२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

ढुंगामा जीवन कुँददै

व्यस्त सहर हो, पूर्वको उर्लाबारी। बजारको बीचमा रहेको एउटा तीनतले घरको दोस्रो तल्लामा छ, मन्जुल संग्राहलय। स्थानीय प्रशासनमा दर्ता गरिएको प्रमाणपत्र झुन्डिएको छ, भित्तामा। साँघुरो कोठामा ढुंगामा कुँदिएका साना–मझौला गरी दुई सयभन्दा बढी मूर्ति छन्। कति मूर्ति त धुलोले छोपिसकेको छ। संग्रहालय झट्ट हेर्दा संग्रहालयजस्तो लाग्दैन, सहरको डेराजस्तो लाग्छ। त्यही कोठामा भेटिन्छन्- मूर्तिकार मन्जुल बराइली अर्थात् मन्जुल मितेरी।मन्जुल बराइली उनको नागरिकताको नाम हो। किन हो कुन्नि! उनलाई फरक नाम चाहियो, थरलाई मितेरीले रिप्लेस दिए। र, बने उनी– मन्जुल मितेरी। मिठो नाम रोजे— कुनै कवि, कलाकारको जस्तो लाग्ने। उनै ३४ वर्षे मितेरीले भर्खरै काठमान्डौंमा राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ थापे, ५० हजारको थैलीसहित। 'यत्ति चाँडै पुस्कार पाऊँला भनेर सोचेकै थिइँन,' उनी सरप्राइजमा मिलेको खुसी सुनाउँछन्, 'यो मेरो कला र पसिनाको सम्मान हो भन्ने ठानेको छु।'

एक वर्ष भयो, मितेरीले हातैले कुँदेर बनाएका एक हजार मूर्ति सरकारलाई 'उपहार' दिने घोषणा गरेको। सुन्दा निकै सुन्दर लाग्ने कुरा— ती हजार मूर्ति विश्वप्रसिद्ध व्यक्तिहरूका हुनेछन्। वर्ष दिनमा उनले करिब डेढ सय मूर्ति तयार पारेका छन्। अतिरिक्त समय निकालेर उनी हजारभित्रका एक–एक मूर्ति थप्दै जान्छन्। 'जीवन चलाउनुपर्र्छ, त्यसका लागि ढुंगासँगै खेल्नुछ,' उनी सुनाउँछन्, 'यसमा मात्रै लागेको भए यति बेलासम्म थुप्रै मूर्ति बनिसक्थे।'

मूर्तिकला मन्जुलको पेसा हो। यसैबाट उनी घर चलाउँछन्, जीवन चलाउँछन्। बालबच्चा पढाउँछन्। मोरङको ग्रामीण भेग टाँडी गाविसमा उनको स्थायी घर छ, उर्लाबारीमा डेरा। गाउँकै मिक्लुक खोलाबाट ढुंगा ल्याउँछन्। स्थानीयसँग खोला किनेका रहेछन्, ढुंगा प्रयोग गर्नेगरी। उनको गाउँको घरलाई सानोतिनो संग्रहालय भन्न सुहाउँछ। घरभरि मूर्ति र मूर्ति बनाउन ल्याएका ढुंगा। धेरैजसो मूर्ति घरमै बन्छन्, घरबाटै बिक्री हुन्छ।

१२ वर्षको हुँदा मन्जुलले पाठ्यक्रममा चर्चित कलाकार अरनिकोको जीवनी पढे। त्यस बेलादेखि नै उनलाई मूर्तिकार, कलाकार हुने रहरले लखेट्न थाल्यो। त्यहीँबाट सुरु भयो उनको ढुंगासँग खेल्ने सिलसिला।

बुबाले सकीनसकी खोलाबाट ढुंगा बोकेर ल्याइदिनुहुन्थ्यो। काममा सघाउनुहुन्थ्यो। ढुंगा खिप्दै गर्दा कहिलेकाहीँ ढुंगा फुट्थे, हराउँथे, उनलाई बडो पीडा हुन्थ्यो। 'मूर्ति कुँद्दै गरेको ढुंगा हराउँदा दिनभरि खोजिरहन्थेँ,' उनी बाल्यकाल सम्भि्कन्छन्, 'कति दिनसम्म रुन्थेँ, भोकै बस्थेँ।'

