रकम झिक्नमात्र होइन, कार्डले मानिसहरूको सपिङ पनि सजिलो बनाइदियो। सपिङ जाँदा नगद बोकेर जानुपर्ने अवस्थालाई कार्डले सजिलो बनाएको छ। सामान किन्दा होस् वा रेस्टुरेन्टको बिल तिर्दा, विकसित मुलुकहरूमा जस्तै नेपालमा पनि कार्डबाट रकम भुक्तानी गर्ने चलन पछिल्लो समय बढेको छ।
मोबाइल र अनलाइन बैंकिङ
इन्टरनेट सेवा प्रदायकमात्र होइन, दूरसञ्चार सेवा प्रदायकहरूले पनि द्रुत गतिको थि्रजी इन्टरनेट दिन थालेपछि इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन्। सस्तो मूल्यमा पाइने सुविधासम्पन्न स्मार्टफोन र इन्टरनेटका कारण अहिले बैंकिङ सेवाका प्रदायकहरू अनलाइन बैंकिङमार्फत अर्को कदम अगाडि पुगिसकेका छन्।
बैंकमा रहेको आफ्नो खातामा कति रकम छ भन्ने थाहा पाउन वा बैंक स्टेटमेन्ट हेर्नमात्र होइन, विभिन्न खालका सेवाको भुक्तानी गर्न र अरू कसैको खातामा रकम पठाउनसमेत अनलाइन बैंकिङ उपयोगी साबित भएको छ। घर, कार्यालय, देश वा विदेश जुनसुकै स्थानमा बसे पनि चौबीसै घन्टा केही क्लिकका भरमा यी सेवा लिन सम्भव भएको छ। अनलाइन बैंकिङले बिस्तारै प्रयोगकर्ताको जीवन सहज बनाउँदै छ।
केही किन्नुपर्योल अनलाइन, बिजुलीको बिल तिर्न इन्टरनेट, खानेपानी, टेलिफोन, एडिएसएल लगायत स्कुल र कलेजको बिल पनि अनलाइनमार्फत तिर्नेको जमात बढिरहेको छ। यसले जीवनशैली सहज त बनाएको छ, झन्झटबाट मुक्त पार्नुका साथै समयलाई व्यवस्थित बनाइदिएको छ।
मोबाइल बिलदेखि एयरलाइन्सको टिकटसम्म
सानेपा बस्ने विमल नेपाल आठ वर्षदेखि अनलाइन बैंकिङ प्रयोगकर्ता हुन्। विभिन्न बैंकमा खाता भए पनि उनी नेपाल इन्भेस्टमेन्ट बैंकको इबैंकिङ सेवा प्रयोग गर्छन्। सुरुसुरुमा खातामा रहेको रकम बुझ्न स्टेटमेन्ट प्रयोग गरे पनि अहिले उनी इबैंकिङ सेवाबाट धेरै कारोबार गर्छन्। आफ्नोमात्र होइन, उनी सहकर्मीहरूको समेत पोस्टपेड मोबाइलको बिल तिर्ने गर्छन्। 'अहिले मलाई बैंक जानुपर्ने भनेको रकम जम्मा गर्न वा चेक साट्नमात्र हो,' नेपाल थप्छन्, 'मैले चलाइरहेको इबैंकिङले मेरोमात्र होइन, धेरै साथीको जीवन सहज बनाइदिएको छ।'
पोस्टपेड मोबाइलको बिल तिर्ने वा प्रिपेड मोबाइल टपअप गर्नेमात्र होइन, पौडेलले विभिन्न अनलाइन पोर्टलबाट बिलसमेत तिर्छन्। भाटभटेनी अनलाइन, सस्तो डिललगायत विभिन्न वेबसाइटबाट घरमै बसीबसी सपिङ गर्न सम्भव भएको छ। 'फिल्म हेर्न जानुपर्यो भने म हलमा गएर लाइनमा बस्दिनँ। घरमै बसेर सिट छानीछानी टिकट काट्छु,' उनी ढुक्कसाथ भन्छन्, 'त्यही टिकटको पिडिएफ हलमा देखाएर मुभी हेर्छु।' अनलाइन बैंकिङले समयको बचत गर्न सघाउन पुर्या एको उनको अनुभव छ।
