४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

बुटवल मास्तिर नुवाकोट

बुटवलमा गर्मी बढेको छ। शीतल खोज्दै नुवाकोट उक्लनेहरू बढ्दै छन्। सामान्यतः बुटवल बजारमा भन्दा नुवाकोटमा आठ डिग्री तापक्रम कम हुन्छ। शीतल त छँदै छ, धार्मिक, प्राकृतिक र ऐतिहासिक रूपमा पनि नुवाकोटको महत्व ठूलो छ।


पाल्पाको दोभान गाविसमा पर्ने नुवाकोट सेनवंशी राजासँग जोडिएको छ। त्यहाँ सेन राजाको गृष्मकालीन दरबार थियो। त्यसको भग्नावशेष छँदै छ। सेन राजा गर्मी मौसममा नुवाकोट बस्थे भने जाडोमा बुटवल।
तल बुटवलमा शीतकालीन दरबार थियो। त्यहाँ आज मणिमुकुन्द सेन पार्क छ। फूलबारीमा दरबारको अवशेष।
राजा रुद्र सेनले १५ औं शताब्दीमा नुवाकोट दरबार स्थापना गरेको इतिहास छ। रुद्रसेन र उनका उत्तराधिकारी मणि मुकुन्द सेनले त्यहाँबाट राज्य चलाएका थिए। पछि सेन राजाले पाल्पाकै ऋग्दीकोट र पूर्णकोट लगायतका ठाउँमा दरबार बनाए।
बुटवल बजार नजिक तिनाउपारि मणि मुकुन्दको शीतकालीन दरबार थियो। जुन उनकै शासनकालमा बनेको मानिन्छ। मणिमुकुन्द १५१८ देखि १५५३ सम्म राजा भएका थिए। कतिपय इतिहासकारको नुवाकोट दबारबारे फरक मत छ। उनीहरू नुवाकोट गढीमात्रै भएको बताउँछन्।
जे होस्, नुवाकोट र पार्क दुवै पर्यटकीय सम्पदा बनेका छन्। शीतल हावा खान नुवाकोटमा दिनहुँ सय जना हाराहारीमा पुग्छन्। त्यहाँ भैरव मन्दिर भएकाले तीर्थालु पनि थुप्रै जान्छन्।
मणि मुकुन्द सेन पार्कमा बाक्लै चहलपहल हुन्छ। दैनिक पाँच सय जना पुग्छन्। लगनका बेला पार्कमा दर्जन बढी ठाउँमा विवाह हुन्छ। जाडो याममा पिकनिकेको भिड लाग्छ। पार्कभित्र मिनी जू छ। थरीथरीका जनावर। त्यसैले शैक्षिक भ्रमण गर्नेहरू थुप्रै हुन्छन्।
भैरव मन्दिरमा राजा रुद्रसेनको पालामा शिवलिंग स्थापना गरिएको थियो। मणि मुकुन्दले शिवलिंगलाई भित्र पारेर मन्दिर बनाए। टुँडिखेल परिसरमा विद्यालय छ। नजिकै तोपहान क्षेत्र र खड्क मन्दिर पनि छन्।
तिलौराकोटका राजा शुद्धोधनका गुरु ऋषि कालदेव (अशुतोष) को आश्रम स्थल पनि नुवाकोटमा रहेको इतिहासमा उल्लेख छ। त्यसको खोजी हुनुपर्छ। नुवाकोट दरबार मुन्तिर रानीकुवा छ।
तीन हजार फिट उचाइमा रहेको नुवाकोटबाट बुटवल सहरसहित तराईका मनोरम फाँट देखिन्छ। आकाश उघि्रएका बेला हिमशृंखला पनि। धार्मिक, प्राकृतिक र सांस्कृतिक रूपमा धनी छ डाँडो।
केही महिनाअघि नेपाली सेनाले फूलबारीबाट नुवाकोट जोड्ने सिँढीमार्ग बनाएको छ। नुवाकोट उकालिँदा बटौली बजार नियाल्नुको आनन्द बेग्लै हुन्छ। नुवाकोट पुगेपछि बुटवलमात्र होइन रुपन्देहीका अधिकांश भूभाग र आसपासका ठाउँ देखिन्छन्।
