१७ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

कालापहाड

परबाट आइरहेको जितबहादुरलाई देउरालीमा कुरिरहँदा फुलूको अनुहार उज्यालो हुन्छ। सररर चिसो हावा चल्छ। फिल्ममा हिरोले जस्तो जितबहादुरले दौडिँदै आएर अँगालो हालोस् र माया गर्छु भनोस् भन्ने नलागेको होइन फुलूलाई। तर, उसले अहिलेसम्म त्यस्तो छनकसम्म दिएको छैन। फुलू दायाँबायाँ हेर्छे। जितबहादुरबाहेक कोही छैन। एकान्त छ। मौसम गज्जब छ। 'आज केही भन्न पाए...' फुलू सोच्छे। जितबहादुर फुत्त देउरालीमा उक्लिन्छ। उसलाई केही फिटको दुरीमा देख्नेबित्तिकै फुलू हडबडाउँछे।

जितबहादुर फिस्स हाँसेजस्तो गर्छ र सोध्छ, 'काँ दै आइलिस्?'

'चामल ल्याइकन आया,' फुलू अप्ठ्यारो मानेर बोल्छे।

उसका अघिका सपनाहरू एकाएक हराउँछन्। ऊ त्योभन्दा बढी केही बोल्न सक्दिनँ। नबोली–नबोली फुलू र जितबहादुर सँगसँगै उकालो लाग्छन्। दोबाटोमा छुट्टिन्छन्। छुट्टिने बेलामा फुलू सोच्छे, 'लोग्ने मान्ठ भैकन भुन्न स्अक्तैन। मु मुन पुराउँछु तर धक फुट्टैन क्यारुँ?' (लोग्ने मान्छे भईकन केही भन्न सक्दैन, म मन पराउँछु तर एक वाक्य निक्लन्न, के गर्नु?)

साँझमा जितबहादुरले घरक्क घरको ढोका उघार्छ। थाकेको शरीर मझेरीमा फाल्छ। र, चुपचाप दुई हात घुँडामा बेरेर टोलाइरहन्छ। यो त्यही घर हो, जसलाई जितबहादुरको बा र आमाले हाड घोटेर बनाए। यो त्यही घर हो, जसलाई बनाउँदाको ऋण जितबहादुर जन्मेको १० वर्षसम्म उसको बाआमाले तिरिरहे। यो त्यही घर हो, जहाँबाट जितबहादुरले पहिलोचोटि संसारलाई हेर्यो्। अनि यो त्यही घर हो, जहाँ जितबहादुरले आफ्नाजति सबै गुमायो।

जितबहादुरलाई आफ्नाहरूको सम्झनाले स्थिर हुन दिएको छैन। सुनामीजस्तो उथलपुथल ल्याउने चक्रवातले ऊ हुँडलिएको छ र शरीर सबै निचोरिएर आँखाबाट रसाइरहेछ। त्यति नै बेला कसैले ढोका ढकढकाउँछ। ऊ हतपत सम्हालिन्छ र ढोका खोल्छ।

फुलूलाई ढोकामै उभिएको देखेर ऊ छक्क पर्छ। केही बोल्न सक्दैन। फुलू उसलाई हेरेर न्याउरो अनुहार लाउँछे र सरासर भित्र पस्छे। छेउमा बस्दै उसले सोध्छे, 'खाना खाइलिस्?'

'नाइँ,' जितबहादुर सुस्तरी बोल्छ।

'रोइकन उम्क्या पो खाना खाँदो होस...?' (रोएर फुर्सद भए पो खाना खान्थिस्?)

फुलू गुनासो पोख्छे र कपडाको पोको फुकाउँछे।

'तोइले खाइलिस्?' जितबहादुरले शरीरको भित्र कतैबाट आवाज निकाल्छ।

'खाइल्या, तो भोकै छ कि भनेर ल्यायाँ,' फुलू थोरै रिस देखाउँछे। यो रिसमा माया छ, एउटा मिठो आत्मीयता छ। तर, त्यही आत्मीयताभित्र एउटा ठूलो गुनासो पनि छ फुलूको।

खाना खाँदैगर्दा जितबहादुर दुःख पोख्छ, 'अब इन्ड्याको कालापहाड बाई जानुपर्ला, कति दिन याँ दुःख दिकन बइनु?'