नेपालमा खुलेका अधिकांश वाणिज्य बैंक र विकास बैंकले ग्राहकहरूलाई अनलाइन बैंकिङको सुविधा दिइरहेका छन्। सन् २००२ मा लक्ष्मी बैंक र कुमारी बैंकले सुरु गरेको अनलाइन बैंकिङ सेवा अहिले राष्ट्रिय वाणिज्य बैंकसहित सयौं बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराइरहेका छन्। कतिपय बैंकले बैंक खाता विवरण हेर्ने सुविधामात्र दिएका छन् भने कतिपयले अनलाइनमै कारोबार गर्न मिल्ने व्यवस्था मिलाएका छन्। कति बैंकहरूले यही सेवालाई इन्टरनेट बैंकिङ भन्छन् भने कतिले इबैंकिङ वा अनलाइन बैंकिङ।
जावालाखेलका अभिरल पौड्यालले दुई वर्षदेखि नबिल बैंकको इबैंकिङ चलाइरहेका छन्। इबैंकिङले उनलाई बैंकिङ करोबार गर्न सजिलो बनाएको छ। बैंक खातामा कति पैसा छ भनेर थाहा पाउन बैंकमै पुगेर सोधिरहनु पर्दैन। इबैंकिङबाटै इन्टरनेट, मोबाइल र टेलिफोनको पैसा पनि तिर्न सक्छन्। नबिल बैंककै अन्य खातामा पैसा ट्रान्सफर गर्नका लागि बैंक पुग्नुपर्ने झन्झटबाट मुक्ति पाएकोमा खुसी छन्, उनी।
अनलाइन बैंकिङको अलावा पौड्याल इसेवा पनि प्रयोग गर्छन्। इसेवाबाटै उनी मोबाइलमा पैसा हाल्ने, इन्टरनेटको पैसा तिर्ने र एयरलाइन्सको टिकट खरिद गर्छन्। मोबाइलमा पैसा हाल्न हरेकचोटि इबैंकिङ चलाउन अप्ठ्यारो हुने भएकाले इसेवा प्रयोग गर्नुपरेको उनी बताउँछन्। 'इसेवाबाटै म मुभीको टिकट किन्छु। यसबाट बिजुलीको पैसा पनि तिर्न मिल्छ,' उनले भने, 'यस्तै भयो भने त कुनै दिन पैसा नै बोक्न नपर्ने दिन पनि आउला।'
क्लाउड फ्याक्ट्रीका एसोसियट म्यानेजर सुनिल नेपाल पनि नबिल बैंकको इन्टरनेट बैंकिङका प्रयोगकर्ता हुन्। छ वर्षअघि नबिलमा खाता खोलेका उनले सुरुदेखि नै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ प्रयोग गर्दै आएका छन्। उनी इन्टरनेट सेवा प्रायः विभिन्न सेवाको रकम भुक्तानीका लागि प्रयोग गर्छन्। क्रेडिट कार्डको रकम भुक्तानी गर्न पनि उनले इन्टरनेट बैंकिङको प्रयोग गर्ने गरेका छन्।
इसेवाबाट मोबाइल र इन्टरनेटको बिल भुक्तानी गर्दा केही छुट पाउने भएकाले उनी इसेवातिर आकर्षित भएका हुन्। 'तर, इसेवाको अकाउन्टमा रकम टपअप गर्नका लागि फेरि नबिल बैंककै इबैंकिङ प्रयोग गर्छु,' उनी भन्छन्। यस्ता सेवाले बैंकिङ कारोबार आफैंमा भन्दा पनि अन्य सेवाको प्रयोगमा धेरै सहज बनाइदिएको उनको अनुभव छ। रिचार्ज कार्ड किन्ने र स्क्र्याच गर्ने झन्झटबाट मुक्ति मिल्नुको साथसाथै केबुल टिभी, इन्टरनेटको मात्र होइन, स्कुल कलेजको फी पनि अब घरैबाट तिर्न सकिने उनले बताए। 