यहाँ किन्नु भनेको किन्नुमात्रै होइन, एउटा असल काम गर्नु पनि हो।
त्यस्तो पनि हुन्छ र?
हुन्छ।
स्विडेनबाट आएका भिक्टर एसलाई थाहा भयो— यो पसलमा किन्नु भनेको असली र सुन्दर सामान पाउनुमात्रै होइन, 'असाधारण' मान्छेको जीवनलाई सुन्दर तुल्याउनु पनि हो।
उनीहरुले भनिरहेको पसल हो— हेल्पिङ ह्यान्ड्स हेन्डिक्राप्ट।
पोखराको पर्यटकीय केन्द्र लेकसाइडको पनि केन्द्र हो वाराहीचोक। हो, यहीँनिर छ त्यो पसल, जहाँ अलि भिन्न क्षमताका व्यक्तिहरूका सिर्जनशील हातहरू दिनहुँ व्यस्त हुन्छन्, धागो र तानहरूमा। पस्मिना पछ्यौरा, सलदेखि स्वेटर बुन्न निरन्तर खटिने सबै जना भिन्न क्षमताकै हुन्। कुनैका आँखाले देख्दैन त कुनैको कानले सुन्दैन। यहाँ काम गर्न थालेदेखि दृष्टिविहीन गीता लिम्बुको जीविकोपार्जन राम्रैसँग चल्न थालेको छ। जुनु तामाङ हुन् या मकवानपुरका विकासलाई म गरिखान सक्छु भन्ने आत्मविश्वास यही पसलले दिएको छ। चितवनकी मीना र बाटुलेचौर पोखराकी बेलमायाले त आफूलाई आत्मनिर्भर बनाउँदै बन्दोबस्तीको जीवन बिताउँदै छन्।
मीना, बेलमाया, गीता या जुनु जो होस्, तिनीहरूको जिन्दगीमा सुख छाउँदा उनीहरू आफैंलाई त आनन्द हुने नै भयो, त्यत्तिकै आनन्द र सन्तोष यदि कसैलाई लाग्छ भने त्यो दिनेश थापालाई हो। उनी नै हुन् वाराहीचोकको त्यो पसल हेल्पिङ ह्यान्ड्स हेन्डिक्राफ्टका सञ्चालक। गीता तान बुन्छिन्, धागोहरू झट्कार्छिन् र बेलाबेला मुस्कुराउँछिन्। त्यसले सबैभन्दा बढी पुलकित उनै दिनेशलाई बनाउँछन्। बैनी कस्तो राम्रो हाँसेको भन्दै दिनेश फुर्क्याउँछन्। गीता के कम! जवाफ फर्काउँछिन्, 'मलाई के कमी छ र? खुसी छु। हाँस्छु।' गीताजस्तो तानमा काम गर्न उद्योगमा ३२ जना छन्। तीमध्ये २१ जना बहिरा हुन्। तीन जना दृष्टिविहीन र केही दोभासेहरू। उनीहरू महिनाको कम्तीमा पनि साढे नौ हजारभन्दा बढी कमाउँछन्। तलबबाहेक हरेक पिसमा इन्सेन्टिभ हुन्छ। ३० देखि सय रुपैयाँको इन्सेन्टिभ डेढ गुनाले बढ्दै जान्छ। खाने र बस्ने कुरामा मात्रै होइन, स्वास्थ्योपचारको पनि आफूले फिक्कर लिनुपर्दैन, दिनेशले नै जिम्मा लिएका जो छन्।
...
