छ।
वैशाख १२ को भूकम्पको केन्द्र बारपाक र त्यसको छिमेकी लाप्राकमा जन्डिस फैलिएको समाचार नागरिक दैनिकमा छापिएको छ। मूलतः सरसरफाइको कमी र खानेपानी स्वच्छ नभएकाले जन्डिस फैलेको स्थानीय स्वाथ्यकर्मीले बताएका छन्। अहिले जन्डिसको संक्रमण फैलिएका ठाउँ भुइँचालोबाट विस्थापितका बस्ती हुन्।
यी दुवै समाचारको सन्देशमा एउटा समानता छ– नेपालको भूकम्प र त्यसका कारण भएको क्षतिलाई बिर्सने बेला भएको छैन। यसको प्रभाव धेरै समयसम्म रहिरहनेछ।
(भुइँचालोपछि धेरै नयाँ व्यक्ति, संस्था र कार्यशैली सतहमा आएका छन्। नेपाली युवा पुस्तामा विशेष प्रकारका क्षमता र गुण प्रकट भएका छन्। यी पनि त बिर्सन हुने विषय हैनन् नि! यही क्रममा भुइँचालो र त्यसपछिको तीन महिनाको अनुभव पाठकहरूसामु प्रस्तुत गर्ने जमर्को गरेको हुँ।)
नेपालमा यति ठूलो भूकम्प अहिले बाँचेकामध्ये असाध्यै थोरैले मात्र भोगेका थिए। नेपालमा कुनै पनि बेला ठूलो भुइँचालो जाने चेतावनी त धेरै वर्ष पहिलेदेखि नै विज्ञहरूले दिँदै आएका थिए। तर, कुन बेला आउने हो भनेर कसैले भन्न नसक्ने हुनाले जनताले त वास्तै गरेका थिएनन्। राज्यको तयारी पनि झारा टार्ने शैलीकै थियोे। बर्सेनि भूकम्प दिवस मनाइन्थ्यो र गोष्ठी, कार्यशाला, प्रदर्शनीजस्ता हल्काफुल्का कार्यक्रम आयोजना गरिन्थ्यो, बस! यसैले भुइँचालो आएको पहिले त थाहै पाइनँ। नातिले 'भुइँचालो आयो बाहिर जाउँ्क' भनेपछि उठेको खुट्टा लर्बरिएर हिँड्नै सकिनँ। बाहिर निस्कँदा धक्क थामिइसकेको थियो। छरछिमेकमा कोलाहल मच्चिए पनि कुनै घर भत्किएको थिएन। नेपालमा ६ रिक्टर स्केलमाथिको भुइँचालो आयो भने काठमाडौँ ध्वस्त हुन्छ भन्ने पढेको थिएँ। टोलछिमेकमा केही नभएको देखेपछि लागेको थियो– खासै केेही भएको छैन होला। त्यति ठूलो भुइँचालो कहिल्यै थाहा नपाएजस्तै मैले त्यसले खासै क्षति नपुर्या एको अनुमान गरेको थिएँ। तर, मेरो अनुमान गलत भएको थाहा पाउन धेरै बेर पर्खनु परेन। भुइँचालोे गएपछि घर नजिकैको चौरमा जम्मा हुनेहरूले सुनाउन थाले– काष्ठमण्डप भत्कियो। घरहरा ढल्यो। गोंगबुमा घर भासियो। बस पार्कतिर झन् धेरै घर भत्के र मानिसहरू पुरिए। त्यति बेलासम्म काठमाडौँबाहिर के भयो थाहै पाएको थिइनँ। मनमा झस्को पसे पनि काठमाडौँमा मात्र क्षति भएको हो कि जस्तो लागेको थियो। किन हुन्थ्यो! भूकम्पले मध्यपहाडी इलाकालाई क्षतविक्षत बनाएको रहेछ। भुइँचालोको केन्द्रविन्दु रहेको गोरखाको बारपाकलगायत धेरै बस्ती ध्वस्त भएका रहेछन्।
जनधनको क्षतिका समाचारहरू ओइरिन थाले। काठमाडौँमा उद्धार र आकस्मिक सहायता सेवा पुर्यााउन तँछाडमछाड हुन थाल्यो। सुरक्षाकर्मीहरू उद्धारमा जुटिहाले। बाटामा युवा स्वयंसेवकहरू आफूले जे सकिन्छ, त्यही काममा लागेको देखियो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको बाटो हुँदै नागरिक दैनिकको कार्यालय रहेको जेडीए कम्प्लेक्स, बागदरबार पुग्दानपुग्दै स्वयंसेवकहरू स्वतःस्फूर्त उद्धार र सहायतामा जुटेका र खटेका देखिए। अनुभवी, संगठित र प्रशिक्षित सुरक्षाकर्मीसँँगै असंगठित, अनुभवहीन र अप्रशिक्षित युवा भूकम्पपीडितका सेवामा खटिएको देख्नु मेरा लागि सुखद आश्चर्य थियो। कारण, हामी धेरैले नयाँ पुस्ता विशेषगरी शहरमा जन्मेहुर्केका युवा अलि बढी नै व्यक्तिवादी भएको गुनासो गर्दै आएका थियौँ। 