उसको कुरा सुनेर फुलू झस्किन्छे। एउटा नमिठो दुखाइ महसुस गर्छे। किन हो, फुलूलाई ऊ कतै जान्छु भनेको मन पदर्ैैन। झन् त्यति टाढा, अर्काको देशमा जाने कुरा कसरी मन परोस् उसलाई? बिचरी ऊ, उसलाई त जितबहादुर सधैं गाउँमा भइदिए हुन्थ्यो भन्ने लाग्छ। तर, अब त्यसो नहोला। आखिर चाहेर पनि फुलूले जितबहादुरलाई कर गर्न सक्दिन। गरोस् पनि कसरी? कुन नाताले? भनेर पनि बेकार भयो भने?

अनेक तर्कनाहरूको बीच ऊ जितबहादुरले खाएको एकोहोरो हेरिरहन्छे। र, टोलाउँदै सुस्त आवाजमा भन्छे, 'कालापहाड जानु भन्ना त नेही भलो।' (कालापहाड जानुभन्दा त यहीँ ठिक छ नि।)

'क्यारी?' जितबहादुर प्रश्न गर्छ।

'न्या केई नुभया नान्नानो घर छ, बाडी छ। हलो जोती खाया भइजान्छ।' (यहाँ केही नभए पनि सानो घर छ। बारी छ। हलो जोतेर खाए हुन्छ।)

'तेरा जुन मुकन काँ छ? न्या मेरो को छ र बसूँ?' (तेरोजस्तो मलाई कहाँ छ र? यहाँ मेरो को छ र बसूँ?)

जितबहादुरको अन्तिम प्रश्न फुलूको मनमा लाग्छ। चाहेर पनि फुलूले 'म छु' भन्न सक्दिन।

जितबहादुर उसको अन्तिम प्रश्नको जवाफ नपाएकाले फुलूतिर प्रश्न भरिएको आँखाले हेर्छ र फेरि भन्छ, 'न्या मेरो को छ भन्नी छस् त?'

फुलू केही सम्भि्कएझैं गरी भन्छे, 'तेरा पथ सबै गाउँल्या छन्। सबै तोकन भलो मान्ना छन्।' (तेरो लागि सबै गाउँले छन् , तँलाई राम्रो मान्छन्।)

'मुख थी मात्तै हो।'

'त्यो नुभुन्, तेराजा दुःख सबैन छन्। सबैले घरा एक्कुन छोडिया छन्। हैजा आयो र मेरा पनि त बा मर्या ,' (त्यसो नभन, तेराझैं दुःख सबका छन्, सबका घरमा कोही न कोही मरेका छन्। मेरा पनि त बा बिते।) फुलू सम्झाउँछे।

जितबहादुर एक्कासि आवेगमा आउँछ र कराउँछ, 'सबैका घर एक्कुन मर्याे तर मेरा कर्मले सबै फाल्यो। मु मात्तै किन बाँच्या हुना भुन्त?' (सबका घरमा कोही न कोही बिते तर मेरा त सबै बिते। ममात्रै किन बाँचिराछु भन् त?)

फुलू स्तब्ध हुन्छे। जितहादुर आक्रोशित हुँदाहुँदै गल्छ। रूँलाझैं गर्छ। फुलू केही नभनी जुठो भाँडो टिप्छे र पखाल्छे। जितबहादुर फुलूको काम एकाग्र भएर हेर्छ र टोलाउँछ। जब फुलूले जान्छु भन्ने संकेत गर्छे। केवल हुन्छ भनेर टाउको हल्लाउँछ।

बितेको चार–पाँच महिनामा गाउँका धेरैले संसार छाडे। झाडापखालाले हैजाको रूप लिएर धेरैलाई मार्यो । केटाकेटी, बूढाबूढी, युवा कसैलाई छाडेन। गाउँका दलबहादुर काका, गैरीकी सानी काकी, भैरे ठूला बा, रुकबहादुर भाइ कोही बाँकी रहेनन्। जितबहादुरले औंला भाँचेरै गन्छ। उसको परिवारसहित एक सय ५० जना मरेछन्। त्यसैले त गाउँ हिजोआज निर्जन बनेको छ, एकान्तको मुर्दा पोल्ने बगरजस्तै। बोल्ने, हाँस्ने र खेल्ने कोही पनि छैन।