मन्जुल २०४६ सालको जनआन्दोलनबारे जानकार छन्। त्यसको राप र ताप उनलाई थाहा छ। त्यस बेला उनले थुप्रै पुस्तक पढे। त्यहीँबाट प्रेरित भए। उनको मनमा नयाँ कुरा घुम्यो— विश्वप्रसिद्ध व्यक्तिहरूको मूर्ति कुँद्ने र संग्रहालय बनाउने। त्यसलाई उनले सपनै ठाने। र, जतन गर्दै आए। अहिले उनी त्यही सपना पूरा गर्ने दौडमा छन्।

औसतमा एउटा मूर्ति बनाउन उनलाई पाँच/छ दिन लाग्छ। खर्चका हिसाबले पहिलाभन्दा अहिले महँगो छ। १० हजार आसपासमा एउटा मूर्ति बन्छ। मूर्तिको साइजले खर्चमा फरक पार्छ। तयारी मूर्ति बेच्दा उनलाई राम्रै आम्दानी हुन्छ। त्यस्ता मूर्ति १५/२० हजार देखि आठ–दस लाखसम्ममा बेचेका छन् उनले। पहिलोपटक उनले गाउँमै तीन हजारमा मूर्ति बेचेको सम्झना छ। 'कला हो, मेरो मनले चाहेको काम पनि हो,' उनी भन्छन्, 'आम्दानीका हिसाबले पनि म सन्तुष्ट छु।'

मन्जुलले ढुंगा कुँद्न थालेको १६ वर्ष भयो। तैपनि, उनलाई हतारो छ। मागअनुसार उनले अन्यत्र गएर पनि मूर्ति बनाइदिएका छन्। प्रायः घरमै बसेर काम गर्छन्। नेपालमा तेस्रो ठूलो मूर्ति बनाउनेमा उनको नाम छ। पाँच महिना लगाएर यौटै ढुंगाबाट १० फिटको मूर्ति तयार पारे उनले। त्यसबाट १० लाख रुपैयाँ लिए।

कौशिला राई, उनकी श्रीमती। उनीबाट मन्जुलले मनग्गे साथ पाएका छन्। मन्जुलको हजार मूर्ति बनाउने सपना पूरा गर्न कौशिलालाई पनि उत्तिकै हतार छ। आमाबुबाको सहयोग उनका लागि ठूलो भरोसा हो। 'मैले परिवारको साथ पाएको थिइनँ भने यो सब सम्भव थिएन,' उनी भन्छन्, 'मेरो यो उपलब्धिमा मेरो परिवारको ठूलो तपस्या छ।'

ढुंगामा अनेकौं आकृति उतार्ने यी मूर्तिकार कुनै बेलाका उसु खेलाडी पनि हुन्। राष्ट्रिय खेलाडी हुन पाएनन्, कथाले अर्कै मोड लियो। त्यसो त उनी गीतकार, कथाकार पनि हुन्। आफैं गीत लेख्छन्, गाउँछन् र संगीत पनि आफैं भर्छन्। उनका केही गीत रेकर्डिङ हुने क्रममा छन्। कथाको त उनको किताबै छ।

स्थानीयस्तरमा मन्जुललाई साथीभाइले मनग्गे सहयोग गरेका छन्। संघ–संस्थाले साथ दिएका छन्। उर्लाबारी नगरपालिकाले उनको हजार मूर्ति अभियानका लागि सहयोग गर्ने वचन दिएको छ। तर, त्यो उनका लागि अपुग छ। उनको यो सपना सपना पूरा गर्न आर्थिक हिसाबले मोटो रकम चाहिने उनी बताउँछन्।

मन्जुलको सरकारसँग एउटा अपेक्षा छ— उनले सरकारलाई उपहारस्वरूप दिन बनाउँदै गरेका मूर्तिको व्यवस्थापन र अरू आवश्यक आर्थिक स्रोतको जोहो सरकारले गरिदेओस् । 'बनाएका मूर्तिको जतन छैन, राख्ने ठाउँ छैन,' मन्जुल भन्छन्, 'बनाएका मूर्तिको संरक्षण र अरू मूर्तिका लागि आवश्यक खर्चको व्यवस्था सरकारले गरिदिए हुन्थ्यो।'

प्रकाशित: २२ श्रावण २०७२ २२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App