भदौ तेस्रो साता हुने भनिएको कांग्रेस लेखनाथ नगर अधिवेशनमा सभापतिका लागि तिवारी र वर्तमान सभापति राजेन्द्रमणि लामिछानेको चर्चा थियो। लामिछानेका समर्थक विश्वास गौतमले दुई दिनअघि तालचोकमा तिवारीमाथि कुटपिट गरेका थिए। सोहीबखत बादलले दुइटालाई छुट्याएको मनोज गुरुङले बताए। 'त्यो बेला पिट्न नदिएर छुट्याएपछि रामजी दाइप्रति इवी लिएका रहेछन्,' मनोजले भने।
हत्यामा संलग्न भएको आरोपमा लेखनाथ—१६ का इकाइ सभापति राजु रानाभाटलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी हरिबहादुर पालले जानकारी दिए। उनका अनुसार संदिग्ध प्रकाश गुरुङ र विश्वास गौतमलगायत अरु केही फरार छन्। घाइते मनोजका अनुसार दुई दिनअघि नारायणमाथि तालचोकमा कांग्रेस कार्यकर्ता विश्वास गौतमले कुटपिट गरेका थिए। सभापतिमा नउठ्न दबाब दिँदै गौतमले कुट्दा बादलले छुट्याएको हुँदा त्यही रिसले उनीमाथि बिहीबार राति आक्रमण भएको मनोजले नागरिकलाई बताए।
मारिएका नेता रामजी बादल नेविसंघका पूर्व केन्द्रीय सदस्य र कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए। कार्यकर्ता र सर्वसाधारणसँग मिलनसार व्यवहार गर्ने उनको इमान्दार र निष्ठावान नेताको छवि थियो। 'आँखामा राखे पनि नबिझाउने मान्छे,' कांग्रेस जिल्ला कार्यसमिति सदस्य श्रीकृष्ण लामिछानेले भने, 'कसैलाई नराम्रो गरेको र कसैसँग नमिठो बोलेको थाहा थिएन।' कक्षा ८ पढ्दादेखि नै नेविसंघमा आवद्ध बादल संघको केन्द्रीय सदस्यपछि पार्टीको स्थानीय कार्यकर्ताकै रुपमा सक्रिय थिए।
भदौको १७ गते हुने भनिएको नेपाली कांग्रेसको लेखनाथ नगर समिति अधिवेशनमा तिवारी सभापति उठ्ने चर्चा थियो। दुई दिनअघि तालचोकमा भएको घटनापछिको उत्पन्न विवाद मिलाउन बिहीबार बेलुका लेखनाथ—१३ गगनगौंडामा स्थानीय बृद्धिमान गुरुङको घरमा छलफल भएको थियो। 'छलफल चल्दाचल्दै पनि बादललाई मार्छु भन्दै प्रकाश गुरुङ बाहिर निस्किएका थिए,' बुद्धिमानले भने, 'एकैछिनपछि हामी कुटियौं भन्दै नारायणले मलाई फोन गरे।'
राति साढे ९ बजे नारायणले फोनमा गुहार मागेर आफू पुग्दा उनीहरु राजमार्गमा लडिरहेको बुद्धिमानले जानकारी दिए। 'मनोज र नारायणलाई गाडीमा हालेर हस्पिटल पठाएँ, बादललाई राति ३ बजेसम्म खोज्दा पनि भेटेनौं,' उनले भने, 'बिहानमात्रै हाइवे तल लास भेटियो।'
छलफलपछि बादल मनोजको मोटरसाइकलमा निस्किएका थिए। मोटरइकलमा रामजी बादललाई लिएर आइरहँदा राजमार्गछेउमा लुकेर बसेकाले अर्को मोटरसाइकल चलाउँदै अघिअघि गुडिरहेका नारायण तिवारीलाई भाटाले हिर्काएको मनोजले बताए। 'ओई किन हानेको भनेर मैले मोटरसाइकल रोकें,' मनोजले नागरिकसँग भने, 'एक्कासि आएर रामजी दाइलाई पनि भाटैभाटाले हाने। ऐयाऐया भन्दै ढल्नुभएको थियो। त्यसपछि म पनि कुटिएँ।' होस खुल्दा आफू मणिपाल अस्पतालमा रहेको उनले बताए। 'छलफलमै उनीहरुले रामजी दाइलाई मार्छु भनेका थिए, आफ्नै भाइहरू हुन्, आवेशमा आएर भनेका हुन्, केही हुँदैन भनेर आएका थियौं तर साँच्चिकै मारे।'
हत्याको विरोधमा बादल समर्थकले शुक्रबार दिनभर पृथ्वी राजमार्गको लेखनाथ खण्ड अवरुद्ध पारेका थिए। हत्यारालाई आफूहरु सामु उपस्थित गराउन माग गरेका मृतकका आफन्तले साँझसम्म पनि लास उठाएनन्। आक्रोशितले विश्वास गौतमको कारसमेत जलाइदिएका थिए। केही महिनाअघि मात्रै धर्मपुत्री ग्रहण गरेका बादलकी एक श्रीमती छिन्।
प्रकाशित: २९ श्रावण २०७२ २०:११ शुक्रबार