जितबहादुरले मनमनै भगवान्लाई गाली गर्छ। गाउँ नै रित्तो बनाएर गएको विशाल महामारीलाई धिक्कार्छ। सम्झँदा पनि कहाली लाग्ने ती निर्दयी दिनहरूमा उसले के गरेन? शक्तिले भ्याएसम्म गर्योा। मुखमा रुमाल बाँधेर कहिले स्वास्थ्य चौकी त कहिले घर गर्योद। डाक्टरको खोजीमा निकै दौडधूप गर्यो्। तर, विडम्बना न कोही स्वास्थ्यकर्मी भेटिए, न त औषधि नै। देश मूकदर्शक बन्यो। नेताहरू राजनीतिक जालझेलमै लागे। हेलिकोप्टरको घटटटट... आवाज आकाशबाट तलसम्म आइपुग्थ्यो। केही आशाको त्यान्द्रो पलाउँथ्यो र जब आवाज आकाशमै हराउँथ्यो, त्यही त्यान्द्रो पनि छिनमै चुँडिन्थ्यो। केही दिनको बीचमै गाउँका धेरै बिरामी परे र धमाधम मरे। मलामी पाइएन। कति दिन एक छाक खानसम्म पाइएन। त्यही भोक र रोगले उसको घर रित्तियो। न्या यैथो क्या भ? क्या सुन्सारीकन यै थै होला? (आखिर यहाँ किन यस्तो? के संसारभरि यस्तै होला?) उसले प्रश्न गर्यो् आफैंसँग्ा र आफैं जवाफ दियो— नुहुनु पड्न्या हो...।

आँगनको डिलमा मखमखी फुलेका छन् पोहोरको दसैंमा झैं। सयपत्री पनि हाँसिरहेका छन् पोहोरझैं। हिमाल छ्याङ्ग खुलेको छ। हिमालबाट फर्किएको चिसो हावा पहिले घुँडामा ठोक्किन्छ, त्यसपछि मात्रै मनमा। यो हावा पनि उसैगरी बहेली खेलिरहेछ, जसरी खेल्थ्यो पोहोर यस्तै बेलामा। पोहोर यस्तै बेलामा घर भरिएको थियो। बाआमा दसैंको तयारीमा थिए। बहिनीले फलाटिनको घाँगर लाउँछु कि लाउँछु भन्दै कर गरेकी थिई। तर, बाले फलाटिनको घाँगर किनिदिन सकेनन्। बहिनीको रहर पूरा भएन। रहरहरू कहिलेकाहीँ रहरै भएर सकिने रहेछन्।

यसपालि घर खाली छ। पूरै धोद्रो। न यो गाउँमा दसैं आउन लागेको छ, न जितबहादुरको मनमा। सायद यो साल उसको मनमा दसैं नभित्रिएला पनि। भारीका भारी पीरव्यथाले थिचेर हरेक पलजसो जितबहादुर थरथर काँपिरहेछ। खाली दिमाग र रित्तो मन लिएर उसले आफू यो गाउँमा हुनु र नहुनुको अन्तर खोज्छ र पाउँछ केवल शून्य।

आजभोलि हरेक कुराले पिरोल्छ। आफन्तका यादहरूले रेट्छन्। हिजोआज उसलाई कहिले नभएको छटपटी हुन्छ। कस्तोकस्तो काउसो परेको शरीरजस्तो। विष पिएर मृत्युको मुखमा पुग्न पौंठेजोरी खेलेजस्तो। ऊ यो गाउँ र यो घर छोड्न चाहन्छ। कतै टाढा जान चाहन्छ। त्यसैले यो घरलाई, यो गाउँलाई माया गर्ने मुटु छातीबाट एक छिनलाई अलग बनाएर उसले एउटा अन्तिम निर्णय गर्छ— 'ज्या होला होला, अब मु कालापहाड बाइ जानु।'

...

बिहानै जितबहादुर पँधेरीमा पुग्छ । दुई जना महिला पानी भर्दैछन्। अहिलेसम्म फुलू पँधेरीमा आइपुगिसक्नुुपर्ने हो, तर आएकी छैन। जितबहादुर फुलू आउने बाटोमा आँखा बिछ्याउँछ र छटपटिन्छ। उसको त्यही छटपटी देखेर एउटी महिलाले सोध्छे, 'जित्या कैखन भेट्न आइस्?' (जिते कल्लाई भेट्न आइस्?)

