अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा आठौं ओप्स खेलकुद महोत्सवको दोस्रो चरण बिहीबारदेखि हुने भएको छ।
दोस्रो चरणमा विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर फुटसल, भलिबल, एथलेटिक्स र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुनेछ।
भलिबलमा छात्रमा प्रतिस्पर्धा हुनेछ भने बाँकीमा छात्रछात्राको सहभागिता रहनेछ। १२ टिमको सहभागिता रहने छात्रा फुटसल सृजना ज्ञानसागर माविमा खेलाइनेछ। छात्र फुटसल र छात्र भलिबल सेक्रेड हार्ट माविमा हुनेछ। छात्र फुटसलमा १६ र छात्र भलिबल ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। एथलेटिक्स हलचोकस्थित एपिएफमा रंगशालामा हुनेछ। एथलेटिक्समा छात्रछात्रतर्फ समान ९–९ गरी १८ स्पर्धा समावेश छन्। ब्याडमिन्टनमा ६० खेलाडीले भाग लिनेछन्।
खेलकुद महोत्सवअन्तर्गत पहिलो चरणमा टेबल टेनिस, बास्केटबल, जुनियर फुटसल र बुद्धिचालको प्रतिस्पर्धा भएको ओप्सले जनाएको छ। पहिलो चरणमा करिब ७ सय प्रतिस्पर्धी सहभागी भएको अध्यक्ष खड्काले बताए।
प्रतियोगिता संयोजक एवं ओप्सका इसिए विभाग प्रमुख राजेश रायमाझीले विद्यालयबीच सहकार्य, आपसी विश्वास र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउन विभिन्न सदस्य विद्यालयलाई समूहगत खेलकुद समन्वयको जिम्मेवारी प्रदान गरिएको बताए। अध्यक्ष खड्काले विद्यार्थीको चौतर्फी विकासका लागि ओप्सले शिक्षासंगै खेलकुद र अन्य विभिन्न अत्तिरिक्त क्रियाकलापमा विशेष ध्यान दिएको बताए।
ओप्सका सचिव शिवप्रसाद अर्यालले यसै खेलकुद महोत्सवमा सहभागी विद्यालयका खेलाडीले विभिन्न खेलमा राष्ट्रको प्रतिनिधित्व गरिसकेको बताए। महोत्सव पुस २७ गतेसम्म चल्नेछ।
प्रकाशित: २३ पुस २०८२ ०८:३५ बुधबार





