२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

हस्तलिखित इतिहास

एउटा गाउँले मान्छे राजदूत कसरी हुन्छ?
संयुक्त राष्ट्रसंघका लागि पूर्व–राजदूत डा. जयराज आचार्यको 'मेरो डायरी २०२५' पढ्दा मेरो मनमा यही प्रश्न आयो। पढ्दै जाँदा अनुभूतिका धेरै लहर उठे।

धेरैले डायरी लेख्दा हुन्, कति त्यतिकै गुमनाम हुन्छन् त कतिपय डायरीले धेरै चर्चा बटुलेका पनि छन्। जस्तोः बिपी कोइराला (सन् १९१४–१९८२) को 'जेल जर्नल' निकै प्रसिद्ध छ। नाजीहरूले सोह्र वर्षकै उमेरमा हत्या गरिएकी यहुदी बालिका आएन् फ्र्यांक (सन् १९२९–१९४५) को डायरी अहिले संसारभरि नै स्कुलका विद्यार्थीले पढ्छन्। बेलायती जलसेनाका प्रशासक तथा सांसद स्यामुअल पीप्स (सन् १६३३–१७०३) को डायरी त इङ्लिसमा एमए पढ्नेहरूले कोर्सबुककै रूपमा पढ्छन्।

आचार्यको 'मेरो डायरी २०२५' भने अलि नयाँ किसिमको छ। पूरै डायरी हस्तलिखित रूपमा छापिएकाले पनि यसको विशेष महत्व देखिन्छ। इङ्लिसमा लेखिएको डायरीका केही ठाउँमा नेपाली भाषा पनि प्रयोग गरिएको छ। यस डायरीले आचार्यको रुचिबारे जानकारी दिनुका साथै २०२५ साल ताकाको नेपालका घटनाहरूबारे धेरै ज्ञान दिन्छ। त्यस वर्ष भएका अन्तर्राष्ट्रिय घटनाहरूबारे बुझ्नका लागि डायरी उपयोगी छ।

राजा महेन्द्रलाई हृदयाघात भएको, आठ वर्षको जेलपछि बिपी कोइराला, गणेशमान सिंह, देवानसिंह राई आदि शीर्ष कांग्रेस नेताहरूलाई रिहा गरिएको, राजा महेन्द्र लन्डनमा स्वास्थ्य जाँच गर्न गएको, युवराजाधिराज वीरेन्द्र अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा एक वर्ष पढी संसारका धेरै देशको भ्रमण गर्दै स्वदेश फर्किएको कुरा राष्ट्रिय घटनाहरू अन्तर्गत समेटिएका छन्।

पूर्वी नेपालमा गएको बाढी–पहिरो, काठमाडौंको राष्ट्रिय नाचघरभित्र पानी पसेको र ठमेलमा घरहरू डुबेको, लाकु बेँसीमा पहिरो गई बूढीगण्डकी थुनिएको जस्ता विवरण त तपसिलका कुरा भए। तराईमा आगलागीमा धेरै मानिसको मृत्यु, अन्नको नाश, जनकपुरधाममा भूकम्पको झट्काबारे पनि डायरीमा उल्लेख छ। २०२५ भदौ १९ गते इरानमा भूकम्प गई २५ हजार मानिस मारिएको र एक लाख मानिस घरबारविहीन भएको खबर गोरखापत्रमा छापिएको रहेछ। असोज १ गते इरानमा फेरि भूकम्प गएको तर मान्छेको मृत्यु नभएको खबर पनि टिपिएको छ। त्यसताका आचार्य गोरखापत्र नियमित पढ्दा रहेछन्। उनले त्यो वर्ष सरकारले प्रस्तुत गरेको बजेट ६६ करोड ७३ लाख ७५ हजार पनि टिपेका छन्। अहिलेको बजेटसित त्यसको तुलना गर्दा अचम्म लाग्छ।

अन्तर्राष्ट्रिय घटनाहरूबारे भारतसितको व्यापार र पारवहन, कोसी–गण्डक सम्झौता, सुस्ता क्षेत्रको विवाद र तत्कालीन भारतीय राष्ट्रपति जाकिर हुसेनको नेपाल भ्रमणका सन्दर्भ डायरीमा पढ्न पाइन्छ। अमेरिकी राष्ट्रपति केनेडीको हत्या, उनका भाइ सेनेटर रबर्ट केनेडीको हत्या, अश्वेत नेता मार्टिन लुथर किङको हत्या र राष्ट्रपति आइजनहावरको निधनबारे पनि आचार्यले उल्लेख गरेका छन्। राष्ट्रपति निक्सनको चुनावको कुरा पनि छ। रुसको सोयुज ४ र ५ को अन्तरिक्ष उडान, अमेरिकाको एपोलो ७ र ८ को उडानबारे छुटाएका छैनन्। सबैभन्दा बढी त भियतनाम युद्धको चर्चा छ, जसमा ५४ हजार अमेरिकी सैनिक मारिएका थिए।