दिनेश थापाको घर काठमाडौं गोकर्ण हो। 'एक माना तेलले पुर्यायइपुर्याेई महिना कटाउनुपर्थ्याे,' निम्न आर्थिक अवस्थाको थापा परिवारमा उनी जन्मिएका हुन्, '१४ वर्षको पुग्नासाथै कमाइ गर्न नलागी सुख भएन।' उनले घरका भान्छा, ट्वाइलेट र बाथरुममा धारा जडान गर्ने विधि अर्थात् प्लम्बिङ सिके। पहिलो कमाइ थियो— २१ सय। 'सय रुपैयाँमा आफूलाई पान्डा जुत्ता र आमालाई फरिया किनेको थिएँ,' पहिलो कमाइ कति थियो र त्यो केमा खर्च भएको थियो भन्ने सम्झना मेटिन्न भन्ने कुरा दिनेशमा पनि लागू छ।
प्लम्बिङमा काम त पाउँदै गएका थिए। तर मन रमाएन। 'ठेक्का लिँदा नौ हजार भनेर कबोल गर्योन, दिने बेलामा ४५ सयमात्रै दिने,' ग्राहकप्रति दिनेशको गुनासो थियो। काका बेकरीमा सेफ थिए। उनैले भतिज दिनेशलाई काठमाडौं बाँसबारीको एउटा बेकरीमा काम लगाइदिए। त्यहाँ दिनेशको काम हुन्थ्यो— पिठो मुछ्ने। मान्छे अक्कली थिए। पिठो मुछ्दामुछ्दै कुकिज र कोसर्न अनि सिनामन रोल बनाउन जान्ने भइहाले। एक दिन एउटा अप्ठेरोले मुछ्यो उनलाई। ज्वरो आउँदा पनि छुट्टी पाएनन्। अनि जागिरबाटै छुट्टी लिए। 'काका सांग्रिला होटलमा बेकरी सेफ बनेर जानुभयो,' दिनेशको कथाले पनि अर्काे मोड लियो, 'मलाई विरक्त लागिराथ्यो, काकाले कुरिनटारको रिभरसाइड होटलमा काम गर्न जा भन्नुभयो।' उनलाई जान मन थिएन। म ७० रुपैयाँमा भुइँ पुछेर आएको हुँ, तँ सात हजार रुपैयाँमा जान्न भन्छस् भन्ने तर्कका अगाडि दिनेशको कुनै वितर्क त थिएन। तर अटेरी नै गरे। 'बबरमहलको रिभिजिटेडको सेज क्यारोलिन रेस्टुरेन्टमा जान पाए पो,' उनको सपना अर्कै थियो, 'त्यहाँ काम गर्न पाए जहाँ पनि बिकिन्छ, सबथोक सिकिन्छ।' बालहठका अगाडि काकाको जोर चलेन। छ महिनापछि त्यहाँको एक जना कुकलाई भनेर कुकको सबैभन्दा सुरुवाती पद 'थर्डकपी' को जागिरमा झुन्ड्याइदिए।
काम पाउन जति पापड बेल्नुपरेको थियो, त्योभन्दा दिनेशमाथि रिभिजिटेडमा पेलाइ थियो। भाँडा माझ्ने बढुवा भएर थर्डकपी हुने ताकमा रैछ। पुरानो स्टाफ भएका नाताले सेफ पनि उसैलाई च्याप्थ्यो। दुइटैको आँखाको तारो भए दिनेश। 'जति पेले पनि आफूलाई त सिक्नु थियो, सेज क्योरोलिन भन्ने फ्रान्सेली साहुनीले सेफलाई सिकाएका कुरा लुकीचोरी सिक्थेँ,' उकुसमुकुस भएर पनि रिभिजिटेडमा उनी रहनुको उद्देश्य थियो। लुकीचोरी गरेर सिकेको कुरा मान्छेको दिमागमा कागजमा मसीको कलमले लेखेको जस्तो होइन, धातुमा कोरिएको अक्षरजस्तो गडेर बस्थ्यो। एक दिन त्यही चोरीको सिप काम लाग्यो। क्रिसमसका दिन उनले पाहुनाहरूलाई एउटा परिकार पस्के गज्जबको टेस्ट बनाएर। जसले पाहुनाको मात्रै होइन साहुनी सेज क्यारोलिनको पनि मन जित्यो। कल्पनै नगरेको रकम टिप्समा दिइन् उनले। तलब बढ्यो। सञ्चयकोष जम्मा हुने भयो। स्वास्थ्योपचार, बिमा आदिआदि सुविधा थपिए। त्यसको केही समयपछि उनीहरूले पोखरामा रेस्टुरेन्ट खोल्ने भए। लेकसाइडको वाराहीचोकमा खुल्यो पोखराकै महँगो रेस्टुरेन्ट बिस्ट्रो क्यारोलिन, जहाँ १९ वर्षका दिनेश थापा महिनाको १४ हजार तलब हुने गरी सन् १९९९ मा पोखरा आएका थिए।
...