'समाज त के परिवारको पनि यिनलाई चिन्ता छैन' भन्ने टिप्पणी सुनिन्थ्यो। राजनीतिप्रति वितृष्णाकै हदसम्म निस्पृह देखिने यो पुस्तामा यस्तो संवेदनशीलता, स्वयंसेवी र परोपकारी भावना होला भन्ने कल्पनै गरिएको थिएन। बाटामा जताततै, विशेषगरी अस्पताल वरपर, यिनीहरू हतार–हतार यताउता गरिरहेका देखिन्थे। भुइँचालोपछि यो पहिलो आशालाग्दो अनुभव थियो।
नागरिकको कार्यालय पुग्दा सहकर्मीहरू आ–आफ्ना अनुभव बयान गर्दै थिए। अनि पत्रिका निकाल्ने तयारीदेखि पीडितहरूलाई सहायता पुर्या उने योजना बनाउन थालेका थिए। मलाई पुराना दिनहरूको सम्झना भयो। रेडक्रस कार्यकर्ता, स्थानीय निकायको निर्वाचित प्रतिनिधि, समाज कल्याण परिषद्को कर्मचारी विभिन्न हैसियत र रूपमा म आकस्मिक सहायता कार्यमा संलग्न भएको सम्झना भयो। अहिले पनि केही त गर्नुपर्छ जस्तो लाग्न थाल्यो। उमेर, शरीर र हैसियत सम्झेँ। आफूले दिनसक्ने कसैलाई नचाहिने र नरुच्ने सल्लाहमात्र थियो। अफिसबाट घर फर्कें। मनमा अत्यास र छटपटी छँदै थियो। राति बस्नका लागि छिमेकमा पाल टाँग्ने सुरसार गरिएको रहेछ। राम्रो पाल त के त्रिपालसम्म पनि थिएन। तानतुन शीत छल्ने उपाय गरेर वरपरका पाँच परिवारले त्यहीँ आश्रय लियौँ। फोनले अलि–अलि काम गर्न थालेको थियो।
करुणा फाउन्डेसन नेपालका निर्देशक दीपकराज सापकोटासँग फोनमा कुराकानी भयो। दीपकलाई नेपालमा परिचालनको व्यवस्था भए भूकम्पपीडितको सहायताका लागि पैसा उठाउन र पठाउन सकिने प्रस्ताव राखेका रहेछन्। करुणाले यसअघि आकस्मिक सहायताको काम गरेको थिएन। तैपनि, दीपकले आँट गरिसकेका रहेछन्। मैले पनि उनलाई प्रोत्साहित गरेँ। प्राकृतिक विपत्तिमा परेकाहरूका लागि तत्काल रात काट्ने व्यवस्था र नपकाईकन खान मिल्ने खानेकुरा र पानी आवश्यक हुन्छ। करुणाले पीडितलाई तिनै वस्तु जुटाउने प्रयास थाल्यो।
भोलिपल्ट नागरिकको कार्यालयमा आउँदासम्म म सहायता वितरणमा प्रत्यक्ष संलग्न भएको थिइनँ। भुइँचालाका अनुकम्पनहरू आउने र तर्साउने क्रम सुरु भइसकेको थियो। आइतवार दिउँसोको भुइँचालो आउँदा पनि म कार्यालयमै थिएँ। त्यसपछि बाहिर निस्क्यौँ। नागरिकका सहकर्मी नै कति जना घरबारविहीन हुनपुगेका थिए। तर सम्पादकदेखि संवाददातासम्म सबै सहायताकै ध्याउन्नमा लागेको देख्दा पनि आफूले चाहिँ केही गर्न नसकेकोमा मन खिन्न भएको थियो। नागरिककै समाचार कक्षमा सहकर्मी बालकृष्ण अधिकारीले उनको गाउँका भूकम्पपीडितलाई केही थान पाल चाहिएको भन्दै सहयोग जुटाउन आग्रह गरे। सहयोगको आग्रह मैसँग गरेका त थिएनन् तर मलाई लाग्यो– मैले प्रयास गर्नुपर्छ। करुणा फाउन्डेसन नेपालका निर्देशक दीपकराज सापकोटालाई फोन गरेँ र ५० थान त्रिपाल मागेँ। उनले वितरण गर्न म नै जाने भए त्रिपाल उपलब्ध गराउन सकिने वचन दिए। बालकृष्णले मोटरको जोहो गरे। अनि, सुरु भयो मेरो यस पटकको सहायता वितरण यात्रा।
लौ मार्ने भए अब!