'पानी ल्याउन आयाँ,' जितबहादुर ढाँट्छ।

'गाग्रो काँ छ? हातमै लिन्यास्?' (गाग्रो कहाँ छ? हातमा लाने होस्?)

जितबहादुर अक्क न बक्क पर्छ। दुवै महिला हाँस्छन्।

तिनीहरूको हाँसो एक छिनसम्म गुन्जिन्छ र हावामा बिलाउँछ। जितबहादुरलाई त्यसले कतै छुँदैन। उसलाई त केवल फुलू भेट्नुछ। तर लामो समय कुर्दा पनि फुलू आउँदिन। निराश मन र हिँडू कि नहिँडू गर्ने पाइला मोडेर ऊ फुलू आउने बाटोतिर लाग्छ। तर पाँच पाइला पनि नहिँड्दै उ टक्रक्क अडिन्छ। उसको अगाडि फुलू देखिन्छे। फुलूको हातमा गाग्री छ र ओठमा मुस्कान। उसले हतपत भन्छ, 'मु तो न भेट्न आयाँ।'

फुलू खुसी हुन्छे। मुहारमा एक प्रकारको चमक देखिन्छ।

'तोइसित एक कुडा गन्नु छ,' जितबहादुरले उसलाई हेरेर फेरि भन्छ।

'भुन त,' फुलू आत्तिन्छे।

'मुन दाम चाइया छ, जैथरि हुन्छ गर। तोइथी मागुला भुनी आया?' (मलाई पैसा चाहिएको छ, जसरी पनि। तसँग माग्न भनेर आएको।)

'क्यान्ने होई? कति माग्न्या होई?'

'पुन्न सया, मु कालापहाड जान लाग्या,' जितबहादुरले कुराको बिट मार्छ।

उसको कुराले फुलूको मनमा एक्कासि आँधी चल्छ। आँखाहरू रसाउँछन्। उसले सोचेकी हुन्छे, आज जितबहादुरले मनको कुरा भन्ला। पचाल झरना घुम्न जाने वा त्यो पनि नभए चुलीमालिका घुम्ने कुरा गर्ला। तर, त्यस्तो केही भएन। बाटोछेउको पैयुँको रूखमा अडेस लाग्दै जितबहादुरको कालापहाड जाने कुरा सुनेपछि फुलूको बोली घाँटीमा आएर अड्कन्छ। अड्किएको बोली किस्ता–किस्तामा निकाल्दै उसले श्वासले मात्र भन्छे, 'भो..लि ल्या..इ..दिऊँला हैक्या।'

'होला?' जितबहादुर पक्का गर्छ।

'लौ त,' फुलू विश्वास दिलाउँछे।

भोलि कहिले होला जस्तो हुन्छ, जितबहादुरलाई। बेलुकीदेखि नै भएका सामानहरू मिलाएर झोलामा हाल्छ। ऊ आज एउटा अबोध खुसीले ओतप्रोत भएको छ। उसका आँखामा भोलिको सुन्दर भविष्य हाँसिरहेको छ। तर, यति नै बेला एउटा कुरूप भविष्य सम्झेर रोइरहेकी हुनुपर्छ, फुलू। फुलू यो गाउँबाट जितबहादुर नजाओस् भन्ने चाहन्छे तर ऊ गएपछि फर्कनसमेत चाहँदैन।

बिहान पिँडीमा झोला राखेर जितबहादुरले फुलूलाई कुर्छ। एकै छिनको पर्खाइपछि फुलू आउँछे राता र केही गडेका आँखा लिएर। हिजोको आजै उसको मुहारको रङ उडेर फुङ्ग भइसकेको छ। जितबहादुरको अघि उभिएर उसले खल्तीबाट कच्याकुचुक परेका थोत्रा नोटहरू झिक्छे र हातमा राखिदिन्छे। जितबहादुर फुलूको सहयोगको अगाडि किचिन्छ र मौन हुन्छ। उसले खुजमुजिएको पैसा नगनीकन गोजीमा राख्छ र एकपटक आफ्नो घरलाई नियालेर हेर्छ। बारीको फूललाई हेर्छ। फूल हाँसिरहेछ तर जितबहादुर फूलसँगै हाँस्न सक्दैन र रसाएका आँखाले यतिन्जेल साथ दिने फुलूतिर हेर्दैै भन्छ, 'मु तेरा गुन बिर्सन स्हक्न्या (सक्ने) नाइँ।'

