२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

आदिकवि : शब्दार्थमा होइन

संस्कृत भाषाको दबदबापूर्ण नेपाली समाज। दुई शताब्दीअघिको त्यो समय नेपाली भाषाको अवस्था कमजोर नभए पनि बामे सर्नुपूर्वको अवस्थामा थियो। भानुअघि पनि धेरै कवि थिए, संस्कृतमै लेख्दै गरेका र फाट्टफुट्ट रचनालाई नेपालीमा अनुवाद गर्न थालेका।अग्रज कविले तयार पारेको पृष्ठभूमिमै भानुले नेपाली भाषा विकास–विस्तारको आँट गरे। आफूभन्दा दिग्गज अग्रजहरू हुँदाहुँदै आफ्नो तवरबाट यो आँट गर्नु उनका लागि चुनौती थियो। संस्कृत रामायणलाई नेपाली भाषामा रूपान्तरण गर्ने उनको जुन साहस थियो, तत्कालीन समाजका लागि त्यो 'क्रान्तिकारी' छलाङ' नै हो। अन्य मौलिक नेपाली काव्यका कारणसमेत नेपाली कविताको उत्तर प्राथमिककाल वा भक्तिधाराका यी कवि एकाएक लोकप्रिय भए।

उनै भानुभक्त आचार्यको आउँदो असार २९ गते २०२औं जन्मजयन्ती मनाइँदै छ।

इतिहास हेर्ने हो भने कुनै पनि स्रष्टा–सर्जक विवाद र आलोचनामुक्त छैनन्। महाकवि लक्ष्मीप्रसाद देवकोटालाई 'पागल' भन्नेहरू यही समाजमा थिए। गोपालप्रसाद रिमाल अरूका लागि 'सन्काहा र बौलाहा' भइदिए। यस्ता धेरै उदाहरण छन्। जस्तोः भानुभक्तको आदिकवित्वबारे पनि बेलाबेला आलोचना हुँदै आएको छ।

नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेझैं नेपाली भाषालाई एकसूत्रमा बाँध्ने काम भानुभक्तले गरे भन्नेहरू एकातिर छन् भने हचुवाका भरमा उनलाई आदिकविको पगरी गुथाइएको भन्नेहरू विपक्षमा देखिँदै आएका छन्।

'उनीअघिका कविहरूले पनि कविता लेखेका थिए,' भानु प्रतिष्ठानका अध्यक्ष व्रतराज आचार्य प्रस्ट्याउँछन्, 'उनको समग्र योगदान अन्य कविको तुनलामा समाजसापेक्ष भएकैले मोतीरामले आदिकवि उपाधि दिएका हुन्। अब शब्दको अर्थ खोजेर विवाद झिकिरहनुको औचित्य छैन।'

भानुभक्तको आदिकवित्वमाथि रामकृष्ण शर्मा, हृदयचन्द्रसिंह प्रधान, तारानाथ शर्माजस्ता समालोचकहरूले समेत प्रश्न उठाइसकेका छन्। प्रधानले २०१३ मा 'भानुभक्त समीक्षा' लेख्दा आदिकवि नै उल्लेख गरेनन् भने 'भानुभक्तलाई आदिकवि भन्नु नचाहिँदो र अवैज्ञानिक तर्क' भन्दै शर्मा विपक्षमा देखा परे।

पछिल्लो पुस्ताका केही साहित्यकार पनि उनको पदवीमाथि विश्वस्त छैनन्। व्यक्तिका आधारमा सीमित एक भाषालाई महŒव दिएर 'पदवी भिराइएको' उनीहरूको दाबी छ।

