
बाग्लुङ राजमार्गको नयाँपुल हुँदै वीरेठाँटीबाट अघि बढ्दै जाँदा झरी बाक्लिँदै गयो, मोदी खोलातिर हुँदै अघि बढ्दा किम्चेसम्म जाने भनेको बस सेउली बजार कट्न मानेन। हिडाइँ लम्बिने भो, त्यो पनि झरीमा। मनसुनमा रुझ्दै हिँड्नुको मजा बेग्लै। सेउली बजारबाट अलि उकालो हुँदै करिब साढे तीन घन्टामा हरिया डाँडा छिचोल्दै खाना खान घान्द्रुक पुग्यौं।
पहिलो दिनको बास टाढापानी। घान्दुकमै तीन बज्न लागिसकेको थियो खाना खाँदा। यात्रा आधा बाँकी थियो। पहिलो दिन सुन्दर गुरुङ बस्तीमा मिठो खाना खाइयो। बासै बस्ने इच्छा थियो। मनले नमान्दा नमान्दै पाइला चाल्यौं।
साँझ पर्न कस्सिँदै थियो, साथी फटाफट उकालो लागिसकेका थिए। पानी दर्किरहेको थियो। मध्य जंगलको बाटो भएकाले जुकाहरूले सौहार्दता देखाई खुट्टाको पिँडुलादेखि जुत्ताभित्रै छिरेर चुम्बन गरिरहेका थिए। झरीमा जंगलभित्र कतै बसी जुका निकालौं अरू माया पाइएला भन्ने डर, ननिकालाैं जुस पिएसरि आधा मानाजस्तो रगत पिइसक्यो। जुकाबाट जोगिन बाकेको नुन पानीले बगाइसकेको थियो। उपाय केही थिएन। त्यही भएर सकेको 'रक्तदान' गर्ने निधो गरेँ। जुत्ताभित्र जुका सलबलाइरहेको थियो, म भने मोटो शरीर लिएर कृतिको हात समातेर उकालो चढ्दै थिएँ।
जसोतसो टाढापानी पुगियो। पहिलो दिनको यात्रा सकाउँदा लगभग आठ घन्टा हिँड्यौं। यो त गोर्खे पदयात्रा भएछ। किनकि पाँच दिन लाग्ने पोखरा–घान्दुक–घोडेपानी–पोखराको पदयात्रा हामी तीन दिनमै सक्दै थियांै। लामो हिडाइँपछि थकाइ मेटाउने तयारी चल्दै थियो। म भने खुट्टा अनि लगाएको ट्राउजरभरि टाँसिएका जुका फाल्नमै व्यस्त भएँ। केही बेरको रमझमपछि यसो खाटमा पल्टिएको कति बेला आँखा लाग्यो पत्तै पाइएन।
ढपक्कै कुहिरोले ढाकिएका अग्लाअग्ला हरिया पहाड वरिपरि देख्दा मन त्यसै प्रफुल्लित भयो। काठमाडौंको धुलो, धुवाँ अनि कोलाहलमा बाँच्न संघर्ष गरी यताउता बत्तिइरहने शरीरलाई बिहानैको चिसो सिरेटोले स्पर्श गरिदिँदा त अघिल्लो दिनको थकाइ एकै निमेषमै बिर्साइदियो। पर्यटन पुनर्जागरण पदयात्रामा शरीरले पनि पुनर्ताजगी पायो।
तीनदिने यात्राभर कतै पनि मन खिसि्रक्क हुने दृश्यै देखिएन। टाढापानीबाट भने दुई समूह भइयो, एक हुल साथी कार्यव्यस्तताले पोखरा नै फर्किए। हामी ३५ जनाजति भने घोडेपानीतिर लाग्यौं। बाटोको बीचबीचमा भेटिने टि–हाउसले बेलाबेला थकाइ मार्ने अवसर दिइरह्यो। बाटोभरि सुसेली हाल्दै बगिरहेको खोला, साना–ठूला झरना अनि चिरबिर गर्दै यताउता उडिरहेका चराको स्वरले उकालो–ओरालो काटेको पत्तै नहुने। दोस्रो दिन हिँड्नुपर्ने बाटोको दुरी कम भएकाले प्राकृतिक सुन्दरताको आनन्द लिँदै अघि बढ्यौं। संख्यामा धेरै भए पनि हामी पदयात्रामा भने आफ्नो गतिअनुसार हिँडिरह्यांै। हाम्रो जोडीको गति यात्राभर एकनासको रह्यो। सायद एकै ठाउँमा काम गर्ने भएकाले हामी जोडीमात्रै होइन सहकर्मी पनि थियौं। त्यसैले यो अवसर जुरेको थियो।
