विश्वविद्यालय परिसरमा सूचनाका लागि राखिएका बोर्डहरू खिया लागेर मेटिएका छन्। कमजोर व्यवस्थापनका कारण पक्की भवनहरू चुहिँदैछन्। विद्यार्थी पातलिँदैछन्, झारपात झाँगिदो छ। विद्यार्थीलाई पिउने पानीको अभाव छ, बाटोमा वर्खेपानीको बेहाल छ। एक ठाउँबाट अर्को ठाउँमा जान समस्या छ।
'प्यासेजमा पानी जम्छ, शौचालय दुर्गन्धले छिरिसक्नुछैन,' शिक्षा संकाय भवन परिसरमा भेटिएका एमएडका शोधार्थी मदनकुमार रामले भत्किएको शौचालयबाट बग्दै गरेको पानी देखाउँदै भने, 'यस्तै छ, हाम्रो विश्वविद्यालय।' रौतहटबाट उच्च शिक्षाका लागि राजधानी आएका उनले त्रिवि सोचेजस्ते नरहेको प्रतिक्रिया दिए। 'देशकै ठूलो विश्विद्यालयमा धेरै सेवासुविधा होला भन्ने ठानेको थिएँ,' उनले भने, 'तर, यहाँ झन् ठूला समस्या पो रहेछन्।'
स–साना समस्यालाई व्यवस्थापन गर्न नसक्दा केन्द्रीय विश्वविद्यालयको अवस्था गिर्दो छ। कतै फोहोरको डंगुर त कतै पानीको आहाल, कतै फुटेका सिसाका टुक्रा त कतै लेउ र कुहिएका झारपात। देशभरका विद्यार्थीलाई व्यवस्थापनको शिक्षा दिने केन्द्रीय व्यवस्थापन विभागको आँगनमा पानीको भेल बग्दै गरेको देखिन्छ, त्यसलाई रोक्न कसैले चासो दिएका छैनन्। विद्यार्थी हिलो र खाल्डाखुल्डी छिचोल्दै कक्षामा पुग्छन्। भित्र प्यासेजमा पानी पोखिएको छ। शिक्षकहरू त्यही पानी छल्दै कक्षामा छिर्छन्।
यहाँका शौचालय महिलामैत्री छैनन्। कक्षाकोठामा पुग्ने बाटो अपांगमैत्री भेटिन्नन्। 'सानासाना समस्याको समाधानमा पनि चासो नदिँदा विद्यार्थीहरूले धेरै समस्या भोग्नुपरिरहेको छ,' व्यवस्थापन विभागका विद्यार्थी प्रकाश पन्त भन्छन्, 'शौचालयको सरसफाइ र खानेपानी सहज बनाइदिए ठूलो राहत मिल्थ्यो।'
यहाँका हरेक विभागका श्ाौचालय सफा छैनन्। न त्यहाँ पानीको व्यवस्था छ न मर्मत सम्भार। शौचालय नपुग्दै ह्वास्सै दुर्गन्ध आइपुग्छ। एमएडका सोधार्थी नवराज पौडेल दिग्दारी पोख्छन्, 'नाक थुन्दै शौचालय जानुपर्ने अवस्था छ। खानेपानीको त समस्या भएको ठाउँमा शौचालयभित्र पानी हुनु त धेरै परको कुरा।'
बुधबार त्रिवि परिसरस्थित एक क्यान्टिनमा भेटिएका सिर्जना काफ्ले र विन्दु शिवाकोटी कलेजमा पहिलो दिन पुग्दै थिए। पहिलो दिनको उमंगसहित त्रिविका विभिन्न विभाग नियाल्दै गरेका उनीहरूले पनि सकारात्मक प्रतिक्रिया दिएनन्। 'हुन त पहिलो दिन हो, त्यति बुझ्न पाएका छैनौं,' सिर्जनाले भनिन्, 'तर, बाहिरी भौतिक संरचना देख्दै पनि हामीले सोचेजस्तो रहेनछ।'
विश्वविद्यालयलाई यस्ता अवस्थासम्म ल्याइपुर्याभउने कारकबारे उनीरूलाई थाहा नभए पनि थुप्रै विद्यार्थी प्रशासनको कमजोरी र स्वतन्त्र विद्यार्थी युनियनको नाममा गरिने राजनीतिलाई दोष दिन्छन्। आन्दोलन तथा सभा समारोहमा विद्यार्थी जम्मा गर्न तम्सने नेताहरू कक्षाकोठा वरिपरि सरसफाइ गर्ने काममा भने गोलबन्द हुन सक्दैनन्। 'शिक्षक, कर्मचारी र विद्यार्थीले पनि आ–आफ्नो दायित्व पूरा गर्नुपर्थ्यो,' विज्ञान संकाय प्रथम सेमेस्टरका निराजन लुइटेल भन्छन्, 'आफू केही गर्न अघि नसर्ने र दोषचाहिँ अरूको थाप्लोमा लगाइदिने प्रवृत्तिकै कारण टियुको हाल यो अवस्थामा पुगेको हो।'