बुटवलमा पर्यटन गतिविधि हुँदा नुवाकोटको चर्चा चल्छ। गत पुसमा बुटवलमा सञ्चालित औद्योगिक कृषि प्रदर्शनी तथा पर्यटन महोत्सवमा लुम्बिनीसँगै नुवाकोटको टुर प्याकेज समावेश थियो। ऐतिहासिक थलो विकास गर्नुपर्छ भन्ने उद्देश्यले नुवाकोटलाई प्याकेज टुरमा राखिएको प्रदर्शनी आयोजक रुपन्देही उद्योग वाणिज्य संघका अध्यक्ष बोनिन पियाले बताए।
नुवाकोटको पर्यटन विकास गर्न ०५५ कात्तिक २१ गते नुवाकोट विकास समिति गठन गरिएको थियो। तत्कालीन बुटवल नगरपालिकाका प्रमुख भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित संस्था ०५९ भदौ ९ मा दर्ता भयो। समितिले नुवाकोट विकास गुरु योजना बनाउँदै छ। भ्यु टावर र दरबार क्षेत्रमा पार्क निर्माण गर्ने उसको योजना छ। समितिले नुवाकोटलाई लुम्बिनीसँग जोडेर प्रचार गर्न खोजेको छ।
हाइकिङ रमाइलो हुन्छ। सडक पक्की भए र नियमित सार्वजनिक यातायात चलेमा नुवाकोट चम्किन सक्छ। डाँडामा खानेपानी समस्या छ। हिलसाइड भिलेज रिसोर्ट निर्माणाधीन अवस्थामा छ। पहिलो चरणमा २५ जना बस्न सक्ने गरी रिसोर्ट बनाउन लागिएको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए। त्यहाँ सामान्य रेस्टुरेन्ट छन्।
खुसीको खबर, बुटवलको चिडियाखोलाबाट नुवाकोटसम्म केबलकार सञ्चालन गर्ने तयारीमा सिद्धार्थ केबलकार प्रालि लागेको छ। त्यसका लागि केही वर्ष लाग्नेछ। उद्योगी, होटल व्यवसायी, इन्जिनियरहरूको करिब ३० करोड लगानीमा केबलकार निर्माणको पहल भइरहेको छ।
सिद्धार्थ राजमार्ग सञ्चालन नहुँदै पश्चिमाञ्चलका अधिकांश पहाडी जिल्लाबाट बजार गर्न पैदल बुटवल आउजाउ गर्नुपर्थ्यो। त्यसबखत हाम्रा बाउबाजे नुवाकोट भएर बुटवल झर्थे।
शीतल हावा, भैरव मन्दिर र बटौली बजारको मनोरम दृश्यले नुवाकोटमा बसिरहूँझैं लाग्छ। नुवाकोटमा पर्यटकीय पूर्वाधार विकास गर्न सके समग्र बुटवललाई फाइदा पुग्नेछ। बुद्धभूमि लुम्बिनी नजिक भएकाले त्यहाँ आउने पर्यटकलाई यतासमेत लोभ्याउन सकिन्छ। सरोकारवालाले यसमा ध्यान दिने कि!
कसरी पुग्ने : बुटवलबाट पूर्वपश्चिम राजमार्ग भएर पाँच किलोमिटर पश्चिम बेलबासको शान्तिचोक पुग्ने । त्यहाँबाट आठ किमिमा नुवाकोट। नुवाकोटसम्म कच्ची सडक छ। सार्वजनिक बस चल्दैन। बुटवलको फूलबारी पार्कबाट नुवाकोटसम्म सिँढीमार्ग छ, जहाँबाट हिँडेर जान दुई घन्टा।

प्रकाशित: १८ असार २०७२ २०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App