२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

'नारायण ढकाल डिजेल राइटर'

पोखरा- के कुनै राजनीतिक व्यवस्थाको पनि लिविडो हुन्छ? त्यसोभए पञ्चायतको यौनिकता के थियो? कसरी चल्थ्यो त्यो एकदलीय प्रजातन्त्र भनिएको महेन्द्रीय राष्ट्रवादको सनक? र्यातन्डम रिडर्स सोसाइटीको ५४ औं शृंखलामा शनिबार गुरुङ सुशान्तले यिनै प्रश्नको फेरोमा छलफल चलाए।गुरुङको संवाद थियो पछिल्लो उपन्यास 'वृषभ वध'का लागि पोखरेली पाठकसँगको अन्तर्त्रि्कयामा बसेका आख्यानकार नारायण ढकालसँग। 'निर्दलीय व्यवस्थामा भोट माग्न जनतासँग जाने उम्मेदवारसँग विचार र सिद्धान्त होइन, हुने भनेको चाप्लुसीबाट आर्जित वरदानमात्रै हो। यो वरदान नै पञ्चायतको लिविडो थियो,' सुशान्तका कुरामा सोसाइटीका अध्यक्ष गनेस पौडेलले सही थापे।

पन्ध्र वर्षे किशोरलाई लहडको भरमा कम्युनिस्ट पार्टीमा लागेको देखाइएको पाटोलाई इंगित गर्दै यदुनन्दन उपाध्यायले खिस्सी गरे, 'नेपालमा धेरैजना यसरी नै वामपन्थी विद्रोही बनेका कारणले हामीले लहडी नेता पायौं, विचार, अध्ययन र सिद्धान्तले खारिएका कर्मशील पाएनौं।'

प्राध्यापक तारा बरालले पुराना कुरा सम्भि्कँदै भने, 'ढकाल अरुजस्तो राजनीतिमा लागेपछि अध्ययन गरेका व्यक्ति होइनन्। अर्थशास्त्रमा एमए गरेपछि मात्रै राजनीतिमा लागेका हुन्।'

पन्ध्र वर्षे किशोरले रमाइलोका लागि पञ्चभेला बिथोल्न छोडिएको साँढेलाई नियन्त्रण गर्नकै लागि राज्यले गरेको निरीह लगानीको सिलसिला छ कथामा। देवेन्द्र नामक किशोर अराष्ट्रिय तत्वको आरोपमा जेल पर्छ र त्यतैबाट भागेर कम्युनिस्ट विद्रोही बनेको किस्सा उपन्यासमा छ।

पीतसंवाद, प्रेतकल्प, दूर्भिक्ष, इन्द्रजालजस्ता पुस्तक निकालेर राजनीतिक विषयका आख्यान लेखेका ढकाललाई पछिल्लो 'वृषभ वध' भने दमदार नभएको आरोप लगाउने धेरै छ्रन्। यस्तै आरोपी कृष्ण केसीलाई ढकालले 'वृषभ वध सरल भएको त गाम्भीर्य नगुमाएको' भने।

उपन्यासको पाण्डुलिपिदेखि सुधारिएका रुप पढेका समाजशास्त्री सुरेश ढकालले 'नेपाली उपन्यासको गहनता राजनीतिक विषयबाट नापिनु स्वभाविक भएको' बताउँदै भने, 'वृषभ वधजस्ता उपन्यासलाई समाजशास्त्रीय कोणबाट नाप्नुपर्छ।'

दुई सय हाराहारीको संख्यामा झरी छलेर उपस्थित पाठकसँग अन्तर्त्रि्कया गर्दै ढकालले लेखन, राजनीति र वाल्यकालका अनेकन किस्सा सुनाएनन् मात्रै उपन्यासका केही मनखाँदा अनुच्छेद बाचन पनि गरे।

कार्यक्रममा रघुनाथ अधिकारी, सुरेश रानाभाट, टंक बराल, शिव पौडेल लागयतका पाठकको साझा जिज्ञासामा उनले भने काँठको पुराना कुरा सम्भि्कए। वृषभ वधको साँढेजस्तै उनको गाउँमा पनि एउटा साँढे थियो रे! उनी त्यहीसँग खेल्थे रे! र एक दिन त्यो साँढे पनि रहस्यमय तरिकाले मारिएको थियो रे!

'त्यसो भए के उपन्यास लेखन भनेको आफ्नै कथा हो त?' एक पाठकको जिज्ञासमा ढकालले आफ्ना बाल्यकालका अनेकन किस्सा उपन्यासमा अटाएको स्वीकारे। भने, 'आफ्नै केही रहर पूरा गरेको छु उपन्यासको पात्र देवेन्द्रबाट। चप्पल नलगाई स्कुल नगएकोले मेरो कहिल्यै कुनै केटीसँग लभ परेन। तर देवेन्द्रलाई भने जुत्ता पनि लगाइदिएको छु, प्रेममा पनि पारिदिएको छु।'

अन्तर्त्रि्कयाका समीक्षकसुशान्तले ढकालको पोल्टामा एउटा विशेषण थपेर भने 'प्रज्ज्वलनशीलताको हिसाबले ढकाल डिजेल राइटर हुन्। पेट्रोलभन्दा कम, मट्टितेलभन्दा ज्यादा। आममान्छेले चढ्ने साधनको प्रज्ज्वलनशील पदार्थ।'

प्रकाशित: २७ असार २०७२ १९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App