चीन–नेपाल सम्बन्धको चर्चा पनि डायरीमा छ। २०२४ असारमा भृकुटीमण्डपमा आयोजित प्रदर्शनीमा चिनियाँ स्टल तोडफोड भएको र माओको फोटो च्यातिएको सम्झना गर्दै लेखकले २०२५ सालमा तत्कालीन परराष्ट्र मन्त्री कीर्तिनिधि विष्ट र कूटनीतिज्ञ परराष्ट्र सचिव प्रा. यदुनाथ खनालको चीन भ्रमणको खबर गोरखापत्रबाट टिपेका छन्। उनीहरूले माओ जेदुङ, चाउ एनलाई, चेन यी आदि चिनिया नेतासित भेटेको खबर टिपिएको छ। चीनसित सम्बन्ध सु„िएको र चीनले काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्ग बनाउँदै गरेको सन्दर्भ पनि उनले उल्लेख गरेका छन्। चिनियाँ सहयोगमा काठमाडौं–भक्तपुर–सल्लाघारी सडक निर्माणको कुरा पनि छ।

त्यस वर्ष नेपाल संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अस्थायी सदस्य निर्वाचित भएको तर अमेरिकाको विरोधका कारण जनवादी गणतन्त्र चीनले संयुक्त राष्ट्रसंघको साधारण सदस्यतासमेत नपाएको सन्दर्भले धेरै इतिहास बुझ्नका लागि सहयोग पुर्यारउँछ। त्यसै वर्ष रुसले चेकोस्लोभाकियामा सैनिक आक्रमण गरी त्यहाँको उदारीकरणको प्रक्रियालाई रोक्न चाहेकोमा नेपालको आपत्ति रहेको कुरा डायरीमा छ। राष्ट्रिय पञ्चायतमा परराष्ट्र मन्त्रीले वक्तव्य दिएको र रुसी राजदूत जुभेन्कोले उनलाई भेटी स्पष्टीकरण दिएको कुरा पनि छ। विडम्बना, त्यत्रो अन्तर्राष्ट्रि्रय चासोको विषयलाई रुसले भिटो लगाएर संयुक्त राष्ट्रसंघमा छलफलको एजेन्डामै राख्न नदिएको खबर पनि आचार्यले टिपेका छन्। सोभियत संघ कम्युनिस्ट तानाशाही र भ्रष्टाचारको बोझमुनि थिचिएर भविष्यमा एक दिन ढल्नेछ भनेर उनले २०२५ साउन १५ गते नै भविष्यवाणी गरेझैं लेखेका छन्। आखिर २०४८ पुस ११ गते (सन् १९९१ डिसेम्बर २६) का दिन सोभियत संघ विधिवत् विघटन पनि भयो।

आचार्यलाई राजनीति र कूटनीतिमा निकै रुचि रहेछ भन्ने यस डायरीबाट थाहा हुन्छ। त्यसैको परिणाम होला— उनी पछि गएर संयुक्त राष्ट्रसंघमा राजदूत पनि भए।

त्यसै वर्ष मंसिर ३ गते तनहुँको सदरमुकाम बन्दिपुरबाट दमौली सार्दा भएको झडपमा निर्मल भन्ने एक जना युवक मारिएको कुरा गोरखापत्रबाट टिपिएको छ। यस डायरीमा नेपालको इतिहास, धर्म, संस्कृति, परम्परा, साहित्य र प्रकृतिको प्रेम झल्किन्छ। डायरीका धेरै पानामा उनले नै कोरेका व्यक्तिचित्र र दृश्यचित्रहरू रहेकाले चित्रकलामा उनको सोखबारे थाहा हुन्छ।

डायरी लेख्दा उनी संस्कृत उत्तरमध्यमा (११ कक्षा) मा पढ्थे। ठूलो मेहनतसाथ लेखेको यो डायरी अहिलेका किशोर–किशोरीहरूका लागि प्रेरणादायक हुन सक्छ। बिए, एमए पढ्नेसमेत सबैको रुचिको विषय हुन सक्छ।

यस्तै अनुभवपछि मैले उनलाई सोधेँ, 'यो डायरी लेख्न तपाईंलाई कसले भन्यो?'

उनले भने, 'मेरा शिक्षकले।'

'किन?'

'इङ्लिस राम्रो बनाउन।'

'अनि यो डायरी लेखेर तपाईंले के पाउनुभयो?'

'अमेरिका गई पिएचडी गरेँ। इङ्लिसको प्रोफेसर भएँ। राजदूत भएँ। राष्ट्रपति नेल्सन मन्डेला, बिल क्लिन्टन र बुशलगायत संसारका धेरै ठूला मानिसहरूलाई भेटेँ,' उनले गर्वसाथ भने।

यो सुनेपछि मेरो अनुभूतिको ज्वारभाटा अझै उर्लियो—यस्तै परिश्रमी र जिज्ञासु किशोर पछि गएर राजदूत हुने रहेछन्।

प्रकाशित: ८ श्रावण २०७२ २२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App