'तर त्यस्ता सेवा (रिचार्ज कार्डबाहेक) बैंक आफैंले भन्दा पनि इसेवा, आइपेजस्ता तेस्रो पक्ष सेवा प्रदायकले प्रदान गर्दै छन्। तर बैंकले इन्टरनेट र मोबाइल सेवाबाट रकम ट्रान्सफर गर्ने सेवा नल्याएको भए त्यो सम्भव हुने थिएन,' उनी भन्छन्। पाँच वर्षअघिको तुलनामा यस्ता सेवाले धेरै परिवर्तन र सहजता ल्याइदिएको उनको अनुभव छ।
आर्थिक व्यवस्थापनमा प्रभावकारी
नेपालको अनलाइन बैंकिङको विकासलाई नजिकबाट नियालिरहेका निकेश घिमिरे मानिसहरूको आर्थिक व्यवस्थापनलाई यसले प्रभावकारी बनाएको बताउँछन्। ग्राहकहरूले उनीहरूको वित्तीय ढाँचा प्रभावकारी रूपमा हेर्न सक्ने भएकाले यसले वित्तीय अनुशासन र बानीमा सुधार ल्याएको उनको भनाइ छ। 'विदेशका बैंकहरूले उनीहरूको ग्राहकलाई कारोवारको ढाँचा हेरेर पृष्ठपोषणसमेत दिने गरेका छन्,' युकेएडको सक्षम परियोजनामा कार्यरत उनले भने।
अनलाइन बैंकिङले व्यापारीहरूलाई धेरै फाइदा पुग्ने घिमिरेको अनुभव छ। बैंकहरूको नयाँ शाखा खोल्नु महँगो हुने भएकाले बैंकलाई पनि अनलाइन बैंकिङ निकै फाइदाजनक हुने उनी बताउँछन्। बैंकहरू पूर्ण रूपमा अनलाइन भएमा कम शाखा भए पनि प्रभावकारी काम हुने उनी दाबी गर्छन्। सहरी क्षेत्रका सेवाग्राहीले मोबाइल र इन्टरनेट बैकिङ दुवै प्रयोग गर्ने भए पनि ग्रामीण क्षेत्रमा मोबाइल बैकिङको सुविधा धेरैले प्रयोग गर्ने गरेका छन्। कुनै पनि शाखारहित बैकिङ सेवा लिनका लागि ग्रामीण क्षेत्रमा भने मोबाइल बैकिङ प्रभावकारी रहेको उनी बताउँछन्। 'गाउँका मान्छेसँग पैसा नहुने भन्ने हुँदैन तर बैंकका लागि धेरै ठाउँमा शाखा सञ्चालन गर्न कठिनाइ भइरहेको छ,' उनी भन्छन् 'सबै सेवा अहिले मोबाइलमा उपलब्ध हुने भएकाले पनि बैंक र सेवाग्राही दुवैलाई सजिलो भएको छ।'
नेपाल राष्ट्र बैंकले पनि मोबाइल र इन्टरनेट बैंकिङलाई उच्च प्राथमिकतामा राखेको छ। सोहीअनुरूप बैंकले चाँडै नै लेस क्यास सोसाइटीको अवधारण ल्याउँदै छ। यसका लागि सीमित नगद कारोबार गरेर चेक, एटिएम कार्ड, डेविट कार्ड र इन्टरनेट बैंकिङ गर्ने विकल्प दिएका छन्। जसले वित्तीय अपराध र भ्रष्टाचार रोक्नका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ। यस्ता वैकल्पिक साधनमा चेक, ड्राफ्ट, क्रेडिट कार्ड, डेविट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र