भूकम्पपछिको पहिलो शुक्रवार अर्थात् वैशाख १८ गते म बालकृष्णको साथमा लागेर धादिङका लागि निस्केँ। करुणा फाउन्डेसन नेपालको सौजन्यमा प्राप्त ५३ थान टारपोलिन र अलिकति खाद्य सामग्री धादिङ, नीलकण्ठ नगरपालिका–४ का भूकम्पपीडित ५३ परिवारलाई हस्तान्तरण गरेपछि मन अलिकति हलुंगो भएको थियो। त्रिपाल पाइन्छ भनेर आएका केहीलाई भाग पुगेन। यस्तैमा त्रिपाल पाइसकेका दुईजनाले भने, 'हामीलाई भन्दा उनीहरूलाई बढी खाँचो छ। हामीले त बजारमा उधारो पनि पाउँछौँ। यसैले हाम्रो साटो उनीहरूलाई दिउँ्क।' मेरा आँखा रसाए। यस्तै सद्भावले त हो नि समाज बाँच्ने! यसभन्दा पहिले नै स्थानीय सञ्चारकर्मीहरू र शिक्षक विष्णु श्रेष्ठको सक्रियता देखेर सन्तोष लागेको थियो। वितरणमा प्रहरीले पनि सहयोग गरे। (स्थानीय प्रशासक र राजनीतिक दलका नेताहरूले उनीहरूलाई नसोधी सहायता दिएकोमा आक्रोश प्रकट गरेका थिए रे।)
बजारको दृश्य हेर्दा भूकम्पले पनि गरिबहरूलाई नै बढी सताएको देखिन्थ्यो। स्वाभाविक पनि हो। सम्पन्न व्यक्तिहरूले सिमेन्ट र फलाम प्रयोग गरेर घर बनाएका हुन्छन्। त्यस्ता घर सानातिना धक्काले भत्कँदैनन्। गरिबका माटाका घरहरू सानै धक्काले पनि ढल्दा रहेछन् । भुइँचालो गएको साता दिन पुग्न लाग्दा सदरमुकाममै मानिसहरू पाटामा बसेका देखिन्थे। दुर्गम गाउँमा कस्तो अवस्था होला भन्ने सोच्दै थिएँ। फर्कने क्रममा बजारमा नेपाल टेलिकमको थ्रीजीले अलि–अलि काम गर्योा। एउटा पत्रिकाको अनलाइन समाचारमा सहायता वितरण गर्न सरकारले रोक्ने भयो भन्ने समाचार रहेछ। पढ्ने बित्तिकै अनायासै मेरो मुखबाट निस्क्यो – लौ, मार्ने भए अब!
धादिङको सदरमुकाम वरपरसमेत घर भत्केका ठाउँमा सरकारी वा गैरसरकारी कुनै सहयोग नपुगेको गुनासो भर्खर सुनेर आएकाले पनि मलाई सरकारी निर्णयको समाचारले बढी दिक्क लागेको थियो। यस्तो विपत्तिका बेलामा गर्नुपर्ने आकस्मिक सहायता, पुनःस्थापना र पुनःनिर्माण कार्यको व्यवस्थापन गरेको सामान्य अनुभवकै आधारमा पनि मलाई थाहा थियो– सरकारले गरेको भनिएको त्यो निर्णय व्यावहारिक र उपयोगी हुँदैन। त्यसले विपत्तिमा सजिलो हैन, झन् कठिन बनाउँथ्यो। यसैले मेरो मुखबाट निस्केको थियो– लौ, मार्ने भए अब! ( नभन्दै सरकारले त्यो कथित 'एक द्वार' नीति केही दिनपछि फिर्ता लियो।)
क्रमशः
प्रकाशित: ३१ श्रावण २०७२ ०४:५२ आइतबार