नेपाली राष्ट्रियता पुनर्व्याख्या हुने क्रममा रहेकाले आदिकवित्वमाथि पनि बहस हुन जरुरी रहेको बताउँछन्, कवि भूपाल राई। 'त्यस बेला नेपाली भाषा भनेर खस–नेपालीलाई मात्रै मानियो। एकात्मक राज्यसत्ताले आदिकवि भनेर भोगाइरहेकै कारण मान्न बाध्य छौं,' उनी भन्छन्, 'नेपाली भाषाका नाममा खस भाषालाई मात्रै महŒव दिने र अन्य भाषाको बेवास्ता गर्ने प्रवृत्ति सदियौंदेखिको हो।' उनी त भानुभक्त नेपाली भाषाका आदिकवि नभई 'खस–नेपाली भाषाका आदिकवि' भएको ठोकुवा गर्छन्।

मोतीराम भट्टले १९४८ सालमा 'कवि भानुभक्ताचार्यको जीवनचरित्र' लेख्दा नै पहिलोपटक 'आदिकवि'को उपाधि दिएका थिए। नेपाली बृहत् शब्दकोशले 'आदि'लाई 'थालनी, सुरु, प्रारम्भ, आरम्भ पहिलो वा प्रथम' भनेर अर्थ्याएको छ। मोतीरामले नै स्पष्टोक्ति दिइसकेका छन्, 'भानुभक्तअघि नेपाली भाषाका नामी कवि नभएका होइनन्, तर कविताको मर्म बुझेर लेख्ने कवि भानुभक्त नै हुन्।'

प्रतिष्ठानका अध्यक्ष आचार्य भने अन्य कविको तुलनामा तत्कालीन समाजअनुकूल भाव सम्प्रेष्य कविता लेखेकैले भानु आदिकवि उपमा पाउन योग्य रहेको बताउँछन्। 'संस्कृतको जटिल श्लोक संरचनामा रहेको अध्यात्म रामायणको रूपान्तरण गरेपछि अन्य कविको तुलनामा भानुको लोकप्रियता चुलियो,' उनले भने, 'नेपाली भाषालाई एकसूत्रमा बाँध्ने काम उनीबाटै भयो, आज पनि उनको योगदानलाई विश्वभर रहेका नेपालीले मानिरहेका छन्।' जटिल कविताका सर्जकहरूले पनि जनजीवनमा भिज्ने खालको भानुको सरल लेखनबाट धेरै सिक्न सकिने बताउँछन्, उनी।

कवि राई भने भने कुनै अमूक स्रष्टालाई राज्यसत्ताले सधैंभरि बुई चढाइरहने हो भने अन्य सर्जक ओझेलमै पर्ने तर्क गर्छन्। 'कसैलाई उठाउने र कसैलाई बेवास्ता गर्ने काम गर्नुहुन्न,' उनी भन्छन्, 'राज्यसत्ताको रवैया हाबी हुँदासम्म सबै स्रष्टाहरूले समान रूपमा न्याय पाउँदैनन्।'

राईले भनेझैं बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक नेपालमा एउटै भाषालाई मात्रै महŒव दिँदा अन्यभाषी वञ्चितीकरणमा परे, राज्यको एकात्मक नीतिकै कारण गैर खसभाषी वा सीमान्तकृत समुदायका सर्जकहरू लामो समयसम्म मूलधारमा आउन पाएनन्।

अर्का कवि मुनाराज शेर्मा आदिकवि नै खस–नेपाली भाषाका सर्जक भएकाले त्यो बेलादेखि अन्य मातृभाषाप्रति बेवास्ता गरिँदै आएको बताउँछन्। 'हरेक मूर्धन्य स्रष्टाको अँध्यारो पाटो पनि खोजी गरिनु जरुरी छ,' उनी प्रश्न गर्छन्, 'अन्य भाषाभाषीका स्रष्टाहरू पनि थिए नि, तिनीहरूको योगदान र लिपिहरूको खोजी त्यस बेला किन गरिएन?' भानुमाथिका आलोचनाहरू रहँदै आए पनि अबको राज्य पुनर्संरचनामा हरेक मातृभाषीलाई समान अवसर र पहुँच दिए यस्ता विवाद स्वतः घटेर जानेमा उनी विश्वस्त छन्।