शाखारहित बैंकिङबाट तोकिएको रकमको कारोबार गर्ने उल्लेख गरिएको छ। नेपाल राष्ट्र बैंकका अधिकारीका अनुसार नगद कारोबारका लागि एक लाख रुपैंयाको सीमा कायम गर्न खोजिएको छ। एक लाखभन्दा धेरैको कारोबार नगदमा गर्न पाइनेछैन। राष्ट्र बैंकले चाँडै नै यसलाई कानुनी सीमाको रूपमा कायम गर्ने योजना बनाएको छ। यस्तो सीमाको कार्यान्वयनपछि डेविट र क्रेडिट कार्डको प्रयोग बढ्नेछ। अहिले नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले चार लाखभन्दा धेरै डेविट कार्ड र छ हजारभन्दा धेरै क्रेडिट कार्ड जारी गरेका छन्।
चुनौती पनि
अनलाइन बैंकिङले जीवनशैली सहज हुँदै गए पनि धेरैले सेवा लिइरहेका छैनन्। केही मानिसलाई पुरानै शैलीको बैकिङसँग लगाव छ। केहीले भने एटिएम वा अनलाइन बैंकिङमा सर्भर डाउन हुने, भरपर्दो नहुने र असुरक्षित हुने पनि बताउँदै आएका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकका हेड अफ ब्रान्ड मार्केटिङ एन्ड कर्पोरेट अफेयर्स दिवाकार पौड्याल सहज भए पनि इन्टरनेट बैकिङ 'क्लाइन्ट फ्रेन्ड्ली' नभएकाले प्रयोग गर्न धेरै हिचकिचाउने गरेको बताउँछन्।
ग्राहकहरूको अनुभवमा पनि इबैंकिङ चलाउन त्यति सहज छैन। इबैकिंङको प्रयोगमा ग्राहकलाई उत्साहित गरे पनि कागजी काम नगरी नहुने प्रणालीले कहिलेकाहीँ इबैकिङलाई झन्झटिलो बनाएको पौड्याल बताउँछन्। एउटै बैंकमा रकम पठाउन अनलाइनबाटै सकिने भए पनि अर्को बैंकको खातामा रकम पठाउन नमिल्नु अर्को असहजता भएको उनले बताए। 'अन्य बैंकको खातामा पैसा हाल्नु परे बैंकमा गएर चेक वा पैसा लाइन नै बसेर डिपोजिट गर्नुपर्ने बाध्यता सबै इबैंकिङ प्रयोगकर्ताको छ,' उनी भन्छन्।
त्यस्तै एकपटक पासवर्ड बिर्सिदाँ अर्को पासवर्ड प्राप्त गर्न प्रयोगकर्ताले थुप्रै झमेला खेप्नुपरेको उनको अनुभव छ। 'इन्टरनेटको प्रयोग गरेर बैंकिङ कारोबार गर्न दिएपछि पार्सवर्ड बिर्सिंदा निश्चित शुल्क तिरेपछि मात्र मैले फेरि अर्को पासवर्ड पाएँ,' नयाँ पासवर्डका लागि बैंकमै धाउनुपर्ने उनी बताउँछन्।
नेपालका लागि अनलाइन बैंकिङको सबैभन्दा ठूलो चुनौती सुरक्षा हो। 'यदि प्रयोगकर्ता होसियार नहुने हो भने अन्य व्यक्तिले आफ्नो खातामा अनाधिकारिक पहुँच पाउन सक्ने सम्भावना हुन्छ,' घिमिरे भन्छन्, 'तर प्रयोगकर्ता आफैं होसियार हुने हो भने त्यो त्यति ठूलो समस्या बन्दैन।' अविश्वसनीय वेबसाइट प्रयोग नगर्ने र भेरिसाइन, कोडोमो, सिमान्टिकजस्ता सुरक्षा प्रमाणपत्रको जाँच गर्नाले पनि कारोबार सुरक्षित हुने उनी बताउँछन्।