फ्रान्सेली रेस्टुरेन्टमा सेफ बनेर आएको केही वर्षपछि त्यही वाराहीचोकमा दिनेश थापाको आफ्नै रेस्टुरेन्ट थियो। निकै चल्थ्यो। खाने र सुत्ने फुर्सद नहुने गरी बेफुर्सद बन्नुपर्थ्यो। तर त्यो बेचे। रेस्टुरेन्ट चलाएर पैसा कमाइरहने भूत जिन्दगीकै सबैभन्दा ठूलो विपत्तले उतारिदियो। एक दिन त्यही रेस्टुरेन्टको बाहिरपट्टि टोलाउँदा टोलाउँदै उनको नजरमा एक हुल बालक र किशोरहरू ठोक्किन आइपुगे। उनीहरू आपसमा कलाकल गर्दै थिए। अरूभन्दा एउटाले चाहिँ अलि धेरै मुक्का खाइरहेको थियो। सडक बालकहरू झगडा गरेर एउटालाई रगताम्य बनाइसकेको दृश्यले दिनेश हेरिइरहन सकेनन्। गएर छुट्याए। बढी चुटाइ खाने बालक पनि छुट्टिएर गयो। 'कुन्नि के भयो, माया लागेर आयो,' जिन्दगीको त्यो अविस्मरणीय घटना दिनेशको दिमागमा फोटै खिचिएर बसेको छ, 'बोलाएँ, उसले हेरेन। एक जना भाइलाई बोलाउन पठाएँ, फेरि पनि बोलेन। पछाडिबाट कुममा हात राखेपछि मात्रै उसले चाल पायो।' वास्तवमा त्यो बालक कान सुन्दैनथ्यो। दिनेशलले बालकलाई त्यो दिन खानेकुरा दिए र पठाए। त्यसको ठिक एक सातापछि लेकसाइडबाट पामे जाँदै गर्दा दिनेशको नजर फेवाताल किनारको फेरि अर्काे हुलले खिच्यो। त्यो हुलमा फेरि उही बालक देखियो। पहिलोपटक कुटाइ खाँदै गर्दा देखिएको बच्चो अर्काेपालि देख्दा मृत्युको काखमा पुगिसकेको थियो। मान्छेहरू घेरिएका थिए। मान्छेहरूको ओठबाट चुँचुँको आवाज आइरहेको थियो। आडैमा एउटा कुकुर झोक्राइरहेको थियो, जुन सधैं त्यही बालकको अघिपछि हिँड्थ्यो।
त्यो घटनापछि दिनेशले सोचे, 'मैले त्यो कान नसुन्ने बच्चोलाई कुनै काम दिन सकेको भए, मागेर खाने हुँदैनथ्यो होला। माग्दामाग्दै विरक्तिएर फेवातालमा डुबेर मर्दैनथ्यो होला।' ऊ मरिहाल्यो। ऊजस्ता अरू पनि होलान् नि भनेर खोजतलास सुरु गरे। गण्डकी बहिरा संघमा गए। बहिराहरूलाई रोजगार बनाउने इच्छा देखाए। त्यहाँबाट छ जनालाई ल्याएर स्पाको तालिम दिए। सन् २०११ मा हेल्पिङ ह्यान्ड्स स्पा सुरु भयो। अनि १५ दिनपछि सुरु भयो हेल्पिङ ह्यान्डस् हेन्डिक्राफ्ट।
जसरी यो हेल्पिङ ह्यान्ड्स हस्तकला उद्योग चलाएर दृष्टिविहीन र बहिरालाई रोजगार दिनुका पछाडि एउटा कथा छ। त्यसरी नै उनले चल्दाचल्दैको नाफाको रेस्टुरेन्ट बिक्री गर्नुको पनि अर्काे कथा छ। जुन रेस्टुरेन्ट बिक्री गर्न आउँदा पोखरामा त्यो बहिरो बालक भेटिएको थियो र दिनेश थापाको जिन्दगीका पाइलाहरू फेरि अर्काे राजमार्गतिर सोझिएका थिए। अर्काे त्यो कथा उनकी जीवनसाथीको हो। त्यो कथा जीवनसाथीले छाडेर जाँदाको कथा हो। कथा हो दिनेशकी जीवनसाथी मायाले बेहोर्नुपरेको असामयिक निधनको।