कवि तथा प्राज्ञ श्रवण मुकारुङका अनुसार तत्कालीन राजनीतिक–सामाजिक परिवेशअनुसार 'एकभाषा एक भेष'को मारमा परेका हुन्, भानु। 'उनी आफैंले मलाई आदिकवि बनाइदेओ त भनेका थिएनन् नि,' उनी भन्छन्, 'राई, लिम्बु, तामाङहरूले पनि रामायण पढेका छन्। नेपाली भाषाको उन्नयन गर्दै समाज बुन्ने काममा उनको जति योगदान कसले गरेको होला र?' देश निर्माणक्रममा धेरैले योगदान गरेजस्तै नेपाली भाषाको सेवकका हिसाबले भानुजत्तिको योगदान अरूले नगरेको उनको भनाइ छ।

विभिन्न आन्दोलनका क्रममा भानुको सालिकमाथि पनि बर्बर आक्रमण नभएका होइनन्। गोर्खाल्यान्ड आन्दोलन हिंसात्मक बन्दा दार्जिलिङको चौरस्तामा रहेको सालिकको टाउको नै छिनालिएको थियो, भानुजयन्तीकै पूर्वसन्ध्यामा। पछि नेपाली साहित्य सम्मेलनको अगुवाइमा सालिकको पुनर्निर्माण गरियो, भानुको टाउको उठिसकेको छ। यसलाई भानुप्रतिको आस्था ठान्छन्, मुकारुङ। 'आदिकवि त एउटा कविलाई दिएको उपमा हो। उनको शिरमा लगाइसकेको टोपी अब कसरी खोस्न सकिन्छ र?' उनी भन्छन्, 'अरू कसकसलाई यसरी टोपी लगाउन सकिन्छ, त्यतातिर चाहिँ खोजी गरौं न।'

भानुलाई जुन रूपमा नेपाली समाजले सम्मान दिएको छ, प्रवासमा उनको ख्याति अझ बढी छ। नेपालीभाषी भारतीय हुन् वा विभिन्न देशमा रहेका नेपाली समुदाय; भानुजयन्तीमा विशेष कार्यक्रम हुने गरेको छ। भारतमा सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानपछि इन्द्रबहादुर राई, भाइचन्द प्रधान, लक्खीदेवी सुन्दास, जगत छेत्रीहरूले भानुको विस्तार र प्रचारमा ठूलो भूमिका निर्वाह गरे।

भारतको पश्चिम बंगाल र सिक्किम राज्यमा त भानुजयन्तीमा सरकारी बिदा नै हुने गरेको छ। दसैं–तिहारपछि भानुजयन्ती तेस्रो पर्व हो, प्रवासी नेपालीका लागि।

रामायणले नै हो, भानुलाई नेपाली समाजमा चिनाएको। पछि विद्यालयका पाठ्यपुस्तक वा यिनका फुटकर कविताहरू मार्फत अझ लोकप्रिय हुँदै गए। नेपालमात्र होइन प्रवासी नेपालीहरूले पनि विभिन्न पारिवारिक, सामाजिक, धार्मिक अनुष्ठानहरूमा भानुभक्तीय रामायणका श्लोकलाई महŒवका साथ वाचन गर्ने गरेका छन्। 'रामायणले प्रत्येक नेपालीको घरघरमा मात्र होइन, जहाँसुकै रहेका नेपालीको मनमा विशेष ठाउँ बनाउन सफल भयो,' सिक्किम विश्वविद्यालयकी प्रमुख कविता लामा भन्छिन्, 'प्रतिदिन बढ्दै गएको यसको लोकप्रियताले कवि भानुभक्त दार्जिलिङको जनजीवनमा पनि भिज्दै गए।'

प्रकाशित: २५ असार २०७२ २२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App