सांस्कृतिक संग्रहालय नेपालले गरेको प्रदर्शनीमा भण्डारीका युवा अवस्थादेखि मृत्युसम्मका विभिन्न ३ सय २५ वटा फोटो राखिएका छन्। भण्डारीसँग जोडिएका कम्युनिस्ट आन्दोलन झल्काउने ऐतिहासिक, राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक र पर्यटकीय महत्वका फोटोहरु पनि प्रदर्शनीमा समावेश छन्।
प्रदर्शनी संयोजक क्षितिजअरुण श्रेष्ठले मदन भण्डारीका विचारको सान्दर्भिकता आज पनि उस्तै रहेकोले तिनलाई फोटोका माध्यमबाट अभिव्यक्त गरिएको जानकारी गराए। '२०४६ सालमा उहाँले उठाएका २७ बु"दा अहिलेको अन्तरिम संविधानमा हुबहु उल्लेख छ। हामीले विभिन्न शुभचिन्तकहरुको सहयोगबाट भेट्टाएसम्मका फोटोहरुलाई प्रदर्शनीमा सहभागी गराएका छौं। नयाँ पुस्ताहरुमाझ ऐतिहासिक व्यक्तित्वबारे जानकारी गराउन पनि यस्तो खाले प्रदर्शनी आवश्यक छ,' उनले भने। कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिक बाटोमा ल्याउन भण्डारीले पुर्या एको योगदानको कदर गर्नु पनि प्रदर्शनीको उद्देश्य रहेको उनले बताए।
प्रदर्शनीमा भण्डारीका भाषण समावेश अडियोका साथै उनीमाथि तयार भएका गीत र पुस्तकसमेत राखिएका छन्। अधिकांश फोटोमा कोट प्यान्ट र भादगाउँले टोपीमा देखिएका भण्डारीका नेपाल र चीनको मैत्रीसम्बन्ध झल्काउने फोटोहरु पनि अटाइएको छ।
त्यस्तै मनमोहन अधिकारी, जीवराज आश्रित, माधवकुमार नेपाल, गणेशमान सिंहदेखि कुटनीतिक भ्रमणका फोटोहरु पनि हेर्न पाइन्छ। त्यसबाहेक पारिवारिक फोटोहरुमा उनको साधारण व्यक्तित्व पनि अवलोकन गर्न पाइन्छ। अधिकांश फोटो २०३० साल वरपर केन्द्रित रहेका छन्। कम्युनिस्ट आन्दोलनका बेला भूमिगत हुँदाका फोटोहरु समेत प्रदर्शनीमा छन्।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई २०४८ सालको आम चुनावमा हराएर राष्ट्रिय राजनीतिमा चर्चित बनेका भण्डारीको चितवनको दासढुंगामा २०५० साल जेठ ३ मा सवारी दुर्घटनामा निधन भएको थियो।
फोटो प्रदर्शनी केही सातापछि राजधानीबाहिरका सहरमा समेत लगिने आयोजकले जनाएको छ। 'हामीले पूर्वदेखि पश्चिमका शहरहरुमा फोटो प्रदर्शनी गर्ने तयारी गरिरहेका छौं,' आयोजक क्षितिजअरुण श्रेष्ठले भने।
प्रकाशित: ११ श्रावण २०७२ २०:२३ सोमबार