दाम्पत्य जीवन अत्यन्त सुन्दर थियो। दुवै जना एकापसमा अति खुसी थिए। र, छोरीको नाम पनि खुसी नै राखेका थिए। बच्चा भएको एक वर्षमात्रै भएको थियो। एक दिन अचानक मायालाई खाना रुचि नभएजस्तो भयो। सामान्य तवरले नै उनीहरू जँचाउन गए। अस्पतालले रगत जाँच्नुपर्छ भन्यो। पाखुरा खोप्यो, रगत निकाल्यो। त्यो खोपेको ठाउँमा १० दिनपछि ठूलो खाल्डो देखियो। अस्पतालले एन्डिबायोटिक चलायो। त्यसले पनि काम गरेन। एक दिन त सुई लगाएर आउँदा हिँड्नै सकिनन्। अस्पताल फर्केर अरू डोज थपे। त्यसको तेस्रो दिन त सघन उपचार कक्ष (आइसियु) मै भर्ना गर्नुपर्यो्। त्यहाँ पनि सुधार भएन। भेन्टिलेटरै लगाइयो। अस्पतालबाट छोरी लिन घर जान मोटरसाइकल स्टार्ट गर्दै थिए दिनेश। स्टार्ट हुनै सकेन। सम्झे, 'छोरीलाई पो केही भयो कि!' तर पछि घर पुगेर छोरीसहित अस्पताल आए। त्यति बेलासम्म मायाले दुवै बाबुछोरी दुवैलाई मात्रै होइन संसारकै माया मारिसकेकी थिइन्। त्यसरी एउटा सामान्य स्वास्थ्य समस्याबाट सुरु भएको दिनले दिनेशको जिन्दगीलाई नै असामान्य बनाइदिएको थियो।
...
हेल्पिङ ह्यान्ड्स स्पामा अहिले नौ जना बहिरा छन्, र एउटा शिक्षक पनि। स्पामा जो कोही ग्राहकलाई स्वागत हुन्न। त्यहाँ काम गर्ने बहिराको संवेदनशीलता बुझ्ने र उनीहरूलाई सम्मान गर्नेहरूलाई मात्रै सेवाको अवसर मिल्छ। प्रायशः नेपाली र भारतीयहरूले भन्दा युरोपेलीहरू यसबारे बुझक्की लाग्छ, दिनेशलाई। 'उनीहरू प्रेरित गर्छन्,' सेवाग्राहीबारे दिनेशको अनुभव बोल्छ, 'पस्मिना पसलमा पनि त्यस्तै ग्राहक आउँदा बागर््ाेनिङ गर्दैनन्।' निनी बी दिनेशले अहिले भनेजस्तै एक क्रेता हुन्।
दृष्टिविहीन बहिरालाई रोजगारी दिने मान्छेको मन करुणाले भरिएको होला भनेर सहयोगको हात पसार्न धेरै आउँछन्। दिनेश माग्नेलाई नदिने त होइनन्। दिने तरिका भने भिन्न छ। 'जसलाई जे चाहिएको हो, त्यही दिने तर पैसा नबाँड्ने,' उनको सिद्धान्त र व्यवहारले भन्छ। त्यसैले दृष्टिविहीनलाई रोजगारीका अलावा सेतोछडी दिने उनको अभियानै छ। अहिलेसम्म चार हजार छडी निःशुल्क बाँडिसके। किताब चाहियो भनेर आउनेलाई किनेरै दिन्छन्। तर त्यो किन्ने पैसा दिँदैनन्। एकपटक एउटी महिलाले औषधि किन्न पाइनँ भनिन्। उनले सिधै अस्पताल पुगेर डक्टरलाई समेत भेटीवरी चाहिने औषधि किनिदिए।