त्यसको कुनै जवाफ दिन्न फुलूले। झोला टिपेर जितबहादुर दुई–चार पाइला लम्किन्छ। सुस्तरी फुलूको सुँक्कसुँक्क आवाज ऊसम्म आइपुग्छ। बिस्तारै बढेको रोदनले जितबहादुरको मनभित्र काँडा पसेजस्तो हुन्छ। चस्स घोच्छ। मन मान्दैन, फरक्क फर्किन्छ। फुलू भक्कानो फुटाएर रुन थालिसकेकी हुन्छे। एकनासले क्वाँक्वाँ र हिक्कहिक्कबीच फुलूको आवाज फुस्कन्छ, 'कहिले आउने होइत?'

जितबहादुर फुलूको रुवाइले नगलेझैं गरी भन्छ, 'क्यान?'

'कुरिन बसूँला।'

फुलूको मुखबाट निस्केको पिडादायी शब्दपछि जितबहादुरले अनिश्चिततासँगै भन्छ, 'था नाइँ, क्या हुन्छ?'

फुलूको डाँको झन् बढ्छ। उसको रुवाइ र रुवाइसँगै छताछुल्ल भएको मायाले जितबहादुरका पाइला स्थिर हुन्छ। उसका खुट्टाहरू फलामे साङ्लोमा बेरिएझैं लाग्छ। तैपनि स्वचालित मेसिनझैं सुस्तसुस्त चल्छन्, ती। उसको लक्ष्यको अगाडि फुलूको रुवाइ निर्धो साबित हुन्छ। हेर्दाहेर्दै जितबहादुर फुलूको आँखाबाट हराउँछ।

कालापहाड बसाइको केही दिनपछि जितबहादुरले फुलूको लागि चिठी तयार गर्छ। लेखिदिने दाइले सोध्छन्, 'कालापहाडसम्म आउन सहयोग गरेकोमा धन्यवाद मात्र भन्ने कि मायाका कुरा पनि लेख्ने?'

'मु याँ ठिकै छु। त्याँ सप्पारी बसेस् भुनी लेख्दियाई,' जितबहादुर अप्ठ्यारो मानेर भन्छ। चिठी लेखिदिने दाइले त्यही बेहोरा हालिदिन्छन्। चिठीमा सबभन्दा ठूलो अक्षरमा लेखिएको हुन्छ, 'फुलू...तोइले पुन्न सय दाम नुदिया भया मु केई गर्याा पुनि कालापहाड आउन सक्ने थिइनँ।'

केही हप्तापछि जितबहादुरको नाउँमा एउटा चिठी आउँछ। बिरानो ठाउँमा उसको नाममा लेखिएको चिठी देखेर ऊ खुसीले लपक्क भिज्छ। खाममा लेखिएको हुन्छ, पठाउने फुलू राउत, कालिकोट। ऊ हतारहतार चिठी लेखिदिने दाइनजिक पुग्छ र पढिदिन भन्छ।

लेखिएको हुन्छ— 'फुलूले चोरिन तोकन दिया पुन्न सय रुपियँा मेरा गोजाउँदा हुन्। मुइले ठूला कामा लागि राख्या थियाँ। जहरी हुन्छ मेरा रुपियाँ यै मैना पठाइदेे। (फुलूले तँलाई चोरेर पठाएको पन्ध्र सय रुपैयाँ मेरो गोजीको हो। मैले ठूलो कामको लागि राखेको। जसरी भए पनि मेरो पैसा यही महिना पठाइदे।)

फुलूको दाइ तेज।'

जितबहादुर निःशब्द उभिइरहन्छ। फुलूको मुर्झाएको अनुहार उसको आँखाभरि छाउँछ। र, छाउँछ फुलूको प्रेम, सद्भाव र निश्छल सम्झनाहरू...!

प्रकाशित: २९ श्रावण २०७२ २३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App