सन् २००४ देखि अनलाइन बैंकिङ सुरु गरेको नेपाल इन्भेस्टमेन्ट बैंकको अनलाइन बैंकिङका अहिले करिब ३० हजार प्रयोगकर्ता छन्। बैंकका आइटी प्रमुख उज्ज्वल मानन्धर बैंकको अनलाइन बैंकिङले मानिसहरूको दैनिकी सजिलो बनाएको बताउँछन्। 'हाम्रो अनलाइन बैंकिङको सेवा अन्य बैंकको भन्दा प्रभावकारी छ। सेवाहरू धेरै छन्,' मानन्धरले भने। नेपाल इन्भेस्टमेन्ट बैंकको अनलाइन बैंकिङमा युटिलिटी पेमेन्टअन्तर्गत विभिन्न अनलाइनबाट सपिङ, इन्टरनेट र केवल टिभीको बिलको भुक्तानी, स्कुलको बिल भुक्तानी, नेपाल टेलिकम, एनसेल, डिसहोम र अमेरिकन लाइफ इन्स्युरेन्स कम्पनीको प्रिमियमसमेत भुक्तानी गर्न सकिन्छ।
ग्रामीण क्षेत्रमा बाहेक सहरी क्षेत्रमा अहिले धेरैले अनलाइन बैंकिङ सेवा प्रयोग गर्न थालेको एनआइसी एसिया बैंकका न्यु च्यानल अपरेसन्सका प्रमुख युनिश पुरी बताउँछन्। इन्टरनेट पहुँच भएको र धेरैको हातमा स्मार्टफोन हुने भएकाले पनि धेरैको हातमा बैंक पुग्न सकेको उनी बताउँछन्। 'इन्टरनेट र मोबाइल बैंकिङले गर्दा आफ्नो खातामा भएको पैसा आफ्नै खल्तीमा भएसरह अनुभव हुन थालेको छ,' उनले भने। मानिसहरूले अहिले केवलको बिल, धारा, बत्ती, टेलिफोनको बिल, फिल्मको टिकट, स्कुलको बिल पनि अनलाइनबाटै तिर्न थालेकाले दैनिकी सजिलो भएको उनी बताउँछन्। एनआइसी एसिया बैंकको अनलाइन बैंकिङका ३० हजार र मोबाइल बैंकिङका ३२ हजार प्रयोगकर्ता रहेको पुरीले जानकारी दिए। कहिलेकाहीँ बैंकको सर्भर डाउन हुने, मोबाइलमा एसएमएस नजाने, पैसा काटिने तर सुविधा पूरा नहुनेजस्ता समस्या भने देखिने गरेको उनी बताउँछन्।
हिमालयन बैंकका प्रमुख आइटी अधिकृत छन्दमान तामाङ भने आफ्नो बैंकको प्रविधि थोरै कठिन भएकाले प्रयोगकर्ताको संख्या छ हजारमा सीमित भएको बताउँछन्। सन् २००३ मा इबैंकिङ सुरु हुँदा यो संख्या आठ हजार भएकोमा सन् २०११ म्ा दोहोरो पासवर्डमा चल्ने आर्क इन्टरनेट बैंकिङ सुरु भएपछि प्रयोगकर्ताको संख्या छ हजारमा सीमित भएको उनी बताउँछन्। इन्टरनेट बैंकिङका लागि शुल्क लाग्ने भएकाले यसको धेरै प्रयोगकर्ता विदेशमा बस्ने नेपाली रहेको उनले जानकारी दिए। 'हाम्रो इबैंकिङ धेरैजसो विदेशमा बस्नेहरूले आफ्नो आफन्तको एकाउन्टमा पैसा पठाउनको लागि प्रयोग गर्नुहुन्छ,' उनले भने। टेलिफोनको बिल तिर्नबाहेक विभिन्न विद्यालयहरूको फी तिर्न अभिभावकहरूले हिमालयन बैंकको अनलाइन बैंकिङ प्रयोग गर्ने गरेको तामाङले जानकारी दिए।