वैशाख १२ गते भुइँचालो गएपछि दिनेश औधी व्यस्त भए। पसलमा सहयोगको आह्वान गरेको ब्यानर के राखेका थिए, त्यो बाटो भएर हिँडेका पर्यटकको ध्यान खिचिहाल्यो। स्वयंसेवक बनेर भूकम्पपीडितलाई सहयोग गर्न र राहत संकलन गर्न पर्यटक आए। ती पर्यटक आफ्नो फेसबुकबाट सहयोगको आह्वान गर्थे र पैसा बटुल्थे। त्यस्तो पैसा दिनेशले लिएनन्। उनीहरू स्वयंलाई नै यो यो सामान किनेर ल्याऊ भने। अनि आफू र उनीहरूसँगै गएर लमजुङ र धादिङ पुगेर बाँडे। यस हेल्पिङ ह्यान्डस् प्रालिको आह्वानमा २० भन्दा बढी विदेशी र केही नेपाली स्वयंसेवीले होस्टेमा हैंसे गरे। पोल्यान्डबाट पदयात्राका लागि आएका पिटर ह्याचर आफ्नी प्रेमिकासहित भूकम्पपीडितको सहयोगका लागि खटिए, त्यो पनि दिनेशकै आह्वानमा। 'पहिला त केही सामानका लागिमात्रै सहयोग जुटाएका थियौं,' उनले भने, 'दिनेशको काम गर्ने पारदर्शी शैली मनपर्योा, पछि घर बनाउन पनि खटियौं।' उनीहरूले धादिङ, लमजुङमा गरी पाँच सय ७० वटा घर बनाए। स्टिलका टिनका ती घर अस्थायी होइन, स्थायी प्रकृतिकै छन्। टिमले दुई वटा स्कुल पनि बनाउन भ्यायो। दिनेश भन्छन्, 'अझै तीन वटा स्कुल बनाउने योजना छ।'
एकताका नेपालको पस्मिनाको बजार उत्पातै थियो। बीचमा मिसावटलगायत सिकायत आउन थालेपछि सुक्यो। दिनेशको अहिलेको अनुभव भने सुन्दर छ। गुणस्तरमा सम्झौता गर्दिनँ भन्ने उनी ३४ सय देखि २७ हजार रुपैयाँसम्मको कच्चापदार्थ किन्छन्। अनि एउटा पस्मिना सल छ सय ५० देखि १२ हजार रुपैयाँसम्ममा बिक्री गर्छन्। हाते तानबाट एक दिनमा उत्पादन हुने भनेको पाँच–सात वटामात्रै हो। विद्युतीय तानले पनि २०–२५ वटै बनाउँछ। दिनमा उनको उद्योगको उत्पादन सवा सय पिसजति हुन्छ। जर्मनको एउटा संस्थाले युरोपको बजारमा बेच्छ पोखरामा उत्पादन हुने हेल्पिङ ह्यान्ड्स हेन्डिक्राफ्टको पस्मिना। बेलायतमा पनि त्यस्तै अर्को बिक्रेता छ। दिनेशलाई बजारको कुनै समस्या छैन। बजारसँग पनि सन्तुष्ट छन्। सबैभन्दा धेरै त आफूले दृष्टिविहीन र बहिरालाई आत्मनिर्भर बनाउन सकेकोमा सन्तुष्ट छन्।
प्रकाशित: ८ श्रावण २०७२ २२:३२ शुक्रबार





