आराध्यदेव भगवान् पशुपतिनाथको आँगन यतिबेला महाशिवरात्रिको भक्तिमय माहोलमा डुबेको छ।
चारैतिर फूलैफूलले दुलहीझैँ सिँगारिएको मन्दिर परिसर, देश-विदेशबाट आएका साधुसन्तको भजन-कीर्तन र लाखौं भक्तजनको उपस्थितिले पशुपति क्षेत्रको माहोल निकै आध्यात्मिक देखिन्छ।
तर, यही धार्मिक उल्लासको आडमा शिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा यतिबेला प्रतिबन्धित लागूऔषध गाँजा र भाङको व्यापार ‘प्रसाद’ को नाममा निर्धक्कसँग भइरहेको छ।
मन्दिरको गेटबाहिर मात्र होइन, प्रहरीको बाक्लो पहरा हुने मन्दिरको मुख्य परिसरभित्रै गाँजा र भाङको खुल्ला बिक्री-वितरण र सेवन भइरहेको छ।
मन्दिर परिसरभित्रै भाङ र गाँजाका विभिन्न ‘भेरिएसन’ हरू बिक्रीमा राखिएका छन्। कतै भाङको लड्डु र बर्फी बनाइएको छ भने कतै भाङ मिसाइएको लस्सी र चिसो पेय पदार्थको व्यापार उत्तिकै छ।

भाङ मात्र होइन, साधुको भेषमा बसेकाहरू र स्थानीय व्यापारीहरूले गाँजाको स-साना पोकाहरू नै बनाएर बेचिरहेका छन्। नेपालमा गाँजा र भाङको व्यापार गैरकानुनी भए पनि शिवरात्रिको दिन पशुपतिमा यसलाई ‘वैध’ जस्तै मानिएको छ।
त्यहाँ व्यापार गरिरहेका एक पसलेलाई हामीले सोध्यौं, ‘यसरी अवैध चिज बेच्दा प्रहरीले समात्दैन ?’ उनले निकै सहजै उत्तर दिए, ‘आजको दिन त छुट छ नि, अरू बेला त कहाँ पाइन्छ र !’

शिवरात्रिको नाममा हुने यो ‘सरकारी छुट’ ले गर्दा पशुपति परिसर यतिबेला लागूऔषधको अखडा जस्तै देखिन्छ।
यस अवैध कारोबारको सबैभन्दा डरलाग्दो पक्ष भनेको यसमा नाबालिकहरूको संलग्नता हो। मन्दिर परिसरमा १४-१५ वर्षका किशोर-किशोरीहरू हात-हातमा गाँजा र भाङका पोका बोकेर ग्राहक खोजिरहेका भेटिन्छन्।
यी पदार्थहरू कहाँबाट आउँछन् भन्ने प्रश्नमा धेरैको एउटै उत्तर थियो, ‘मन्दिर परिसरभित्रैबाट थोक खरिद गरेर ल्याएको।’
यसको प्रत्यक्ष प्रभाव त्यहाँ आएका युवा दर्शनार्थीहरूमा परेको छ। दर्शनका लागि आएका सयौंको सङ्ख्याका युवा युवतीहरू नशाले मात्तिएर परिसरभित्रै लतारिएका देखिन्छन्।
कतिपय नशाको सुरमा होस गुमाएर ढलेका छन् भने कतिपयले मन्दिरको पवित्र प्राङ्गणमै बान्ता गरेर फोहोर बनाएका छन्।
भीडभाड र उच्छृङ्खल गतिविधि बढेसँगै प्रहरीले पनि आफ्नो निगरानीलाई तीव्र पारेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार आइतबार बिहानैदेखि पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १७५ जनालाई नियन्त्रणमा लिइएको छ।
उनका अनुसार पक्राउ पर्नेहरूमा पाकेटमारी गर्ने, अनावश्यक धकेलाधकेल गर्ने र गाँजा सेवन गरी अरूलाई दुःख दिनेहरू रहेका छन्।
एसपी भट्टराईले नेपालको सामाजिक सांस्कृतिक अवस्था र कानुनी प्रावधानबीचको द्वन्द्वबारे पनि चर्चा गरे। शिवरात्रिको समयमा परम्परादेखि नै भाङ मिसाएर खाने वा घोट्टा गर्ने चलन रहेकाले समाजमा यसबारे कताकता ‘सफ्ट कर्नर’ देखिएको उनको विश्लेषण छ।
यद्यपि, कानुनी रूपमा गाँजा र भाङ प्रतिबन्धित रहेकाले प्रहरीले यसको कडाइका साथ नियमन गरिरहेको उनले स्पष्ट पारे।
नागरिक न्युजसँग कुराकानी गर्दै उनले भने, ‘कानुनले जे कुरालाई प्रतिबन्धित भनेको छ, त्यो प्रहरीका लागि अवैध नै हो। हामीसँग नियमन गर्नुको विकल्प छैन।
भारतबाट आउने साधु-सन्त र महन्तहरूले यसको सेवन गर्ने प्रवृत्ति रहे पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले नियन्त्रणमुखी अभियान चलाइरहेको उनको भनाइ छ।
प्रहरीले शिवरात्रिको पूर्वसन्ध्यादेखि नै पशुपति क्षेत्रमा चलाएको विशेष अप्रेसनका क्रममा हालसम्म १२ देखि १४ किलोसम्म गाँजा र अन्य नशालु पदार्थ बरामद गरिसकेको छ।
केही साना उमेरका बालबालिकाहरू समेत यसको बिक्री वितरणमा संलग्न रहेको विषयमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने बताए।
गाँजाका अतिरिक्त अन्य औषधीय लागूऔष समेत भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रो–एक्टिभ रूपमा शङ्कास्पद व्यक्तिहरूलाई होल्ड गर्ने र खानतलासी गर्ने कार्य भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
प्रहरीले मन्दिर दर्शनका लागि आउने भक्तजनहरूलाई महँगा गहना लगाएर नआउन र आफ्नो सामानको सुरक्षामा स्वयं सचेत रहन आग्रह गरेको छ।
भीडभाडको फाइदा उठाउँदै हुने चोरी र उच्छृङ्खल गतिविधिलाई रोक्न सादा पोसाकमा समेत ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै एसपी भट्टराईले सुरक्षामा कुनै सम्झौता नगरिने प्रतिबद्धता जनाए।
पशुपतिनाथको मन्दिर संसारभरका हिन्दुहरूको आस्थाको केन्द्र हो। तर, शिवरात्रिको नाममा गाँजा-भाङ जस्ता नशालु पदार्थको खुल्ला व्यापारले यो आस्थाको जगलाई कमजोर बनाउँदै लगेको छ।
प्रकाशित: ३ फाल्गुन २०८२ २१:४१ आइतबार