पेमेन्ट गेटवे
सन् २००० को युगलाई विश्वव्यापी रूपमै इकमर्सको युग भनिएपछि धेरै अनलाइन कम्पनी बने। त्यो बेलामा सुरु भएका इबे, एमाजनजस्ता सपिङ साइट अहिले विश्वव्यापी भइसकेका छन्। विभिन्न बैंकले आफ्नै तरिकाले सञ्चालन गरिरहेको इन्टरनेट बैंकिङलाई एकत्रित गरी विभिन्न खालका भुक्तानीलाई सहज बनाएको छ इसेवाले। 'इसेवा एज अ पेमेन्ट गेटवे' भनेर सुरु भएको इसेवाले नेपालमा इकमर्सलाई सजिलो बनाउन प्रयास गरिरहेको यसका सञ्चालकहरू बताउँछन्।
नेपालमा इकमर्सको विकासमा प्रयास भए पनि उपयुक्त पेमेन्ट गेटवे नभएकाले यसको विकास हुन सकेको थिएन। पेपाल वा यस्तै पेमेन्ट गेटवे नेपालमा नचल्ने भएपछि यस्तै गेटवेको खाँचो महसुस भएको थियो। अनलाइन व्यापार अर्थात् इकमर्समा ग्राहक, व्यापारी र उनीहरूलाई जोड्नका लागि पेमेन्ट गेटवे आवश्यक हुने भएपछि सन् २००५ मा एफवान सफ्ट कम्पनीले बैंकहरूसँग काम गर्न सुरु गर्योल।
नेपालका धेरै बैंकहरूको बैंकिङ सफ्टवेयर, अनलाइन र मोबाइल बैंकिङमा काम गरेको यो कम्पनीले सन् २००९ मा धेरै बैंकको सेवा एकै ठाउँमा आउने गरी इसेवा शुरु गरेको फोन पे प्रालिका प्रमुख कार्यकारी अधिकृत अजगर अली बताउँछन्।
अहिले ३८ लाख प्रयोगकर्ता रहेको इसेवामार्फत दैनिक औसत साढे चार करोडको कारोबार हुने गरेको इसेवा बताउँछ। 'पहिले नेपालीले दैनिक प्रयोग गर्ने मोबाइल रिचार्ज र टपअप गर्न र खानेपानी, बिजुलीको बिल तिर्न गाह्रो थियो। अहिले सहज भएको छ,' अली बताउँछन्। केही युटिलिटी पेमेन्ट, एयरलाइन्स र मुभीको टिकट गरी १५ वटा सेवाबाट सुरु गरेको इसेवाबाट अहिले एक हजार दुई सयभन्दा धेरै व्यवसायमा भुक्तानी गर्न सकिने भएको छ।
सुरुमा आफूहरूले मानिसको बैंकमा खाता हुने भएकाले त्यसैबाट डेविट–क्रेडिट गर्ने गरी अनलाइन सर्भिसमा जाऔं भनेर सोचेको अली बताउँछन्। 'तर २५ प्रतिशतभन्दा बढी मान्छेसँग खाता नै थिएन। त्यसपछि हामीले वालेट सर्भिसमा जान वालेट दियौं,' उनले भने। कुनै पनि बैंकमा खाता नभएकाले सिधै इसेवामा रकम जम्मा गर्न मिल्ने यो वालेटमा पैसा राखेर सेवा लिनेको संख्या ३ लाख ८० हजार भएको उनले जानकारी दिए।
अनलाइन र मोबाइल दुवैबाट प्रयोग गर्न सकिने इसेवाबाट सेवा लिँदा ग्राहकले छुट पनि प्राप्त गर्ने गरेका छन्। इसेवाबाट धेरैजसो मोबाइल रिचार्ज, युटिलिटी पपेमेन्टस, डिसहोमको रिचार्ज, एयरलाइन्सको टिकट, मुभीको टिकट, बसको टिकट किन्ने गरेको अली बताउँछन्।
प्रकाशित: २५ असार २०७२ २३:०७ शुक्रबार