पदयात्रा झनै रमाइलो भयो दोस्रो दिन। गन्तव्य घोडेपानी थियो, बेलैमा पुगियो। धेरैपछि यतिका हुल मान्छे देखेर होला कुहिरोले ढाकिएको धौलागिरि पनि हाँस्यो। हामीले पनि धौलागिरि हिमालसँगै घोडेपानीवासीको न्यानो आतिथ्य स्वीकार गर्यौं। झम्के साँझमा नाचगानको रमझमसँगै 'सोल्मारी टुच्च' भइहाल्यो। हिँडेको थकान जो मेट्नु थियो।
तेस्रो दिन बिहान चार बजे उठेर उकालो लागियो। पुनहिल पुग्नु थियो ३,२१० मिटर उचाइमा रहेको डाँडामा। यात्राभरकै मनोरम ठाउँ। जहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत नौ हिमशृंखला तथा सूर्योदय दृश्यावलोकन गर्न सकिन्छ। सिजनमा त पर्यटक बाक्लै हुन्छन्। बिहानको खाजापछि लाग्यांै ओरालै ओरालो। आज त पोखरा पुग्नु थियो। पदयात्रा सकिँदै थियो। मनमा यात्रा लम्बिए हुन्थ्यो भन्ने थियो तर सम्भव र समय दुवै थिएन।
बाटो त्यतिकै रमाइलो थियो। कतै उराठिलो दृश्य देखिएन, अझ बर्सातको समय हरियाली त्यत्तिकै। प्रकृतिसँग नजिक रहेर पदयात्रा गर्दाको रोचक अनुभव बटुलियो। यात्रा सकिने बेला स्कुल पढ्दाको याद आयो— तारानाथ शर्माको निबन्ध 'घनघस्याको उकालो'। त्यही झल्को दियो उल्लेरीको उकालोले। तर, हामी उल्लेरीबाट ओरालो झर्दै थियौं।
ओरालोपछि खाना खायौं। केही बेरको हिडाइँपश्चात् जिप चढ्ने स्टेसन आयो। साँझ पर्दापर्दै पोखरा पुगियो। ढिला पुगिएकाले पोखरा घुम्ने काम थाती नै रह्यो। रहर हुँदाहुँदै पनि पदयात्राको माध्यममात्र भइदियो पोखरा। घुम्नेमध्येको एउटा गन्तव्य भएन यसपटक पनि।
पहिला–पहिला साँझको लेकसाइड व्यस्त हुन्थ्यो। पर्यटकको भिड उत्तिकै। यसपटकको छोटो घुमाइमा पनि प्रस्ट झल्किन्थ्यो महाभूकम्पको असर। कुनै क्षति नभए पनि भूकम्पको मार खेपिरहेको छ, पोखरा। समग्र पर्यटन क्षेत्रमा परेको भूकम्पीय प्रभावबाट पोखरा अछुतो छैन भन्ने झल्को दियो लेकसाइडको साँझले।
पदयात्रा अवधिभर औंलामै गन्न सकिने विदेशी भेटिए। कोही अन्नपूर्णबाट फर्कदै गरेका त कोही उकालो लाग्दै। कुनै समूह भने मनाङ र मुस्ताङबाट फर्कंदै। जे जति पर्यटक भेटिए, बाटोमा कसैले पनि अन्नपूर्ण क्षेत्रमा भूकम्पीय प्रभाव कतै नपरेको र पदयात्रा सुखद भएको अनुभव सुनाए। कतिले भने,'यति सुन्दर देशका रमणीय ठाउँ घुम्न साथीहरूलाई सुझाव दिन्छौं।'
वास्तवमै यो क्षेत्रका कुनै पनि स्थानमा भूकम्पले क्षति पुर्याएको देखिएन। सरकारको तथ्यांकले करिब १५ प्रतिशत पर्यटकीय क्षेत्रमा मात्र सामान्य असर पुर्याएको जनाउँछ। अन्य सबै पदमार्ग सुरक्षित छन्। समयमै सही सूचना प्रचार गर्न सकेे पक्कै पर्यटन क्षेत्रमाथि मडारिइरहेको कालो बादल हटाउन बेर लाग्दैन। त्यसैले सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक छ।
अझ आन्तरिक पर्यटक आकर्षित गर्ने किसिमका टुर प्याकेज ल्याउन सके पर्यटन व्यवसायीलाई राहत मिल्नेछ। भूकम्प र पराकम्पनले थिलथिलो बनाएको शरीर र दिमागले पनि ताजगी पाउनेछ।
गोरो छाला आए डलर, नेपाली भए केही न केही भन्ने मानसिकता अन्त भए र आतिथ्य सत्कारमा नेपालीले पनि उत्तिकै आत्मीयता प्राप्त गरे पर्यटन प्रवर्द्धनमा सघाउ पुग्नेछ।
प्रकाशित: १ श्रावण २०७२ २२:२५ शुक्रबार