कर्मचारीरूको ढिलासुस्ती र अव्यवस्थापनकै कारण झन्झट बेहोर्नुपरेको विद्यार्थीहरू बताउँछन्। 'परिचयपत्र वा प्रवेशपत्र लिन पनि पढाइ छाडेर घन्टौं लाइनमा लाग्नुपर्ने अवस्था छ,' लुइटेलले भने, 'चुस्त र छरितो सेवा दिनका लागि कसैको ध्यान नै पुगेको छैन।'
अव्यवस्थित पुस्तकालय
'मेरो पुस्तकालयमा आएर रुचिका विषय छानेर पढ र आफ्ना दुःखलाई भूल।'
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयभित्र शेक्सपियरको यो भनाइ राखिएको छ। तर, त्यहाँ छिरेका विद्यार्थीहरू भने आवश्यक पुस्तक नभेट्टाएर असिनपसिन भइरहेका देखिन्छन्। पुस्तकालयको सूचना डेस्कमा भएका केही कम्प्युटरमा सूचना लिनेहरूको भिड लाग्ने गरेको छ। माथिल्ला कोठाहरूमा पुस्तक असरल्ल छरिएका छन्। बेन्चमा धुलो जमेको छ। शौचालय नजिकैको दुर्गन्ध ह्वास्स वरैसम्म आइपुग्छ।
'सूचना बोर्ड नहुँदा पहिलो कुरो त नयाँ विद्यार्थीले लाइब्रेरी भेट्दैनन्, भेटिहाले भने पनि खोजेको पुस्तक भेट्दैनन्,' सोसोलोजीका विद्यार्थी दिनेश चौधरी गुनासो गर्छन्, 'यत्रो केन्द्रीय पुस्तकालयमै विद्यार्थीलाई चाहिने पुस्तक भेटिन्न भने के भन्नु?' व्यवस्थित तरिकाले पुस्तक नराख्दा हैरानी खेप्नुपरेको उनीजस्ता धेरै विद्यार्थीको समस्या हो।
त्रिविको निरीहता
त्यसो त विश्वविद्यालय राजनीतिक भागबन्डाको खेलमैदान बनेको छ। यहाँ समय–समयमा राजनीतिका दाउपेच खुब खेलिन्छ। तर, विद्यार्थीका लागि खेलकुदको वातावरण भने भेटिन्न। जसका कारण खुल्ला चौर चरनमा परिणत भएका छन्। त्यहाँ गाईगोरु मस्त चरिरहेका भेटिन्छन्। नियन्त्रणमा कसैको आँखा पुगेको छैन। 'फुटबल खेल्ने रहर यहाँ आएर पनि मेटिएन,' चौधरी भन्छन्, 'चौर छ तर खेल्ने माहोल छैन।'
यहाँको अवस्थालाई ख्याल गरेरै हुन सक्छ, परिसरभित्र रहेका बिजुलीका खम्बामा निजी कलेजले गरेको विज्ञापनको पोस्टर र फ्लेक्स देखिन थालेको छ।
मुलुककै पुरानो विश्वविद्यालयको यो हालत प्रशासनले पनि राम्ररी बुझेको छ। यहाँ रहेका हरेक समस्यासँग उनीहरू जानकार छन्। तर बजेट नहुँदा यसको निराकरण गर्न नसकिएको उनीहरूको सोझो जवाफ छ।
त्रिवि रजिष्टार चन्द्रमणि पौडेल बजेटको अभावमा भौतिक संरचनाको मर्मत सम्भार गर्न नसकिएको सुनाउँछन्। ३ हजार ७ सय ६० रोपनी क्षेत्रफलमा फैलिएको त्रिवि परिसरमा रहेका झार हटाउनसमेत बजेट अपुग हुने उनले सुनाए। 'सरकारले वार्षिक रूपमा दिने गरेको २०–३० करोडले देशभर रहेका संरचनाका लागि कनिका छरेजत्तिको मात्र हुन्छ,' उनले भने।
उनका अनुसार कीर्तिपुरस्थित विश्वविद्यालय सञ्चालनका लागिमात्र वार्षिक ३० करोड आवश्यकता पर्छ। 'आवश्यक रकम उपलब्ध हुने हो भने भौतिक व्यवस्थापनका लागि समस्या आउने थिएन,' उनी निरीहता प्रकट गर्छन्, 'सरकार बजेट दिँदैन, विद्यार्थी शुल्क बढाउन दिँदैनन्। यस्तो अवस्थामा हामीमात्र के गर्न सक्छौं र।'
प्रकाशित: २९ श्रावण २०७२ २१:५५ शुक्रबार




